लहानमा ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
सिरहा : प्रहरीले लहान नगरपालिका-३ बाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा पार्किङ गरी राखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा नासपातीका क्रेटभित्र लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ बोराहरु बरामद भएको हो।
बरामद पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी तथा प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ । साथै गाडीमा रहेका नासपातीका ४६ वटा क्रेट ९९२० केजी समेत नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका-३ का ३८ वर्षीय श्याम कुमारी साह, भारत बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान-३ बस्ने ४० वर्षीय गौरव महतो र उनको १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले बरामद पिकअप गाडी, गाँजा जस्तो देखिने पदार्थ तथा अन्य सामग्री नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !