दलहरू नसच्चिए अब के होला ?
परम्परागत राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोजे भने नेपालको लोकतान्त्रिक भविष्य अझ सुदृढ बन्न सक्छ।
नेपालको पछिल्लो राजनीतिक परिणामले देशको राजनीति नयाँ मोडमा पुगेको संकेत दिएको छ। लामो समयसम्म सत्ता सञ्चालन गरेका परम्परागत दलहरूप्रति बढ्दै गएको जनअसन्तोष, भ्रष्टाचारप्रति जनआक्रोश र सुशासनप्रतिको निराशाले मतदातालाई नयाँ राजनीतिक विकल्पतर्फ उन्मुख गराएको देखिन्छ। यही परिवेशमा नयाँ राजनीतिक शक्तिले बहुमत प्राप्त गर्नु केवल निर्वाचनको परिणाम मात्र होइन, जनताबाट आएको गम्भीर राजनीतिक सन्देश पनि हो।
नयाँ शक्तिको बहुमतले स्थिर सरकारको सम्भावना अवश्य बढाएको छ। तर, त्यहीसँगै जनताको अपेक्षा पनि अत्यन्त उच्च बनेका छन्। नयाँ नेतृत्वले पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई व्यवहारमा उतार्न सफल भयो भने नेपालको राजनीति नयाँ दिशातर्फ अघि बढ्न सक्छ। तर, पुरानै शैली, पुरानै प्रवृत्ति र सत्ता केन्द्रित राजनीति दोहोरियो भने जनताको विश्वास पुनः गुम्ने खतरा उत्तिकै बलियो रहनेछ। यही सन्दर्भमा परम्परागत राजनीतिक दलहरूले आफ्नो भूमिका र भविष्यबारे गम्भीर आत्मसमीक्षा गर्नु अपरिहार्य देखिन्छ।
जनअपेक्षा र राजनीतिक दलहरूको जिम्मेवारी
स्वास्थ्य, शिक्षा, रोजगारी, विकास र न्यायजस्ता आधारभूत सेवामा आमनागरिकको पहुँच अझै पनि सहज छैन। अस्पतालको बेडसम्म पुग्नसमेत पहुँच, चिनजान वा राजनीतिक प्रभाव आवश्यक पर्ने अवस्था बनेको छ। यस्तो स्थिति लोकतन्त्रका मूल मूल्य र मान्यतासँग मेल खाने अवस्था होइन।
- नेपालको वर्तमान राजनीतिक अवस्था संकट मात्र होइन, सुधारको अवसर पनि हो। जनताले लोकतन्त्रलाई अस्वीकार गरेका छैनन्, उनीहरूले केवल खराब अभ्यासलाई अस्वीकार गर्न थालेका हुन्।
- दलहरू अब पनि नबदलिने हो भने उनीहरूका लागि आगामी चुनाव मात्र होइन, अस्तित्व नै संकटमा पर्न सक्छ। दलहरू विघटनको संघारमा पुग्छन्।
यो अवस्था आकस्मिक रूपमा सिर्जना भएको पनि होइन। राज्य सञ्चालनमा देखिएको अव्यवस्था, संस्थागत कमजोरी, भ्रष्टाचार र दण्डहीनताको संस्कृतिले यस्तो अवस्था जन्माएको हो। केही सीमित नेताहरूको स्वार्थ, शक्ति र संरक्षणको राजनीतिले गर्दा राजनीतिक दलहरू क्रमशः जनताबाट टाढिँदै गएको अनुभूति भइरहेको छ। परिणामस्वरूप, इमानदार कार्यकर्ता र साधारण नागरिकको आशा निराशामा परिणत हुँदै गएको छ। अझ विडम्बना त राजनीतिक दलका कार्यकर्ता नभई सरकारी सेवा र सुविधासम्म सहज रूपमा पाउन नसकिने अवस्था सिर्जना हुनु हो। यो
लोकतन्त्रका लागि गम्भीर चेतावनी हो।
वैचारिक मार्गदर्शनको आवश्यकता
राजनीतिको नाममा देखिएका विकृति र विसंगतिहरूको समाधान वैचारिक स्पष्टताबाट मात्र सम्भव हुन्छ। यदि, राजनीतिक दलहरूले आफ्ना मूल राजनीतिक सिद्धान्त र मार्गदर्शनलाई इमानदारीपूर्वक अनुसरण गर्न सके भने सुधारको बाटो खुल्न सक्छ। नेपालको लोकतान्त्रिक अभ्यासमा मदन भण्डारीले अघि सार्नुभएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ आजका चुनौतीहरूको समाधानका लागि महŒवपूर्ण हुन सक्छ, राजनीतिक दलको मार्गदर्शक सिद्धान्तका रूपमा। जबजले स्पष्ट रूपमा बताउँछ कि लोकतन्त्र केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन; यो जनताको अधिकार, सहभागिता र उत्तरदायित्वमा आधारित शासन प्रणाली हो।
