काँकडभिट्टाबाट भन्सार छलेर भित्रिँदै थियो लत्ताकपडा, सशस्त्रले २४ बोरा बरामद गर्‍यो

काँकडभिट्टाबाट भन्सार छलेर भित्रिँदै थियो लत्ताकपडा, सशस्त्रले २४ बोरा बरामद गर्‍यो
सुन्नुहोस्

झापा : भद्रपुर भन्सार कार्यालयबाट लत्ताकपडाको आयात उल्लेख्य रूपमा घटेसँगै काँकडभिट्टा नाकाबाट हुने अवैध पैठारी बढेको चर्चा चलिरहेका बेला सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ। सोही अभियानअन्तर्गत सशस्त्रले ठुलो परिमाणमा अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार बुधवार बिहान करिब २ बजे मेचीनगर नगरपालिका-८ स्थित सीमा क्षेत्रबाट भारततर्फबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेको २४ बोरा विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो। उक्त सामान बेवारिसे अवस्थामा फेला परेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य ७ लाख ३१ हजार ४९० रुपैयाँ रहेको छ। बरामद गरिएको सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधवार नै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणकाका डीएसपी सुमन पौडेलले जानकारी दिए। 

पछिल्लो समय भारतबाट भद्रपुर भन्सार आउने लत्ताकपडा आयातमा व्यापक कमी आएको छ। लत्ताकपडा आउन छाडे पनि कर्मचारी फुर्सदिला हुनुका साथै राजश्व संकलनमा समेत भारी गिरावट आएको छ। भद्रपुर नाकाबाट भित्रिने लत्ताकपडा काँकडभिट्टा नाकाबाट अवैध रूपमा भित्रिन थालेको स्वयम भन्सार कर्मचारीहरू बताउँछन्।  बिर्तामोडका केही ठुला व्यापारीले समेत भन्सारबाट आयात गर्नुपर्ने लत्ताकपडा सीमावर्ती क्षेत्रमा सक्रिय तथाकथित ‘लाइनमेन’ मार्फत भित्राउने गरेको कारोबारी स्रोतको दाबी छ। 

स्रोतका अनुसार भन्सारमार्फत कानुनी रूपमा ल्याउँदा एउटा कपडाको पोकामा कम्तीमा १५ हजारदेखि बढी ५० हजार रुपैयाँसम्म राजस्व लाग्ने भएकाले  ‘लाइनमेन’ प्रयोग गरी ७ देखि ८ हजार रुपैयाँमै बिर्तामोडसम्म सामान पुर्याउँदै आएका थिए। यसले सरकारको राजस्वमा ठुलो क्षति पुग्नुका साथै वैधानिक व्यापारसमेत प्रभावित हुँदै आएको थियो। जिल्लाका सीमा क्षेत्रमा हुने अवैध पैठारी नियन्त्रणमा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरीका केही कर्मचारी विभागीय कारबाहीमा परिसकेका छन्। त्यसयता सशस्त्र प्रहरीले सीमा निगरानीलाई थप प्रभावकारी बनाएको छ। पहिले अवैध सामान ‘लाइन’मार्फत सहजै प्रवेश हुने गरेको आरोप लाग्ने गरेपनि पछिल्ला दिनमा सशस्त्रले सीमा कडाइ गरेको देखिन्छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका डीएसपी सुमन पौडेलका अनुसार सीमा क्षेत्रमा हुने चोरी-कासी तथा अवैध पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र अपरेशन निरन्तर जारी रहने बताएका छन्। उनले सीमाबाट हुने अवैध गतिविधिविरुद्ध कुनै सम्झौता नगरी कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाइने पनि स्पष्ट पारेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.