मधेस : गगनका लागि मौका

मधेस : गगनका लागि मौका

काठमाडौं : गगन थापा एक राजनीतिकर्मी मात्र होइनन्, देशकै प्रतिनिधि अनुहार पनि हुन् । झन् यो पालि कांग्रेसको विशेष महाधिवेशनबाट आकस्मिक तवरले पार्टी नेतृत्वमा पुगेपछि उनको चर्चा चुलिएको छ । आफूभन्दा करिब २ पुस्ता अग्रज नेतृत्वसँग पौंठेजोरी खेल्दै थापाले गरेको संघर्षले यो वर्ष मूर्तरूप लिएको छ, पार्टीको शीर्ष स्थान ओगट्ने सन्दर्भमा ।

संसदीय मोर्चामा भने उनको परीक्षा बल्ल सुरु भएको छ । यही बेला उनी झरेका छन् मधेस । किन ? सर्वत्र जिज्ञासा छ । २०६२/६३ को दोस्रो जनआन्दोलनबाट उनी नेपाली राजनीतिमा उदाए । अनि घर छेवै अर्थात् काठमाडौंको चाबहिलको बाँझो जमिन फुटाए । ०७० देखि लगातार जनप्रतिनिधि बने । आफ्नै रगत, पसिना र श्रमबाट सिंचेको मलिलो चुनावी क्षेत्र काठमाडौं–४ बाट उनी प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् ।
यसपटकको निर्वाचनमा उनले सर्लाही–४ रोजेका छन् । पहिलेको क्षेत्र यसपटक किन त्यागे ?

कांग्रेस सभापतिमाथि तेर्सिएको प्रश्न हो । जबकि, राजनीतिमा अधिकांशको यात्रा हुन्छ– सजिलो बाटो रोज्ने, भिरको यात्रा त्याग्ने । कांग्रेस सभापति गगनले भने सजिलो बाटो छोडेर कठिन यात्रा नै रोजेका छन् । यसैकारण, राजनीतिवृत्तमा कौतुहलता छ ।

निश्चय नै, काठमाडौं–४ छोडेर सर्लाही–४ रोज्नु गगनका लागि सजिलो यात्रा हुँदै होइन । फरक परिवेश, फरक भेषभूषा, फरक स्थान र फरक मतदातामा भिजेर चुनाव जित्नु फलामको च्युरा चपाउनु जस्तै हुनेछ । तर, सँगसँगै अर्को पनि भनाइ छ– ‘नो रिक्स, नो गेन’ अर्थात् (चुनौतीको सामना नगरे सफल भइँदैन ।) हुन त पार्टीको नेतृत्व लिनेदेखि संसदीय राजनीतिमा पनि गगनले ‘रिस्क’ लिएकै छन्, सफलता पाएकै छन् ।

गगनका लागि सर्लाही–४ एउटा विषयले मात्रै सहज देखिन्छ । त्यो हो– कांग्रेसको गढ । यो क्षेत्रमा ०४८ देखि ०७४ सम्म कांग्रेसले किल्ला गाढेको थियो । ०४८ देखि ०५६ सम्म कांग्रेसका महन्थ ठाकुर विजयी भए । 

०७० र ०७४ मा कांग्रेसकै अमरेश सिंहले रूख चिह्न लिएर चुनाव जिते । तर, दुर्भाग्य, कांग्रेसबाट चुनाव जितेका ठाकुर र सिंह हाल कांग्रेससँग छैनन् । अमरेश पनि नेपाली राजनीतिमा चतुर, भूराजनीति बुझ्ने र स्वतन्त्र भए पनि जित्ने अनुहारका रूपमा चिनिन्छन् । अघिल्लो चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट चुनावमा उठी विजय हासिल गरेका थिए । यद्यपि त्यतिबेला उनलाई नेकपा एमालेको अदृश्य सहयोग पर्याप्त थियो ।

यसपटक पनि अमरेश कांग्रेसमा छैनन् । रास्वपाबाट गगनका प्रतिस्पर्धी बनेर मैदानमा छन् । विगतमा कांग्रेसको राजनीति हाँकेका दुवै नेता आफूसँग नहुनु पनि गगनका लागि अर्को चुनौती हो ।

गगनको आँटका पछाडि राजनीतिक सन्देश भने पक्कै छ । कुनै बेला मधेसमा एकछत्र राज गरेको कांग्रेस पछिल्ला दिनमा मधेसमै कमजोर बन्दै गएको छ । मधेसका नेताहरूबीचको आन्तरिक टकराव, गुटगत राजनीति, जातियता हावी र मधेसका एजेन्डालाई प्राथमिकता नदिँदा मधेसबाट कांग्रेस टाढिदै गएको हो । 
 
आधार क्षेत्रलाई मजबुत बनाउन र छरिएका कांग्रेसीलाई पुनः एक सुत्रमा बाँध्न गगनको उम्मेदवारी पक्कै पनि कडी हुने नै छ । त्यो सँगै, मधेसबाट हुर्केको रूख पुनः पालुवा भरेर हराभरा हुने विश्वास गगनमा देखिन्छ । विगतमा एउटा न्यारेटिभ पनि थियो–मधेसको प्रतिनिधित्व मधेसकै नेताले गर्छन्, पहाडको पहाडी समुदायले ।’ 

तर, गगनले मधेसको नेतृत्व पहाडी समुदायका नेताले पनि गर्छन् भन्ने सन्देश दिन खोजेका छन् । त्यसका लागि ‘काठमाडौंले हेप्छ, अधिकार दिँदैन, मधेसका नागरिकलाई दोस्रो दर्जाको व्यवहार गरिन्छ’ भन्ने मधेसका बासिन्दाको भावनालाई सम्बोधन गर्ने र विश्वास जगाउने चुनौती गगनसामु छ । त्यसका लागि गगनलाई राम्रो मौका पनि छ–मधेस र मधेसी जनताका पक्षमा उग्र नारा लगाएर मधेसका पक्षमा सिन्को नभाँच्ने मधेसी समुदायकै नेताप्रति वितृष्णा छ । गगनले थोरै मात्र विश्वास जगाएर मन जित्न सके जनताको मन जित्न कठिन 
पनि छैन ।

स्वभावैले गगन निर्भिक र आँटिला छन् । आँट र साहसकै कारण विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न सफल भए । जकडिएर बसेको कांग्रेसमा नेतृत्व हस्तान्तरण र र पुस्तान्तरणको आवाजलाई सार्थक बनाए । यसैकारण पनि मधेसी जनताको मतबाटै प्रधानमन्त्री बनेर देश हाँक्ने दृढता र विश्वासका साथ गगन सर्लाही–४ झरेका हुन सक्छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.