प्रधानमन्त्री बालेन शाहसँग किन रिसाइन सुशीला कार्की

प्रधानमन्त्री बालेन शाहसँग किन रिसाइन  सुशीला कार्की

काठमाडौं : कुनै बेला प्रधानमन्त्री बालेन शाहलाई ‘छोरा सरह’ को स्थान र माया गर्ने पूर्वप्रधानमन्त्री सुशीला कार्की पछिल्लो समय प्रधानमन्त्री शाहप्रति रुष्ट छिन्। एक जना ‘युट्युबर’ सँगको कुराकानीमा पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री शाह र उनकी पत्नीप्रति गरेको टिप्पणी निकै विवादित छ। युट्युबरसँग पूर्वप्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा आक्रोश  पोख्दै भनेकी छन्, ‘अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू।’ युट्युबरले ‘आमा’ भनेर सम्बोधन गरेर प्रश्न सोध्दै गर्दा झोक्किएर कार्कीले भनिन्, ‘कोले आमा  भनेको ?’
  
कतिपयले पूर्वप्रधानमन्त्री कार्कीको उक्त अभिव्यक्तिको आलोचना पनि गरेका छन् भने कतिपयले  सरकारका गतिविधि र उनमा रहेको उकुसमुकुस प्रकट भएको प्रतिक्रिया दिएका छन्।  चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि पूर्वप्रधानमन्त्री कार्की प्रधानमन्त्री  बालेनसँग रुष्ट भएकी हुन्। प्रधानन्यायाधीशको सिफारिसप्रति कार्कीले विभिन्न सञ्चार माध्यममा आलोचना गरिरहेकी छन्।  पहिलो वरियताक्रममा  रहेकी सपना मल्ल प्रधानलार्ई प्रधानन्यायाधीश सिफारिस  नगरेर चौथो वरियताक्रमा डा. शर्मा सिफारिस  गरेपछि कार्कीले कडा आलोचना गरिरहेकी छन् ।

पूर्वप्रधानमन्त्री कार्कीले प्रधानन्यायाधीश सिफारिस गलत भएको भन्दै परिणाम सरकारले भोग्ने चेतावनीसमेत दिएकी छन्। महिला माथि घोर अपमान भएको आरोप लगाइरहेकी छिन्। बालेन सरकारले डेढ करोड महिलामाथि लात्ति हानेको  भन्दै उनी  फायर छिन्। न्यायालयको इतिहासमा नै यसरी रोलक्रम  तोडिएको यो पहिलोपटक हो। 

२००८ सालमा हरिप्रसाद प्रधान यता वरियताक्रमै आधारमा प्रधानन्यायाधीश नियुक्त हुँदै आएका थिए। नागरिकता विवादमा परेका कारण  एक मात्रै पहिलो रोलक्रममा  रहेका दीपकराज जोशी  प्रधानन्यायाधीश  हुन पाएनन्।  उनको पनि संसदीय सुनुवाइ समितिले फिर्ता पठाएको थियो। संवैधानिक परिषद्बाट त जोशीको नाम सिफारिस  भएको उदाहरण छ।   

प्रधानमन्त्री निकट स्रोतले भने प्रधानन्यायाधीश सिफारिसको  असन्तुष्टि मात्रै नरहेर अन्य विषयले प्रधानमन्त्री बालेनसँग कार्की  रिसाएको दाबी गरेको छ। प्रधानमन्त्री हुँदै सुशीला कार्कीले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेकी थिइन्। तर, कार्कीको सिफारिस  अलपत्र नै छ। राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनीत  गर्ने एक  सदस्य अहिले पनि रिक्त छ।  प्रधानमन्त्री  बालेनले आफ्नो सिफारिस रोकिदिएको कार्कीको बुझाई छ। जसले गर्दा कार्की बालेनसँग रिसाएकी हुन्। 

अर्को कारण हो, तत्कालीन प्रधानमन्त्री कार्कीले जाँदाजाँदै राष्ट्रिय प्रकृति  संरक्षण कोषको अध्यक्षमा  आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार  श्रेष्ठलाई  मनोनीत गरेकी थिइन्। उनको नियुक्ति पनि हालै बालेन सरकारले खारेज गरिदिएको छ। कतिपय नियुक्ति जोगाए पनि आफूले गरेको नियुक्ति भने खारेज गरेको भन्दै कार्की प्रधानमन्त्री शाहसँग असन्तुष्ट बनेकी हुन्। 

