पृथ्वीमा फर्किए आर्टिमिसका नायकहरू

पृथ्वीमा फर्किए आर्टिमिसका नायकहरू

काठमाडौं : नासाको ऐतिहासिक आर्टिमिस २ मिसन सफलतापूर्वक सम्पन्न गर्दै चार अन्तरिक्षयात्री शनिबार बिहान पृथ्वीमा फर्किएका छन्। उक्त मिसनअन्तर्गत चन्द्रमाको वरिपरि चक्कर लगाएर उनीहरू अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोको तटनजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेका हुन्। 

उनीहरूलाई महासागरमा अवतरणपछि हेलिकप्टरमार्फत ‘यूएसएस जन पी. मुर्था’ नामक जहाजमा लगिएको थियो। त्यहाँ उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो। १० दिनको यस यात्रामा उनीहरूले पृथ्वीबाट २ लाख ५२ हजार ७ सय ५६ माइलको दूरी तय गरे, जुन मानव इतिहासमै अहिलेसम्मको सबैभन्दा टाढाको दूरी हो।

यस मिसनले मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने कीर्तिमान कायम गरेको छ। अन्तरिक्ष यात्रीहरूको टोलीमा कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिसन विशेषज्ञ क्रिस्टिना कोच र क्यानेडियन अन्तरिक्षयात्री जेरेमी ह्यान्सेन छन्। यस यात्राको नेतृत्व वाइजम्यानले गरेका हुन् भने ह्यान्सेन चन्द्रमामा पुग्ने पहिलो क्यानेडेली नागरिक हुन्।अन्तरिक्षयात्रीको अद्भुत यात्रा !

नासाको ऐतिहासिक आर्टिमिस २ मिसन सम्पन्न गरी ४ अन्तरिक्षयात्री शनिबार बिहान पृथ्वीमा फर्किएका छन्। यसको सफलतासँगै नासाले अब सन् २०२७ का लागि आर्टिमिस ३ मिसनको तयारी सुरु गर्ने बाटो खुलेको छ । उक्त मिसनले चन्द्रमाको सतहमा अवतरण गर्ने प्रविधिको परीक्षण गर्नेछ । 

शनिबार पृथ्वीमा अवतरण गरेपछि आर्टिमिस २ को टोलीले आफ्नो १० दिने चन्द्र मिसनलाई एक भव्य र ऐतिहासिक यात्राको रूपमा वर्णन गरेका छन्। कमान्डर रिड वाइजम्यानले मानव जातिले यसअघि कहिल्यै नदेखेका दृश्यहरू अवलोकन गरेको कुरामा जोड दिँदै भने, ‘कस्तो अद्भुत यात्रा !’ त्यसैगरी पाइलट भिक्टर ग्लोभरले अन्तरिक्षको विशाल शून्यतामा पृथ्वीलाई एउटा सुन्दर ‘ओएसिस’ (मरुद्यान) को रूपमा चित्रण गरे। हावा नभएको र निर्जीव शून्यताको बीचमा पृथ्वीमात्र एउटा यस्तो सुन्दर ठाउँ हो जहाँ जीवन सम्भव छ भन्ने तथ्यलाई उनले ओएसिसको संज्ञा दिएका हुन्। टोलीले यस मिसनलाई ओरियन क्याप्सुलको क्षमता परीक्षण गर्ने एक ‘पाठ्यपुस्तक’ जस्तै सफल र त्रुटिरहित मिसनको रूपमा व्याख्या गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले एक व्यक्तिगत परम्पराको सम्मान गर्दै चन्द्रमाको एउटा क्रेटर (खाडल) को नाम वाइजम्यानकी स्वर्गीय पत्नी क्यारोलको नाममा राखे, जसलाई उनले मिसनको सर्वोच्च क्षण भनेका छन्। अन्तरिक्ष यात्री क्रिस्टिना कोचले आफूले अन्य सबै कुराभन्दा बढी मिसनको सामीप्यता र मित्रतालाई याद गर्ने जनाइन्।

