आन्दोलन रुचाउँदैन अस्ट्रेलिया
मिथकभन्दा प्रमाणमा आधारित वर्णन नै सत्य इतिहास हो।
थुसिडिडिस (एथेन्सका इतिहासकार)
बदलाले समाज, राजनीति र मानवतामा विनाश ल्याउँछ।
बदला/प्रतिकारले हिंसा र द्वन्द्वमात्र बढाउँछ, समाधान ल्याउँदैन।
मार्टिन लुथर किङ जुनियर
राजनीतिक प्रतिशोध दुर्बल चरित्रको संकेत हुन सक्छ।
अल्बर्ट आइन्स्टाइन
प्रतिशोधले अन्ततः प्रतिशोधी र लक्ष्य दुवैको क्षति गर्छ।
प्लेटो
यसपटक भेट्न आउँदा मेरा अस्ट्रेलियाली मित्र जेफ घरबाटै कफीका दाना र सानो भाँडो बोकेर आएका थिए। भित्र छिर्नासाथै उनी किचनतिर लागे। आफैं ग्यास बालेर, आफैं दाना पिसेर धैर्यपूर्वक कफी तताउन थाले। केही समयमै घरभरि तीखो सुगन्धले वातावरण बदलियो। दुई कप कफी राखेर उनले मुस्कुराउँदै भने, ‘आजको कफीको स्वाद अलिक फरक छ।’ मलाई कफी खासै मन पर्दैन। तर उनको आत्मीयता अगाडि ‘म खान्न’ भन्न सकिनँ। कप उठाएर ‘एक्स्ट्र्याक्ट’ घुटुक्क पिएँ र हाँस्दै भनें, ‘वाह, टेस्टी रहेछ !’ कफीसँगै हाँसो–ठट्टा सुरु भयो। तर केही क्षणमै हामी गम्भीर विषयतिर मोडियौं। इतिहास, राजनीतिक संस्कृति र विरोधको मनोविज्ञान। जेफ मेरा साथी मात्र होइनन्, अस्ट्रेलियाली समाज बुझाउने मेरा शिक्षक पनि हुन्। उनी यहाँको एक प्रतिष्ठित विद्यालयमा अध्यापन गर्छन् र सामाजिक न्याय तथा नागरिक चेतनाबारे गहिरो ज्ञान राख्छन्।
अस्ट्रेलियाली सहनशीलता किन यस्तो ? : अस्ट्रेलियामा ब्रिटिस उपनिवेश १ सय १३ वर्ष चल्यो। सन् १७८८ देखि १९०१ सम्म। तर कानुनी स्वतन्त्रता भने १९८६ मा मात्र प्राप्त भयो। यति लामो साम्राज्यवादी शासन भोग्दा पनि कतै सालिक भत्काइएनन्। सडकमा आगो बालिएन। भवनमा तोडफोड भएनन्।
आन्दोलनले सरकारी सम्पत्तिलाई नछुने संस्कृति देखियो। अस्ट्रेलियाका नागरिक यस्ता कार्य कल्पना गर्न पनि सक्दैनन्। उपनिवेशकालीन राजाको तस्बिर अझै सिक्का–नोटमा छ। महारानी भिक्टोरियाका विशाल सालिक सहरका केन्द्रमा छन्। १८०० को दशकका साम्राज्यवादी भवनहरूलाई ‘सांस्कृतिक सम्पदा’ मानेर जोगाइएको छ। जेफका शब्दमा, ‘इतिहासको सम्मान गर्दा गल्ती दोहोरिँदैन।’
उनी जर्मनीको होलोकास्ट स्वीकारोक्ति, दक्षिण अफ्रिकाको ‘ट्रथ एन्ड रिकन्सिलिएसन’, अस्ट्रेलियाको ‘सरी डे’
(आदिवासी जनतासँग क्षमा) जस्ता उदाहरण प्रस्तुत गर्छन्। ‘सत्य स्वीकार्नु कमजोरी होइन, साहस हो’, जेफ भन्छन्।
सिड्नीमा विरोध तर बिना आगो, बिना आक्रोश : जेफ आफैं पनि प्यालेस्टाइन एक्सन ग्रुपका पक्षधर हुन्। सन् २०२३ देखि २०२५ सम्म सिड्नीले विश्वकै ठुलो प्यालेस्टाइनी समर्थकहरूको धेरैवटा जुलुसमा सहभागी भएका छन्। सिड्नीमा २०२५ अगस्ट ३ को प्रदर्शनमा ९० हजारदेखि २ लाख २५ हजार मानिस थिए। तर कहीं कुनै तोडफोड भएन। न मसाल, न आगजनी, न हिंसात्मक भिडन्त नै, ध्वनि प्रदूषण पनि भएन। प्रहरीलाई बल प्रयोग गर्नै परेन।
तर पनि यो प्रदर्शनले विश्वको ध्यान खिच्यो, कानुनी, सभ्य र शक्तिशाली ढंगले। जेफले सोधे, ‘तिमीहरूको देशमा विरोध सुरु भयो भने किन सबैभन्दा पहिले आगो बल्छ ? किन सरकारी भवनलाई लक्षित गरिन्छ ?’ २०८२ भदौ २३–२४ का घटनाको सम्झना गराएँ। सिंहदरबार, संसद्, सर्वोच्च अदालतदेखि दर्जनौं सरकारी संरचना आगोले निलेको दुर्भाग्यपूर्ण दृश्य। त्यो सुनिसकेपछि जेफ अचम्म परे। उनले भने, ‘सरकारलाई दण्ड दिनु हो भने नेताको घर तोड। सिंहदरबार जलाउनु त आफ्नो देश जलाउनु जस्तै भयो। यो त अपराध हो। त्यहाँ जस्तो यहाँ कसैले गर्दैनन्।’ यसको पछिल्लो उदाहरण हो, बोन्डाइ समुद्री तटमा भएको आतंकवादी आक्रमण। जहाँ १५ जना निर्दोष मारिएका थिए। १४ डिसेम्बरको त्यति ठुलो घटना हँुदासमेत सुरक्षा माग र असुरक्षाको विरोध गर्दै सडकमा विरोध भएनन्।
इतिहासप्रति फरक दृष्टि किन ? : ब्रिटिस साम्राज्य विश्वकै सबैभन्दा ठुलो साम्राज्य थियो। अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यान्मार, हङकङ, मलेसिया, अफ्रिकाको आधा भूभाग, क्यारिबियन, ओसिनिया... सम्म। तर आज अस्ट्रेलियामा महारानी भिक्टोरियाको सालिक सुरक्षित छन्।
भिक्टोरिया भवन संसारकै सुन्दर संरचनामध्ये एक मानिन्छ। कोही आन्दोलनकारीले त्यसमाथि प्रहार गरेनन् र अब पनि गर्दैनन् सायद। किनकि यहाँ इतिहासलाई ‘वस्तुगत तथ्य’ भनेर मानिन्छ। ‘राजनीतिक हतियार’ भनेर होइन। यहाँ ‘सत्य स्वीकार, गल्तीबाट सिक र भविष्य बनाऊ’ भन्ने मान्यता राख्छन् नागरिक। तर हामीकहाँ भने ‘सत्ता बदलियो कि इतिहास बदलिन्छ।’
इतिहाससँग निरन्तर झगडा : नेपालमा इतिहास लेखिँदैनन्। घोषणापत्र लेखिन्छन्। जो सत्तामा आउँछ, उसले आफ्नो कथामात्र लेख्छ। इतिहासमाथि तीन ठुलो रोग छन्। पहिलो, सत्ताको दृष्टिले इतिहास लेख्ने प्रवृत्ति। दोस्रो, सत्ता बदलियो कि राणा पूर्ण गलत, पञ्चायत कालो युग, राजा प्रतिगामी। तेस्रो, माओवादी महान्, अघिल्ला जति सबै लोकतन्त्रका शत्रु।
यसरी इतिहास सेतो–कालो बनाइन्छ। प्रतिशोध र आक्रोशको संस्कृति : विरोध भन्यो कि टायर बाल्ने। सडक रोक्ने, छेक्ने। भवन भत्काउने, सालिक ढाल्ने। यस्तै अराजक गतिविधि हुने गरेका छन्। मनोविज्ञान भन्छ, ‘जसले आफूलाई असुरक्षित ठान्छ, उसले प्रतीकलाई नष्ट गर्छ।’ असन्तुलित शिक्षा प्रणाली : शिक्षाले आलोचना सिकायो। सम्मान सिकाएन। त्यसैले हामी ‘पूरै असल’ वा ‘पूरै खराब’ मनस्थितिबाट कहिल्यै बाहिर निस्किन सकेनौं। राणा, पञ्चायत, राजा, माओवादी सबका इतिहास एकतर्फी छन्।
