वामपन्थी आन्दोलनको उर्वरभूमिका रूपमा चिनिने लुम्बिनी प्रदेशमा यसपटक अप्रत्याशित राजनीतिक परिवर्तन देखियो। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जस्ता स्थापित दलहरूको ‘किल्ला’ मानिने जिल्लाहरूमा नयाँ शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्चस्व कायम गरेको छ। २०६४ देखि निरन्तर जित्दै आएका पुराना दलका प्रभावशाली नेताहरू यसपाली पराजित भएका छन्।
तराई र पहाडका गरी १२ जिल्ला समेटिएको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्र छन्। तीमध्ये २१ क्षेत्रमा रास्वपाका नयाँ उम्मेदवार विजयी भएका छन्। रास्वपाले पूर्वी रुकुम, बाँके–२, रोल्पा, कपिलवस्तु–३ र पाल्पा–१ बाहेक सबै क्षेत्रमा जित हासिल गरेको छ। तथ्यांकअनुसार लुम्बिनीमा रास्वपाले ८०.७७ प्रतिशत सिट जितेको छ भने बाँकी १९.२३ प्रतिशत सिटमा एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) खुम्चिएका छन्।

प्रचण्ड र वर्षमानको बिरासत रक्षा
लुम्बिनीको एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भए। विगतका निर्वाचनमा फरक–फरक जिल्ला पुग्ने प्रचण्ड यसपटक पूर्वीरुकुमबाट चुनावी मैदानमा थिए। देशभर पुराना दलका शीर्ष नेताहरू पराजित भइरहँदा उनले आफ्नो यात्रालाई सुरक्षित राख्न सफल भए।
प्रचण्ड १० हजार २४० मतका साथ विजयी हुँदा एमालेका लीलामणि गौतम (३,४६२) र कांग्रेसकी कुसुमदेवी थापा (३,०८१) निकै पछाडि परे। यहाँ रास्वपाका लखनकुमार थापाले मात्र ८१९ मत प्राप्त गरे। पूर्वप्रधानमन्त्री प्रचण्डले चुनाव जिते पनि रास्वपाको उदयप्रति लक्षित गर्दै ‘धेरै सिट ल्याउँदैमा केही फरक नपर्ने’ टिप्पणीसमेत गरेका छन्।
त्यस्तै, रोल्पामा वर्षमान पुनले आफ्नो बिरासत जोगाएका छन्। उनले कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतान्तरले पराजित गरे। पुनले २७ हजार ४६० मत पाउँदा वलीले १२ हजार ८ मत ल्याए। माओवादीको आधार इलाका मानिने रोल्पामा रास्वपा तेस्रो शक्तिमा सीमित भयो।
एमाले र कांग्रेसको कमजोर उपस्थिति
२०७९ को निर्वाचनमा प्रदेशभर ११ सिट जितेर शक्तिशाली बनेको एमाले यसपटक लुम्बिनीमा एक सिटमा खुम्चिएको छ। बाँके–२ बाट मोहम्मद इस्तियाक राईले चुनाव जितेर एमालेको साख जोगाए। उनले २४ हजार ६२८ मत प्राप्त गर्दा रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत ल्याए। जसपा नेपाल विभाजनपछि एमाले प्रवेश गरेका राई अहिले लुम्बिनीमा एमालेका एकमात्र ‘आइकन’ बनेका छन्।
कांग्रेसले लुम्बिनीका २६ मध्ये मात्र दुई क्षेत्रमा जित निकालेको छ। पाल्पा–१ मा ३८ वर्षीय सन्दीप रानाले रास्वपाका नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतले हराउँदै संसदीय यात्रा तय गरे। रानाले १८ हजार ३३६ मत ल्याएका थिए। त्यस्तै, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह २३ हजार ५३६ मतका साथ विजयी भए। उनले रास्वपाका प्रकाश रजौरियालाई पराजित गरे। यी क्षेत्रमा रास्वपाको लहरले काम गरेन।
रास्वपाको ‘क्लिन स्विप’ र नयाँ अनुहार
