अध्यात्मको अन्तर्राष्ट्रिय बाटो

जीवन–जगत्

अध्यात्मको अन्तर्राष्ट्रिय बाटो

नेपालले आफ्नो विशिष्ट आध्यात्मिक विरासतलाई विश्व समुदायसामु दृढताका साथ प्रस्तुत गरेसँगै विश्व मानचित्रमा यसको स्थान समस्त मानव जातिका लागि पवित्र तीर्थ–गन्तव्यको रूपमा दीप्तिमान हुनेछ।

निश्चय नै, हाम्रो नेपाल प्रकृतिको न्यानो काख र मानव चेतनाको सर्वोच्च शिखरको एउटा दिव्य संगम हो। यहाँ ढुंगाहरूमा पनि देवत्व मुस्कुराउँछ र हावामा बुद्धत्वको सुगन्धको अनुभूति हुन्छ। सनातन कालदेखि नै हिमवत्खण्डको यो पावन भूमिले विश्वमाझ शान्ति, करुणा र मानवताको प्रकाश छर्दै आएको छ। यहाँका उच्च हिमालहरू हिउँका थुप्रामात्र नभएर पृथ्वीले आकाशसँग संवाद गर्ने ध्यानस्थ ऋषिहरू हुन्। यसैको प्रतीति हामी हाम्रा प्राचीनतम् ग्रन्थमा फेला पार्छौं। जहाँ भनिएको छ— उपह्वरे गिरीणां संगमे च नदीनाम्। धिया विप्रो अजायत।।

ऋग्वेद र यजुर्वेदमा समेत उपलब्ध यो मन्त्रले त मानौं नेपालको भौगोलिक र आध्यात्मिक सत्तालाई एउटै सूत्रमा उनेर प्रस्तुत गरेको छ। यस ऋचाको अन्तर्य अत्यन्त गहिरो र अर्थपूर्ण छ। यसले भन्छ— ‘जहाँ पर्वतका एकान्त कन्दराहरू छन् र जहाँ नदीहरूको पवित्र संगम हुन्छ, त्यहीँ नै दिव्य ऊर्जा र उच्च बौद्धिक चेतनाको जन्म हुन्छ।’ लाग्छ, यस मन्त्रका द्रष्टा ऋषिले नेपालको पनि दर्शन गरेका थिए।

त्यही दृष्टिले यस पावन भूमिको महिमालाई शब्दचित्रमा उतारेको भान हुन्छ। कोलाहलबाट टाढा, प्रकृतिको शान्त काखमा जब साधकले आफूलाई समाहित गर्छ, तब मात्र ऊभित्रको ‘विप्र’ अर्थात् विशेष प्रज्ञा जागृत हुन्छ। हाम्रा हिमाली गुफाहरू र पवित्र त्रिवेणीहरू युगौंदेखि यस्तै आत्मसाक्षात्कारका पाठशाला रहँदै आएका छन्। यसै पाठशालाको खोजीमा अनन्तको यात्रा गर्ने गोविन्दानन्द भारती उपाख्य शिवपुरी बाबा र खप्तड बाबा नामले परिचित परमहंस योगी स्वामी सच्चिदानन्द सरस्वती जस्ता महामना यस भूमिसम्म पुगे, यसैमा रमाए।

देवभूमि नेपाल राष्ट्रिय अभियान : हाम्रा निम्ति यो प्राचीन विरासत हो। ऋषि–महर्षिहरूको तपोभूमि र विश्वकै आध्यात्मिक केन्द्रको यो पहिचानलाई पुनर्जीवित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममार्फत एउटा महाअभियानको शंखघोष गरेको छ। ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियानको उद्घोष गरेको छ। यो अभियानलाई यहाँका जनमानसले सरकारी कार्यक्रममा मात्र सीमित गरी हेर्नु अनुपयुक्त हुन्छ। बरु यसलाई हाम्रो गौरवशाली इतिहास र आध्यात्मिक सामथ्र्यलाई विश्वसामु चिनाउने एउटा राष्ट्रिय संकल्पका रूपमा आत्मसात् गर्नु उपयुक्त हुनेछ। प्रकृति र संस्कृतिको यो अनुपम सन्तुलनले नै नेपाललाई विश्वको मानसपटलमा सधैं ‘शान्ति र चेतनाको देश’का रूपमा जीवन्त राख्नेछ।

नेपालका सन्दर्भमा भन्न सकिन्छ, पर्यटन पदयात्रा मात्र होइन, बरु आत्माले शान्ति र सत्यसँग गर्ने साक्षात्कार पनि हो। हामी भौतिक शरीरमा दिव्य चेतना नै पर्यटक बनेर धर्तीमा विचरणशील छौं भन्ने आध्यात्मिक चेतसित परिचित गराउने सामथ्र्य नेपालको भूमिले राख्छ। यही सत्यलाई आत्मसात् गर्दै अघि सारिएको ‘देवभूमि नेपाल’ अभियानले विश्वभरका करोडौं हिन्दु, बौद्ध, किराँत, बोन र आध्यात्मिक पिपासुहरूका लागि नेपाललाई एउटा अन्तिम र अनिवार्य गन्तव्य बनाउने लक्ष्य राखेको छ। प्रकृतिको अनन्त वैभव र मानवीय चेतनाको गहिरो सम्बन्धलाई उजागर गर्ने यो पहलले नेपालको सांस्कृतिक कूटनीतिमा एउटा नयाँ र शक्तिशाली आयाम थपेको छ।

यस नीतिको मेरुदण्ड भनेकै आध्यात्मिक तीर्थ कूटनीति हो। यसले पशुपतिनाथको अघोर रूप, मोक्षधामका रूपमा पावन मुक्तिनाथ, शान्तिको ज्योति प्रज्ज्वलित गर्ने लुम्बिनी र जनकपुरधामको विदेह ज्ञान र भक्तिको भव्य भावलाई एउटै दिव्य मालामा उनेर विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने सुन्दर खाका कोरेको छ। सरकारको यो दूरगामी सोचलाई मूर्तरूप दिन पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत एउटा छुट्टै ‘तीर्थाटन विभाग’ स्थापनाको चर्चा पनि छ। यसले धार्मिक पर्यटकहरूको सुविधा र पवित्रस्थलहरूको वैज्ञानिक व्यवस्थापनमा आमूल परिवर्तन ल्याउने सम्भावना छ। महाभारत पर्वत शृंखलादेखि सुदूरपश्चिमको मानसखण्ड (खप्तड र मानसरोवर पदमार्ग) सम्मको पूर्वाधार विकासले नेपालको नयाँ परिचय निर्माण गर्नेछ।

नेपाल हिमाल चढ्न चाहने साहसीहरूसँगै जीवन दर्शन बुझ्न र आन्तरिक शान्तिको शिखर छुन इच्छुक चिन्तकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने पक्का छ। सडक सञ्जालको स्तरोन्नति र व्यवस्थित आवास सुनिश्चित गर्न सके छिमेकी राष्ट्र भारत, चीन र अन्य बौद्ध मुलुकबाट आउने श्रद्धालुजनको यात्रालाई सहजमात्र होइन, एउटा अविस्मरणीय आध्यात्मिक उत्सव बनाउने निश्चित छ। निश्चय नै यो अभियानले नेपाललाई भूगोलको सीमाबाट माथि उठाएर ‘विश्वको आध्यात्मिक राजधानी’का रूपमा स्थापित गर्ने देखिन्छ।

आरोग्य पर्यटनको धुरी : नेपालको विशिष्ट भौगोलिक अवस्थिति र यहाँको प्राचीन उपचार पद्धतिले यसलाई विश्वकै ‘आरोग्य पर्यटन’ को केन्द्र बन्ने प्रचुर सम्भावना प्रदान गरेको छ। यहाँको शुद्ध वायु र शान्त वातावरण आफैंमा एउटा औषधि हो। यसको औषधीय गुणलाई कायम राख्नु चाहिँ हामी नेपालीहरूकै दायित्व हो। यस कर्तव्यतिर हाम्रो ध्यान जानसके मुस्ताङ र सगरमाथाजस्ता उच्च हिमाली क्षेत्र गहन ध्यानका लागि प्रकृतिका ‘मौन कक्ष’मा रूपान्तरित हुनेछन् भने पोखरा र लुम्बिनीजस्ता स्थलहरू योग एवं ध्यान शिविर र शिक्षक प्रशिक्षणका लागि विश्वस्तरीय गन्तव्य बन्ने क्षमतामा पुग्नेछन्।

नेपाल हिमाल चढ्न चाहने साहसीहरूसँगै जीवन दर्शन बुझ्न र आन्तरिक शान्तिको शिखर छुन इच्छुक चिन्तकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने पक्का छ।

नेपाल जीवनदायिनी जडीबुटीको अजस्र स्रोत पनि हो। यहाँका रैथाने वनस्पतिका औषधीय वैभवहरू आयुर्वेद र पञ्चकर्मको प्राचीन स्पर्शसँग एकाकार भएसँगै सात समुद्र पारिबाट आएका पाहुनाहरूले शारीरिक स्फूर्ति अनि आफ्नो अशान्त मनभित्र एक अलौकिक आध्यात्मिक मौनता र शान्तिको स्पर्शसमेत अनुभूति गर्नेछन्। यो अभियानले विदेशी पर्यटकको बसाइलाई त अर्थपूर्ण बनाउँछ नै, सँगै यसले हाम्रा गाउँबेंसीका पौरखी हातहरूलाई रोजगारीको नयाँ अवसर दिँदै राष्ट्रिय अर्थतन्त्रलाई एउटा अटल र स्वावलम्बी आधारसमेत प्रदान गर्नेछ। प्रकृति, संस्कृति र आरोग्यताको यो पवित्र त्रिवेणीले देवभूमि नेपाललाई विश्व मानचित्रमा एउटा यस्तो दिव्य गन्तव्यका रूपमा पुनर्जीवित तुल्याउनेछ, जहाँ पुग्ने जोकोहीले पनि मानवता र प्रकृतिको साक्षात मिलन देख्न पाउनेछन्।

हाम्रो कर्तव्य : अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको यो अद्वितीय आध्यात्मिक सामथ्र्यको अनुगुञ्जन सुनिन थालेको छ। सन् २०१४ मा अस्ट्रेलियाको ब्रिसबेनमा भएको जी–२० शिखर सम्मेलनका क्रममा टर्कीका तत्कालीन प्रधानमन्त्री अहमद दाभुतोग्लुले नेपाललाई विश्वकै एउटा प्रमुख आध्यात्मिक शक्ति–केन्द्रको रूपमा चित्रण गर्दै यसलाई शक्ति राष्ट्रहरूको लहरमा उभ्याउनुपर्ने जुन तर्क अघि सारे, त्यसले नेपालको वास्तविक गरिमालाई वैश्विक स्तरमा पुनस्र्थापित गरिदिएको छ। यो धारणाले के पुष्टि गर्छ भने नेपाल भूगोलका आधारमा खुम्चिएको सानो मुलुकमात्र होइन, बरु यो विश्वकै एउटा महान् आध्यात्मिक ऊर्जाको पुञ्ज हो। यहाँका हरेक कण ऋषिमुनिहरूको तपोभूमि, वेदका द्रष्टाहरूको कर्मभूमि र विश्वलाई शान्तिको पाठ सिकाउने शाश्वत शान्तिभूमिका रूपमा परिचित हुन लालायित छन्।

हाम्रा पूर्वजहरूले छोडेर गएका कलात्मक मन्दिर, गुम्बा र चैत्यहरू राष्ट्रिय एकता र सामाजिक चेतनालाई सबल बनाउने अमूल्य निधि हुन्। मेचीदेखि महाकालीसम्म र तराईका उर्वर फाँटदेखि हिमालका उच्च शिखरसम्म फैलिएको यो सुरम्य भूमि हजारौं मठ–मन्दिर, पवित्र कुण्ड र साधना स्थलहरूले देदिप्यमान छ। खप्तडको एकान्त, बराहक्षेत्रको पवित्रता, स्वर्गद्वारीको अखण्ड दिव्य ज्योति, रूरू क्षेत्र र देवघाटको पावन संगम, मनकामनाको दिव्यता र गोसाइँकुण्डको आध्यात्मिक शीतलताले यस धर्तीलाई साक्षात् देवभूमिको रूपमा स्थापित गरेका छन् नै। यी सांस्कृतिक धरोहरहरूको संरक्षण गर्नु र यिनको महिमालाई विश्वको कुनाकुनासम्म पुर्‍याउनु आज प्रत्येक नेपालीको गौरवपूर्ण राष्ट्रिय कर्तव्य बन्न पुगेको छ। यसको अनुभूति सरकारको यजनाका रूपमा मात्र नभएर प्रत्येक नेपालीको आचरणबाट पनि विश्वले गर्न सकोस्। यसतर्फ हाम्रो ध्यान पुग्नु अपरिहार्य छ।

निष्कर्षमा, ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियानले हाम्रो मुलुकलाई साहसिक पर्वतारोहणको एउटा पर्यटकीय केन्द्रबाट माथि उठाएर समग्र स्वास्थ्य, आन्तरिक शान्ति र आध्यात्मिक चेतनाको विश्व राजधानी बनाउने एउटा महान् मार्ग प्रशस्त गरेको छ। पुरुषार्थी बनेर हामीले पसिनाको अघ्र्य चढाउन सके यो अभियानले समृद्धिको ढोका त उघार्छ नै, सँगै प्रत्येक नेपालीको मनमा स्वाभिमानको एउटा उज्यालो दियो पनि बाल्नेछ। नेपालले आफ्नो यस विशिष्ट आध्यात्मिक विरासतलाई विश्व समुदायसामु दृढताका साथ प्रस्तुत गरेसँगै विश्व मानचित्रमा यसको स्थान एउटा भूपरिवेष्ठित राष्ट्रको रूपमा मात्र रहने छैन, बरु यो समस्त मानव जातिका लागि एउटा पवित्र र शान्तिदायी तीर्थ–गन्तव्यको रूपमा दीप्तिमान हुनेछ। सर्त मात्र यति हो- यो अभियान कागजी दस्तावेजमा मात्र सीमित नभई हामी प्रत्येक नेपालीको साझा धड्कन बन्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.