नतिजाको हतारोले विद्यार्थीमाथि अन्याय नहोस्

टिप्पणी

नतिजाको हतारोले विद्यार्थीमाथि अन्याय नहोस्

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु हुँदैछ । लामो समयदेखि तयारीमा रहेका विद्यार्थीका मनमा डर र उत्साह दुवै छाएको छ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । कक्षा १२ विद्यालय शिक्षाको अन्तिम खुडकलो हो, तर व्यवहारतः आज पनि एसईईलाई विद्यार्थी जीवनको महत्त्वपूर्ण परीक्षा मानिन्छ । यसले विद्यार्थीको आधारभूत ज्ञान, सीप र क्षमता मापन गर्छ । यसलाई उत्तीर्ण गरेपछि मात्र विद्यार्थीले आफ्नो करियरको बाटो पहिल्याउँछन् । विज्ञान पढ्ने कि व्यवस्थापन, मानविकीतर्फ लाग्ने कि प्राविधिक धार समात्ने भन्ने कुराको छनोट प्रायः विद्यार्थीले एसईईको नतिजा हेरेरै निर्धारण गर्छन् । त्यसैले पनि एसईई उच्च शिक्षाको प्रवेशद्वार हो भने यसले भविष्यको अध्ययन दिशानिर्देश गर्छ ।

नेपाली समाजमा एसईईलाई अझै पनि ‘फलामको ढोका’ पार गर्नु सरह मानिन्छ । यसो भन्नुको पछाडि गहिरो मनोविज्ञान जोडिएको छ । सामाजिक र शैक्षिक कारणहरू पनि त्यत्तिकै छन् । ‘एसईई गाह्रो हुन्छ’ भन्दै परीक्षाको हाउगुजी सानैदेखि विद्यार्थीको मानसपटलमा घुसाइएको हुन्छ । ‘यो परीक्षा बिग्रिए जीवन नै बर्बाद हुन्छ’ भन्ने मनोविज्ञान विद्यार्थीमा मात्र होइन, अभिभावकमा पनि हुन्छ । त्यसैले पनि यसलाई ‘फलामको ढोका’ जस्तै पार गर्न ठूलो चुनौती मानिएको हो ।

एसईईको नतिजालाई विद्यार्थीको क्षमता मात्र नभई परिवारको प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । छिमेकी, आफन्त र समाजले विद्यार्थीको अंक वा ग्रेडलाई अझै निकै चासो दिन्छन् । यसले गर्दा पनि विद्यार्थीमाथि एउटा ठूलो मानसिक बोझ थोपरिएको हुन्छ । ग्रेडिङ प्रणाली लागू भएयता विद्यार्थीमा ‘फेल’ हुने डर कम भएको छ । समयसँगै केही परिवर्तन आए तापनि एसईई पनि अन्य परीक्षा सरह हो भनेर सहज रूपमा लिने परिपाटी अझै विकास हुन सकेको छैन ।

परीक्षाको तयारीका क्रममा विद्यार्थीमा लामो समयदेखि त्रास र तनावको भावना उत्पन्न हुन्छ । योसँगै परीक्षामा उत्कृष्ट जीपीए ल्याएर सुन्दर भविष्यको गोरेटोमा लम्कने उत्साह र सपना पनि धेरैले बुनेका हुन्छन् । विद्यार्थीका यिनै भावनालाई व्यवस्थापन गर्दै उनीहरूको डर–त्रासलाई प्रेरणामा र उत्साहलाई सफलतामा परिणत गराउने वातावरण अभिभावक एवं विद्यालयले बनाइदिनुपर्छ । 

परीक्षाको तयारीले विद्यार्थीमा मेहनत गर्ने बानी, समय व्यवस्थापन र आत्मविश्वास बढाउँछ । यो सीप उनीहरूलाई जीवनभर उपयोगी हुन्छ । सधैं आफ्नै विद्यालयका साथीभाइमाझ मात्र परीक्षा दिने गरेका विद्यार्थीमा यस परीक्षाले प्रतिस्पर्धात्मक क्षमता विकास गर्छ । जसले गर्दा भविष्यका अन्य व्यावहारिक र सैद्धान्तिक परीक्षाहरूमा पनि उनीहरूले सहजै सफलता पाउन सक्छन् । यस वर्षको परीक्षा सुरु हुनु केही दिनअघि मात्र देशमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शिक्षा क्षेत्रमा केही सकारात्मक सुधारको पहलकदमी गरेको देखिन्छ । 

हालै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी युनियन खारेजीको निर्णयले शिक्षा क्षेत्रमा नयाँ सन्देश प्रवाह गरेको छ । सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने र यथाशीघ्र नतिजा सार्वजनिक गर्ने जनाएको छ । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण थालिने भएको छ । प्राविधिक रूपमा यो कदम निकै सकारात्मक देखिन्छ । यसले नतिजाको पर्खाइमा लामो समय कुर्नुपर्ने बाध्यता हटाउँछ । त्यसैगरी शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन पनि सहयोग गर्छ । तर छिटो गर्ने नाममा कतै गुणस्तर र शुद्धतामा सम्झौता त हुँदैन ? अहिले यो प्रश्न हरेक अभिभावक र विद्यार्थीको मुख्य चिन्ताको विषय बनेको छ ।

सरकारले एसईई परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनामै प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । यसअघिसम्म बोर्डले करिब तीन महिना लगाएर नतिजा प्रकाशन गर्ने गरेको थियो । एक महिनामै नतिजा प्रकाशन गर्न सोही अनुरूपको कार्यविधि निर्माण र जनशक्ति परिचालन गरेर अगाडि बढ्नु आवश्यक छ । उत्तरपुस्तिका परीक्षण अंक जोड्ने प्रक्रियामात्र होइन, यो हरेक विद्यार्थीले १० वर्षभन्दा बढी अवधिसम्म गरेको मेहनतको मूल्यांकन पनि हो । एक महिनाभित्रै नतिजा निकाल्ने चटारोले उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्दा परीक्षकलाई निर्धारित समयभित्रै काम सक्ने तीव्र दबाब बढ्छ । 

यस्तो चटारोमा शिक्षकले ‘झारो 

टार्ने’ शैली अपनाउने सम्भावना रहने हो कि भन्ने धेरैलाई डर छ । यदि कुनै परीक्षकले उत्तरको गहिराइ नबुझी वा नपढी सरसरती अंक दिएमा त्यसले जेहेन्दार विद्यार्थीलाई अन्याय हुने निश्चित छ ।

सबै विद्यार्थीको हस्तलेखन सुन्दर र स्पष्ट हुँदैन । केही विद्यार्थीमा विषयवस्तुको राम्रो ज्ञान भए तापनि अक्षर अलि नबुझिने वा केरमेट हुने समस्या हुन सक्छ । सफा र सुन्दर अक्षरले पक्कै पनि परीक्षकलाई आकर्षित गर्छ । यद्यपि परीक्षाको मुख्य उद्देश्य विद्यार्थीको समग्र ज्ञान परीक्षण गर्नु हो । त्यसैले परीक्षामा कति सुन्दर अक्षरमा लेख्योभन्दा पनि के लेख्यो भन्ने कुराले नतिजा निर्धारणमा भूमिका खेल्छ ।

सामान्य अवस्थामा त परीक्षकले धैर्यतापूर्वक अक्षर पहिल्याउन समय लगाउँछन्, तर हतारमा उत्तरपुस्तिका जाँच्दा नबुझिने अक्षर देख्नेबित्तिकै काटिदिने वा कम अंक दिने सनक चढ्न सक्छ । हतारोमा जाँचेर अक्षरले मात्रै विद्यार्थीको मूल्यांकन गरिँदा मेहनती विद्यार्थी मर्कामा पर्न सक्छन् । त्यसैले हस्तलेखन कमजोर हुँदैमा अंक काट्नु हुँदैन, आशय र शुद्धतालाई प्राथमिकता दिनुपर्छ भन्ने निर्देशन पनि परीक्षकलाई दिनु उत्तिकै जरुरी देखिन्छ ।

छिटो नतिजा निकाल्नु राम्रो पक्ष हो, तर यसका लागि सरकारको ठूलो तयारी आवश्यक छ । उत्तरपुस्तिका अनिवार्य रूपमा सीसीक्यामरा जडित कोठामा जाँचिनुपर्छ । त्यसैगरी परीक्षण भइरहँदा विशेषज्ञ टोलीले नमुनाका रूपमा केही उत्तरपुस्तिका पुनः जाँच गर्नुपर्छ । यसले लापरबाही गर्ने शिक्षकहरूलाई निरुत्साहित गर्छ । 

पैसा कमाउने ध्याउन्नमा कापीको संख्या मात्र बढाएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई हदैसम्मको सजायको भागिदार बनाइनुपर्छ । आफूले प्राप्त गरेको अंकप्रति कुनै पनि विद्यार्थीलाई चित्त नबुझेमा, ‘रिटोटलिङ’ गर्ने मात्र होइन, विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउनेसम्मको अधिकारको व्यवस्था सरकारले गरिदिनुपर्छ ।

परीक्षकको मानसिक थकाइ र हतारोको सजाय विद्यार्थीले पाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिँदैन । त्यसैले एउटा परीक्षकले दैनिक कतिवटा उत्तरपुस्तिका जाँच्न पाउने भन्ने संख्या निर्धारण गरिनुपर्छ ।  सरकारले शिक्षा क्षेत्रमा गर्ने कुनै पनि प्रयोग र परिवर्तन विद्यार्थीलाई केन्द्रमा राखेर गरिनुपर्छ । त्यसैले छिटोभन्दा पनि त्रुटिरहित नतिजा निकाल्न सरकार केन्द्रित हुनु जरुरी छ । ‘हतारको काम लतार’ भनेझैं परीक्षकको केही मिनेटको हतारोले विद्यार्थीले वर्षौंसम्म बुनेका सपना चकनाचुर हुन सक्छन् । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, ब्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ को उत्तरपुस्तिका परीक्षण÷सम्परीक्षण सम्बन्धि ब्यवस्थामा उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारि  श्रमिक कट्टा गर्ने वा परीक्षकको सूचिबाट नाम हटाउने ब्यवस्था छ । त्यसैगरी अन्य अमर्यादित कार्य गरेमा त्यस्ता परीक्षकमाथि प्रचलित कानुनबमोजिम बिभागीय कारबाहीसमेत हुने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.