स्टार्टअप कर्जाको माग धेरै, रकम थोरै
काठमाडौं : जेन–जी आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठान र निजी क्षेत्रमाथि विध्वंस मच्चाइयो। ठूल्ठूला होटेल, व्यापारिक प्रतिष्ठान र ‘शो रुम’ मा भएको आगजनी र तोडफोडमा अर्बौंको क्षति पुग्यो। निजी क्षेत्रको मनोबल गिरेको र व्यावसायिक सुरक्षाको माग भइरहेका बेला स्वदेशमै स्वरोजगार बन्न ‘स्टार्टअप कर्जा’ का लागि भने आवेदनको ओइरो लागेको छ।
बिनाधितो पाँच वर्षका लागि ३ प्रतिशत ब्याजदरमा पाइने उक्त कर्जा लिन युवाहरूको तँछाडमछाड जस्तै छ। चार सयलाई दिने उक्त कर्जा दिने लक्ष्य राखिएकोमा १ हजार ४ सय बढीको आवेदन परिसकेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। कर्जाका लागि आवेदन दिन एक साता अझै समय बाँकी रहेकाले थप आवेदन आउन सक्ने प्रतिष्ठानले जनाएको छ।
३ वर्षअघि सुरु, बर्सेनि माग बढ्दो
आवेदन धेरै, कर्जाको रकम थोरै
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कात्तिक १९ गतेदेखि मंसिर ९ गतेसम्म स्टार्टअप उद्यम कर्जाको परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना सार्वजनिक गरेको थियो। नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले मंसिर ९ गतेसम्म तोकिएको ढाँचामा परियोजना प्रस्ताव पेस गर्ने समयसीमा दिइएको छ। अनलाइन र भौतिक दुवै तरिकाले प्रस्ताव पेस गर्न पाइने व्यवस्था छ। स्टार्टअप उद्यम कर्जाका लागि धमाधम आवेदन प्राप्त भइरहेको प्रतिष्ठनाले जनाएको छ। सूचना प्रकाशित भएको १२ दिन अर्थात् (मंसिर १ गते) सम्म १ हजार ४ सय २२ जनाले आवेदन दिएका छन्।
अनलाइन माध्यमबाट फारम भर्ने आवेदकहरूको संख्या १ हजार २ सय ९६ पुगेको छ। प्रतिष्ठानमै भौतिक रूपमा उपस्थित भई फारम भर्ने आवेदकहरूको संख्या १ सय २६ रहेको छ। फारम नभरे पनि अनलाइनमा खाता ‘लगइन्’ गरेर हेर्नेको संख्या १२ हजारभन्दा बढी छ। यति धेरै आकर्षण भए पनि यस पटक चार सय जनालाई मात्रै कर्जा दिने लक्ष्य राखिएको छ।
सरकारले चार सय कोटा निर्धारण गरेको र प्रतिष्ठानले कार्यान्वयन मात्र गरिरहेको बताउँछन् प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता। यस पटक ७३ करोड रुपैयाँबराबरको स्टार्टअप उद्यम कर्जा दिने योजना रहेको छ। ‘यसकारण कर्जा चार सय जनाको लक्ष्य भए तापनि यो संख्या अन्तिममा बढी नै हुन सक्छ,’ गुप्ताले भने,‘ सबैले २० लाख रुपैयाँ नमाग्न सक्छन्। कसैलाई ५ लाख, कसैलाई ७ लाख, वा कसैलाई १२ लाख रुपैयाँ दिइयो भने कर्जा पाउनेको संख्या बढ्न सक्छ।’
बिदेसिने प्रवृत्ति घट्ला त ?
अर्थ मन्त्रालयका प्रवक्ता तथा प्रतिष्ठानका सञ्चालक टंकप्रसाद पाण्डेय स्वरोजगार बढाउने लक्ष्यसहित मन्त्रालयकै योजनाअनुसार कार्यक्रम अघि बढेको बताउँछन्। प्रवक्ता पाण्डेय यो कर्जाको विशेष फोकस बिदेसिने प्रवृत्ति रोक्नु हो। ‘यसले सबैको लागि स्वरोजगार बनाउन मद्दत गरोस्। लगानीको अभावमा उद्यम गर्न नपाएका व्यक्तिहरूलाई सहयोग गर्नु यसको उद्देश्य हो,’ पाण्डेयले अन्नपूर्णसँग भने, ‘यसले सानोभन्दा सानो कारोबार र साना लगानीहरू जुटाइदिने काम गर्छ। यो कर्जाले वित्तीय पहुँच पनि पुर्याउने र साना उद्यमशीलताबाट ठूलो कारोबार गर्ने तथा ठूलो स्केलको उद्योगी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।’
बिनाधितो ५ देखि २० लाखसम्म कर्जा
सरकारले यो कार्यक्रममार्फत नवप्रवर्तनशील सोच भएका युवा उद्यमीहरूलाई वित्तीय पहुँच बढाउन सहयोग पुर्याउने लक्ष्य राखेको छ। यो कर्जा ५ लाखदेखि २० लाख रुपैयाँ पाइन्छ। सरकारले विनियोजन गरेको ७३ करोड रुपैयाँ प्रतिष्ठानको खातामा छ। प्रतिष्ठानले यो रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्छ र बैंकले आफ्नो खातामा राखेर कर्जा प्रवाह गर्छ। बिना धितो ३ प्रतिशत ब्याज अनुदानमा पाँच वर्षको लागि यो कर्जा पाइन्छ। वाणिज्य बैंकले नै लगानी गर्ने, किस्ता उठाउने तथा स्थलगत निरीक्षण (अनुगमन) गर्ने काम गर्छ।
कस्ले पाउँछन् कर्जा ?
स्टार्टअपका लागि आवेदन दिएकाहरूको परियोजना छनोट गर्ने समिति बनेको छ। उक्त समितिले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पुगेकालाई छनोट गर्छन्। कर्जाका लागि प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी उद्योग दर्ता भएको हुनु पर्नेछ। वस्तु वा सेवा उत्पादनमा नवप्रवर्तन, सिर्जनशील सोच तथा प्रविधिको उपयोग भएको हुनुपर्नेछ। उद्यम दर्ता भएको मितिबाट १० वर्ष ननाघेको र दर्तापछिका कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनु पर्नेछ। सञ्चालित व्यवसाय विघटन नभएको हुनु पर्नेछ।
५ क्षेत्रमा पाइन्छ कर्जा
प्रतिष्ठानले कर्जा प्रवाहका लागि पाँच प्रमुख क्षेत्र र उपक्षेत्र तोकेको छ। जसअन्तर्गत कृषि, वन तथा उत्पादनमूलक क्षेत्र तोकिएका छन्। यस क्षेत्रअन्तर्गत कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम हुनुपर्छ। त्यस्तै, उत्पादनमूलक उद्योग, जडीबुटी, वन पैदावारमा आधारित उद्यम, खानी तथा खनिज अनुसन्धान तथा विकास र खाद्य प्रविधि तथा पोषणजस्ता उद्यमलाई मान्यता दिइने उल्लेख छ।
सूचना प्रविधि तथा डिजिटल क्षेत्रअन्तर्गत विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, घरायसी जीवन सरलीकरण प्रविधि, फोहोरमैला व्यवस्थापन र सार्वजनिक सेवा उत्पादन एवं सेवा प्रक्रियामा सुधार प्रविधिका उद्यम प्राथमिकतामा पर्नेछन्। पूर्वाधार तथा यातायात क्षेत्रअन्तर्गत सहज एवं सुरक्षित परिवहन तथा लजिस्टिक, पूर्वाधार निर्माण, विद्युतीय सवारी तथा अटोमोबाइल र वितरण प्रणालीसँग सम्बन्धित उद्यम प्राथमिकतामा पर्नेछन्।
यसैगरी, सामाजिक सेवा तथा पर्यटन क्षेत्रअन्तर्गत शिक्षा तथा सिकाइ प्रवद्र्धन उद्यम, मानव स्वास्थ्य सेवा र पर्यटन, मनोरञ्जन तथा अतिथि सत्कार उद्यमलाई कर्जा दिने मापदण्ड तोकिएको छ। नवप्रवद्र्धनसँगै परम्परागत तथा स्थानीय स्रोतमा आधारित उद्यम छन् भने प्राथमिकतामा पर्नेछन्। यसका लागि परम्परागत तथा ग्रामीण प्रविधि, परम्परागत पेसाको पुनर्जागरण र स्थानीय स्रोतसाधनमा आधारित उद्यम भएको हुनुपर्ने बताइएको छ।
स्टार्टअप नमानिने उद्यम
उद्योगको रूपमा दर्ता नभएका, विदेशबाट वस्तु÷सेवा आयात गरी बिक्री मात्र गर्ने, प्रचलित कानुनअनुसार कालोसूचीमा परेका र औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार होल्डिङ वा लगानी कम्पनीका रूपमा दर्ता भएका उद्योग स्टार्टअप भित्र पर्ने छैनन्।
५ वर्षमा यसरी गर्नुपर्छ भुक्तानी
कर्जा प्रवाहअघि बैंकले परियोजनाको स्थलगत अध्ययन गर्छ। सिफारिस भएका प्रस्तावकसँग सम्झौता गर्नुपर्छ। बैंकले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, ब्याजदर, साँवा फिर्ता र ब्याज भुक्तानीको अवधि तथा प्रक्रियाबारे सम्झौता गर्नु पर्नेछ। सम्झौतामा कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाई ढिलोमा कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा र ब्याजबापतको रकम फिर्ता गर्न प्रारम्भ गर्नुपर्ने व्यहोरासमेत उल्लेख गर्नु पर्नेछ।
कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत हुनेछ। कर्जा प्रवाह गर्ने बैंकले असुल उपर गरेको साँवा र सोको ब्याज रकम खातामा जम्मा गर्नु पर्नेछ। बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कबापत सम्बन्धित उद्यमीबाट कर्जा रकमको अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछ। सम्झौता भएपछि सम्बन्धित बैंकले उद्यमीलाई ७ कार्यदिनभित्र कर्जाको प्रथम किस्ता उपलब्ध गराउनु पर्नेछ।
यदि कर्जा प्रवाह गर्न नसकिने देखिएमा बैंककले स्पष्ट आधार र कारणसहित सम्बन्धित प्रस्तावक र प्रतिष्ठानलाई लिखित जानकारी गराउनु पर्नेछ। बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मका लागि दुई किस्ता र सोभन्दा माथिको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनु पर्नेछ। उपलब्ध गराइएको प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्ट्याएर थप किस्ता माग गरेमा बैंकले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउन सक्ने व्यवस्था छ। यससँगै, बैंकले प्रवाह गरेको कर्जाको विवरण ७ दिनभित्र प्रतिष्ठानलाई दिनु पर्नेछ।
बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोको रूपमा राख्नु पर्नेछ। तर, व्यवसाय वा परियोजनाको बिमा उद्यमी स्वयमले गर्नु पर्नेछ। कर्जा लिएको उद्यमीले सम्झौतामा लेखिएबमोजिम कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु पर्नेछ। तर, कुनै उद्यमीले किस्ता अवधिअगावै कर्जा भुक्तानी गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन। कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा त्यस्ता उद्यमीबाट बैंकले प्रचलित कानुनबमोजिम कर्जा असुलउपर गर्न सक्ने व्यवस्था छ। प्राप्त हुने रकम ३ दिनभित्र खातामा दाखिला गर्नु पर्नेछ। यस कार्यविधिबमोजिम प्रवाह हुने कर्जाको असुली तथा अनुगमन गर्ने दायित्व बैंकको हुनेछ।
लाभान्वित हुँदै उद्यमी, रिकभरी पनि हुँदै
