वन डढेलो नियन्त्रणका लागि सल्लाको जंगलमा पोखरी

वन डढेलो नियन्त्रणका लागि सल्लाको जंगलमा पोखरी
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीमा पछिल्लो समय बढ्दो वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण तथा रोकथामका लागि सल्लाको वन क्षेत्रमा साना–साना पानीका पोखरी निर्माण गरिएको छ । 

वन क्षेत्रमा आगलागीको जोखिम बढ्दै गइरहेको अवस्थामा यस्ता संरचनाहरूले डढेलो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँची र स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा जिल्लाभर विभिन्न स्थानमा हालसम्म ९ वटा पोखरी निर्माण सम्पन्न भइसकेका छन् । 

तीमध्ये सन्धिखर्क नगरपालिकाका विभिन्न स्थानमा ३ वटा, भूमिकास्थान नगरपालिकामा ४ वटा र पाणिनी गाउँपालिकामा २ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिएका छन् ।

शितगंगा नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा पनि स्थानीय सामुदायिक वन समूहहरूले थप पोखरी निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र समुदायको सक्रिय सहभागितामा आगामी दिनमा अझै थप स्थानहरूमा यस्ता संरचनाहरू निर्माण गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

विशेष गरी सल्लाको वन क्षेत्रहरू डढेलोको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छन् ।  सुक्खा मौसममा सल्लाका पात सजिलै सल्किने भएकाले सानो असावधानीले समेत ठूलो डढेलोको रूप लिन सक्छ । यस्ता जोखिमयुक्त क्षेत्रहरूमा पानीको स्रोतसहितका साना पोखरी निर्माण गरिँदा आगलागी भएको अवस्थामा तत्काल पानी प्रयोग गरी नियन्त्रण गर्न सहज हुने विश्वास गरिएको छ ।

जिल्लामा हालसम्म ९ वटा पोखरी डिभिजन वन कार्यालयको सहयोगमा निर्माण भएका छन् भने ३ वटा पोखरी स्थानीय सामुदायिक वन समूहहरूले आफ्नै पहलमा निर्माण गरिरहेका छन् । निर्माण हुने सबै पोखरीहरूमा दीर्घकालीन रूपमा पानी रहने गरी स्रोत व्यवस्थापन समेत गरिएको छ, जसले सुक्खा मौसममा पनि उपयोग गर्न सकिने बनाउने छ । 

डढेलो नियन्त्रण मात्र नभई यस्ता पोखरीहरूले वन्यजन्तुहरूको लागि पानीको स्रोतको रूपमा समेत काम गर्नेछन् । साथै जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र स्थानीयस्तरमा पानीको उपलब्धता बढाउन पनि यी संरचनाहरू उपयोगी हुनेछन् । स्थानीयवासीहरूले समेत यस अभियानलाई सकारात्मक रूपमा लिएका छन् । समुदायको सक्रिय सहभागिता बिना वन संरक्षण सम्भव नहुने भएकाले यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्दै सामूहिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुर्‍याएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणका लागि संरचनात्मक उपायसँगै जनचेतनामूलक कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । वन क्षेत्रमा आगो नलगाउन, सिगरेट वा आगोका सामग्री जथाभावी नफाल्न, तथा डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

वन हाम्रो साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । सल्लाको जंगलमा पोखरी निर्माण जस्ता दीर्घकालीन उपायहरूले अर्घाखाँचीमा डढेलो नियन्त्रणमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । यदि यस्ता प्रयासहरूलाई निरन्तरता दिइयो भने हरियाली जोगाउँदै सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्य अवश्य पूरा हुने विश्वास लिन सकिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.