सबै द्वन्द्व र तनावहरूको केन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ जोडिएको अनुभूति हुन्छ
मकालीन विश्व राजनीति आज केवल कूटनीतिक भेटघाट, औपचारिक सम्झौता वा सैन्य प्रतिस्पर्धामा मात्र सीमित छैन शक्ति मनोविज्ञानको सांकेतिक सन्देश, आर्थिक वर्चस्व, ऊर्जा नियन्त्रण र वैचारिक प्रभुत्वको बहुआयामिक संघर्षमा रूपान्तरित भइसकेको छ डोनाल्ड ट्रम्पको चीन भ्रमण, अमेरिका–इरान तनाव, रुस–युक्रेन युद्ध, ताइवानको स्वतन्त्रताको प्रश्न तथा इजरायलद्वारा गाजामा सिर्जित मानवीय संकटलाई एउटै भूराजनीतिक सूत्रमा हेर्दा विश्व क्रमशः नयाँ शक्ति संरचनातर्फ प्रवेश गरिरहेको स्पष्ट देखिन्छ ।
यी सबै द्वन्द्व र तनावहरूको केन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ जोडिएको अनुभूति हुन्छ लोकतन्त्र, मानवअधिकार र सुरक्षाका भाष्यहरू प्रायः भू–राजनीतिक प्रभाव विस्तार, सैन्य गठबन्धन सुदृढीकरण, हतियार बजारको विस्तार तथा तेल–ऊर्जा स्रोतहरूमाथिको नियन्त्रणसँग गाँसिएका देखिन्छन् यही कारण आजको विश्व अमेरिकी नेतृत्वको एकध्रुवीय संरचनाबाट बहुध्रुवीय शक्ति सन्तुलनतर्फ धकेलिँदै गएको छ जहाँ चीन, रुस तथा अन्य उदीयमान शक्तिहरू वैकल्पिक विश्व व्यवस्था निर्माण गर्ने प्रयासमा छन् ।
यही संवेदनशील विश्व परिवेशमा डोनाल्ड ट्रम्पको चीन भ्रमण विशेष अर्थपूर्ण बनेको छ विश्वभरका राजनीतिक विश्लेषकहरूले यस भ्रमणलाई आआफ्नो दृष्टिकोणबाट व्याख्या गरिरहेका छन् कसैले यसलाई अमेरिकी शक्ति संरचनाभित्रको नयाँ पुनर्संयोजनका रूपमा हेरेका छन् भने कसैले चीनको दीर्घकालीन रणनीतिक कूटनीतिक चालका रूपमा यद्यपि यसको तात्कालिक परिणामभन्दा पनि दीर्घकालीन भूराजनीतिक प्रभावबारे नयाँ बहस सुरु भएको तथ्य स्विकार गर्नु पर्दछ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटको स्थानबारे ट्रम्पले सोध्छन्– यो स्थानमा मबाहेक अरू कोही आएका थिए ? सीको विशेष अर्थपूर्ण देखिन्छ– ‘यो ठाउँमा सामान्यतया कसैलाई ल्याइँदैन, यो औपचारिक कूटनीतिक भेटको स्थान होइन तर राष्ट्रपति भ्लादिमिर पुटिन भने यहाँ पहिले आइसकेका छन्’ ।
ट्रम्पको चीन भ्रमणले भूराजनीतिमा नयाँ बहस र शक्ति सन्तुलनको संकेत अवश्य दिएको छ। तर विश्वका शान्तिकामी जनताले चाहेको युद्घविहीन, न्यायपूर्ण र मानवीय विश्व राजनीतिक र अर्थ व्यवस्थाको सपना भने अझै अधुरै हुनेछन्।
यो भनाइ केवल व्यक्तिगत सम्मान वा औपचारिक आतिथ्यको संकेत मात्र होइन यो चीनले प्रयोग गरिरहेको ‘सांकेतिक कूटनीति’को गहिरो अभिव्यक्ति हो यसले चीनले कसलाई विश्व शक्ति संरचनाको वास्तविक खेलाडी ठान्छ, कसलाई रणनीतिक साझेदारका रूपमा हेर्छ कसरी बहुध्रुवीय विश्व व्यवस्था निर्माण गर्न खोजिरहेको छ भन्ने संकेत दिन्छ ।
चिनियाँ राजनीतिक संस्कृतिमा औपचारिक समारोहभन्दा बाहिरको व्यक्तिगत निकटताले विशेष महत्व राख्छ कुनै विदेशी नेतालाई निजी वा सीमित पहुँच भएको स्थानमा निमन्त्रणा गर्नु केवल सम्मान प्रदर्शन होइन त्यो ‘उच्चस्तरको विश्वास’को संकेत हो त्यसैले ‘पुटिन पहिले यहाँ आइसकेका छन्’ भन्ने सन्देशले रुस–चीन सम्बन्धलाई साधारण कूटनीतिक सम्बन्धभन्दा माथि उठाएर ‘विशेष रणनीतिक साझेदारी’का रूपमा प्रस्तुत गर्छ ।
विशेषतः युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धहरूले रुसलाई अझ बढी चीनतर्फ धकेलेको छ अमेरिकासहित पश्चिमी शक्तिहरूले रुसलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्ने प्रयास गरे पनि चीन त्यस अभियानमा पूर्ण रूपमा सहभागी भएन बरु चीनले रुसलाई अमेरिकी प्रभुत्वविरुद्धको
रणनीतिक ध्रुवका रूपमा हेर्ने नीति अझ स्पष्ट बनायो । यही सन्दर्भमा ट्रम्पप्रति देखाइएको समान सांकेतिक व्यवहार अझ रोचक र गहिरो अर्थ बोकेको देखिन्छ चीनले ट्रम्पलाई केवल पूर्वअमेरिकी राष्ट्रपतिमात्र नभई अमेरिकी शक्ति–संरचनाभित्रको ‘वैकल्पिक राष्ट्रवादी ध्रुव’का रूपमा पनि हेरेको अनुभूति हुन्छ ।
ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति, नाटोप्रतिको संशय, उदारवादी विश्व व्यवस्थामाथिको आलोचना तथा वैश्विक संस्थाप्रतिको अविश्वासले पश्चिमी शक्ति संरचनाभित्रै नयाँ अस्थिरता सिर्जना गरेको थियो चीनका लागि यो चुनौती पनि हो र अवसर पनि हो भन्ने सोचका साथ अगाडि बढेको प्रतीत हुन्छ । भूराजनीतिक दृष्टिले हेर्दा चीनले पुटिन र ट्रम्पलाई एउटै तहमा राखेको जस्तो देखिनु ‘व्यक्तिगत समानता’ भन्दा बढी ‘रणनीतिक उपयोगिता’को प्रश्न हो पुटिन चीनका लागि सैन्य रणनीतिक साझेदार हुन् ट्रम्प चीनका लागि अमेरिकी उदारवादी विश्व व्यवस्थालाई कमजोर पार्न सक्ने राजनीतिक शक्ति हुन् । यसैले चीनले दुवैसँग सम्बन्ध राखे पनि सम्बन्धको प्रकृति फरक छ रुससँगको सम्बन्ध दीर्घकालीन शक्ति सन्तुलनका लागि हो भने ट्रम्पसँगको सम्बन्ध अमेरिकी आन्तरिक शक्ति संघर्षको प्रभाव बुझ्ने र त्यसलाई आफ्नो हित अनुकूल व्यवस्थापन गर्ने प्रयास हो ।
विश्व अर्थव्यवस्थाको दृष्टिले पनि यसको गहिरो अर्थ छ दोस्रो विश्वयुद्धपछि अमेरिकी डलर, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा पश्चिमी वित्तीय संस्थाहरूले नियन्त्रण गरेको आर्थिक संरचना क्रमशः चुनौतीमा पर्दै गएको छ चीनले ब्रिक्स, युआन आधारित व्यापार, वैकल्पिक बैंकिङ संरचना तथा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’मार्फत नयाँ आर्थिक शक्ति केन्द्र निर्माण गर्न खोजिरहेको छ ।
रुसले ऊर्जा र सैन्य शक्ति प्रदान गर्छ चीनले उत्पादन, प्रविधि र पुँजी प्रदान गर्छ ट्रम्पवादी अमेरिकी राष्ट्रवादले पश्चिमी उदारवादी गठबन्धनलाई कमजोर पार्ने सम्भावना बोकेको छ । त्यसैले चीनको दृष्टिमा यी सबै शक्ति प्रवाहहरू बहुध्रुवीय विश्व निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएका छन् तर यहाँ एउटा महत्वपूर्ण अन्तर पनि बुझ्न आवश्यक छ । चीनले पुटिनलाई ‘विश्वसनीय रणनीतिक साझेदार’का रूपमा हेर्छ, किनकि रुस र चीन दुवै अमेरिकी वर्चस्व सीमित गर्न साझा स्वार्थ राख्छन् तर ट्रम्पप्रति चीनको दृष्टिकोण मिश्रित छ किनकि ट्रम्पले चीनविरुद्ध व्यापार युद्ध चलाएका थिए, प्रविधि नियन्त्रण कडा गरेका थिए र चीनलाई प्रत्यक्ष प्रतिस्पर्धी घोषणा गरेका थिए त्यसैले चीनका लागि ट्रम्प ‘मित्र’भन्दा बढी ‘विश्व शक्ति पुनर्संरचनामा प्रभाव पार्ने कारक’ हुन् ।
यसरी हेर्दा सी जिनपिङको उक्त भनाइको वास्तविक सन्देश यस्तो देखिन्छ ‘चीन विश्व राजनीतिमा केवल औपचारिक कूटनीति होइन, शक्ति मनोविज्ञान, व्यक्तिगत विश्वास र सांकेतिक संकेतमार्फत नयाँ शक्ति संरचना निर्माण गरिरहेको छ’ यो मूलतः अमेरिकी नेतृत्वको एकध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वतर्फ भइरहेको संक्रमणको संकेत हो । जहाँ चीन आफूलाई केन्द्रीय शक्ति, रुसलाई रणनीतिक ध्रुव तथा पश्चिमभित्र उदाएका राष्ट्रवादी शक्तिहरूलाई अवसरका रूपमा उपयोग गर्न खोजिरहेको छ । ट्रम्पको चीन भ्रमणलाई यही दीर्घकालीन भूराजनीतिक पुनर्संरचनाको एउटा संकेतका रूपमा हेर्न सकिन्छ ।
यद्यपि विश्व राजनीतिका यी शक्तिका खेलहरूले मानव सभ्यतालाई शान्ति र स्थायित्वतर्फ भने अझै डोहोर्याउन सकेका छैनन् गाजा युद्धले निम्त्याएको मानवीय त्रासदी, युक्रेन युद्धको विनाश, ताइवानमाथिको एकोहोरो अमेरिकी समर्थनले नया तनाव सिर्जना गरेको छ । अमेरिका र इजरायलले निम्तिएको मध्यपूर्वको द्वन्द्व र अस्थिरताले देखाउँछ कि विश्व शक्तिहरू अझै पनि प्रभुत्व, सुरक्षा र स्वार्थको प्रतिस्पर्धाबाट मुक्त हुन सकेका छैनन् ।
त्यसैले ट्रम्पको चीन भ्रमणले भूराजनीतिमा नयाँ बहस र शक्ति सन्तुलनको संकेत अवश्य दिएको छ । तर विश्वका शान्तिकामी जनताले चाहेको युद्धविहीन, न्यायपूर्ण र मानवीय विश्व राजनीतिक र अर्थ व्यवस्थाको सपना भने अझै अधुरै हुनेछन् । यो द्वन्द्वले भोलि विश्व भूराजनीति कस्को पक्षमा
जान्छ ? समयले बताउला तर अब विश्वलाई बहुध्रुवीयतातर्फ जान कसैले रोक्न सक्दैन तथ्यहरूले यही बताउँछ ।
प्रतिक्रिया दिनुहोस !