वडा कार्यालयको सेवा अब नयाँ भवनबाट

वडा कार्यालयको सेवा अब नयाँ भवनबाट

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ वडा कार्यालयको सेवा प्रवाह अब नव निर्मित आधुनिक भवनबाट सञ्चालनमा आएको छ । फर्ज्याङखोलास्थित नयाँ भवनबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । 

भवनको उद्घाटन सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले गरेका हुन् । नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भवनबाट आजदेखि वडा कार्यालयका सम्पूर्ण प्रशासनिक सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए  । 

नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए ।  निर्वाचनका क्रममा जनता समक्ष गरिएका प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन गर्दै जाने नगरपालिकाको नीति रहेको उल्लेख गर्दै अब सेवाको गुणस्तर अझ सुधार गर्दै नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराउन वडा कार्यालयलाई आग्रह गरे ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार नगरपालिकासँग भएको ठेक्का सम्झौता बमोजिम नयाँ नेपाल निर्माण सेवाले ७ करोड ४५ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माण कार्य समयमै सम्पन्न गरी हस्तान्तरण गरेको भन्दै निर्माण कम्पनी नयाँ नेपाल निर्माण सेवाका सञ्चालक तथा निर्माण व्यवसायी अर्जुन खनाल र नारायण आचार्यलाई सम्मान गरिएको छ ।  

दोसल्ला तथा सम्मानपत्र प्रदान गरी उनीहरूलाई सम्मान गरेको वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।  समयमै निर्माण सम्पन्न गरी स्थानीय सरकारलाई सहयोग पुर्‍याएको भन्दै निर्माण व्यवसायीको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । त्यस्तै, भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने जग्गादाताहरु  सीता केसी, धनबहादुर केसी र तेजबहादुर मल्ललाई समेत  सम्मान गरिएको छ।

उनीहरुलाई दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरिएको वडा अध्यक्ष केसीको भनाई छ ।  कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आर्चाय, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाललगायतले मन्तव्य राख्दै नयाँ भवनबाट सेवा सुरु हुनु स्थानीय बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।  वक्ताहरूले स्थानीय तहको सेवा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गरेका थिए ।

वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि अब प्रशासनिक कार्य सञ्चालन गर्न सहज हुनुका साथै नागरिकलाई सेवा लिन पनि थप सहज हुने विश्वास गरिएको छ ।  स्थानीय बासिन्दाले पनि नयाँ भवनबाट सेवा सुरु भएसँगै सरकारी सेवा प्राप्त गर्न थप सुविधा हुने अपेक्षा गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.