‘जनलोकपाल आयोग’ सदस्य नियुक्तिविरुद्ध जसपा–जनमत एकमत, बैठक अवरुद्ध
जनकपुरधाम : जनलोकपाल आयोगमा मधेश सरकारले दुई सदस्य नियुक्तिको विषयलाई लिएर मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विपक्षी दलले जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राप्रपा नेपाल लोकपाल आयोगका दुई सदस्य र प्रदेश लोकसेवा आयोगमा सदस्य नियुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरुले मंगलबारको प्रदेश सभा बैठक अवरुद्ध गरेको हो ।
जसपा नेपालका सांसद सञ्जयकुमार यादवले मधेशीको टाउकोमा आएको गोलीको बलिदानी स्वरुप आएको संघीयतामा मधेशी दललाई वाइपास गरेर जनलोकपाल आयोगमा दुई सदस्य नियुक्त गरेर ६२ लाख जनताको भावनासँग खेलबाड गरेको आरोप लगाए । उनले मुख्यमन्त्रीले सदनमा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने बताए ।
प्रदेश सभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफलको कार्यसूची छ । बैठक अवरोध गरेपछि सभामुख रामअशिष यादवले १० मिनेटका लागि बैठक स्थगित गरे । गत जेठ १२ गते जनलोकपाल आयोगमा मधेश सरकारले महोत्तरीको औरही नगरपालिका–७ का सञ्जीवकुमार झा र महोत्तरीकै श्रीपुर–८ का सुजाता विमललाई सदस्यमा नियुक्त गरेको थियो ।
जनलोकपाल ऐन २०७७ अनुसार मुख्यमन्त्री, सभामुख र प्रतिपक्षी दलको नेताको सिफारिसमा आयोगका पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ । मुख्यमन्त्री लालबाबु राउतको पालामा २२ भदौ २०७८ मा अध्यक्षसहित तीन सदस्यीय आयोग गठन भएको थियो । तर, गठन भएको आयोगको काम कारबाही र प्रभावकारिता शून्य रहेको आरोप छ ।
सुशासन कायमका लागि गठन गरिएको जनलोकपाल आयोग बेकामे भएको भन्दै २०८१ पुसमा सदस्यद्वय राजकिशोर साह र शोभा महतोले पदबाट राजीनामा दिएका थिए । यस्तै प्रदेश लोकसेवा आयोगको सदस्यमा जेठ ११ गते धनुषाको सबैला नगरपालिका ६ की विमला यादवलाई सरकारले नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !