हामीले १० वर्ष सत्ता र शक्तिको पछाडि कुदेर समय खेर फाल्यौं : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा आफ्नो हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तक बिमोचन गर्दै सभापति थापाले विगतका घटना र राजनीतिक पात्रहरूबारे छलफल हुनु सामान्य भए पनि आजको मुख्य प्रश्न कांग्रेसले समाजमा पहिले जस्तै नैतिक अधिकार कायम गर्ने भएको बताए ।
उनले नैतिक अधिकार र पहिचानलाई पुनःस्थापित गर्नका लागि २०७२ देखि २०८२ सम्मको दशकको अँध्यारा र काला दिनबाट बाहिर निस्क्नु पर्ने धारणा राखे । सिद्धान्त र मूल्य–मान्यता तिलाञ्जली दिदै पछिल्लो १० बर्ष सत्ता र शक्तिको पछाडि कुदेर समय खेर फालिएको उनको भनाइ छ ।
सभापति थापाले तल्लो तहबाट आएका र आफ्नै घर–परिवार जस्ता सामान्य कार्यकर्ता तथा युवा पुस्ताले पार्टीका संस्थापक नेताहरूको जीवन मूल्य र आदर्शका आधारमा कांग्रेसलाई पुनः सान्दर्भिक बनाउन खोजिरहेको पनि बताए । पार्टीलाई सही बाटोमा ल्याउन संकल्पबद्ध भई लागेका युवाहरूलाई पूर्ण साथ र समर्थन रहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !