यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु हुँदैछ । लामो समयदेखि तयारीमा रहेका विद्यार्थीका मनमा डर र उत्साह दुवै छाएको छ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । कक्षा १२ विद्यालय शिक्षाको अन्तिम खुडकलो हो, तर व्यवहारतः आज पनि एसईईलाई विद्यार्थी जीवनको महत्त्वपूर्ण परीक्षा मानिन्छ । यसले विद्यार्थीको आधारभूत ज्ञान, सीप र क्षमता मापन गर्छ । यसलाई उत्तीर्ण गरेपछि मात्र विद्यार्थीले आफ्नो करियरको बाटो पहिल्याउँछन् । विज्ञान पढ्ने कि व्यवस्थापन, मानविकीतर्फ लाग्ने कि प्राविधिक धार समात्ने भन्ने कुराको छनोट प्रायः विद्यार्थीले एसईईको नतिजा हेरेरै निर्धारण गर्छन् । त्यसैले पनि एसईई उच्च शिक्षाको प्रवेशद्वार हो भने यसले भविष्यको अध्ययन दिशानिर्देश गर्छ ।
नेपाली समाजमा एसईईलाई अझै पनि ‘फलामको ढोका’ पार गर्नु सरह मानिन्छ । यसो भन्नुको पछाडि गहिरो मनोविज्ञान जोडिएको छ । सामाजिक र शैक्षिक कारणहरू पनि त्यत्तिकै छन् । ‘एसईई गाह्रो हुन्छ’ भन्दै परीक्षाको हाउगुजी सानैदेखि विद्यार्थीको मानसपटलमा घुसाइएको हुन्छ । ‘यो परीक्षा बिग्रिए जीवन नै बर्बाद हुन्छ’ भन्ने मनोविज्ञान विद्यार्थीमा मात्र होइन, अभिभावकमा पनि हुन्छ । त्यसैले पनि यसलाई ‘फलामको ढोका’ जस्तै पार गर्न ठूलो चुनौती मानिएको हो ।
एसईईको नतिजालाई विद्यार्थीको क्षमता मात्र नभई परिवारको प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । छिमेकी, आफन्त र समाजले विद्यार्थीको अंक वा ग्रेडलाई अझै निकै चासो दिन्छन् । यसले गर्दा पनि विद्यार्थीमाथि एउटा ठूलो मानसिक बोझ थोपरिएको हुन्छ । ग्रेडिङ प्रणाली लागू भएयता विद्यार्थीमा ‘फेल’ हुने डर कम भएको छ । समयसँगै केही परिवर्तन आए तापनि एसईई पनि अन्य परीक्षा सरह हो भनेर सहज रूपमा लिने परिपाटी अझै विकास हुन सकेको छैन ।
परीक्षाको तयारीका क्रममा विद्यार्थीमा लामो समयदेखि त्रास र तनावको भावना उत्पन्न हुन्छ । योसँगै परीक्षामा उत्कृष्ट जीपीए ल्याएर सुन्दर भविष्यको गोरेटोमा लम्कने उत्साह र सपना पनि धेरैले बुनेका हुन्छन् । विद्यार्थीका यिनै भावनालाई व्यवस्थापन गर्दै उनीहरूको डर–त्रासलाई प्रेरणामा र उत्साहलाई सफलतामा परिणत गराउने वातावरण अभिभावक एवं विद्यालयले बनाइदिनुपर्छ ।
परीक्षाको तयारीले विद्यार्थीमा मेहनत गर्ने बानी, समय व्यवस्थापन र आत्मविश्वास बढाउँछ । यो सीप उनीहरूलाई जीवनभर उपयोगी हुन्छ । सधैं आफ्नै विद्यालयका साथीभाइमाझ मात्र परीक्षा दिने गरेका विद्यार्थीमा यस परीक्षाले प्रतिस्पर्धात्मक क्षमता विकास गर्छ । जसले गर्दा भविष्यका अन्य व्यावहारिक र सैद्धान्तिक परीक्षाहरूमा पनि उनीहरूले सहजै सफलता पाउन सक्छन् । यस वर्षको परीक्षा सुरु हुनु केही दिनअघि मात्र देशमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शिक्षा क्षेत्रमा केही सकारात्मक सुधारको पहलकदमी गरेको देखिन्छ ।
हालै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी युनियन खारेजीको निर्णयले शिक्षा क्षेत्रमा नयाँ सन्देश प्रवाह गरेको छ । सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने र यथाशीघ्र नतिजा सार्वजनिक गर्ने जनाएको छ । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण थालिने भएको छ । प्राविधिक रूपमा यो कदम निकै सकारात्मक देखिन्छ । यसले नतिजाको पर्खाइमा लामो समय कुर्नुपर्ने बाध्यता हटाउँछ । त्यसैगरी शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन पनि सहयोग गर्छ । तर छिटो गर्ने नाममा कतै गुणस्तर र शुद्धतामा सम्झौता त हुँदैन ? अहिले यो प्रश्न हरेक अभिभावक र विद्यार्थीको मुख्य चिन्ताको विषय बनेको छ ।
