नेपालको हस्तकला विस्तार र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिन्छ : बालेन शाह
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको हस्तकला क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् । सातै प्रदेशमा हस्तकलाग्राम खडा गरेर रोजगारी सिर्जना गर्नका लागि महासंघ र सम्बन्धित निकायसंग सहकार्य गर्ने उनले बताएका हुन् ।
साथै प्रधानमन्त्री शाहले देशको हस्तकलामार्फत देशको पहिचान र निर्यातमार्फत राजस्व बृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत धारणा राखेको छलफलमा सहभागी नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । आफूहरुले विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्न प्रस्ताव गरेकोमा सम्बन्धित निकायमार्फत निर्णय गर्ने प्रतिबद्धता समेत आएको अध्यक्ष शाक्ले बताए । त्यस्तै हस्तकला क्षेत्रका समस्या, चुनौती र अवसरहरूको समष्टिगत रूपमा मूल्याङ्कन र निराकरण गर्न हस्तकला विकास बोर्ड खडा गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री व्यक्त गरेको उनले बताए ।
त्यसै गरी विगत केही वर्षदेखि रोकिएर रहेको ‘सार्क हस्तकला विकास केन्द्र’ लाई यथाशीघ्र सम्बन्धित निकायहरूसँग समन्वय गरी सञ्चालनमा ल्याउने लगायतका बिषयमा पनि छलफल भएको अध्यक्ष शाक्यले जानकारी दिए । छलफलमा महासंघका अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा, निर्यातकर्तालगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस !