पारसको तेक्वान्दो यात्रा

पारसको तेक्वान्दो यात्रा
सुन्नुहोस्

काठमाडौं : धादिङका पारस भण्डारीको परिवार काठमाडौंको सीतापाइलामा बस्थ्यो। पारस एक दिन घरको छतमा खेलिरहेका थिए। खेल्दाखेल्दै उनी एक्कासी चिप्लिएर लडे। त्यो दुर्घटना यति भयावह थियो कि उनले आफ्नो एउटा औंला नै गुमाउनुपर्‍यो। त्यो दुर्घटनामा उनको कान्छी औंला नै चुँडिएको थियो।

औंलाको उपचारका लागि उनी धेरैपटक अस्पताल धाए। तर, उपचार सम्भव भएन। डाक्टरले चुँडिएको ठाउँमा घाउ लागेमा क्यान्सर हुन सक्ने भन्दै उनलाई खेलकुदबाट टाढा राख्न सुझाव दिए। त्यसैले उनलाई चकचक नगर्न र कुनै पनि खेल नखेल्न परिवारले दबाब दिएको थियो। 

पारस सीतापाइलाकै साइरस स्कुलमा पढ्थे। स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलहरू खेलाइन्थ्यो। अप्रत्यासित दुर्घटना र परिवारको दबाबका कारण उनले सुरुमा खेलकुदमा खासै चासो नै दिएनन्। कहिलेकाहिँ साथीहरूसँग फुटबल भने खेल्थे। उनी सात कक्षामा पढ्दै गर्दा विद्यालयमा तेक्वान्दोको प्रशिक्षण सुरु भयो। औंला गुमाएको असह्य पीडा भुलाउनकै लागि पनि उनले तेक्वान्दो सिक्ने निर्णय गरे। उनले जुन उत्साहले तेक्वान्दो खेल्न सुरु गरेका थिए, त्यो उत्साह लामो समयसम्म टिक्न सकेन। डाक्टरको सल्लाह अनुसार आमाबुवा उनलाई खेलकुदबाट टाढा राख्न चाहन्थे। त्यसैले पारसलाई कुनै पनि खेल नखेल्न भनिएको थियो। 

दिदीको सहयोग 
उनी स्कुलमा आफ्ना साथीहरूले खेलेको हेरेर बसिरहन्थे। भाइको तेक्वान्दोप्रतिको मोह देखेर दिदी एलिना भण्डारीले सहयोग गर्ने निर्णय गरिन्। उनले बुवा आमालाई थाहै नदिई दुई हजार रुपैयाँ दिएर भाइलाई तेक्वान्दो खेल्न भनिन्। दिदीले दिएको त्यो पैसा बोकेर पारस बाफलको काठमाडौं तेक्वान्दो डोजाङमा पुगे। उनले त्यो पैसाले डोजाङमा भर्ना भए भने केही सामग्री पनि किने। उनले करिब दुई वर्ष काठमाडौं डोजाङमा प्रशिक्षण गरे। त्यसपछि उनी सीतापाइला डोजाङमा पुगे। उनले अहिले पनि यही डोजाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। 

पारसले कोरियन एम्बेस्डरमा पहिलो पटक सहभागिता जनाएका थिए। तर, आफ्नै प्रशिक्षकका कारण खेल्न पाएनन्। त्यही कारण उनले काठमाडौं डोजाङ छाड्ने निर्णय गरेका थिए। ‘पहिलो खेलमा बाई पाएको थिएँ। दोस्रो खेल जितेको भए पदक जित्ने सम्भावना थियो। तर, खेल्न नपाएपछि नराम्रो लाग्यो’, पारस भन्छन्, ‘त्यही कारण डोजाङ छाड्ने निर्णय गरें।’ सीतापाइलामा भर्ना भएपछि उनले डोर टु डोर प्रतियोगितामा प्रतिस्पर्धा गरे। त्यो प्रतियोगितामा उनले स्वर्ण पदक पनि जितेका थिए। त्यसले उनको आत्मविश्वास पनि बढ्यो। सीतापाइला डोजाङले आयोजना गरेको उपत्यकास्तरीय प्रतियोगितामा आयोजकको दुई वटा टिम थियो। उनी ‘बी’ टिममा थिए। प्रतियोगितामा उनले ‘ए’ टिमका खेलाडीलाई पराजित गरेपछि वल्र्ड च्याम्पियनसिपको छनोटमा पनि सहभागी भएका थिए। तर, छनोटमा उनी पराजित भए। 

उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्रै जनाएनन्, विभिन्न पदक पनि जितेका छन्। सन् २०१७ मा मकाउमा आयोजना भएको प्रतियोगितामा पारसले रजत पदक जितेका थिए। यही वर्ष काठमाडौंमा आयोजना भएको प्रथम काठमाडौं इन्टरनेसनल च्याम्पियनसिपमा पनि रजत पदक जित्न सफल भए। सन् २०१८ मा अस्ट्रेलियामा भएको गोल्ड कोस्ट् च्याम्पियनसिपमा उनले स्वर्ण पदक जिते। २०१९ मा घरेलु भूमिमै भएको तेस्रो काठमाडौं इन्टरनेसनल च्याम्पियनसिपमा उनले कांस्य पदक पहिरिए। कोभिड–१९ ले सारा विश्वलाई नै आक्रान्त पारेका बेला दोस्रो भर्चुअल इन्टरनेसनल च्याम्पियनसिपमा उनले स्वर्ण पदक जिते। यस्तै २०२१ मा भएको फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन इन्टरनेसनल च्याम्पियनसिपमा पनि रजत पदक जित्न सफल भए।

अध्ययनका लागि अस्ट्रेलिया
पारस पढाइका लागि सन् २०२१ मा अस्ट्रेलिया पुगे। त्यहाँ पुगेपछि पनि उनले तेक्वान्दोलाई निरन्तरता दिइरहेका छन्। उनी सन् २०२२ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन मलेसिया र भियतनाम पुगे। मलेसियामा आयोजना भएको सराबक बोर्नियो कप इन्टरनेसनल च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुका साथै बेस्ट फाइटर बन्न सफल भए। त्यो प्रतियोगिताका लागि उनी अध्ययनरत सिड्नी सिटी म्यानेजमेन्ट कलेजले बिदा दिनुका साथै आर्थिक सहयोग पनि गरेको थियो। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अस्ट्रेलियनहरूले नै बिदा र आर्थिक सहयोग पाउँदैनन्। कलेजले मलाई विश्वास गरेर बिदा दिनुका साथै आर्थिक सहयोग गर्नु ठूलो कुरा हो’, पारस भन्छन्। सन् २०२३ मा उनले वल्र्ड तेक्वान्दोको वरीयता रहेको जी–टु अस्ट्रेलियन ओपन र प्रेसिडेन्ट कपमा पनि प्रतिस्पर्धा गरेका थिए।

यसैगरी सन् २०२४ मा अस्ट्रेलियन ओपनको टिम पुम्सेमा पारसको टोलीले कांस्य पदक जितेको थियो। मनोज श्रेष्ठ, शिशिर श्रेष्ठ र पारस सम्मिलित नेपाली टोलीले कांस्य पदक जितेको हो। सन् २०२४ मै पारस अस्ट्रेलियाको राष्ट्रिय प्रतियोगिताका लागि न्यु साउथ वेल्स राज्यबाट छनोट भएका थिए। उक्त प्रतियोगितामा उनले रजत पदक जितेका थिए। केही समयअघि थाइल्यान्डको तोकोम चोनबुरी सहरमा आयोजना भएको तेस्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा पनि पारसले स्वर्ण पदक जितेका थिए। सीतापाइला डोजाङको प्रतिनिधित्व गर्दै पारसले ३० वर्षमुनिको एकल पुम्सेमा स्वर्ण पदक जितेका थिए। 

प्रशिक्षणमा पनि सक्रिय
पारसले सन् २०१९ देखि नै सीतापाइला डोजाङमा जुनियर खेलाडीलाई प्रशिक्षण गराउँथे। अस्ट्रेलिया गएपछि सन् २०२३ देखि नै उनले तेक्वान्दो सिकाउन थालेका थिए। उनले स्पाएर प्रोग्राम अस्ट्रेलिया संस्थामा आवद्ध भएर तेक्वान्दो प्रशिक्षण सञ्चालन गरेका थिए।

पढाइबाट फुर्सद भएका बेला उनी तेक्वान्दोमै संलग्न हुँदै आएका छन्। सन् २०२४ मा हङकङमा आयोजना भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली पुम्से टोलीको प्रशिक्षकको भूमिका उनले नै निभाएका थिए। तेक्वान्दोका चौथो डान पारस सन् २०२२ मा भियतनाममा आयोजना भएको एसियन क्याडेट एन्ड जुनियर च्याम्पियनसिपमा टिम व्यवस्थापकका रुपमा सहभागी भएका थिए। 

पारसले गत वर्ष अस्ट्रेलियामा डोजाङ नै स्थापना गरेर प्रशिक्षण सुरु गरेका छन्। उनले २०२५ जुलाईमा सिड्नीमा लेजिट ब्रदर्स मार्सल आर्ट्स एकेडेमी स्थापना गरेका थिए। ‘पढाइ र कामसँगै तेक्वान्दोलाई पनि सँगसँगै अगाडि बढाइरहेको छु। एकेडेमीमा दिनहुँ खेलाडीको संख्या पनि बढिरहेको छ’, पारस भन्छन्, ‘तेक्वान्दोबाटै मानसम्मान र इज्जत पाएकाले यसमै सक्रिय हुने निर्णय गरेको हुँ। नेपाल आएपछि पनि तेक्वान्दोमै संलग्न हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.