तातिँदो हिमाल, बढ्दो जोखिम

तातिँदो हिमाल, बढ्दो जोखिम

भौगोलिक रूपमा अति संवेदनशील तथा जलवायु परिवर्तनका हिसाबले नेपालको हिमाली क्षेत्र उच्च जोखिममा रहेको छ।

नेपालको प्राकृतिक सौन्दर्य र जैविक विविधताको प्रमुख आधार हिमालय पर्वत शृंखला हो। यस शृंखलामा रहेका हिमनदी तथा हिमतालहरूले नेपालका नदीहरूलाई पानीको स्रोत प्रदान गर्दै आएका छन्। विश्वको करिब २३ प्रतिशत भू–भाग पर्वतीय रहेको र उक्त भू–भागमा करिब १० देखि ३० प्रतिशत मानिसको बसोवास रहेको छ।

नेपालको पहाडी ६८ प्रतिशत र हिमाली १५ प्रतिशतलाई पर्वत मान्ने हो भने करिब ८३ प्रतिशतभन्दा बढी भू–भाग पर्वतीय क्षेत्रले ओगटेको मान्न सकिन्छ, जहाँ ४६ प्रतिशतभन्दा बढी मानिसको बसोवास पाइन्छ। तर केही दशकयता जलवायु परिवर्तनका कारण उच्च पर्वतीय क्षेत्रमा अवस्थित हिमनदीहरूको अस्तित्वमा खतरा उत्पन्न भएको छ। अर्कोतर्फ, हाम्रा हिमशृंखलाहरू दिनानुदिन हिउँ र वरफविहीन हुँदै गइरहेका छन्।

भौगोलिक रूपमा अति संवेदनशील तथा जलवायु परिवर्तनका हिसाबले नेपालको हिमाली क्षेत्र उच्च जोखिममा रहेको छ। जल तथा मौसम विभागका अनुसार नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ भने उक्त दर उच्च पहाडी तथा हिमाली क्षेत्रमा सबैभन्दा बढी रहेको देखिन्छ। यो तथ्यांक २०१४ सम्मको डाटा विश्लेषण गरी निकालिएको हुँदा उक्त तथ्यांकलाई अद्यावधिक गरी सन् २०२५/२६ सम्मको बनाउनु अत्यन्त जरुरी छ।

हिमनदी पग्लिने र हिमताल फुट्नेजस्ता घटनाहरूले पर्यटन व्यवसायमा पनि नकारात्मक असर पारेको छ। त्यसैले हामीले हरित गृह ग्यास उत्पादनमा कमी गर्नुभन्दा अनुकूलनमा बढी जोड दिनु आवश्यक छ। 

नेपालमा जलवायु परिवर्तनको कारणले हिमनदीहरू पग्लिने क्रम तीव्र भएको छ भने हिमतालहरूको आकार बढ्दै गएको छ। हिमतालको बढ्दो संख्याका कारण र हिमताल विस्फोट भई हुने बाढीको कारणले हिमाली क्षेत्र र यसको तल्लो तटीयमा बसोबास गर्ने मानिसका लागि महत्वपूर्ण खतरा बन्दै गएको छ।

नेपालमा हिमताल विस्फोटनको इतिहास हेर्दा धेरै विनाशकारी घटनाहरू भइसकेका छन्, जसले व्यापक विनाश गरिसकेको छ। सबैभन्दा पुरानो रेकर्ड गरिएको हिमताल विस्फोटन लगभग ४ सय ५० वर्षपहिले सेती खोलामा भएको थियो। यद्यपि, त्यसको विस्तृत विवरण उपलब्ध छैन। तर पनि उक्त घटना भौगर्भिक कारणले भएको अनुमान गरिएको छ। इसिमोडले केहि वर्ष अगाडि हिमताल विस्फोटनका २४ घटनाहरू संकलन गरेको थियो। जसमध्ये १४ नेपालमा र १० तिब्बत (चीन) मा भएका र नेपालमा व्यापक क्षति पुर्‍याएका छन्।

त्यसैगरी, बायर्स, चन्द र तिनीहरूको टोलीले सन् २०२० तिर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेखले कञ्चनजंघा क्षेत्रमा हिमताल विस्फोटनका घटनाहरूको इतिहासबारे अध्ययन गर्दा उनीहरूले सन् १९२१ देखिका घटनाहरू रेकर्ड गरेका थिए। तिनीहरूले रिमोट सेन्सिङको सहयोगमा त्यस क्षेत्रमा कम्तीमा सात हिमताल विस्फोटनका घटनाहरू फेला पारे, जुन पहिले रेकर्ड गरिएको थिएन। त्यस्तै, श्रेष्ठ र उनको टोलीले गरेको अर्को अध्ययनले नेपालमा ५४ घटना रेकर्ड गरेको छ। यी बाहेक उच्च हिमाली क्षेत्रमा थुप्रै यस्ता घटना भइरहेका तर कतिपय घटनाहरूको प्रकृति सानो, प्रभाव नगण्य कतिपय घटना गणनामा नआएको देखिन्छ।

सन् १९८५ मा दिग्छो ताल फुटेर विनाशकारी बाढी ल्याएको घटना एक उल्लेखनीय घटनाको रूपमा लिन सकिन्छ। जसले निर्माणाधीन जलविद्युत् गृहसहित विभिन्न पूर्वाधारमा ठूलो क्षति गरेको थियो। सन् २०१६ सालमा चीनको तिब्बतबाट फुटेको तालले नेपालको भोटेकोशी नदीमा रहेको भोटेकोशी जलविद्युत् योजनालाई उल्लेख्य नोक्सान पुर्‍याएको थियो। यही वर्षको साउन अन्त्यतिर सोलुखुम्बु जिल्लाको थामेमा भएको हिमताल विस्फोटनले नेपालमा उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोट हुँदा असर कति भयानक हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ।

यसरी घटनाहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न भएका जटिल समस्याहरूलाई उजागर गरेका छन्। थामे गाउँ नजिकैको थ्याँवो हिमताल विस्फोट भई आएको बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिकाका २० भन्दा बढी घर, आधारभूत विद्यालय, क्लिनिकलाई क्षति पुर्‍याएको थियो। २०८२ को असार २४ गते तिब्बती क्षेत्रमा अवस्थित प्युरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल तालबाट भएको बाढीले ठूलो विनाश गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीले ११ जनाको मृत्यु तथा १८ जना सम्पर्कविहीन भएका थिए।

उक्त बाढीले रसुवागढीस्थित नेपाल–चीन मितेरी पुल, स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीन ओटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। त्यस्तै, तल्लो तटीय भू–भागमा अर्बौं रुपैयाँबराबरको क्षति भएको थियो। नेपालमा हिमनदीहरू तीव्र गतिले पग्लिरहेका छन् भने आउँदा वर्षमा यो गति अझै बढ्ने अनुमान गरिएको छ। तापक्रममा क्रमश :  वृद्धिले केही वर्षसम्म नदीमा वहाब बढे पनि दीर्घकालीन रूपमा स–साना हिमनदीहरू पूर्ण रूपमा पग्लिसक्ने र ठूला तथा मझौला आकारका हिमनदीहरू पनि विस्तारै सानो हँुदै जाने भएकाले बहाव कम हुँदै जाने र पानीको अभाव हुने देखिन्छ।

यसरी प्रत्यक्ष असर जलविद्युत् आयोजना, सिँचाइ आयोजना तथा खानेपानीमा पर्ने देखिन्छ। यसको साथै सुक्खा याममा विशेषगरी पानीको अभाव हुने समस्या झनै बढ्न सक्छ। यसले कृषि, उद्योग र घरेलु प्रयोजनका लागि पानीको उपलब्धतालाई प्रभावित गर्नेछ। हिमनदी पग्लिने क्रमसँगै हिमाली पारिस्थितिक प्रणालीमा खलबल आई जैविक विविधतामा पनि असर परिरहेको छ। हिमाली क्षेत्रका धेरै वनस्पति तथा जीवजन्तुहरू लोप हुने खतरामा छन्।

यसरी, अनियमित वर्षा, खडेरी र बाढीका कारण हिमाली तथा तल्लो तटीय क्षेत्रमा पनि कृषि उत्पादनमा ह्रास आउने देखिन्छ। यसले खाद्य सुरक्षामा चुनौती थपेको छ। हिमनदी पग्लिने र हिमताल फुट्नेजस्ता घटनाहरूले पर्यटन व्यवसायमा पनि नकारात्मक असर पारेको छ। हिमालको सौन्दर्यता, हिउँले ढाकिएका सेता अग्ला चुचुरा हेर्न आउने पर्यटक काला पहाड हेर्न बिरलै जोखिम मोलेर भ्रमण गर्ने छन्। जसले गर्दा स्थानीय रोजगारी, जीविकोपार्जन तथा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न थालेको छ। उक्त क्रम आउँदा वर्षमा थप बढ्दै जाने देखिन्छ। जलवायु परिवर्तनमा नेपालको उल्लेख्य हात नरहे पनि हाम्रो भौगोलिक बनोटका कारण हामी उच्च जोखिममा छौं।

खासमा, हामीले हरित गृह ग्यास उत्पादनमा कमी गर्नुभन्दा अनुकूलनमा बढी जोड दिनु आवश्यक छ। यसअन्तर्गत जलस्रोतको दिगो व्यवस्थापन, वर्षा पानी संकलन, जलवायु अनुकूल कृषि प्रविधि अपनाउने, हिमताल तथा हिमनदीको नियमित अनुगमन, पूर्वचेतावनी प्रणाली विकास, वन तथा जैविक विविधताको संरक्षण, भू–क्षय तथा पहिरो नियन्त्रण, दिगो पर्यटन प्रवद्र्धन, स्थानीय समुदायको सशक्तीकरण, जलविद्युत् आयोजनामा जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमार्फत प्राविधिक तथा आर्थिक सहयोग सुनिश्चित गर्ने जस्ता उपाय समावेश गर्न सकिन्छ।

हिमाली क्षेत्र भएर बग्ने नदीको अहिले र भविष्यमा हुने वहावमा परिवर्तनको उपयुक्त विधिबाट हिसाब गर्नु नितान्त जरुरी छ। हिमनदी र हिमतालहरूको अनुगमन गर्न उपग्रह प्रविधि र भू–सूचना प्रणालीकोसहित निरन्तर प्रयोग गरी गर्नुपर्छ। स्थानीय समुदायमा आधरित कार्यक्रम बनाई सबै सरोकारवाला निकायसँग मिलेर विश्वविद्यालयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा अध्ययन अनुसन्धान तथा अनुकूलनका कार्यक्रम निरन्तर गर्नु आवश्यक छ।

पीएचडी होल्डर चन्द काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान विभागमा छन् भने इन्जिनियर लामा एकेडेमीया–इन्डस्ट्री कोपरेसनका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.