बिरामी बोक्ने एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा तस्करी, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा तस्करी, चालक फरार

सुनसरी : बिरामी बोक्न प्रयोग हुने अत्यावश्यक सवारी साधन एम्बुलेन्समार्फत तस्करी गरिएको  ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा  बरामद गरिएको छ । प्रहरीले सुनसरीको धरानबाट ४४० किलो गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले बताएका छन् ।

उनका अनुसार मंगलबार बिहान १२ः४० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित धरान–धनकुटा सडक  क्षेत्रमा सडक छेउमा रोकिराखिएको को १ च ७३५९ नम्बरको एम्बुलेन्समाथि शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध गाँजा ४४० किलो बरामद गरिएको एसपी थेबेले बताए ।

उक्त एम्बुलेन्स धरान–१८ स्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालिद्वारा सञ्चालन हुँदै आएको खुलेको छ । बरामद गरिएको गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले बताए । उनले एम्बुलेन्स चालक फरार रहेको बताएका छन् । उनका अनुसार चालकको पहिचान भइसकेको र पक्राउका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

‘एम्बुलेन्स जस्तो संवेदनशील र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनलाई लागूऔषध ओसारपसारमा प्रयोग गरिएको विषय गम्भीर छ’, एसपी थेबेले भने, ‘घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार पछिल्लो समय धनकुटा जिल्लाको विभिन्न क्षेत्रमा उत्पादन हुने गाँजा मुलघाट, भेडेटार हुँदै धरान तथा तराईका विभिन्न क्षेत्रतर्फ तस्करी हुने क्रम बढ्दो छ । विशेष गरी रातिको समयमा एम्बुलेन्स, तरकारी बोक्ने गाडी तथा अन्य शंकास्पद सवारी साधन प्रयोग गरेर गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको एसपी थेबेले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.