५४ वर्षपछिको गौरवपूर्ण उपलब्धि

आर्टिमिस–२ को अद्भुत र अविस्मरणीय चन्द्रयात्रा

चन्द्रयात्रा

आर्टिमिस–२ को अद्भुत र अविस्मरणीय चन्द्रयात्रा

काठमाडौं : चन्द्रमाको १० दिने ऐतिहासिक यात्रा सम्पन्न गरी चार अन्तरिक्षयात्रीसहितको ओरियन अन्तरिक्षयान आज पृथ्वीमा अवतरण गर्दैछ। ‘इन्टिग्रिटी’ नामक उक्त अन्तरिक्षयान नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित स्यान डिएगो नजिकै प्रशान्त महासागरमा अवतरण हुने कार्यक्रम तय गरिएको छ। ५४ वर्षपछि चन्द्रमातर्फ लागेको उक्त अन्तरिक्षयान अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो।

यस अभियानले भविष्यमा चन्द्रमामा गरिने आर्टिमिस–३ सहितका मानव अवतरणहरूका लागि प्रयोग गरिने प्रणालीहरूको परीक्षण गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। आर्टिमिस–२ मिसन अपडेट ब्रिफिङका क्रममा नासाका सह–प्रशासक अमित क्षेत्रीयले यो मिसन निर्माणमा संलग्न प्रत्येक इन्जिनियर र प्राविधिकलाई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। 

उनले भने, ‘चालक दलले आफ्नो भूमिका निर्वाह गरिसकेका छन्। अब हामीले हाम्रो काम पूरा गर्नुपर्नेछ।’ मिसनको क्रममा नासाका अन्तरिक्षयात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोचका साथै क्यानडाका जेरेमी ह्यान्सनले चन्द्रमाको यात्रा गर्दा मानव इतिहासमा पृथ्वीबाट सबैभन्दा टाढाको दूरी तय गरेका छन्।

आर्टिमिस २ अवतरणको प्रक्रिया

आर्टिमिस २ मिसनमा रहेको ओरियन अन्तरिक्षयान ‘इन्टिग्रिटी’ पृथ्वीको गुरुत्वाकर्षणको मद्दतले यस ग्रहमा फिर्ता हुनेछ। अन्तरिक्ष यानले आफ्नो बाटोलाई सुरक्षित राख्न ‘सर्भिस मोड्युल’ मा रहेका थ्रस्टरहरू प्रयोग गरी समय–समयमा स–साना सुधारहरू गरिरहेको छ। यी सुधारहरूले ओरियनलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नका लागि सही कोणमा राख्न मद्दत गर्छन्।  वायुमण्डलमा प्रवेश गर्दाको कोण अलिकति पनि बढी वा कम भएमा त्यो खतरनाक सावित हुन सक्ने जनाइएको छ। वायुमण्डलमा प्रवेश गर्नु केही घण्टाअघि अन्तिम बाटो सुधार गरिने नासाका वैज्ञानिकले जनाएका छन्। अन्तरिक्ष यात्रीहरूले आफ्ना विशेष सुरक्षा कबच लगाउनेछन् र यात्राको सबैभन्दा कठिन चरणका लागि तयार हुनेछन्।

अवतरण हुनुभन्दा करिब ४२ मिनेटअघि, यात्रीहरू रहेका मुख्य ‘क्रु मोड्युल’ र ‘सर्भिस मोड्युल’ एकअर्काबाट अलग हुनेछन्। यसरी छुट्टिएको सर्भिस मोड्युल वायुमण्डलमै जलेर नष्ट हुनेछ भने यात्रीहरू रहेको ‘क्रु मोड्युल’ले आफ्नो हिट–शिल्ड (ताप प्रतिरोधी ढाल)लाई अगाडि पारेर वायुमण्डलको घर्षणबाट उत्पन्न हुने प्रचण्ड तापलाई सहन गर्दै पृथ्वीमा प्रवेश गर्नेछ। यसरी अन्ततः उक्त यान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गर्नेछ।

