फाइनलमा हङकङ पराजित, अपराजित रहँदै नेपाललाई एसियन गेम्स छनोटको उपाधि
काठमाडौं : एसियन गेम्सको छनोटको हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ। सिंगापुरको सिंगा ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङलाई डीएल पद्धतिमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो।
हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाएपछि वर्षा भएको हो। नेपालले प्रतियोगिता अवधिमा अपराजित रहेको थियो।
नेपालको लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ४० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। रोहित कुमार पौडेल ३५ र दिपेन्द्र सिंह ऐरी ९ रनमा अविजित रहे। हङकङका लागि बलिङतर्फ आयुष शुक्ला र इशान खानले १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको हङकङको लागि ओपनर ब्याटर अन्सुमन राथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरे। चौथो विकेटका लागि अन्सुमनले विकेट किपरब्याटर साहिद वासिफसँग ८४ रनको साझेदारी बनाए। सुरुवाती २ विकेट सस्तैमा गुमाएको हङकङका लागि अन्सुमनले एकतर्फबाट पारी सम्हाले।
उनले तेस्रो विकेटको लागि शिव माथुरसँग ४८ रनको साझेदारी बनाएका थिए। शिव माथुरले व्याक्तिगत २६ रन बनाउँदा, विकेट किपर साहिद वासिपले ५५ रनको अर्धशतकीय पारी खेले। त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि शेर मल्लले सर्वाधिक ४ विकेट लिए। करण केसीले २ र सन्दीप लामीछानेले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !