प्रि–मनसुन : पूर्वमा बाढी, पश्चिममा तातोलहर
काठमाडौं : प्रि–मनसुनको समयमा पूर्वमा बाढी, पहिरो आइरहँदा पश्चिममा भने तातोलहर चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले विषेश गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातोलहर चल्ने देखिएको जानकारी दिएको छ। तर कोशी, बागमती, गण्डकी प्रदेशका विभिन्न स्थान तथा मधेस प्रदेशमा पनि मेघगर्जन, चट्याङसहितको वर्षा तथा आंशिक बादल लाग्ने विभागले जनाएको छ।
प्रि–मनसुनको अवधि चलिरहेको समयमा कतै बाढी, पहिरो कतै तातोलहर चल्नु स्वाभाविक हो त ? त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, ‘यसलाई सामान्य रूपमा मात्रै हेर्नुहुँदैन। मनसुन सुरु हुनुभन्दा पहिला वर्षामा ब्रेक लाग्ने जस्तो पनि देखिँदैन। मौसमी प्याटर्न सामान्य देखिँदैन।’
सोमबारदेखि फेरि केही स्थानमा भारी वर्षा हुँदैछ। तर, हालको मौसमी अवस्थालाई छुट्टै अध्ययन चाहिने भएकाले ठ्याक्कै केही भन्न नमिल्ने पोखरेलले बताए।
पोखरेलका अनुसार यस वर्षको प्रि–मनसुनमा लगातार वर्षा भयो। लगातार वर्षा भएपछि काठमाडौंमा चिसो महसुस भएको थियो। प्रि–मनसुन (मार्च, अप्रिल, मे) मा समेत चिसो अनुभव गरेकाहरूका लागि आगामी दिन भने सजिलो नहुने विभागले अनुमान छ। पोखरेलले पनि पश्चिम नेपाल सबैभन्दा धेरै खडेरी र गर्मीको सिकार हुने बताए। तराईमा ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने अनुमान उनले पहिला नै गरेका थिए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, डेभिड ढकाल पूर्वी क्षेत्रमा न्यूनचापीय प्रणालीका कारण वर्षा भइरहेको बताउँछन्। पूर्वभेगमा न्यूनचापीय प्रणालीको प्रभाव लगातार परिरहेकाले यस्तो परिणाम आएको बताए। ढकालका अनुसार प्रि–मनसुनको अवधीमा छोटो समयमा धेरै पानी खण्डखण्ड भएर पानी पर्ने हुन्छ। उनले भने, ‘नजिकै भारी वर्षा हुँदा छेउछोउतिरै भने पानी नै परेको हुँदैन। यसलाई प्रि–मनसुनी वर्षाको स्वभाव मानिन्छ। ‘कुनै एउटा स्पेसिफिक स्थानमा वर्षा हुँदा बाढी, पहिरो पनि ल्याउँछ।’ त्यसमा झनै यो वर्ष लगातार वर्षाले झन् बाढीलाई प्रेरीत गरेको बुझाई ढकालको छ। तर, प्रि–मनसुनी चरित्रका अलावा अरू कुनै कारणले यस्तो भएको हो भन्नलाई छुट्टै अध्ययन चाहिने उनले पनि बताए।
हुन त विगतमा पनि प्रिमनसुनको अवधीमा वर्षासँग बाढी, पहिरो आएको घटना भए पनि यो वर्ष लगातार वर्षा भएको उनले बताए। मनसुन सुरु हुन केही करिब दुई साताको अवधि बाँकी रहेको छ। नेपालको आधिकारिक मनसुन भित्रिने मिति जुन १३ लाई मान्दै आएको । छ तर गतवर्ष निश्चित अवधिभन्दा पहिला अर्थात मे २९ मा नै मनसुन भित्रिएको ढकालले बताए । सहप्राध्यापक पोखरेलले भने मनसुनसम्म नै लगातार वर्षा हुने संभावना रहेको बताए।
सुपर एलनिनोले मनसुनमा खडेरीको त्रास
यस वर्ष प्रि–मनसुनको अवधिमा लगातार वर्षा भए पनि आगामी मनसुनमा भने खडेरी पर्न सक्ने संभावना रहेको विभागले जानकारी गराइसकेको छ।
विभिन्न खालका अध्ययन तथा वैज्ञानिकहरूले पनि यस वर्ष पूरै एसिया खडेरीको मारमा पर्ने भन्दै सचेत गराइसकेको छ र सुपर ‘एल निनो’ को प्रभावले आउँदोे मनसुनमा सरदरभन्दा कम वर्षा हुने संभावना रहेको छ। एल निनोको प्रभाव रहेको समयमा नेपालमा प्राय कम वर्षा हुनेगर्छ।
प्रतिक्रिया दिनुहोस !