स्टार्टअप उद्यम शीर्षकको सहुलियत कर्जा तेस्रो चरणमा सुरु हुँदैछ। यसअघिका आर्थिक वर्षमा ‘जेन—जी’ पुस्ताका ६ सयभन्दा बढी उद्यमीलाई कर्जा प्रवाह गरिएको थियो। राष्ट्रिय स्टार्टअप उद्यमी नीति २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भई कार्यान्वयनमा आएसँगै पछिल्लो पुस्तालाई पनि उद्यमशीलतामा समेटिएको हो।
सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न एक अर्ब रुपैयाँबराबरको स्टार्टअप उद्यम कर्जा कार्यक्रम ल्याउने निर्णय गरेको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ जारी गरेको थियो।
यस्तो कर्जाका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न परियोजना प्रस्ताव आह्वान गरेको थियो। जस्मा हजारौंको संख्यामा स्टार्टअप उद्यमीले चासो देखाएका थिए। जस्मा भौतिक (अफलाइन) र अनलाइनका माध्यमबाट ५ हजार १ सय ५८ परियोजना प्रस्ताव पेस गरेका थिए। यसबाट छनोट गरेका करिब ६ सय जना उद्यमीले राष्ट्रिय वाणिज्य बैंकबाट बिनाधितो कर्जा लिएका थिए। छनोट भएका उद्यमीहरूले ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा प्रतिपरियोजना न्यूनतम ५ लाखदेखि २५ लाख रुपैयाँसम्म पदान गरिएको थियो।
अझ यसअघि प्रतिष्ठानले पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६ सय ५८ वटा आवेदन आएका थिए। पहिलो पटक १ सय ८३ जनालाई सिफारिस गरेर पठाएकोमा १ सय ६५ जनाले स्टार्टअप उद्यम कर्जा प्राप्त गर्न सफल भएका थिए। सो आवमा प्रतिव्यक्ति ५ लाखका दरले मात्रै यस्तो सहुलियत कर्जा प्रदान गरिएको थियो। यसरी १ सय ५६ जनालाई ५ लाखका दरले करिब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बर्सेनि सरकारले यस्तो कर्जा दिने संख्या तथा रकमको आकार केही हदसम्म बढाउँदै आएको छ। तर पहिलो पटक थोरै संख्यामा उद्यमी कर्जा दिए पनि सबैलाई ५ लाख दिँदा साढे ८२ करोड थियो तर अहिले संख्या ४ सयको लक्ष्य रहे पनि रकम भने कम अर्थात् ७३ करोड रुपैयाँमात्रै छ। तथापि गत आवमा १ अर्बको यस्तो कर्जा ६ सयभन्दा बढीले प्राप्त गरेका थिए। चालु आवमा भने गत आवको तुलनामा लक्षित संख्या र रकम दुवै घटाइएको छ।
विगत दुई–तीन वर्षदेखि यसरी प्रदान गरेको कर्जाबाट हालसम्म २ करोड ९० लाख रुपैयाँ रिकभरी (भुक्तानी) भइसकेको प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कुनै पनि डिफल्ट केस देखिएको छैन।
विगतमा छनोट भएका स्टार्टअप उद्यमी
स्टार्टअपअन्तर्गत उद्यमका १९ वटा क्षेत्र तोकिएको र त्यसलाई पाँच वटामा विभाजन गरिएको थियो र अहिले पनि यसैलाई आधार बनाइने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताका अनुसार विगतका वर्षहरूमा धेरैजसो आवेदन कृषिका क्षेत्रमा परे पनि सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग, फेसन डिजाइन, ह्यान्डिक्राफ्ट तथा पेयपदार्थ बनाउने (जस्तैः आइस–टी) जस्ता क्षेत्रका परियोजनाले पनि कर्जा पाएका थिए।
उनले उदाहरण दिँदै भने, ‘पशुपतिमा चढाइएको फूललाई प्रशोधन गरेर त्यसको पाउडरबाट धुपबत्ती बनाउने एउटा उद्योगले समेत कर्जा प्राप्त गरेको थियो। प्रतिष्ठानले कुनै एक विशेष वर्गको नभई विभिन्न क्याटगोरीका उद्यमीहरूलाई सहयोग गरिरहेको छ। यसको छनोट समिति भएकाले कार्यविधिले तोकेको समयसीमा अनुसार छनोट गरिन्छ। यसमा आफ्नो मान्छे पहुँचको आधारमा गर्ने भन्ने हुँदैन।’
