टिप्पणी

नेपालको सनसनी खेल

नेपालको सनसनी खेल

काठमाडौं : नेपालले आइतबार भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा आईसीसी टीट्वेन्टी विश्वकपको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग खेलिरहँदा धेरैले सन् २०२४ को दक्षिण अफ्रिकासँगको खेललाई सम्झिएका थिए। २०२४ जुन १५ मा सेन्ट भिन्सेटको आर्नोस भेल स्टेडियममा भएको टीट्वेन्टी विश्वकपको तेस्रो खेलमा नेपालले पहिलोपटक टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई आच्छुआच्छु पारेको थियो। १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल दक्षिण अफ्रिकासँग मात्र एक रनले पराजित भएको थियो।

आइतबार अर्को टेस्ट राष्ट्र इङ्ल्यान्डलाई त्यसैगरी आच्छुआच्छु पारेको थियो। पहिलो पालिमा बलिङले इङ्ल्यान्डलाई दबाबमा राखेको नेपालले ब्याटिङबाट पनि इंग्लिस खेलाडीको पसिना छुटाएको थियो। इङ्ल्यान्डलाई लगातार टक्कर दिएको नेपालको ब्याटिङ दीपेन्द्रसिंह ऐरी पेभेलियन फर्किएपछि धर्मराएको थियो। १४.२ ओभरमा दीपेन्द्र साम करणको बलमा आउट भएपछि १५.३ ओभरमा कप्तान रोहित, १७.२ ओभरमा आरिफ शेख र १९औं ओभरमा गुलसन झालाई गुमाएको थियो। यद्यपि, यसअघि नेपालले अभ्यास खेलमा अर्को टेस्ट राष्ट्र वेष्ट इन्डिजसँगको प्रतिस्पर्धा २–१ ले जितेको थियो।

४ रनको नमिठो हार

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टीट्वेन्टी विश्वकपको आफ्नो पहिलो खेलमा नमिठो हार बेहोरेको छ। जितको नजिक पुगेर पनि अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग चार रनले पराजित भएको हो। भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा इङल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सेट ब्याटर लोकेश बलमे क्रिज सम्हाले पनि जित भने दिलाउन सकेनन्।       

अन्तिम ओभर बलिङ गरेका इङ्ल्यान्डका साम करणले पाँच रन मात्रै दिएका थिए। ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि उनीहरूले ३.५ ओभरमा ३७ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका रूपमा आसिफलाई गुमाएको नेपालले कुशल भुर्तेललाई पनि लगत्तै गुमाएको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै इङ्ल्यान्डलाई दबाबमा राखेका थिए। यी दुवै खेलाडी पेभेलियन फर्किएपछि लोकेश बमले जितको नजिक पुर्‍याए पनि फिनिसिङमा चुकेका थिए।

नेपालका उपकप्तान दीपेन्द्रले सर्वाधिक ४४ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनले २९ बलमा १ छक्का र ६ चौका प्रहार गरे। यस्तै लोकेश बमले अविजित ३९ रन बनाए। उनले २० बलमा दुई छक्का र ४ चौका हिर्काए। कप्तान रोहित पौडेलले पनि ३९ रन नै बनाएका थिए। उनले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरे।

कुशल भुर्तेलले २९, आरिफ शेखले १० र आसिफ शेखले सात रनको योगदान दिए। इङ्ल्यान्डका लियाम डासनले दुई विकेट लिए। यस्तै लुक उड, जोफरा आर्चर, विल ज्याक र साम करणले एक/एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८४ रनको योगफल खडा गरेको थियो। इङ्ल्यान्डका ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय पालि खेलेका थिए। बेथलले ३५ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाए। कप्तान ह्यारी ब्रुकले ३२ बलमा ३ छक्का र ४ चौकासहित ५३ रन जोडे। यस्तै विल ज्याक्सले ३९, जस बटलरले २६ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई÷दुई विकेट लिए। यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक÷एक विकेट हात पारे।

अन्तिम ओभरमा २२ रन
पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डले अन्तिम ओभरमा २२ रन जोडेको थियो। अन्तिम ओभर नेपालका अनुभवी बलर करण केसीले गरेका थिए। तर, इङ्ल्यान्डका खेलाडीले उनको बललाई लगातार पिटेका थिए। करणको अन्तिम ओभरमा इङ्ल्यान्डका विल ज्याकले तीन छक्का प्रहार गरेका थिए। अन्तिम ओभरमा जोडेको २२ रनको मध्यममा इङ्ल्यान्डले १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।

दीपेन्द्रको २ हजार रन पूरा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरेका छन्। उनले आइतबार भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत इङ्ल्यान्डसँगको खेलमा ४४ रन बनाउँदै दुई हजार रनको कोसेढुंगा पूरा गरेका हुन्।इङ्ल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका दीपेन्द्रले २९ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ४४ रन बनाएका थिए। टीट्वेन्टी अन्तर्राष्ट्रियको ९१ खेलमध्ये ७९औं पालिमा उनले १ शतक र १० अर्धशतकसहित दुई हजार रन पूरा गरेका हुन्। टीट्वेन्टी अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने उनी नेपालका पहिलो खेलाडी हुन्। उनले सन् २०२३ मा चीनको हाङझाओमा आयोजना भएको १९औं एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा नौ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए।

लोकेशको आक्रामक पालि
लोकेश बमले आइतबार पहिलोपटक टीट्वेन्टी विश्वकप खेलेका हुन्। तर, उनले नेपाली राष्ट्रिय टोलीमा यसअघि नै स्थान बनाइसकेका थिए। विभिन्न अन्तर्राष्ट्रिय शृंखला खेलेका उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ। विकेटकिपरसमेत रहेका उनी आवश्यकताअनुसार ब्याटिङ गर्न माहिर मानिन्छन्। उनको यही क्षमता बुझेर नै मुख्य प्रशिक्षक स्टुवार्ड लले लोकेशलाई विश्वकप टोलीमा समावेश गरेका हुन्।

लोकशले पनि प्रशिक्षक लको आत्मविश्वासलाई आइतबार भरपुर रूपमा सदुपयोग गरेका थिए। कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी पेभेलियन फर्किएपछि लोकेशले नेपाललाई जितको नजिक पुर्‍याएका थिए। तर, उनले त्यो ऐतिहासिक अवसरलाई जित परिणत गर्न भने सकेनन्। आक्रामक ब्याटिङ गरेका लोकेशले अविजित ३९ रन बनाएका थिए। उनले २० बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए।

शेर मल्लको डेब्युमै विकेट
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा तहल्का मच्चाएका स्पिनर शेर मल्लले अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा डेब्यु गरेका छन्। उनले आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत आइतबार इङ्ल्यान्डसँगको खेलबाट नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।
एनपीएलमा सानदार प्रदर्शन गर्दै उदयीमान खेलाडीको उपाधि जितेका शेरले आइतबार इङ्ल्यान्डसँगको खेलमा पहिलो रोजाइमा पर्दै डेब्युको अवसर पाएका हुन्। टीट्वेन्टी विश्वकपका लागि घोषित नेपाली टोलीमा रहेका १५ मध्ये पाँच खेलाडी पहिलोपटक विश्वकप टिममा समावेश भएका छन्। तीमध्ये शेर मल्लसँगै आरिफ शेख, लोकेश बम, नन्दन यादवले पनि पहिलो खेलमै डेब्युको अवसर पाएका हुन्।

शेर मल्लले डेब्यु खेलमै विकेट लिएका थिए। उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले ओपनर फिल साल्टलाई व्यक्तिगत एक रनमा सन्दीप लामिछानेबाट क्याचआउट गराएका थिए। तर, शेर इङ्ल्यान्डसँगको खेलमा केही महँगो सावित भएका थिए। उनले ३ ओभरमा ३५ रन खर्चिएर एक विकेट लिएका थिए।

गौरव गर्न लायकको प्रदर्शन : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालले इङ्ल्यान्डसँग गौरव गर्न लायकको प्रदर्शन गरेको बताएका छन्। इङ्ल्यान्डसँगको खेलपछि वाङ्खडे स्टेडियममा चर्चित कमेन्टेटर नासिर हुसेनसँग कुरा गर्दै रोहितले इङ्ल्यान्डजस्तो क्रिकेटको पावर हाउससँगको प्रदर्शन गौरव गर्न लायकको रहेको बताएका हुन्।

‘अन्तिममा हामी निरास बन्नुपर्‍यो। तर, 
इङ्ल्यान्डजस्तो क्रिकेटको पावर हाउससँगको यो प्रदर्शन साँच्चै गौरव गर्न लायकको छ’, कप्तान रोहितले भने, ‘हामी नतिजाजस्तो भए पनि शतप्रतिशत खेल खेल्छौं भनेर आएका थियौं। हामी त्यो योजनामा सफल भएका छौं। यो प्रदर्शनमा सबै खेलाडीलाई विशेष धन्यवाद दिन चाहन्छु। यो विश्वकपमा अघिल्लो विश्वकपमा भएका गल्ती सुधार गर्दै उत्कृष्ट खेल पस्किने लक्ष्य बोकेर आएका थियौं। त्यो लक्ष्यलाई पहिलो खेलबाटै कार्यान्वयन गर्न सकेकोमा निकै खुसी छौं। अबका खेलमा थप बलियो रूपमा प्रस्तुत हुनेछौं।’