नासाका एन्ट्री फ्लाइट डाइरेक्टर रिक हेनफ्लिङले अवतरणको प्रक्रियाबारे जानकारी दिँदै करिब २२ हजार फिटको उचाइमा पुगेपछि दुईवटा ‘ड्रोग’ प्यारासुटहरू खुल्ने र तिनले गतिलाई घटाएर प्रतिघण्टा करिब २०० माइलमा झार्ने बताए। त्यसको एक मिनेटपछि करिब ६ हजार फिटको उचाइमा सुन्तला रङका तीनवटा ठूला मुख्य प्यारासुटहरू खुल्नेछन्। हेनफ्लिङका अनुसार यी प्यारासुटहरूले अन्तरिक्षयान र त्यसमा रहेका चार यात्रीहरूको गतिलाई निकै कम गराई प्रतिघण्टा २० माइलको सुस्त गतिमा सुरक्षित साथ प्रशान्त महासागरमा अवतरण गराउनेछन्। यो मिसनको सफलताले पुनः चन्द्रमामा पाइला टेक्ने अर्को ठूलो कदम आर्टिमिस–३ का लागि बाटो खुल्नेछ। आर्टिमिस–२ नासाको नेतृत्वमा सञ्चालन भएको चन्द्रमा अभियान आर्टिमिस प्रोग्रामको दोस्रो मानवयुक्त मिसन हो। 

सन् १९७२ पछिको यो पहिलो मानवसहितको चन्द्र अभियान हो। यसको सफलताले भविष्यमा चन्द्रमामा मानिस बसाल्ने नासाको लक्ष्यलाई बल पुर्‍याउनेछ। अझै टाढाको अन्तरिक्ष यात्राको बाटो पनि यस मिसनले खोल्ने जनाइएको छ। आर्टिमिस–२ का प्रमुख उडान निर्देशक जेफ राडिगनले यस ऐतिहासिक चन्द्र मिसनको अन्तिम मिनेटहरूको चरणबद्ध विवरण सार्वजनिक गर्दै भने, ‘वायुमण्डलमा प्रवेश गरेदेखि समुद्रमा नझर्दासम्मको समय मात्र १३ मिनेटको हुनेछ। त्यसैले यो प्रक्रिया निकै छिटो हुनेछ र त्यो १३ मिनेटमध्ये ६ मिनेटसम्म ह्युस्टनस्थित उडान नियन्त्रण टोलीको अन्तरिक्षयात्रीहरूसँग कुनै पनि सञ्चार सम्पर्क हुनेछैन।’ यो प्रक्रिया जति छिटो सुरु हुनेछ, त्योभन्दा पनि छिटो समाप्त हुने उनले जनाए।

नासाका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा अन्तरिक्ष यानको बाहिरी तापक्रम अधिकतम ५ हजार डिग्री फरेनहाइटसम्म पुग्नेछ। समुद्रमा अवतरण भएको दुई घण्टाभित्रै अन्तरिक्षयात्रीहरूलाई यानबाट बाहिर निकालिनेछ र ‘युएसएस जोन पी. मर्था’ नामक पानी जहाजमा पुर्‍याइनेछ। यो अवतरणसँगै मानवजातिको चन्द्रमामा पुनः पुग्ने सपनाको एउटा महत्वपूर्ण अध्याय सफलतापूर्वक पूरा हुने पनि उनले जनाए।

अमेरिकी नौसेनाले ऐतिहासिक आर्टिमिस–२ मिसनबाट फर्किएपछि ओरियन अन्तरिक्षयान र यसका चालक दललाई सुरक्षित रूपमा ल्याउनको लागि जलथलचर ढुवानी जहाज युएसएस जोन पी. मर्था–एलपीडी २६ लाई रिकभरी जहाजको रूपमा खटाइएको जनाएको छ। ‘मिसन पूरा भएपछि ओरियन क्याप्सुल प्रशान्त महासागरमा अवतरण गर्नेछ, जहाँ जोन पी. मर्था र त्यसका टोलीहरू अन्तरिक्षयात्री र यानलाई उद्धार गर्न तयार रहनेछन्’, अमेरिकी नौसेनाले एक्समार्फत जनाएको छ।

