नेपालमै भविष्य खोज्ने अन्तर्राष्ट्रिय रेफ्री
खेलाडीसरह रेफ्री र प्रशिक्षकलाई पनि सम्मान, तालिम, अवसर र सुरक्षा दिन उनी सरकारसँग आग्रह गर्छन्।
नेपालमा खेलकुद क्षेत्रका धेरै प्रतिभाहरू अवसर, पूर्वाधार र आर्थिक असुरक्षाका कारण बिदेसिने क्रम बढिरहेको बेला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल यस्ता व्यक्तित्व हुन् जो देशमै सम्भावना खोज्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजिल्याइरहेका छन्। खेलकुद, सैनिक सेवा, प्रशिक्षण र राष्ट्रसेवाको बहुआयामिक यात्राले उनलाई आज खेलकुद जगत्का प्रेरणादायी पात्रका रूपमा स्थापित गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको साबिक कुशादेवी गाविस वडा नं. २ (हाल पनौती नगरपालिका) मा बुबा पुष्कल ढकाल र आमा सीता ढकालको सन्तानका रूपमा २०४५ साल पुस २९ गते जन्मिएका ढकालको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो। परिवारको मेहनत, खेतीपाती र व्यापारले जीवन सहज बनेको थियो। सानै उमेरदेखि खेलप्रतिको आकर्षण देखेपछि अभिभावकले २०५७ सालमा स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङमा उनलाई भर्ना गरिदिए। त्यहीँबाट सुरु भएको यात्रा आज विश्व मञ्चसम्म पुगेको छ।
ब्ल्याक बेल्ट प्राप्त गर्न पनौतीसम्म पुगेर संघर्ष गर्नु परेको स्मरण गर्दै ढकाल भन्छन्, ‘सफलता सजिलै आउँदैन, त्यसका लागि निरन्तरता, अनुशासन र धैर्य चाहिन्छ।’ खेलाडी बन्ने सपना बोकेर अघि बढेका उनले पछि प्रशिक्षक र निर्णायकको भूमिकामा आफूलाई रूपान्तरण गरे। उनका अनुसार खेलाडीभन्दा प्रशिक्षक बन्न कठिन छ, किनकि प्रशिक्षकले खेलाडीको भविष्य निर्माण गर्छ भने निर्णायकले खेलको निष्पक्षता जोगाउँछ।
२०६७ असोज २५ गते नेपाली सेनामा प्रवेश गरेका ढकाल हाल अमल्दार पदमा कार्यरत छन्। त्रिभुवन आर्मी क्लबमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक तथा प्रशिक्षकका रूपमा सक्रिय रहनुका साथै उनले सैनिक आवासीय महाविद्यालयहरूमा प्रशिक्षण दिइरहेका छन्। सेना र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउनु चुनौतीपूर्ण भए पनि आफ्नो मेहनतले सम्भव भएको उनी बताउँछन्।
उनको करियरको महत्वपूर्ण मोड सन् २०१८ मा आयो। चीनको बुशी सहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारमा सहभागी भई उत्तीर्ण भएपछि उनी नेपाली सेनाको इतिहासमा ३६ वर्षपछि तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भए। नेपालबाट सहभागी ६ जनामध्ये उनीमात्रै छनोट हुनु आफैंमा ठूलो उपलब्धि थियो।
उनले थुप्रै विश्वस्तरीय प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरेका छन्। विश्व मिलिटरी गेम्स, रोयल स्पेनिस इन्टरनेसनल ओपन, क्यानडा ओपन, अस्ट्रेलिया ओपन, जर्मन ओपन, फ्रेन्च ओपन, बेल्जियन ओपनलगायत प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले निष्पक्ष र दक्ष अफिसियलका रूपमा पहिचान बनाएका छन्।
तेक्वान्दोमा पाँचौँ डान ब्ल्याक बेल्ट प्राप्त ढकाल अहिले पनि नियमित अभ्यास, फिटनेस र प्रशिक्षणमा सक्रिय छन्। ‘प्रशिक्षकले अरूलाई सिकाउनुअघि आफू फिट हुनुपर्छ’, उनले भने। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। ढकालको योगदानलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले कदर गर्दै उनलाई सम्मानित गरेका छन्। उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०८० (रु.१ लाखसहित), राष्ट्रिय धरोहर प्रतिष्ठान उत्कृष्ट खेलाडी सम्मान २०८२, विश्व मिलिटरी गेम्स इनकरेजमेन्ट अवार्ड, युरो स्पोट्र्स बेल्जियम सम्मान, उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मान, विभिन्न नगरपालिका, गैरआवासीय नेपाली संघ, अस्ट्रिया तथा स्पेनी राजदूतावासबाटसमेत सम्मानित भएका छन्।
हाल उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत रिपब्लिक अफ डेमोक्रेटिक कंगोमा नेपाली सेनाको प्रतिनिधित्व गरिरहेका छन्। खेलकुद र शान्ति सेवा— दुवै क्षेत्रमा उनको सक्रियता अनुशासन, धैर्य, निर्णय क्षमता र राष्ट्रप्रतिको समर्पणको उत्कृष्ट उदाहरण हो।
अन्तर्राष्ट्रिय रेफ्री ढकाल केवल आफ्नो उपलब्धिमा मात्र सीमित छैनन्। नेपालको समग्र खेलकुद क्षेत्रको सुधारका लागि पनि उनको स्पष्ट धारणा छ। उनका अनुसार नेपालमा खेलाडी, प्रशिक्षक र रेफ्रीहरू आर्थिक असुरक्षा, न्यून पारिश्रमिक, बिमा अभाव र कमजोर पूर्वाधारका कारण संघर्षरत छन्। ‘विदेशमा खेलकुद पेसा हो, नेपालमा अझै संघर्ष हो’, उनी भन्छन्।
खेलाडीसरह रेफ्री र प्रशिक्षकलाई पनि सम्मान, तालिम, अवसर र सुरक्षा दिन उनी सरकारसँग आग्रह गर्छन्। खेलकुद क्षेत्रको बजेट बढाएर ग्रासरुट तहदेखि प्रतिभा विकास गर्नुपर्ने उनको धारणा छ। निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई रोजगारी र उद्योगसँग जोड्नुपर्ने उनले बताए। विदेशमा अवसर देख्दा पनि देश नछोड्नुको कारणबारे ढकालको जवाफ सरल छ, ‘मैले धेरै ठाउँमा अवसर देखेँ तर पलायन हुने सोच कहिल्यै आएन। म नेपालमै भविष्य बनाउने पक्षमा छु।’
आज धेरै युवा विदेशलाई मात्र सम्भावनाको केन्द्र ठानिरहेका छन्। यद्यपि दीपेन्द्र ढकालको जीवनले फरक सन्देश दिन्छ— सपना ठूलो भए देशभित्रै पनि सम्भावना निर्माण गर्न सकिन्छ। साधारण गाउँबाट उठेर विश्व मञ्चसम्म पुगेका उनी आज राष्ट्रको गौरव, युवाका प्रेरणा र समर्पणका प्रतीक बनेका छन्।
प्रतिक्रिया दिनुहोस !