नेपाल-भारतबीच प्रविधि उद्योगमा सहकार्य आवश्यक

नेपाल-भारतबीच प्रविधि उद्योगमा सहकार्य आवश्यक

जनकपुरधाम : प्रविधि उद्योगको बढ्दो सम्भावनालाई हेर्दै नेपाल र भारतबीच सहकार्यको खाँचो मधेशका युवा उद्यमीहरुले औंल्याएका छन्। प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको छिमेकी मित्रराष्ट्र भारतसँग समन्वय र सहकार्य गर्न सकियो भने नेपालमा पनि व्यापक रोजगार सृजना गर्न सकिने सम्भावना सहितको छलफल अघि बढाइएको छ। 

नेपाली युवा उद्यमी मञ्च र भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा मंगलबार जनकपुरमा मधेशका उद्यमीहरुसँगको गोलमेच छलफलमा प्रविधि उद्योगमा सहकार्यको लागि सम्भावना र चुनौतीहरू बारे विमर्श गरियो। ‘नेपाल र भारत बीचको कर्पोरेट सम्बन्धलाई अझ बढि बलियो बनाउने उद्देश्यले यो छलफल कार्यक्रम राखिएको हो,’ महावाणिज्य दूतावासका काउन्सुलर जनरल देवी सहाय मीणाले भने, ‘भारतले प्रविधिको क्षेत्रमा गरेको विकासलाई नेपालमा पनि भित्र्याउन हामी पूर्ण रुपमा तयार छौं। यसका लागि नयाँ अवसरहरू, योजनाहरू र सम्भावनाहरू बारे विमर्श आवश्यक छ।’

नेपाल र भारत बीचको सम्बन्धको प्रमुख चारवटा स्तम्भको रुपमा विकास सहायता, बलियो कनेक्टिभिटी, बृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरू रहेका छन्। तर, अबको दिनमा यी दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीको विकासलाई आत्मसात गर्दै दुई पक्षीय सहकार्यलाई अगाडि बढाउनु पर्ने धारणा वक्ताहरूले राखेका थिए। 

‘नेपालमा खेतीयोग्य जग्गाहरू बाँझो छन् किनकी यहाँका युवा जनशक्ति विदेश पलायन भइसकेका छन् यस्तो अवस्थामा भारतका विभिन्न राज्यहरुमा प्रविधिको प्रयोगले कम जनशक्तिबाट भइरहेको उन्नत कृषि कार्यहरूको उदाहरण हेर्दै त्यस्ता प्रवृत्तिहरु नेपालमा समेत भित्र्याउन सकिए यहाँ पनि राम्रो कृषि उत्पादन गर्न सकिन्छ,’ बालाजी फुड एन्ड वेभरेज उद्योगका संस्थापक प्रमोद गोयन्काले भने, ‘दक्ष जनशक्ति विकासका लागि नेपालका युवाहरू लक्षित प्रविधि सम्बन्धी शैक्षिक कार्यक्रमहरू, उद्योग मेलाहरू, महिला उद्यमशील कार्यक्रमहरू जस्ता सहयोग भारत सरकारले गर्न सके नेपालका लागि निकै उपयोगी हुन्थ्यो।’

नीतिगत अस्पष्टता र कानुनी अड्चनहरुले पनि नेपाल र भारत बीचको प्रविधि उद्योगहरुलाई सहकार्य गर्न कठिनाइ भइरहेको नेपाल युवा उद्यमी मञ्च जनकपुर च्याप्टरका उपाध्यक्ष नविन कुमार साहले बताए। ‘हुन त दुई देशबीच व्यापार सम्झौता छ तर, पनि थुप्रै नीतिगत अड्चनहरू छन् जसले गर्दा समन्वयमा कठिनाइ हुँदै आएको,’ साहले भने, ‘नेपालमा प्रविधिलाई प्रयोग गर्न सक्ने दक्ष जनशक्तिको पनि अभाव छ। यस्तोमा प्रविधि उद्योग नौलो देखिन्छ तर, दुई देशको सरकारले चाह्यो भने विश्वमै सबैभन्दा बलियो उद्योगको रूपमा स्थापित हुँदै गएको प्रविधि उद्योग नेपालमा पनि विस्तार हुन सक्ने प्रचुर सम्भावना छ।’

आतिथ्य उद्योगमा लामो समयदेखि काम गर्दै आएका जनकपुरका उद्यमी मोहम्मद जयुर रहमानले प्रविधि अहिले पनि नेपालका लागि नौलो क्षेत्र नै रहेको बताए। ‘हुनत हाम्रो दैनिक जीवनमा प्रविधिको प्रयोग निकै बढेको छ तर, पनि हाम्रो लागी यो नौलो विषय नै रहेको छ। पर्खालमा किला लगाउन अहिले पनि हामी हतौडाकै प्रयोग गर्छौ जबकी प्रविधियुक्त मेशिनहरुले यसलाई निकै सहज बनाइसकेको छ,’ रहमानले भने, ‘प्रविधिको प्रयोगको लागि यसको उपलब्धता पनि निकै आवश्यक छ। हाम्रो मधेशमा नयाँ स्टाटप गर्नेहरुले दुई छिमेकी मुलुकबाट प्राविधिक सामानहरू भित्र्याउनु पर्ने बाध्यता छ र ती मेशिनहरु यति धेरै महँगो हुन्छन् कि पुँजीले नै भ्याउँदैन। त्यसैले भारतले नेपालका लागि प्राविधिक सामानहरूमा सुलभता र अनुदानको व्यवस्था गरिदिए यसले उद्यमलाई बढावा दिन सहयोग पुग्थ्यो।’

खुल्ला सिमानालाई थप व्यवस्थित गरी नेपाल र भारत बीचको सम्बन्धलाई अझ बढि प्रभावकारी बनाउन सकिए यसले नेपालको समृद्धि र विकासमा सहायक सिद्ध हुने अधिकांश वक्ताहरूको भनाइ थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.