एसोसिएट राष्ट्रको सनसनी
भन्नलाई त क्रिकेटलाई अनिश्चयको खेल भनिन्छ। तर, यसो भन्दैमा दशकौंदेखि क्रिकेटमा एकछत्र राज गरिरहेका टोलीलाई एसोसिएट राष्ट्रले दबाबमा राख्नुलाई ‘अनिश्चयको खेल’ मात्रै मान्न सकिँदैन। पछिल्लो विश्वकपमा एसोसिएट राष्ट्रहरूको नतिजा र प्रदर्शनलाई ‘अनिश्चयको खेल’को संज्ञा दिइयो भने त्यो अन्याय हुनेछ। किनभने नेपालले मात्रै वर्षौंदेखि दबदबा बनाउँदै आएका टेस्ट राष्ट्रलाई आच्छुआच्छु पारेको होइन, चाहे नेदरल्यान्ड्स हो वा स्कटल्यान्ड, अमेरिका होस् या आयरल्यान्ड सबैले टेस्ट राष्ट्रलाई दबाब दिँदै आएका छन्, चाहे बलिङबाट होस् या ब्याटिङबाट।

जहाँ क्रिकेट, त्यहाँ नेपाली दर्शक

सन् २०२४ को टीट्वेन्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गरेको थियो। त्यो खेलमा अमेरिकाको टेक्सास डालासस्थित ग्रान्डपेरी स्टेडियम भरिभराउ थियो। तर, त्यहाँ अधिकांश समर्थक नेपालका थिए। सिंगो स्टेडियममा नेदरल्यान्ड्सका खेलाडीको उपस्थिति मुस्किलले १ सय थियो। अधिकांश समर्थक नेपालको जर्सी लगाएर टोलीको समर्थन गरिरहेका थिए। त्यही खेलपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाली समर्थकको खुलेर प्रसंशा भएको थियो।null

आइतबार नेपाल र इङ्ल्यान्डबीचको खेलमा मुम्बईस्थित वाङ्खडे स्टेडियममा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसमा अधिकांश नेपाली समर्थक थिए। उनीहरूले खेलभर नेपालको जर्सी लगाएर टोलीको समर्थन गरिरहेका थिए।
यो विश्वकप नेपालका खेलाडीका लागि मात्रै नभई नेपाली समर्थकका लागि पनि निकै खास छ। छिमेकी राष्ट्र भारतमा हुने नेपालको सम्पूर्ण समूह चरणको खेल प्रत्यक्ष हेर्न पनि नेपालीका लागि सहज छ। यसै कारण नेपालले खेल्ने खेलको टिकट सर्वाधिक माग हुने टिकटको दोस्रो स्थानमा रहेको छ। भारतपछि नेपालको टिकट सर्वाधिक बिक्री भएको आईसीसीले जनाएको छ।

नेपाल र इङ्ल्यान्डको खेलको टिकट त सोल्डआउट नै भएको थियो। खेल सुरु हुनु अघि मुम्बईको मरिन ड्राइभ अघि नेपाली समर्थक नाचगान गर्दै नेपालको हुटिङ गरिरहेका थिए। जनकपुरबाट आएका पशुपति साहले भने, ‘नेपालको खेल हेर्न कीर्तिपुर पुग्थ्यौं। अहिले मुम्बईमा आइपुगेको छांै।’ झापाबाट आएका ८ जनाको समूहका एक युवा भन्छन्, ‘केटाकेटीदेखि नेपाललाई विश्वकपमा खेलेको र जितेको हेर्न चाहन्थ्यौं। आज भारतमा नै आएर हामी समर्थन गरिरहेका छौं। यो निकै खुसीको क्षण हो।’

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल पनि नेपालको खेल हेर्न आफ्नो कार्यक्रम छोडेर मुम्बई पुगेकी छन्। उनी नेपाललाई जितको शुभकामना दिँदै भन्छिन्, ‘म दुई खेल हेर्छु। नेपाललाई जितको शुभकामना छ’, उनी भन्छिन्। नेपाली खेलाडी नन्दन यादवले दर्शकले देखाएको मायाका लागि धन्यवाद दिए। उनले भने, ‘हामी जहाँ पनि खेल्छौं, त्यो हाम्रा लागि होम ग्राउन्डजस्तो माहोल हुन्छ। यसका लागि उहाँहरूप्रति 
निकै कृतज्ञ छु।’

अब इटालीसँग प्रतिस्पर्धा
भारत र श्रीलंकामा शनिबारबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टीट्वेन्टी विश्वकप क्रिकेट सुरु भएको हो। टीट्वेन्टी विश्वकपमा नेपाल समूह ‘सी’मा छ। निकै कठिन मानिएको समूह ‘सी’मा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

नेपालले अब आफ्नो दोस्रो खेलमा बिहीबार इटालीको सामना गर्दैछ। इटाली पहिलोपटक टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। इटालीपछि नेपालले फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डको सामना गर्नेछ। नेपालको समूह चरणका सबै खेल मुम्बईमै हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.