धनुषामा तीन दिनदेखि बेपत्ता पुरुषको शव बाँसघारीमा फेला
ढल्केवर(धनुषा) : धनुषामा तीन दिनदेखि बेपत्ता रहेका पुरुषको शव बाँसघारीमा फेला परेको छ।
बुधबार साँझदेखि सम्पर्कविहीन भएका बटेश्वर गाउँपालिका–४ का ६० वर्षीय जगतबहदुर थापाको शव शुक्रबार बिहान स्थानीय जगदीश रविदासको बाँसघारीमा भेटिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।
छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि जगतबहादुर बेपत्ता भएका थिए। त्यति बेला मादक पदार्थ सेवन गरेको उनको भनाइ छ। अत्यधिक मादक पदार्थ सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण एकीन हुने प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए।
प्रतिक्रिया दिनुहोस !