धरानमा ‘गो ग्ल्याम्पिङ’ को सफलता
युवा उद्यमी विश्वदीप बज्राचार्यले पूर्वी नेपालको धरानस्थित ‘गो ग्ल्याम्पिङ’ नामक आफ्नो एकल उद्यमलाई सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। यो सफलताको सारथि बन्यो औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्टार्ट अप उद्यम कर्जा। गत वर्ष उनले प्रतिष्ठानबाट २० लाख रुपैयाँको स्टार्ट अप उद्यम कर्जा पाएका थिए। उनले व्यवसाय सञ्चालन गरेको करिब चार वर्ष हुन लागेको छ।
तर यसबीच बज्राचार्यले लिएको स्टार्ट अप ऋणले आफ्नो व्यवसायलाई धेरै नै सहज बनाएको र विस्तारमा ठूलो सहयोग पुर्याएको बताए। ‘यो ऋणले थप टेवा दिएको छ। व्यवसाय विस्तार गर्न र स्थललाई अझ राम्रो बनाउन धेरै सहयोग पुर्याएको छ।’ उनले भने, ‘यो ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत किस्ताकिस्तामा उपलब्ध गराइएको थियो। यो ऋण पाँच वर्षको अवधिका लागि हो। हालसम्म उहाँले ब्याज तिरिरहनुभएको छ, जसमा ३ प्रतिशत ब्याज लाग्छ। एक वर्ष पूरा भएपछि अब किस्ता तिर्न थाल्ने प्रक्रिया सुरु
भएको छ।’
विदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचका साथ युवाहरू विदेश गइरहेको अवस्थामा बज्राचार्य भने नेपालमै आफ्नो व्यवसायबाट सन्तुष्ट भएको बताउँछन्। उनले यो व्यवसाय बाहिर जान नपरोस् भन्ने उद्देश्य राखेर नै सुरु गरेको सुनाए। ‘गो ग्ल्याम्पिङ’ ले हालसम्म तीन जनासम्मलाई रोजगारी पनि दिएको छ। बज्राचार्य भन्छन् ‘व्यवसायबाट सन्तुष्ट नै छु।
राम्रै भइराछ। हाम्रो होमस्टेजस्ता पारिवारिक बिजनेस पनि छ। यसैले यो व्यवसायले राम्रो सपोर्ट गरेको छ।’ पर्यटन प्रवद्र्धन स्वरूप उनले क्याम्पिङ व्यवसाय अँगालेको बताउँछन्। ‘यो व्यवसाय प्रकृति मन पराउने ग्राहकहरूका लागि लक्षित छ। यहाँ रात बिताउन मिल्ने, प्रकृतिको नजिक भएर बस्ने सुविधा, टेन्टहरू, आवश्यक सेवाहरू र खानाको पनि प्रबन्ध गरिन्छ,’ उनले अन्नपूर्णसँग भने।
मन्दिरमा चढाइएका फूलबाट धूपको उद्यम
मन्दिरमा चढाएर फ्याँकिने फूलहरू फोहोरको रूपमा नष्ट गरिन्छन्। तर तीनै फूललाई उपयोग गर्दै धूप बनाउने उद्यम थालेकी सुष्मा शर्मा सफल महिला उद्यमीको सूचीमा परिचित छिन्। उनको कम्पनी फूल प्रसादले मन्दिरको फूल अन्तिममा फेरि भगवान् समक्ष पुगेर सुगन्धित छर्ने कार्य गरिरहेको छ। उनको फूल प्रसाद डट कम कम्पनीले गरेको कामको प्रस्तावबाट प्रभावित भएर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत असारमा ३ प्रतिशतको सहुलियत ब्याजदरमा १८ लाख रुपैयाँको स्टार्ट अप कर्जा प्रदान गरेको थियो। अहिलेकी उनै फूल प्रसाद कम्पनी फाउण्डर प्रमुख कार्यकारी अधिकृत शर्मा यसअघि १५ वर्षसम्म एनएमबी बैंकमा रिटेल शाखामा कार्यरत थिइन्। बैंकरको जागिर छोडेर उद्यमीमा लम्केकी उनले अहिले करिब १ सय २५ जनाभन्दा बढी महिला दिदीबहिनीहरूलाई घरघरमा बसेर काम गर्ने रोजगारीको अवसर दिएको छ।
अझै कम्पनीले काम गर्न चाहनेहरूलाई तालिम (ट्रेनिङ) दिन्छ र तालिम पाएकाहरूलाई काम पनि उपलब्ध गराउँदै आएको उनले बताइन। उनका अनुसार ‘फूल प्रसाद’ नामक एक स्टार्ट अपले मन्दिरमा चढाइएको ‘फ्लोरल वेस्ट’ (फूलजन्य फोहोर) मा काम गरिरहेको छ। ‘मन्दिरमा चढाइएका फूलहरूलाई नयाँ जीवन दिने उद्देश्यका साथ यो व्यवसाय सुरु गरिएको हो, ताकि ती फूलहरू गार्बेजमा जानुको सट्टा घरघरमा ‘प्रसाद’ को रूपमा प्रयोग हुन सकून्। हाम्रो मुख्य उद्देश्य भनेको उद्यमशीलतालाई माथि उकास्नु हो र यदि कोही केही गर्न चाहन्छ भने, सबै अवसरहरू आफ्नै अगाडि छन् भन्ने सन्देश दिनु हो,’उनले अन्नपूर्णसँग भनिन्।
उनले सुरुमा उक्त कर्जा प्राप्त गरेपछि फोहोर उठाउन प्रयोग हुने सवारी साधन (गाडी) किन्नमा प्रयोग गरिन्। जसले गर्दा भाडाको गाडी प्रयोग गर्नुपर्ने समस्या हटेर अहिले आफ्नै गाडीले फूल उठाउने गरेको छ। अहिले उनको कुल लगानी ५० लाख रुपैयाँ नजिक पुगेको छ। ‘अहिले कारोबार राम्रो छ र मुख्य रूपमा निर्यातमा केन्द्रित छौं। फूल प्रसादका उत्पादनहरू सेल्सबेरी, दराज, मार्टजस्ता स्टोरहरूमा पनि पाउन सकिन्छ। फूल प्रसादले आफ्नो उत्पादन (जस्तै बाटेको धूप)को ब्रान्डिङ गर्दा गुणस्तरमा विशेष ध्यान दिएको छ,’ शर्मा भन्छिन्, ‘बजारमा पाइने आर्टिफिसियल पर्फुम, कोइला, टायरको धुलो वा केमिकल हालेको धूपको विपरीत, फूल प्रसादले अग्र्यानिक तरिकाले उत्पादनहरू बजारमा ल्याएको छ। किनभने धूप शरीरले इन्हेल गर्ने चिज हो, त्यसैले शुद्धता आवश्यक छ।’
औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानबाट प्रदान गरिने सहुलियत ब्याजदरको स्टार्ट अप उद्यम कर्जाजस्ता यस्ता किसिमका सरकारी सहयोगले उद्यमीलाई ठूलो सहयोग पुग्ने, विशेषगरी लागत कम गर्न मद्दत गर्ने शर्मा बताउँछिन्।
सहुलियत ब्याजमा ‘स्टार्टअप उद्यम कर्जा’ स्वरोजगार बढाउने लक्ष्यसहित अघि बढाइएको हो। युवाहरूलाई विदेश जानबाट रोकेर स्वदेशमै स्वरोजगार बनाउने यसको मूल उद्देश्य हो। लगानीको अभावमा उद्यम गर्न नपाएका मान्छेहरूलाई सहयोग गर्नु यसको अर्को उद्देश्य हो। यसले सानोभन्दा सानो कारोबार र साना लगानीहरू जुटाइदिने काम गर्छ। यो कर्जाले वित्तीय पहुँच पनि पुर्याउने र साना उद्यमशीलताबाट ठूलो कारोबार गर्ने तथा ठूलो स्केलको उद्योगी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।
टंकप्रसाद पाण्डेय - प्रवक्ता तथा प्रतिष्ठानका सञ्चालक, अर्थ मन्त्रालयनवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले मंसिर ९ गतेसम्म परियोजना प्रस्तावसँगै आवेदन पेस गर्न सक्छन्। यसमा धेरैको आकर्षण देखिन्छ। यस पटक ७३ करोड रुपैयाँबराबरको स्टार्ट अप उद्यम कर्जा चार सय जनालाई दिने लक्ष्य भए तापनि यो संख्या अन्तिममा बढी नै हुन सक्छ।
उमेशकुमार गुप्ता - कार्यकारी निर्देशक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबैंकको जागिर छोडेर उद्यमी बनें। गत असारमा ३ प्रतिशत सहुलियत ब्याजदरमा १८ लाख रुपैयाँको स्टार्टअप कर्जा लिएर मन्दिरका लागि फूलको धूप बनाउने व्यवसायलाई थप विस्तार गरें। त्यो ऋणले मन्दिरमा चढाएका फूलहरू उठाउन र ढुवानी गर्न सवारीसाधन (गाडी) किने। जसले गर्दा भाडाको गाडी प्रयोग गर्नु पर्ने समस्या हट्यो। यस्ता किसिमका सरकारी सहयोगले उद्यमीलाई ठूलो सहयोग पुग्छ। विशेषगरी लागत कम गर्न मद्दत गरेको छ।
सुष्मा शर्मा, फूल प्रसाद कम्पनी, फाउण्डर प्रमुख कार्यकारी अधिकृत
प्रतिक्रिया दिनुहोस !