राणाकाल : १०४ वर्षका सकारात्मक काम—कानुनी संरचना, कागजी प्रशासन, बाह्य सम्बन्ध, आधुनिक संस्थाहरू सबै ओझेल पारिएका छन्। राणा अत्याचारीमात्र भनेर चित्रण गरिएको छ। पञ्चायत : ३० वर्षको कालो–सेतो व्याख्यामात्र छ। त्यस अवधिका सडक, पुल शिक्षालाई गाउँगाउँ पु¥याउने प्रयास राष्ट्रियता निर्माणका पहल सबै ढाकछोप भएका छन्।
राजनीतिक बहुलता नहुँदा आलोचना जायज छ। तर सम्पूर्ण काललाई कालो बनाउनु इतिहासको हत्या हो। राजालाई पूर्ण शत्रु बनाउने अभियान : २०६२/०६३ सालको आन्दोलनले राजसंस्थाले गरेको राष्ट्रिय एकीकरण राष्ट्रिय पहिचान निर्माण, कूटनीति राज्य संरचना निर्माणजस्ता योगदानलाई पूर्ण बहिष्कार गरेको छ। आलोचना आवश्यक छ। तर नकारात्मकता मात्र शिक्षण होइन।
माओवादी बिद्रोह : ‘राज्यले विद्रोह स्वीकारेन’ भनेर समेत स्वीकार्न नचाहँदा धेरै रक्तपात भयो। माओवादीले त्यसैलाई ‘जनयुद्ध’ र ‘महान् क्रान्ति’को संज्ञा दिए। तर १७ हजार मृतक, हजारौं अपांग, बेपत्ता, विधवा–अनाथ र विस्थापितहरूको आवाज ओझेलनमा पारियो। सत्य इतिहास भन्नु भनेको आफ्नो जित देखाउनु मात्र होइन, अरूको घाउ पीडा पनि सम्झनु हो। किन मेटिन्छ इतिहास ? : राजनीतिशास्त्र र मनोविज्ञानको उत्तर। मनोविज्ञान भन्छ, ‘जसले इतिहास स्वीकार्दैन, उसलाई अतीतले पछ्याइरहन्छ।’ राजनीति भन्छ, ‘सत्तामा जो छ, कथाकार उही हुन्छ।’ त्यसैले प्रत्येक नयाँ शक्तिले अघिल्लो शासनलाई पूर्ण असफल घोषित गर्दै आएका छन्। दमनकारी भएको प्रमाणित गर्ने दौडमा छन्। त्यस्ताले आफूलाई ‘मुक्तिदाता’ चित्रित गर्छ र इतिहास पुनर्लेखन गर्छ। किनकि यसरी वैधता निर्माण गर्न सजिलो हुन्छ। तर यस्तो इतिहासले समाजमा विभाजन, द्वेष, प्रतिशोध, अस्थिरता अनि झूटो चेतना उत्पन्न गर्छ।
इतिहास मेट्दा हराउने पाँच कुरा : पहिचान— हामी को ? स्मृति— के सिक्यौं ? नैतिकता— गल्ती कसरी दोहोरिन नदिने ? संस्कार— सम्मान कसरी गर्ने ? भविष्य— कसरी बनाउने ? बेलायतका तत्कालीन प्रधामन्त्री तथा राजनीतिज्ञ विन्स्टन चर्चिलले भनेका थिए, ‘तिमी जति दूर विगत हेर्न सक्छौ, त्यति दूर भविष्य हेर्न सक्छौ।’ तर नेपाली राजनीतिमा दुरदर्शीता भन्ने बस्तु खोजेर भेटिँदैन।
सालिक ढुंगाको मूर्ति होइन, राष्ट्रको मनोविज्ञान हो : नेपालमा राजा, रानी, बीपी, गणेशमान, पुष्पलाल जस्ता नेताको सालिक समेत ढालिँदै आइएको छ। त्यो पनि तिनको योगदानलाई चटक्कै बिर्सेर। भिडले कसको शत्रु बनायो, हाम्रो देशलाई ? सालिक ढल्दा इतिहास ढल्छ। स्मरणसँगै पहिचान ढल्छ।
अस्ट्रेलियामा सालिक इतिहास हो। नेपालमा सालिक प्रतिशोधको लक्ष्य। कसले बुझ्ने इतिहास ? इतिहास राष्ट्रको आत्मा हो। आत्मा बिर्संदा राष्ट्र बाँच्दैन। २००७, २०४६, २०६२/०६३ का सबै आन्दोलनले योगदान दिएका छन्। तर एउटा महान्, अर्को पूर्ण खराब भन्ने प्रवृत्तिले कता लाँदैछ ? अन्ततः विभाजन, कमजोर राज्य र भ्रमित पुस्तातर्फ। खै कसैले सोचेको ?
अब यसो गरौं : शिक्षामा आलोचना र सम्मान दुवै सिकाउन थालौं। विरोधलाई सभ्यतामा रूपान्तरण गरौं। सत्यलाई छोप्ने होइन— सामना गर्ने प्रवृत्ति बनोस्। सालिक, भवन, विरासतलाई राष्ट्रिय सम्पत्ति ठान्न थालौं। सबै पक्षको कथा समेटिएको इतिहासमा लेख्ने गरौं। राजनीति होइन— तथ्यले इतिहास लेख्ने। अतीतलाई भविष्य निर्माणका लागि साधन बनाउने।
इतिहास र आत्मा : नेपालमा धेरै पटक इतिहासमाथि प्रहार भइसकेको छ। अब इतिहास बदल्ने होइन, इतिहास बुझ्ने, स्वीकार्ने र भविष्य निर्माणमा प्रयोग गर्ने समय आएको छ। हामीले अतीतसँग झगडा गर्दै–गर्दै वर्तमान बिगार्दैछौं। र, भविष्य खतरातिर उन्मुख हुँदैछ। एकले अर्कालाई राजनीतिमा निषेध गर्ने जस्तो अधिनायकवादी सोच सर्वत्र देखिन्छन्। ती चाहे पुराना हुन् वा नयाँ। त्यसैले भोलिको इतिहास उपहासका पाना नबनून्। अहिले नै सोचौं। ग्रहण गरौं र अघि बढौं।
अन्त्यमा, दोस्रो विश्वयुद्धको सुरुआत गर्ने प्रसिद्ध जर्मनीका नाताशाह एडोल्प हिटलरकै भनाइ लिऔं, ‘हिंसा, प्रतिशोध, डर र बल प्रयोगमा आधारित जीवन बाँच्ने मानिसले अन्ततः त्यही हिंसाबाट मर्नु पर्छ।’
एउटी रानीको अनौठो सम्बन्ध अस्ट्रेलिया स्वतन्त्र राष्ट्र, आधुनिक लोकतन्त्र अझै पनि रानी भिक्टोरियाको उपस्थिति सामूहिक स्मृतिमा ताजा छ। तर रानी भिक्टोरिया आफ्नै नामको राज्य भिक्टोरियामा कहिल्यै पाइलो टेकिनन्। अझै भनौ त्यति लामो उपनिवेश अवधिमा उनले अस्ट्रेलिया नै देखिनन्। किनकि ब्रिटिस साम्राज्यकी महारानी भएकाले अस्ट्रेलियाको शासन गभर्नर–जनरल र राज्यका गभर्नरहरू मार्फत् चलाइन्थ्यो। त्यसैले उनी आफ्नो नामको राज्यमा आउनै परेन।
भिक्टोरियाको छोटो जीवन–कथा
जन्मः २४ मे १८१९
राजगद्दीः १८ वर्षमा, २० जुन १८३७
शासनकालः ६३ वर्ष ७ महिना
मृत्युः २२ जनवरी १९०१
अस्ट्रेलिया र भिक्टोरिया सम्बन्ध : सन् १८५१ मा न्यु साउथ वेल्सबाट छुट्टिएर बनेको नयाँ उपनिवेशलाई रानीको सम्मानमा राखिएको नाम हो, भिक्टोरिया। आज अस्ट्रेलियाभरि भिक्टोरिया राज्य, भिक्टोरिया पर्वत, नदी, उपत्यका भिक्टोरिया नामका सडक, विद्यालय, भवन यत्रतत्र छन्। यो केवल नामकरण होइन। उपनिवेशकालको गहिरो सांस्कृतिक छापको जीवन्त स्वरूप पनि हो।
नोटमा रानी, मनमा इतिहास : नोटमा ब्रिटिस मोनार्कको तस्बिर एक शताब्दीभन्दा पुरानो परम्परा हो। रोचक त के छ भने न त विरोधका मार्च, न त आगजनी, न ‘जिन्दावाद–मुर्दावाद’का नारा। अस्ट्रेलियाली समाजले इतिहासलाई हटाएर होइन, बुझेरै रूपान्तरण गर्ने बाटो रोजेको देखिन्छ। किनकि भिक्टोरियाको शासनमा अस्ट्रेलियाको प्रगति पनि भएको छ।