सरकारले एसईई परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनामै प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । यसअघिसम्म बोर्डले करिब तीन महिना लगाएर नतिजा प्रकाशन गर्ने गरेको थियो । एक महिनामै नतिजा प्रकाशन गर्न सोही अनुरूपको कार्यविधि निर्माण र जनशक्ति परिचालन गरेर अगाडि बढ्नु आवश्यक छ । उत्तरपुस्तिका परीक्षण अंक जोड्ने प्रक्रियामात्र होइन, यो हरेक विद्यार्थीले १० वर्षभन्दा बढी अवधिसम्म गरेको मेहनतको मूल्यांकन पनि हो । एक महिनाभित्रै नतिजा निकाल्ने चटारोले उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्दा परीक्षकलाई निर्धारित समयभित्रै काम सक्ने तीव्र दबाब बढ्छ ।
यस्तो चटारोमा शिक्षकले ‘झारो
टार्ने’ शैली अपनाउने सम्भावना रहने हो कि भन्ने धेरैलाई डर छ । यदि कुनै परीक्षकले उत्तरको गहिराइ नबुझी वा नपढी सरसरती अंक दिएमा त्यसले जेहेन्दार विद्यार्थीलाई अन्याय हुने निश्चित छ ।
सबै विद्यार्थीको हस्तलेखन सुन्दर र स्पष्ट हुँदैन । केही विद्यार्थीमा विषयवस्तुको राम्रो ज्ञान भए तापनि अक्षर अलि नबुझिने वा केरमेट हुने समस्या हुन सक्छ । सफा र सुन्दर अक्षरले पक्कै पनि परीक्षकलाई आकर्षित गर्छ । यद्यपि परीक्षाको मुख्य उद्देश्य विद्यार्थीको समग्र ज्ञान परीक्षण गर्नु हो । त्यसैले परीक्षामा कति सुन्दर अक्षरमा लेख्योभन्दा पनि के लेख्यो भन्ने कुराले नतिजा निर्धारणमा भूमिका खेल्छ ।
सामान्य अवस्थामा त परीक्षकले धैर्यतापूर्वक अक्षर पहिल्याउन समय लगाउँछन्, तर हतारमा उत्तरपुस्तिका जाँच्दा नबुझिने अक्षर देख्नेबित्तिकै काटिदिने वा कम अंक दिने सनक चढ्न सक्छ । हतारोमा जाँचेर अक्षरले मात्रै विद्यार्थीको मूल्यांकन गरिँदा मेहनती विद्यार्थी मर्कामा पर्न सक्छन् । त्यसैले हस्तलेखन कमजोर हुँदैमा अंक काट्नु हुँदैन, आशय र शुद्धतालाई प्राथमिकता दिनुपर्छ भन्ने निर्देशन पनि परीक्षकलाई दिनु उत्तिकै जरुरी देखिन्छ ।
छिटो नतिजा निकाल्नु राम्रो पक्ष हो, तर यसका लागि सरकारको ठूलो तयारी आवश्यक छ । उत्तरपुस्तिका अनिवार्य रूपमा सीसीक्यामरा जडित कोठामा जाँचिनुपर्छ । त्यसैगरी परीक्षण भइरहँदा विशेषज्ञ टोलीले नमुनाका रूपमा केही उत्तरपुस्तिका पुनः जाँच गर्नुपर्छ । यसले लापरबाही गर्ने शिक्षकहरूलाई निरुत्साहित गर्छ ।
पैसा कमाउने ध्याउन्नमा कापीको संख्या मात्र बढाएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई हदैसम्मको सजायको भागिदार बनाइनुपर्छ । आफूले प्राप्त गरेको अंकप्रति कुनै पनि विद्यार्थीलाई चित्त नबुझेमा, ‘रिटोटलिङ’ गर्ने मात्र होइन, विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउनेसम्मको अधिकारको व्यवस्था सरकारले गरिदिनुपर्छ ।
परीक्षकको मानसिक थकाइ र हतारोको सजाय विद्यार्थीले पाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिँदैन । त्यसैले एउटा परीक्षकले दैनिक कतिवटा उत्तरपुस्तिका जाँच्न पाउने भन्ने संख्या निर्धारण गरिनुपर्छ । सरकारले शिक्षा क्षेत्रमा गर्ने कुनै पनि प्रयोग र परिवर्तन विद्यार्थीलाई केन्द्रमा राखेर गरिनुपर्छ । त्यसैले छिटोभन्दा पनि त्रुटिरहित नतिजा निकाल्न सरकार केन्द्रित हुनु जरुरी छ । ‘हतारको काम लतार’ भनेझैं परीक्षकको केही मिनेटको हतारोले विद्यार्थीले वर्षौंसम्म बुनेका सपना चकनाचुर हुन सक्छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, ब्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ को उत्तरपुस्तिका परीक्षण÷सम्परीक्षण सम्बन्धि ब्यवस्थामा उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारि श्रमिक कट्टा गर्ने वा परीक्षकको सूचिबाट नाम हटाउने ब्यवस्था छ । त्यसैगरी अन्य अमर्यादित कार्य गरेमा त्यस्ता परीक्षकमाथि प्रचलित कानुनबमोजिम बिभागीय कारबाहीसमेत हुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !