निर्यात रकमले पेट्रोलियम किन्नै ठिक्क

निर्यात रकमले पेट्रोलियम किन्नै ठिक्क

काठमाडौं : नेपाल लामो समयदेखि अत्यधिक आयात निर्भर अर्थतन्त्रमा रहँदै आएको छ। अझै आन्तरिक उत्पादनको अवस्था खस्कँदो गतिमा रहेकाले परनिर्भरता कायम हुने देखिन्छ। किनभने, भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिक)सम्मको वस्तु व्यापार तथ्यांकले निर्यातको तुलनामा आयात निर्भरता चुलिँदै गएको पुष्टि गर्छ।

यसबीच नेपालमा कुल ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात हुँदा ९३ अर्ब ४९ करोड रुपैयाँबराबरको मात्र निर्यात गर्न सकेको छ। जसका कारण अझै व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागमार्फत उपलब्ध तथ्यांकअनुसार आयात र निर्यात दुवैमा वृद्धि देखिए पनि व्यापार घाटा अझै उच्च नै कायम रहेको छ। यसबीच नेपालले गरेकोे निर्यात ७७.५१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो। निर्यातमा धेरै फड्को मार्न नसके पनि झिनो सुधार भने देखिएको छ। तर, आयातको तुलनामा भने नगन्य नै हो। 

किनभने, यसबीच आयात १८.७१ प्रतिशतले बढेर कुल ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ भन्दा आयात भएको थियो। आयात वृद्धि रकमको आधारमा ठूलो भएकाले दीर्घकालीन दृष्टिले आयातमै निर्भरता अझै बलियो रहेको देखिने र मुलुक परनिर्भरता उन्मुख भएकोमा सरोकारवालाहरूले पटकपटह टिप्पणी गर्दै आएका छन्।
तथापि, आयात–निर्यात अनुपात गत वर्ष ९.७५ रहेकामा यो वर्ष ६.५२ मा झरेको छ। यसबीच ३३.१२ प्रतिशतले सुधार भएको छ। यसको मतलब पहिले १ रुपैयाँ निर्यात गर्न ९.७५ रुपैयाँबराबर आयात गर्नुपथ्र्यो भने अहिले ६.५२ रुपैयाँमै आयात कभर भएको छ।

व्यापार घाटा अझै धेरै

वास्तवमा आव २०८२ /८३ को पहिलो चार महिनामा व्यापार गतिविधि विस्तार भए पनि व्यापार असन्तुलन अझै नेपालको प्रमुख आर्थिक चुनौती बनेको देखिन्छ। व्यापार घाटा ठूलो चुनौती नै रहिरहेकाले निर्यातमुखी उद्योग विकास, प्रतिस्पर्धी उत्पादकता र आयात प्रतिस्थापन उत्पादनसम्बन्धी नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले यसअघिदेखि नै सुझाउँदै आएका छन्। तथ्यांकले पनि त्यस्तै देखाउँछ।

किनभने, चालु आवके ४ महिनामा निर्यात बढे पनि नेपालले ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। यो गत वर्षको ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँभन्दा ११.९९ प्रतिशतले उच्च हो। यस्तो घाटा बढ्नुको मुख्य कारण आयात वृद्धि निर्यातको तुलनामा धेरै उच्च आधारबाट हुनु हो। मुलुकको व्यापार संरचना अझै आयातमुखी रहनु, उत्पादन आधारित उद्योगहरू पर्याप्त विस्तार नहुनु व्यापार घटाको कारण रहेको औंल्याइँदै आएको छ।

यस अवधिमा कुल वैदेशिक व्यापार २४ प्रतिशतले वृद्धि भएको छ। यसरी वृद्धि हँुदा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको ५ खर्ब ६६ अर्ब ५९ करोड रुपैयाँभन्दा २४.१८ प्रतिशत बढी हो। यद्यपि, यसले अन्तर्राष्ट्रिय व्यापार गतिविधि विस्तार हुन थालेको संकेत गरेको देखिन्छ। यसबीच कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.३० प्रतिशतबाट बढेर १३.३० प्रतिशत पुगेको छ। आयातको हिस्सा ९०.७० प्रतिशतबाट घटेर ८६.७० प्रतिशत पुगेको छ। निर्यातको हिस्सा ४ प्रतिशत विन्दुले बढ्नु नेपालको व्यापार संरचनामा सकारात्मक सुधारका संकेतका रूपमा लिइएको छ।

कुल निर्यात जति नै पेट्रोलियम आयातमा खर्च
आयातको संरचना हेर्दा मुलुकम बढी खपत पेट्रोलियम पदार्थ हुने गरेको र सबैभन्दा बढी आयातको हिस्सा यसैले ओगट्ने गरेको छ। चालु आवको ४ महिनामा मात्रै पेट्रोलियम पदार्थ ९२ अर्ब ४२ अर्ब रुपैयाँ आयात भएको छ। सबैभन्दा ठूलो आयातित वस्तु रह्यो, जसले एक्लै ९२ अर्बभन्दा बढी घाटा बोकेको छ। यो क्षेत्रको अत्यधिक निर्भरता नै नेपालका सबैभन्दा गम्भीर व्यापार समस्यामध्ये एक हो। त्यसपछि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री, मेसिनरी, स्टिल, प्लास्टिक, सवारीसाधन र औषधिजस्ता वस्तुहरू पनि उच्च मूल्यमा आयात हुने विन्दुमा छन्। जहाँ निर्यात नगन्य वा अत्यन्तै कमजोर छ। उक्त क्षेत्रहरूले कुल व्यापार घाटामा ठूलो योगदान गरेका छन्।

अर्कोतर्फ केही वस्तुहरूमा निर्यात उल्लेख्य देखिन्छ। विशेषत गरेर वनस्पति तेलहरू ४४ अर्ब ७० करोडको निर्यातसहित प्रमुख निर्यात वस्तु रहेके छ। प्रायः भटमास, सन फ्लावर, पाम तेलको कच्चापदार्थ ल्याएर वा ड्रममा तेल ल्याएर प्याकेजिङ गरेर निर्यात गर्ने गरेकाले यसको हिस्सा अधिक देखिएको व्यापार विज्ञ रवि सिंह सैञ्जु टिप्पणी गर्छन्। तर यसबाहेक कफी, चिया, मसला, काठजन्य वस्तु, कार्पेट, फसल–आधारित तयारी खाद्य पदार्थ, तथा भांग–फाइबरजस्ता केही कृषि तथा हस्तकला वस्तुमा सकारात्मक व्यापार सन्तुलन देखिएको छ।

आयात राजस्व डेढ खर्ब माथि
यस अवधिमा आयात राजस्व १ खर्ब ५७ अर्र्ब २७ करोड रुपैयाँ पुगेको छ। जसमा सवारीसाधन, पेट्रोलियम, इलेक्ट्रोनिक्स र प्लास्टिक तथा मेसिनरी क्षेत्रको योगदान उल्लेख्य छ। यसले नेपालका राजस्व संरचना स्वतः आयातमा अत्यधिक निर्भर रहेको देखाउँछ। तर, निर्यातले आयातको १५ प्रतिशत पनि कभर गर्न नसक्नु वैदेशिक मुद्रा सञ्चिति, उद्योग विस्तार, रोजगार र समग्र आर्थिक स्थायित्वका लागि दीर्घकालीन जोखिम रहेको पनि विज्ञहरू औंल्याउँछन्। तथापि, समग्रमा नेपालको व्यापार संरचना दिगो रूपमा संतुलित छैन।

आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न सुझाव
वैदेशिक व्यापारको प्रसंगमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानी, श्रम, सीप र कच्चा पदार्थमा आधारित राष्ट्रिय उद्योग धन्दाको संरक्षण र प्रवर्धन गर्नुपर्छ भनेको छ। यसका लागि निर्यात प्रवर्धन हुने गरी वस्तु तथा सेवाको मूल्य अभिवृद्धि गराई आयात व्यवस्थापन गर्न सुझाव दिएको छ। 

प्रतिवेदनमा भनिएको छ, ‘अर्थतन्त्रको बलियो आधार स्थानीय अर्थतन्त्र भएकाले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन हुने, उच्च मूल्य अभिवृद्धि हुने, स्थानीय उत्पादनका लागि परम्परागत ज्ञान र सीप तथा स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगका लागि वित्तीय उत्प्रेरणासहितको उत्पादन वृद्धिमा जोड दिने नीति तथा कार्यक्रम ल्याउनुपर्दछ।’

वैदेशिक मुद्रा आर्जनको स्रोतमा आशातीत विस्तार हुन नसकेको र बढ्दो आयातको अवस्थाले शोधनान्तर स्थितिमा चाप पर्न गएकाले व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्ने गरी वित्तीय तथा मौद्रिक नीति लागू गर्नुपर्ने औंल्याइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.