पृथ्वीमा फिर्ता हुनुअघिको उनीहरूको एउटा सन्देश निकै हृदयस्पर्शी थियो। चन्द्रमाको पछिल्लो भागमा सञ्चार विच्छेद हुनुभन्दा ठीक अघि टोलीले सन्देश पठाउँदै भनेको थियो, ‘हामी अझै पनि पृथ्वीबाट तपाईंहरूको माया महसुस गरिरहनेछौं। पृथ्वीमा र पृथ्वीको वरिपरि रहनुभएका तपाईंहरू सबैलाई चन्द्रमाबाट हाम्रो धेरै माया।’ पृथ्वीमा फर्किएपछि पनि उनीहरूले आफूहरू खुसी र स्वस्थ रहेको जानकारी दिएका छन्।

टोलीसँग स्पेस सेन्टरको सवालजवाफ

पृथ्वीमा फर्कने क्रममा उनीहरूसँग ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टरबाट भएको प्रश्नोत्तरका क्रममा उनीहरूले आफ्नो अनुभव सुनाएका थिए। टिम कमान्डर वाइजम्यानले आफूले चन्द्रमाभन्दा पनि टाढाबाट पृथ्वीलाई हेर्दा कस्तो देखिन्छ भन्ने नौलो अनुभव हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘यो एक असाधारण मानवीय अनुभव थियो, यसका लागि म निकै कृतज्ञ छु,’ उनले भने। अर्का यात्री भिक्टर ग्लोभरले ३२१ फिट लामो रकेटमा बसेर यति द्रुत गतिमा यात्रा गर्न पाउनु र पृथ्वीबाट चन्द्रमासम्म पुग्दा र त्यहाँबाट पृथ्वीमा आउँदाको दूरीलाई गन्दै आउन पाउनु अद्भुत र आश्चर्यजनक अनुभव रहेको बताए।

त्यसैगरी क्रिस्टिना कोचले अन्तरिक्ष यानमा उड्नु अद्वितीय अनुभव रहेको र यो यात्रा कति छिटो सकियो भन्नेमा आफू छक्क परिरहेको बताउँदै भनिन्, ‘म त अझै घर जान तयार नै छैन जस्तो लाग्छ। हामीले यात्राको हरेक मिनेट रमाइलो गरी बितायौं।’ त्यसैगरी जेरेमी ह्यान्सेनले आफूले अकल्पनीय र असाधारण अनुभव गरेको सुनाउँदै भने, ‘हामीले अझै अन्वेषण गर्नुपर्छ। हाम्रो ज्ञान र क्षितिजलाई फराकिलो बनाउन हामी अझै अगाडि बढ्नुपर्छ। जति पटक हामी टाढा जान्छौं, पृथ्वी झन् सानो र व्यवस्थापन गर्न सकिने जस्तो देखिन्छ।’

सम्पूर्ण मिसनभरि अन्तरिक्ष यात्रीहरूले आफ्नो घरभन्दा सुन्दर ठाउँ अन्त कतै रहेनछ भन्ने अनुभव गरे। उनीहरूले प्रायः पृथ्वीलाई हेरेर अचम्म मान्दै आफ्नो गृह ग्रह पृथ्वीप्रति एक नयाँ किसिमको सम्मान प्रकट गरिरहे। अन्तरिक्षको विशालताको बीचमा पृथ्वीलाई देखेपछि धेरै अन्तरिक्ष यात्रीहरूले यस्तो अनुभव गर्ने गरेको बताइन्छ।

पृथ्वीको पातलो वायुमण्डल कति कमजोर देखिन्छ भन्ने कुरा नियालेपछि धेरैलाई यस ग्रहको रक्षा गर्न प्रेरणा मिलेको छ। साथै, मानवतालाई चाहिने सबै कुरा प्रदान गर्ने र जीवन धान्न सक्ने यो मात्र एउटा ज्ञात संसार हो भन्ने कुरा पनि आफूहरूले महसुस गरेको उनीहरूले बताए।

मिसन कमान्डर रिड वाइजम्यानलाई शनिबार ‘यूएसएस जन पी. मुर्था’ जहाजमा अवतरण गरेपछि फ्लाइट डेकबाट बाहिर निस्कन सहयोग गरिँदै गर्दा अर्का अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले मिसन सुरु गर्दाको मेरो दृष्टिकोण यो थियो कि हामी अन्तरिक्षको शून्यतामा एउटा कमजोर ग्रहमा बसिरहेका छौं। विज्ञानबाट हामीलाई यो थाहा भयो कि हामी पृथ्वीमा बस्न पाउनु निकै भाग्यमानी कुरा हो। र जीवनका भोगाइहरूबाट मैले सिकेको अर्को कुरा के हो भने मानवका रूपमा यस ग्रहमा हाम्रो उद्देश्य एकअर्कालाई नष्ट गर्नुको सट्टा मिलेर समाधान निकाल्नु हो। एकअर्कालाई साथ दिनु र अघि बढाउनुमा खुसी खोज्नु हो। जब तपाईं बाहिरबाट पृथ्वीलाई देख्नुहुन्छ, यसले त्यो सोचलाई बदल्दैन, बरु पूर्णरूपमा पुनः पुष्टि गरिदिन्छ।’

अन्तरिक्ष यात्रीहरूले पृथ्वी कुनै देश वा सीमा रेखाहरूले बाँधिएको गोला नभई एकताबद्ध भएको साझा थलो जस्तो देखिने अनुभव सुनाए। भिक्टर ग्लोभरले पृथ्वीका बारेमा आफ्नो अनुभव सुनाउँदै भने, ‘हामीलाई विश्वास गर्नुहोस्, पृथ्वी निकै अद्भुत देखिन्छ। तिमी अत्यन्तै सुन्दर देखिन्छौं। यहाँ माथिबाट हेर्दा, तिमी एउटै साझा अस्तित्व जस्तो देखिन्छौं। तपाईं जहाँबाट आएको भए पनि वा जस्तो देखिए पनि, हामी सबै मानव जाति हौं। 
हामी सबै एकै हौं।’

घर फर्किँदै अन्तरिक्ष यात्री

उनीहरूको घर फिर्ती कार्यक्रमअन्तर्गत आइतबार ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टरमा पुग्ने तालिका छ। यस मिसनको सफलताले नासालाई अब सन् २०२७ का लागि आर्टिमिस ३ मिसनको तयारी सुरु गर्न सहज बनाएको छ, जसले चन्द्रमाको सतहमा अवतरण गर्ने प्रविधिको परीक्षण गर्नेछ। यसको अन्तिम लक्ष्य चन्द्रमामा स्थायी आधार निर्माण गरी मंगल ग्रहको यात्राका लागि जग बसाल्नु रहेको नासाले जनाएको छ।

ट्रम्पले बोलाए टोलीलाई ह्वाइटहाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस यात्रालाई शानदार यात्राको संज्ञा दिँदै अन्तरिक्ष यात्री टोलीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले भने, ‘आर्टिमिस २ का महान् र अत्यन्त प्रतिभाशाली टोलीलाई बधाई छ। यो सम्पूर्ण यात्रा भव्य थियो, अवतरण उत्तम रह्यो र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मलाई योभन्दा बढी गर्व गर्ने ठाउँ अर्को छैन। म यहाँहरू सबैलाई चाँडै ह्वाइटहाउसमा भेट्न उत्सुक छु। हामी यो फेरि गर्नेछौँ र त्यसपछिको अर्को कदम—मंगल ग्रह !’