जबजको मूल मर्म लोकतन्त्रभित्र निरन्तर सुधार, आत्मालोचना, प्रतिस्पर्धा र रूपान्तरणको संस्कृतिलाई स्थापित गर्नु हो। यसले लोकतन्त्रलाई केवल निर्वाचन प्रक्रियामा सीमित राख्दैन, बरु जनसहभागिता, बहुलवाद, विधिको शासन, पारदर्शिता र उत्तरदायी नेतृत्वलाई लोकतन्त्रको आधार मानेको छ। त्यसैले राज्य सञ्चालन र पार्टी सञ्चालन दुवैमा निरन्तर आत्मसमीक्षा र सुधारको अभ्यास आवश्यक हुन्छ।
भ्रष्टाचारविरुद्ध कठोर कदम
नेपाली समाजमा कुशासन र भ्रष्टाचार अहिले गम्भीर समस्याका रूपमा देखा परेका छन्। राजनीतिक नेतृत्वका केही अग्रपंक्तिका व्यक्तिहरू नै विभिन्न भ्रष्टाचारका प्रकरणमा जोडिएका छन् भन्ने जनधारणा बलियो हुँदै गएको छ। यदि लोकतन्त्रप्रति जनविश्वास पुनस्र्थापित गर्ने हो भने भ्रष्टाचारका आरोपहरूलाई निष्पक्ष रूपमा छानबिन गरी दोषी देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नैपर्छ। कुनै पनि दल, पद वा शक्तिको आडमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र सिद्धान्तविपरीत हो। न्यायको निष्पक्ष कार्यान्वयन, विधिको शासन र संस्थागत पारदर्शिता कायम गर्न सकेमा मात्र राजनीतिक प्रणालीप्रति जनताको विश्वास पुनः बलियो बन्न सक्छ।
कार्यकर्ताको जिम्मेवारी
राजनीतिक दलको सुधार केवल नेतृत्वको जिम्मेवारी मात्र होइन, कार्यकर्ताको पनि हो। लोकतान्त्रिक संस्कृतिमा आलोचना–आत्मालोचना र सुधारको अभ्यास अत्यन्त महत्वपूर्ण मानिन्छ। यदि, कार्यकर्ता नै भ्रष्टाचारमा मुछिएका नेताहरूको संरक्षणका लागि सडकमा उत्रिन्छन् भने त्यो आन्दोलनले पार्टीलाई सुधार गर्ने होइन, समस्यालाई अझ गहिरो बनाउने काम गर्छ।
आजको समाज पहिलेको जस्तो मौन छैन। सामाजिक सञ्जाल, सञ्चारमाध्यम र नागरिक चेतनाको विस्तारले गर्दा जनताले राजनीतिक गतिविधिहरूलाई नजिकबाट नियालिरहेका छन्। यस्तो अवस्थामा कार्यकर्ताले अन्ध समर्थन होइन, सत्य, पारदर्शिता र सुधारको पक्षमा उभिनु पार्टी र देश दुवैका लागि दीर्घकालीन रूपमा लाभदायक हुन्छ।
नयाँ नेतृत्व र पुस्तान्तरण
राजनीतिक दलहरूले आफ्नो भविष्य सुरक्षित गर्न चाहन्छन् भने नेतृत्वको पुस्तान्तरण अपरिहार्य छ। पुरानो नेतृत्वप्रतिको अन्धो मोहले दललाई गतिशील बनाउँदैन। स्वच्छ छवि, नयाँ सोच, नैतिक प्रतिबद्धता र सकारात्मक सार्वजनिक छवि भएका युवाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक छ। कुनै पनि पार्टी जीवित र गतिशील रहनका लागि नयाँ विचार, नयाँ ऊर्जा र नयाँ नेतृत्वको विकास आवश्यक हुन्छ। पारदर्शिता, जवाफदेहिता र सेवा–मुखी राजनीतिलाई प्राथमिकता दिन सक्ने नयाँ पुस्ताले मात्र जनताको विश्वास पुनः जित्न सक्छ।
निष्कर्ष : सुधारको अवसर
नेपालको वर्तमान राजनीतिक अवस्था संकट मात्र होइन, सुधारको अवसर पनि हो। जनताले लोकतन्त्रलाई अस्वीकार गरेका छैनन्; उनीहरूले केवल खराब अभ्यासलाई अस्वीकार गर्न थालेका हुन्।
यदि परम्परागत राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोजे भने नेपालको लोकतान्त्रिक भविष्य अझ सुदृढ बन्न सक्छ। तर, परिवर्तनको आवश्यकतालाई अझै बेवास्ता गरियो भने इतिहासले कठोर निर्णय लिन सक्छ। समयले आज सबै राजनीतिक शक्तिहरूलाई स्पष्ट सन्देश दिइरहेको छ– दलहरू अब पनि नबदलिने हो भने उनीहरूका लागि आगामी चुनाव मात्र होइन, अस्तित्व नै संकटमा पर्न सक्छ। दलहरू विघटनको संघारमा पुग्छन्।
प्रतिक्रिया दिनुहोस !