अघिल्लो निर्वाचनमा शून्य रहेको रास्वपाले यसपाली २१ सिटसहित प्रदेशमा पहिलो स्थान बनायो। जित्नेहरूमा पूर्वपत्रकार,पूर्वप्रहरी,डाक्टर र सामाजिक अभियन्ताहरू छन्। कतिपय त पार्टी प्रवेश गरेको महिना दिनमै टिकट पाएर स्थापित नेताहरूलाई भारी मतान्तरले हराउन सफल भए।
काठमाडौंका मेयर बालेन शाहका पूर्वसल्लाहकार सुनील लम्सालले रास्वपाबाट रूपन्देहीमा सानदार जित दर्ता गरे। उनी पार्टीका महामन्त्रीसमेत हुन्। लम्सालले ५४ हजार ८४५ मत ल्याउँदा कांग्रेसका हीराबहादुर खत्रीले मात्र ११ हजार ९५२ मत पाए।
रूपन्देहीका ५ वटै क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’गरेको छ। सर्वाधिक चासोको क्षेत्र नं.२ मा रास्वपाका अधिवक्ता सुलभ खरेलले एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले पराजित गरे। २०६४ देखि निरन्तर जित्दै आएका र बुटवलको विकासका पर्याय मानिने पौडेलको यो हार लज्जास्पद रह्यो।
त्यस्तै,रूपन्देही–३ मा एमालेका वासुदेव घिमिरे तेस्रो स्थानमा झरे। यहाँ रास्वपाका डा.लेखजंग थापा ५० हजार ५३९ मतका साथ विजयी भए। रूपन्देही–४ मा कन्हैया बानियाँ र क्षेत्र नं. ५ मा तौफिक अहमद खानले रास्वपाको झण्डा फहराए।
दाङ र गुल्मीमा दिग्गजहरूको बहिर्गमन
दाङ–२ मा एमाले महासचिव शंकर पोख्रेल दोस्रोपटक पराजित भए। यसअघि रेखा शर्मासँग थोरै मतले हारेका पोख्रेल यसपटक रास्वपाका विपिनकुमार आचार्यसँग २८ हजार २७२ मतान्तरले पराजित भए। आचार्यले ४३ हजार ५५९ मत पाउँदा पोख्रेल १५ हजार २८७ मतमा रोक्किए। आचार्य रवि लामिछानेका पुराना सहकर्मी हुन्। दाङका अन्य दुई क्षेत्रमा पनि रास्वपाकै देवराज पाठक र कमल सुवेदी विजयी भए। गुल्मी–२ मा विकासप्रेमी नेताको छवि बनाएका एमाले उपाध्यक्ष गोकर्ण विष्ट पनि सुरक्षित रहन सकेनन्। उनी रास्वपाका गोविन्द पन्थीसँग ५६१ मतको झिनो अन्तरले पराजित भए। विजयी पन्थी पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) हुन्। गुल्मी–१ मा एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली रास्वपाका सागर ढकालसँग पराजित भए। ढकालले २९ हजार ६४२ मत ल्याउँदा ज्ञवाली १५ हजार १८१ मा सीमित भए।
प्यूठान र अर्घाखाँचीमा पनि ‘घण्टी’को लहर
प्यूठानमा एमालेका हस्ती सूर्य थापाको आक्रामक चुनावी अभियानले पनि काम गरेन। उनी रास्वपाका सुशान्त वैदिकसँग पराजित भए। वैदिकले २७ हजार ४६९ मत ल्याउँदा थापाले १६ हजार ७१० मत पाए। अघिल्लो निर्वाचनमा गठबन्धनलाई समेत हराएका थापा यसपटक नयाँ शक्तिसँग टिकेनन्।
अर्घाखाँचीमा पत्रकारिता पृष्ठभूमिबाट आएका हरिप्रसाद भुसालले एमालेका पीताम्बर भुसाललाई पराजित गरे। हरिले ३५ हजार २३ मत प्राप्त गरे। बर्दियामा पूर्वपत्रकार ठाकुरसिंह थारू र श्रीधर पोख्रेलले रास्वपाबाट जित निकाले। नवलपरासी (पश्चिम) मा अर्बपति व्यवसायी एवं कांग्रेस नेता विनोद चौधरी रास्वपाका विक्रम खनालसँग पराजित भए। खनालले ४५ हजार २४१ मत ल्याउँदा चौधरी ९ हजार ५०२ मतमा समेटिए। बाँके–३ मा दलित अभियन्ता खगेन्द्र सुनार निर्वाचित भए।
प्रतिक्रिया दिनुहोस !