जबकी कार्की प्रधानमन्त्री हुँदा प्रमुखस्वकीय सचिव श्रेष्ठको सत्ता र शक्तिमा हालीमुहाली थियो।सरकारले पूर्वप्रधानमन्त्री कार्कीले प्रयोग गर्दै आएको गाडी पनि खोसेको छ। कार्कीलाई पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीमध्ये एकको सुविधा लिन भनेर गाडी फिर्ता मागिएको थियो। जसलाई उनले अपमानको रूपमा लिएको हुन सक्ने पनि स्रोतको दाबी छ।  आफूले  जबरजस्ती ठूलो चुनौतीलाई चिरेर  निर्वाचन गरी सुम्पेको बालेन नेतृत्वको सरकारले नै आफूमाथि नै यस्तो व्यवहार गरेपछि उनको मन कुडिएको हुन सक्ने प्रधानमन्त्री निकट स्रोतको दाबी छ। यदि कार्कीले मात्रै खुट्टा यता उता गरेको भए फागुन २१ मा निर्वाचन  नै  हुने थिएन। 

०८२ भदौ २३ र २४ गते आन्दोलनपछि जेन–जीको एक समूहले कार्कीलाई ‘आमा’ भन्दै आएका छन्। प्रधानमन्त्री शाह र निवर्तमान गृहमन्त्री सुधन गुरुङलाई उनले छोरा भन्ने गरेकी थिइन्। गुरुङले सार्वजनिक रूपमा नै कार्कीलाई आमा  भन्दै ढोगेका  घटना धेरै छन्। पूर्वप्रधानमन्त्री कार्कीले फागुन २१ मा सफलतापूर्वक सम्पन्न गरेर बडो हार्दिकताका साथ शाहलाई सत्ता हस्तान्तरण गरिन्। कार्कीको बालेनलाई सत्ता हस्तान्तरणको क्षण पनि भावुक थियो। उनले अत्यन्त सौहार्दपूर्ण रूपमा सत्ता बालेनलाई सुम्पेकी थिइन्।      

तर, प्रधानन्यायाधीश र प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेकी कार्कीका पछिल्ला अभिव्यक्ति सुहाउँदो नभएको भन्दै टिप्पणी भइरहेका छन्। अगुवा पत्रकार वविता बस्नेतले समेत कार्कीको अभिव्यक्तिको खरो टिप्पणी  गरेकी  छन्।  ‘पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि यो देशमा प्रधानमन्त्रीको रूपमा नेतृत्व लिएर निर्वाचन गराउनुभएको थियो। 

समयले आफ्नो भागमा परेको ड्युटी पूरा गरेपछि उहाँले कुनै पनि विषयमा बोलेको सुनिएको छैन, उनले भनेकी छन्,  सुशीला कार्कीले अहिले जे–जे बोलिरहनु भएको छ, त्यो सुन्दा अहिले प्रधानन्यायाधीशको नियुक्ति त निहुँ मात्रै हो भन्ने लाग्छ।’

बस्नेतले प्रधानमन्त्री बालेन शाहप्रति कार्कीको आक्रोशको कारण खोजीको विषय हुनसक्ने बताएकी छन् । ‘आफ्नो नातिनीको उमेरकी बालेनकी श्रीमतीलाई उहाँले बडो आक्रोशित लवजमा माता, आमा जे–जे भन्न भन्नूभयो त्यो सुन्दा सारै नै ‘चिप’ लाग्यो,  सामाजिक  सञ्जालमा लेख्दै भनेकी  छन्, ‘आफू एउटी महिलाप्रति त्यो स्तरको आक्रोश पोख्दै हिँड्ने अनि महिलाको सम्मान र आत्मसम्मानको कुरा गर्न सुहाउला त ?उहाँ त यसरी बोलिरहनु भएको छ मानौं सबिनाजी र उहाँको स्टाटस एउटै हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.