                                                                 यस्तो छ अन्तरिक्षयात्रीको अनुभव
null
आर्टिमिस–२ मिसनको यात्राका क्रममा अन्तरिक्षयात्रीहरूले चन्द्रमाको निकै नजिक पुगेर महत्वपूर्ण अध्ययन र तस्बिरहरू संकलन गरेका छन्। अन्तरिक्षयात्री क्रिस्टिना कोचले गत अप्रिल ३ तारिखका दिन पृथ्वीको एउटा हाइ रेजुलुसन तस्बिर सार्वजनिक गर्दै ‘तपाईंहरू निकै राम्रो देखिनुहुन्छ’ भन्दै खुसी व्यक्त गरेकी थिइन्। त्यसैगरी कमान्डर वाइजम्यानले सार्वजनिक गरेका ‘हेलो वल्र्ड’ नाम दिइएको फोटोमा विशाल नीलो भाग देखिन्छ जुन आन्ध्र महासागर हो। त्यसमा पृथ्वीले सूर्यलाई छेकिदिँदा वायुमण्डलको तेज र दुई ध्रुवतर्फ हरिया अरोरा देखिन्छन्।
पाइलट भिक्टर ग्लोभरले अप्रिल ३, २०२३ मा यो मिसनका लागि छानिएदेखि नै आफूहरूले पृथ्वीमा पुनः प्रवेशको बारेमा सोचिरहेको बताए। उनले फिर्ता हुनुको महत्तमा जोड दिँदै भने, ‘यो केवल शारीरिक उपस्थितिका लागि मात्र नभई हामीले साथमा ल्याउने उपलब्धिहरूका लागि पनि महत्पूर्ण छ। हामी फर्कनै पर्छ। तपाईंहरूले धेरै तथ्यांकहरू देखिसक्नुभयो, तर सबै महत्वपूर्ण सामग्रीहरू हामीसँगै फिर्ता आउँदैछन्। त्यहाँ अझ धेरै तस्बिरहरू र अझ धेरै कथाहरू छन्। वायुमण्डलमा आगोको गोला बनेर यात्रा गर्नु आफैंमा एक गहन अनुभूति हो।’
अर्का अन्तरिक्षयात्री जेरेमी ह्यान्सनले भने, ‘हामी अन्तरिक्षको शून्यतामा एउटा कमजोर ग्रहमा बसिरहेका छौं। हामी पृथ्वीमा बस्न पाएकोमा धेरै भाग्यमानी छौं।’ उनले अगाडि थपे, ‘मैले जीवनमा अरूबाट सिकेको अर्को कुरा के हो भने मानवका रूपमा हाम्रो उद्देश्य एकअर्कालाई नष्ट गर्नुको सट्टा मिलेर समाधान खोज्दै अघि बढ्नु र खुसी प्राप्त गर्नु हो।’
कमान्डर रिड वाइजम्यानका लागि सबैभन्दा शक्तिशाली क्षण त्यो थियो जब पृथ्वी पूर्णरूपमा देखिन छाड्यो। ‘आफ्नो मातृग्रह चन्द्रमाको पछाडि हराएको देख्नु अद्भुत थियो। तपाईंले वायुमण्डल देख्न सक्नुहुन्थ्यो र चन्द्रमाको सतहको छायाँ पृथ्वीमा परेको पनि स्पष्ट देखिन्थ्यो। यो वास्तवमै अविश्वसनीय दृश्य थियो। र, त्यसपछि यो पूर्णरूपमा ओझेल पर्‍यो ’, कमान्डर वाइजम्यानले उक्त क्षणलाई यसरी वर्णन गरे। ब्रह्माण्डमा हाम्रो ग्रह अति नै सुन्दर र विशेष रहेकाले हामीले उपहार स्वरूप पाएको यस ग्रहलाई सबै मिलेर जोगाउनुपर्ने उनले बताए।

कमान्डर वाइजम्यानको ऐतिहासिक यात्रा

नासाका अनुभवी अन्तरिक्ष यात्री रिड वाइजम्यानले पनि आज एउटा ठूलो इतिहास रच्दैछन्। उनी पाँच दशकभन्दा लामो समयपछि चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्कन लागेको आर्टिमिस–२ मिसनको कमान्डर हुन्। यो १० दिने मिसनमा वाइजम्यानसँगै अन्य तीन अन्तरिक्षयात्रीहरू पनि सहभागी छन्। उनीहरूले चन्द्रमाको निकै नजिक पुगेर त्यहाँको वातावरण र अन्तरिक्षयानको प्रणालीहरूको परीक्षण गरेका छन्। 

सन् २००९ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा अन्तरिक्षयात्रीका रूपमा छनोट भएका वाइजम्यानले सन् २०१४ को मेदेखि नोभेम्बरसम्म ‘एक्सपिडिसन ४१’ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ‘फ्लाइट इन्जिनियर’का रूपमा सेवा प्रदान गरेका थिए। आफ्नो १६५ दिने लामो बसाइका क्रममा उनी र उनका सहकर्मीहरूले मानव शरीर विज्ञान, औषधि, भौतिक विज्ञान, पृथ्वी विज्ञान र खगोल भौतिक शास्त्र जस्ता क्षेत्रमा ३०० भन्दा बढी वैज्ञानिक प्रयोगहरू सम्पन्न गरेका थिए।