चरम भौतिक विकास, रेलमार्ग विस्तार, टेलिग्राफ जडान, ठुला सुन खानी पत्ता लगाउने काम, उद्योग र सहरहरूको तीव्र विकास, सामाजिक चेतनाको व्यापक वृद्घि, बालश्रमविरुद्ध अभियान, श्रमिक अधिकारबारे संवाद, महिलाको शिक्षामा सुधार, ‘भिक्टोरियन अनुशासन’ नैतिकता र कठोर सामाजिक मूल्य स्थापित भएका छन्।
अस्ट्रेलियाली लोकतन्त्रको जन्म : १८५० पछि उपनिवेशहरूले आफ्नै संसद् र सरकार गठन गर्न पाए। लोकतन्त्रको मेरुदण्ड यही कालखण्डमा निर्माण भयो। तर पनि अस्ट्रेलियाका आदिवासी समुदायले भिक्टोरियाको शासनमा इतिहासको सबैभन्दा गहिरो चोट भोग्नु परेको थियो। ती हुन्, उनीहरूको जमिन कब्जा, संस्कृति र भाषामा दमन, बालबालिकाको जबर्जस्ती अपहरण। यी पीडाहरू केवल अतीतका घटना होइन। आज पनि सामाजिक घाउझै बल्झिरन्छन्।
तर पनि भिक्टोरियाका सालिक किन हटाइँदैनन् ? अब प्रश्न उठ्न सक्छ। समग्र अस्ट्रेलियामा एउटा स्पष्ट धारणा छ, ‘स्मारक हटायौं भने इतिहास मेटिन्छ।’ अर्कोतर्फ सरकारले सांस्कृतिक सम्पदाका लागि कठोर कानुनी सुरक्षा उपाय अपनाउँदै आएको छ। पर्यटन र सहरी पहिचान, समुदायबीच तनाव नबढाउने सहमति, ‘हटाउनु होइन, सन्दर्भ थप्नु’ भन्ने आधुनिक दृष्टिकोण।
अस्ट्रेलियालीहरू भन्छन्, ‘मूर्ति विवादको कुरा होइन, इतिहासको बहस हो।’ २०२० पछि यो बहस उठदै आएको छ। ब्ल्याक लाइभ्स म्याटर आन्दोलनपछि अस्ट्रेलियामा पनि उपनिवेशकालीन नेताहरूका सालिकप्रति प्रश्नहरू उठेका छन्। तर यहाँको समाधान फरक छ। अस्ट्रेलियाको लोकतन्त्रले विरोधलाई प्रतिहिंसा होइन, समीक्षा र संवादमा रूपान्तरण गरेको छ।
तर पनि अस्ट्रेलियामा रानी भिक्टोरियाको उपस्थिति आज पनि जति दृश्यमान छ, त्यति नै जटिल पनि। यो न त पूर्ण सम्मानको कथा हो, न त पूर्ण अस्वीकारको। यो एउटा राष्ट्रले आफ्नो इतिहासलाई नफेरिएको अनुहारसहित, तर नयाँ दृष्टिकोणसहित स्वीकार्दै जाने क्रम हो। अन्ततः प्रश्न मूर्ति हटाउने/राख्ने होइन, अस्ट्रेलिया आफैंलाई कसरी बुझ्न चाहन्छ ? त्यसतर्फ केन्द्रित छ।
आफ्नै नामको भवन नदेख्ने रानी : सिड्नी सहरमा भिक्टोरिया भवन जुन १४ हजार २ सय ३६ वर्ग–मिटरको छ। भवनको लम्बाइ करिब १ सय ९० मिटर र चौडाइ करिब ३० मिटर छ। भवनभित्र १ सय ५० देखि १ सय ६५ वटा रिटेल पसल, ब्रान्ड–स्टोर, क्याफे तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन्। वास्तुकलाको सौन्दर्य अद्भुत छ। रानीसँग जोडिएका संरचना, नाम र प्रतीकहरू इतिहास र साम्राज्यकालीन स्मृतिका भाग मात्र हुन्। तर पनि त्यो सम्झनालाई अस्ट्रेलियालीहरू कहिल्यै बिर्सन चाहन्नन्। त्यसैले पनि नेपालमा जस्तो इतिहासका पत्रहरूको विरोध हुँदैन यहाँ। र त, वैभवमा सबैले गर्व गर्छन् ।
प्रतिक्रिया दिनुहोस !