अन्तरिक्ष यात्रीलाई बधाईको ओइरो

मिसन सफल पारेर पृथ्वीमा फर्किएका टोलीलाई बधाई दिँदै नासाका प्रशासक जेरेड आइज्याकम्यानले भने, ‘आर्टिमिस २ ले असाधारण कौशल, साहस र समर्पण प्रदर्शन गरेको छ। यस मिशनको सफलतासँगै अब हाम्रो आर्टिमिस ३ को तयारी र चन्द्रमाको सतहमा पुनः मानिस उतार्ने लक्ष्यतर्फ ध्यान केन्द्रित भएको छ।’

त्यसैगरी नासाका सहप्रशाक अमित क्षत्रियले थपे, ‘५३ वर्षअघि मानवताले चन्द्रमा छाडेको थियो। यसपटक हामी त्यहाँ बस्नका लागि फर्किएका छौं। भविष्य जित्ने पालो हाम्रो हो।’ क्यानाडेली स्पेस एजेन्सी र अमेरिकी नौसेना रिकभरी टोलीले पनि अन्तरिक्ष यात्रीलाई बधाई दिँदै पृथ्वीमा स्वागत गरेका छन्।

यस्ता छन् मिसनका उपलब्धि

यो मिसनले सन् १९७० मा एपोलो १३ का अन्तरिक्ष यात्रीहरूले कायम गरेको दूरीको रेकर्डलाई तोडेको छ। टोलीले जम्मा ६ लाख ९४ हजार ४ सय ८१ माइलको यात्रा गरेको छ। अन्तरिक्ष यात्रीहरू चन्द्रमाको सतहभन्दा करिब ४ हजार ६७ माइल माथिबाट उडेर चन्द्रमाको निकैनजिक पुगेका थिए। अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतह र सौर्य ग्रहणका ७ हजारभन्दा बढी तस्बिरहरू खिचे। उनीहरूले नासालाई चन्द्रमामा आधार निर्माण गर्न र मंगल ग्रहको यात्राको तयारी गर्न मद्दत पुर्‍याउने उद्देश्यले विभिन्न वैज्ञानिक अनुसन्धानहरूमा सहयोग गरेका थिए।

ती अनुसन्धानमा ‘अवतार’ अनुसन्धान पनि समावेश थियो, जसले सूक्ष्म गुरुत्वाकर्षण र गहिरो अन्तरिक्षको विकिरणयुक्त वातावरणमा मानव तन्तुले कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गर्छ। यसका साथै अन्य मानव कार्यक्षमतासम्बन्धी अध्ययनहरूले लामो अवधिका मिसनहरूका लागि आवश्यक स्वास्थ्य तथ्यांकहरू पनि संकलन गरेका थिए। अन्तरिक्ष यात्रीले नयाँ प्रविधिको परीक्षणसमेत गरेका थिए। पहिलोपटक मानव सहित उडान गरेको ओरियन अन्तरिक्ष यानको ‘लाइफ सपोर्ट सिस्टम’ र ‘हिट शिल्ड’ को सफल परीक्षण गरिएको थियो।

यसरी फर्किएको थियो आर्टिमिस २ पृथ्वीमा

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ओरियन अन्तरिक्ष यान २४ हजार माइलप्रति घण्टाको गतिमा थियो। यसको ‘हिट शिल्ड’ ले सूर्यको सतहको आधा जति अत्यधिक तापक्रमको सामना गरेको थियो। यही अत्यधिक गर्मीका कारण ‘इन्टिग्रिटी’ नामक उक्त क्याप्सुलको ह्युस्टनस्थित मिसन कन्ट्रोलसँगको सम्पर्क ६ मिनेटसम्म टुटेको थियो।

६ मिनेटपछि कमान्डर वाइजम्यानको आवाज सुनिएपछि ह्युस्टनमा खुसियाली छायो। प्यारासुटहरू सफलतापूर्वक खुलेपछि क्याप्सुल समुद्रमा अवतरण भएको थियो। यस खुसी र सफलताले आर्टिमिस कार्यक्रमको अर्को चरणका लागि बाटो खोलेको छ, जसको लक्ष्य चन्द्रमामा मानव अवतरण गराउने र त्यहाँ स्थायी आधार निर्माण गर्ने रहेको नासाले जनाएको छ।

ओरियनमा प्राविधिक सुधार आवश्यक

अन्तरिक्ष यात्रीहरूले बारम्बार भनेझैं यो एक परीक्षण उडान थियो र उनीहरूले गरेका प्रत्येक कार्य भविष्यका मिशनहरूको तयारीका लागि एउटा प्रयोग थियो। नासाले यो टोलीद्वारा संकलित तथ्यांकहरूको समीक्षा गर्दै आर्टिमिस ३ तर्फ ध्यान केन्द्रित गरिरहँदा यस ओरियन अन्तरिक्ष यानमा अझै केही प्राविधिक सुधारको आवश्यकता रहेको टोलीले जनाएको छ।

परीक्षण उडानका क्रममा केही साना र केही गम्भीर समस्याहरू देखिएका थिए, जसलाई आगामी मिशनअघि सुधार्न जरुरी छ। उडानका क्रममा ओरियनका केही सेन्सरहरूमा खराबी आउँदा चेतावनी सन्देशहरू आइरहेका थिए। यद्यपि, मिसन नियन्त्रकहरूले यसलाई ठूलो चिन्ताको विषय भने मानेका छैनन्। सबैभन्दा गम्भीर समस्या ओरियनको ‘सर्भिस मोड्युल’ को प्रोपल्सन प्रणालीमा देखिएको छ। यो मोड्युलले नै अन्तरिक्ष यात्रीहरूलाई अक्सिजन, शक्ति र उडानका लागि ऊर्जा प्रदान गर्छ। प्रोपल्सन प्रणालीमा भएको चुहावटले इन्धन ट्यांकीको दबाबलाई असर गरेको थियो। 

नासालाई उडानअघि नै केही चुहावट हुन सक्ने आशंका थियो, तर दोस्रो दिन मुख्य इन्जिन चलाउँदा यो चुहावट अपेक्षा गरिएको भन्दा १० गुणाले बढेको थियो। नासाका सहप्रशासक क्षत्रियका अनुसार यो समस्या समाधान गर्न भल्भ प्रणालीको व्यापक पुनः डिजाइन गर्नु आवश्यक पर्न सक्छ। यो मिशनमा कुनै ठूलो क्षति नपुर्‍याए पनि भविष्यका लामो अवधिका उडानका लागि यसलाई पूर्ण रूपमा मर्मत गर्नुपर्ने उनले जनाए।

अन्तरिक्ष यात्रीलाई शौचालयको समस्या

अन्तरिक्ष यात्रीहरूका लागि यो मिशनमा शौचालय सबैभन्दा टाउको दुखाइको विषय बन्यो। क्याप्सुल बाहिर फोहोर पानी फाल्ने प्रणालीमा समस्या आएका कारण भण्डारण ट्यांकी भरिएर कहिलेकाहीँ शौचालय नै प्रयोग गर्न नमिल्ने अवस्था सिर्जना भएको थियो। यस्तो बेला अन्तरिक्ष यात्रीहरूले विकल्पका रूपमा प्लास्टिकको झोला प्रयोग गर्नुपरेको थियो, जुन निकै असुविधाजनक थियो। नासाले अर्को उडानअघि यसलाई सच्याउने प्रतिबद्धता जनाएको छ।

अब के गर्छ नासाले ?  

नासाका प्रशासक जेरेड आइज्याकम्यानका अनुसार अबको अर्को मिसन आर्टिमिस ३ सन् २०२७ को मध्यतिर हुनेछ, जसमा स्पेसएक्स र ब्लु ओरिजिनका ल्यान्डरहरूसँग डकिङ परीक्षण गरिनेछ। पहिलोपटक चन्द्रमाको सतहमा मानिस उतार्ने लक्ष्य राखिएको आर्टिमिस ४ मिसन भने सन् २०२८ का लागि तय गरिएको छ। यसको एउटा मुख्य कारण राजनीति पनि हो। यो अहिले राष्ट्रपति ट्रम्पको अन्तरिक्ष नीतिसँग मेल खान्छ, जसले सन् २०२८ सम्ममा अमेरिकीहरूलाई चन्द्रमाको सतहमा पुर्‍याउने लक्ष्य राखेको छ। यो समय सीमा उनको वर्तमान कार्यकालभित्रै पर्छ। स्वतन्त्र विश्लेषकहरू यो लक्ष्य यथार्थपरक रहेकोमा विश्वास गर्दैनन्। 

तर, संसद्ले करदाताको अर्बौं डलर खर्च गरेर यस मितिलाई समर्थन गरेको छ, जसको एउटा कारण क्षितिजमा देखिएको नयाँ प्रतिस्पर्धा पनि हो। यस शताब्दीमा आर्थिक र सैन्य महाशक्तिका रूपमा चीनको उदयसँगै उसको अन्तरिक्ष क्षमता पनि तीव्र गतिमा बढेको छ। चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने स्पष्ट लक्ष्य राखेको छ।

यदि धेरै विज्ञहरूले अनुमान गरेझैं आर्टिमिसको समय तालिका पछि धकेलियो भने चीन चन्द्रमामा पहिले पुग्न सक्छ। चीनको शैली सरल छ। यसले दुईवटा रकेट, छुट्टै क्रु मोड्युल र ल्यान्डर प्रयोग गर्दैछ, जसले अमेरिकी योजनाको इन–अर्बिट रिफ्युलिङ (कक्षमै इन्धन भर्ने) जटिलतालाई छल्नेछ।

                                                                        मंगल ग्रहः अब अर्को लक्ष्य
चन्द्रमाभन्दा धेरै टाढा मंगल ग्रह छ। अमेरिकी धनाढ्य एलन मस्कले यसै दशकको अन्त्यसम्ममा मानिसलाई उक्त रातो ग्रहमा पु¥याउने कुरा गरेका छन्। तर धेरै विज्ञहरूका अनुसार यो सन् २०४० को दशकभन्दा अघि सम्भव देखिँदैन। त्यहाँ पुग्न सातदेखि ९ महिना लाग्छ, जहाँ तीव्र विकिरणको सामना गर्नुपर्छ र उद्धारको कुनै सम्भावना हुँदैन। यस्ता चुनौतीहरू चन्द्रमामा पुग्नुको तुलनामा निकै ठूला छन्। मंगल ग्रहको पातलो वायुमण्डलका कारण मानवसहितको ठूलो अन्तरिक्षयान त्यहाँ अवतरण गराउनु र फेरि त्यहाँबाट प्रक्षेपण गर्नु आफैंमा एउटा अत्यन्तै जटिल विषय हो।
आर्टिमिस २ ले मानव अन्तरिक्ष उडानलाई पुनः चर्चामा ल्याएको छ। निजी कम्पनीहरूले निकै तदारुकताका साथ रकेट र ल्यान्डरहरू बनाइरहेका छन्। युरोपले पनि यसमा कति गहन रूपमा संलग्न हुने भन्नेमा छलफल गरिरहेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री अलेक्जेन्डर गेस्र्टले एक पटक भनेका थिए कि अन्तरिक्षबाट देखिने दृश्यले सबै कुरा परिवर्तन गरिदिन्छ। उनले इच्छा व्यक्त गर्दै भनेका थिए कि पृथ्वीका सबै मानिसले कम्तीमा एक पटक अन्तरिक्षमा गएर त्यो सानो, कमजोर तर सुन्दर ग्रह देख्न पाऊन्, जसको हेरचाह हामीले पर्याप्त मात्रामा गरिरहेका छैनौं। 
गेस्र्टका अनुसार त्यसले पृथ्वीमा एक बिल्कुलै फरक जीवनको सिर्जना गर्नेछ। पहिलो गन्तव्य चन्द्रमा, अर्को गन्तव्य मंगल ग्रह। त्यसैले पनि नासाको यो मिसन कति महत्वपूर्ण छ भन्ने कुरा यसैले प्रष्ट पार्छ। यस पटकको सफल अवतरणले नासाको प्रविधि र उडान मार्ग सही रहेको पुष्टि गरेको छ। यद्यपि चन्द्रमामा फेरि पाइला टेक्न अझै धेरै कठिन कामहरू बाँकी नै रहेको नासाले जनाएको छ।

- (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.