यी हुन् चन्द्रमा पुगेर आउने चार मानव

रिड वाइजम्यानको नेतृत्वमा आर्टिमिस मिसनमा चन्द्रमाको वरिपरि चक्कर लगाएर फर्कनेहरूमा भिक्टर जे ग्लोभर, क्रिस्टिना कोच र क्यानेडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन रहेका छन्। 
ग्लोभर आर्टिमिस–२ मिसनको पाइलटका रूपमा रहेका छन्। सन् २०१३ मा अमेरिकी सिनेटमा ‘लेजिस्लेटिभ फेलो’का रूपमा काम गर्दागर्दै अन्तरिक्षयात्रीमा छनोट भएका ग्लोभरले यसअघि ‘रेजिलेन्स’ नामक क्रु–१ ड्रागन अन्तरिक्षयानको पाइलटका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महत्वपूर्ण सेवा प्रदान गरिसकेका छन्।

 साहसी अन्वेषक तथा इन्जिनियर क्रिस्टिना कोच सन् २०१३ मा अन्तरिक्षयात्रीका रूपमा छनोट भएकी हुन्। उनी यस मिसनमा ‘मिसन स्पेसलिस्ट’ को भूमिकामा रहेकी छन्। कोचले यसअघि सन् २०१९ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लगातार ३२८ दिन बिताएर एक महिलाले एकल अन्तरिक्ष उडानमा सबैभन्दा लामो समय बिताएको विश्व कीर्तिमान कायम राखेकी छन्। सो क्रममा उनले पहिलोपटक महिलाले मात्र गरेको ‘स्पेस वाक’ मा सहभागी भएर पनि इतिहास रचिसकेकी छन्।
 
उक्त अभियानका लागि उनले रुसी सोयुज रकेटमा उडान भरेकी थिइन् र यसका लागि रुसमा व्यापक तालिम लिएकी थिइन्। उनले नासाको ‘अन्तरिक्षयात्री कार्यालय’मा शाखा प्रमुख र जोन्सन स्पेस सेन्टरमा प्राविधिक एकीकरण सहायकको रूपमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिसकेकी छन्।

सन् १९७६ मा जन्मिएका जेरेमी ह्यान्सन क्यानेडाली स्पेस एजेन्सीका अन्तरिक्षयात्री हुन्। उनी लडाकु विमानचालक र क्यानेडाली सशस्त्र बलका कर्नेल पनि हुन्। सन् २००९ मा नासामा छानिएका उनी आर्टिमिस अभियानमा मिसन स्पेसलिस्टको भूमिकामा चन्द्रमाको यात्रा गर्ने पहिलो क्यानेडाली नागरिक पनि हुन्। उनले भौतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् र उनी अनुभवी सीएफ–१८ चालक पनि हुन्।

चन्द्र अभियानको नयाँ युगः आर्टिमिस–१

नासाको ऐतिहासिक आर्टिमिस कार्यक्रमअन्तर्गतको पहिलो ठूलो उडान आर्टिमिस १ सन् २०२२ को नोभेम्बर १६ तारिखमा सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। पहिले ‘एक्सप्लोरेसन मिसन–१’ नाम दिइएको उक्त मानवरहित मिसनले अपोलो कार्यक्रमको झन्डै पाँच दशकपछि नासालाई पुनः चन्द्र अन्वेषणको बाटोमा फर्काएको थियो।

उक्त मिसनको मुख्य उद्देश्य ओरियन अन्तरिक्षयान र स्पेस लन्च सिस्टम (एसएलएस) रकेटको पहिलो एकीकृत उडान परीक्षण गर्नु थियो। विशेष गरी, पछिल्ला मानवसहितका मिसनहरूका लागि ओरियनको ‘हिट शिल्ड’ को क्षमता जाँच्नु यसको प्राथमिकता थियो। उक्त अभियानले चन्द्रमामा पुनः मानव उपस्थिति स्थापित गर्ने र भविष्यमा मंगल ग्रहको अन्वेषणका लागि आवश्यक प्रविधि र व्यावसायिक दृष्टिकोणहरूको उजागर गर्ने लक्ष्य राखिएको थियो।

अक्टोबर २०, २०२१ मा पूर्णरूपमा तयार पारिएको ओरियन अन्तरिक्षयानलाई अगस्ट १७, २०२२ मा प्रक्षेपणका लागि तयार गरिएको थियो। यद्यपि, केही प्राविधिक कठिनाइ र पूर्व–उडान परीक्षणमा देखिएका समस्याका कारण यसको प्रक्षेपणमा ढिलाइ भएको थियो। अगस्ट २९ मा इन्जिनको तापक्रम मापनमा त्रुटि र सेप्टेम्बर ३ मा इन्धन भर्ने क्रममा हाइड्रोजन चुहावट देखिएकाले पहिलो दुई प्रयास रद्द गरिएका थिए। अन्ततः नोभेम्बर १६, २०२२ को बिहान केनेडी स्पेस सेन्टरबाट यसको सफल प्रक्षेपण भएको थियो।

 यसअघिको अन्तिम पाइलाः अपोलो १७

सन् १९७२ डिसेम्बर ७ देखि १९ सम्म सञ्चालित अपोलो १७ नासाको अपोलो कार्यक्रमको एघारौं र अन्तिम मानवयुक्त मिसन थियो। यो मानव जातिले चन्द्रमाको सतहमा पाइला टेकेको छैटौं र सबैभन्दा पछिल्लो अवसर थियो।

उक्त मिसनको नेतृत्व कमान्डर जिन सरननले गरेका थिए भने ह्यारिसन स्किमिट लुनार मोड्युल पाइलट र रोनाल्ड इभान्स कमान्ड मोड्युल पाइलटको रूपमा सहभागी थिए। स्किमिट चन्द्रमामा पुग्ने पहिलो व्यावसायिक भूगर्भविद् थिए। यस मिसनमा विज्ञानलाई उच्च प्राथमिकता दिइएको थियो। कमान्ड मोड्युलमा पाँचवटा मुसाहरूसहितको जैविक प्रयोगलगायत नयाँ वैज्ञानिक अनुसन्धानहरू समावेश गरिएका थिए।

मिसनका क्रममा पाइएका केही प्रमुख उपलब्धिहरूमा सुन्तला रङको माटोको खोज एक हो। ‘सर्टी क्रेटर’मा सुन्तला रङको माटो फेला परेको थियो, जुन चन्द्रमाको प्रारम्भिक इतिहासमा भएको ज्वालामुखी विस्फोटको परिणाम भएको पुष्टि भएको थियो। चालक दलले तेस्रो लुनार रोभरको प्रयोग गरी चन्द्रमाको सतहमा व्यापक यात्रा गरेका थिए। अपोलो १७ ले अन्तरिक्ष उडानका क्षेत्रमा धेरै रेकर्डहरू कायम गरेको थियो। 

१२ दिन १४ घण्टाको समयसहित सबैभन्दा लामो मानवयुक्त चन्द्र अवतरण मिसन बन्यो। चन्द्रमाको सतहमा बिताएको सबैभन्दा लामो समय ७५ घण्टा पनि उक्त मिसनमै थियो। चन्द्रमाको कक्षमा सबैभन्दा धेरै ७५ पटक परिक्रमा गरिएको थियो। 

त्यतिबेला चन्द्रमाको सतहबाट माटो ढुंगालगायत ११५ किलोको सबैभन्दा ठूलो नमुना पृथ्वीमा ल्याइएको थियो। डिसेम्बर १९ मा पृथ्वी फर्किएसँगै अपोलो १७ ले मानव अन्तरिक्ष इतिहासको एउटा ठूलो अध्याय पार गरेको थियो। यो मिसनपछि सन् २०२६ अप्रिलमा आर्टिमिस–२ को सफल लुनार अभियान नहुन्जेलसम्म कुनै पनि मानव पृथ्वीको तल्लो कक्षभन्दा बाहिर गएका थिएनन्।

आफ्नो मातृग्रह चन्द्रमाको पछाडि हराएको देख्नु अद्भुत थियो। तपाईंले वायुमण्डल देख्न सक्नुहुन्थ्यो र चन्द्रमाको सतहको छायाँ पृथ्वीमा परेको पनि स्पष्ट देखिन्थ्यो। यो वास्तवमै अविश्वसनीय दृश्य थियो र त्यसपछि, यो पूर्णरूपमा 
ओझेल पर्‍यो। 
null
कमान्डर रिड वाइजम्यान

हामी अन्तरिक्षको शून्यतामा एउटा कमजोर ग्रहमा बसिरहेका छौं। हामी पृथ्वीमा बस्न पाएकामा धेरै भाग्यमानी छौं। मानवका रूपमा हाम्रो उद्देश्य एकअर्कालाई नष्ट गर्नुको सट्टा मिलेर समाधान खोज्दै अघि बढ्नु र खुसी प्राप्त गर्नु हो। 
null
जेरेमी ह्यान्सन

                              -एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.