सामाजिक चेतमा धमिरा

सामाजिक चेतमा धमिरा

विडम्बना के छ भने विज्ञानको शिखरमा पुगेका मान्छेहरू मानसिक रूपमा भने आदिम युगमा फर्किंदैछन्।

पछिल्लो केही दिनदेखि एलिना चौहानको फेसबुक स्टाट्सले सामाजिक सञ्जाल फेरि तातेको छ। अमेरिकामा विभिन्न कार्यक्रम सकाएर नेपाल फर्किएलगत्तै उनले सार्वजनिक गरेको आफ्ना भोगाइलाई सार्वजनिक गरेपछि समाजमा गरिब, दलित, मजदुर, महिला, कलाकार अर्थात् श्रमजीवी वर्गमाथि अझै कतिसम्म सस्तो र हेपाहा व्यवहार हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण चौहानको अभिव्यक्तिले पुष्टि गरिसकेको छ। आजको प्रविधि, मान्छे र समाजको चेतना स्तरमा के कति विषयमा समानता र असमानता छन् ? यसको सही र गलतरूपमा प्रयोग र प्रयोजन कसरी हुँदैछ ? नयाँ तरिकाले बेलैमा बुझ्न र मनन् गर्न जरुरी छ।

सभ्यता र चेतनाको शिखरमा पुगेको मान्छे आज फेरि किन असभ्यताको खाल्डोमा खस्दैछ ? मानव विकासको हजारौं वर्ष लामो यात्राले धर्म, संस्कृति, परम्परा, विज्ञान, दर्शन, साहित्य, राजनीति र मानवअधिकारका क्षेत्रमा अद्भुत प्रगति गरेको छ। तर विडम्बना के छ भने विज्ञानको शिखरमा पुगेका मान्छेहरू मानसिक रूपमा भने आदिम युगमा फर्किंदैछन्। शरम, लाज, संवेदना र विवेकजस्ता मानवीय मूल्यहरू हराउँदैछन्। अनि एक किसिमको कलियुगी मानसिकता पुनर्जीवित गर्दैछन्।

पछिल्लो समय यसका केही जीवित उदाहरणले व्यापकता लिएको छ। कलासाहित्यको क्षेत्रमा एउटा दक्खल स्थापित गरेका मनोज गजुरेलले मीना ढकाललाई छाडेपछि समाजले अनेक शब्दमा गाली गर्‍यो। विष्णु सापकोटाले एलिनालाई छाडेपछि एलिनालाई संस्कारविहीन भनियो। रवि लामिछानेकी पूर्वपत्नी ईशालाई धेरैले निकै तल खसेर गाली गरे। टिकटकका लाइभहरूमा जाने हो भने पूर्वपत्नी साङबुङप्रति भएका टिप्पणीहरू त झन् हृदयविदारक नै छन्। यतिसम्म तल झरेर मानिसहरूको यसरी किन अभिव्यक्ति दिँदै हिँडेका छन् ?

अचम्म त के लाग्छ भने पुरुषले सम्बन्ध तोड्दा ऊ स्वतन्त्र, सक्षम र आत्मनिर्णायक देखिन्छ। तर महिलाले त्यही काम गर्दा ऊ संस्कारविहीन र चरित्रहीन बनाइन्छन्। यो दृष्टिकोणले के देखाउँछ भने हाम्रो समाज अझै पनि नारीलाई अधिकारका आधारमा होइन, शारीरिक दृष्टिबाट मापन गरिन्छ। दलितहरूलाई मानवताको आधारमा होइन, जातको आधारमा दानवको रूपमा व्यवहार गरिन्छन्। मजदुरहरूलाई सम्मान होइन, नोकरको रूपमा व्यवहार गरिन्छ। पुरुषको चरित्रलाई समाजले कहिल्यै प्रश्न गर्दैन। सबै जायज मान्छन्, अझै पनि। तर महिलाको हरेक व्यवहारलाई नापजोख गर्छन्। यही सोच, यही दृष्टि नै कलियुगी मानसिकताको मूल कारण हो। जसले मानवताभित्रै ठूलो खाडल पैदा गरेको छ।

हामीले सती प्रथालाई आज क्रूर परम्परा भनेर निन्दा गर्‍र्यौं। तर त्यो समयको समाजमा महिलालाई बाँच्न दिने मानसिकता थिएन— पति वियोगमा उसलाई अपवित्र मान्ने सोचले उसको जीवनको अर्थै माथ्र्यो। आज हामी सती प्रथाको विरोध गर्छौं। तर मानसिक रूपमा त्यही अभ्यास गरिरहेका छौं। लोकतन्त्रमा पनि यो कस्तो खालको चिन्तन हो ? पति वा प्रेमीले छाडेकी महिलालाई आज पनि समाजले बाँच्न गाह्रो बनाइदिन्छन्। उसको हरेक फेसबुक स्टाटस, हरेक फोटो, हरेक पोसाकमा टिप्पणी हुन्छन्। केही हदसम्म यो डिजिटल सती प्रथाजस्तै दृष्टिगोचर हुन्छ। जहाँ महिला सामाजिक रूपमा जलाइन्छे। उसको चरित्र, आत्मसम्मान, स्वाभिमान र अस्तित्वलाई जलाइन्छन्। यहाँ सवाल उठ्छ— पुर्खाहरू अनपढ थिए, त्यसैले सती प्रथाजस्ता अमानवीय संस्कार चलेका थिए। तर आज शिक्षित, डिग्रीधारी, आइफोन चलाउने, स्वतन्त्र भन्ने मानिसले त्यही सोच बोकेका छन् भने हामी कहाँको प्रगतिशील भयौं ? हामी कसरी लोकतान्त्रीकरण भयौं ?

इंगल्यान्डमा राजा पनि कानुनको अधीन हुनुपर्छ भनेर सन् १२१५ मा घोषणापत्र नै जारी गरेका थिए। जुन मानव सभ्यताको एउटा क्रान्तिकारी दस्तावेजको रूपमा मानिन्थ्यो। तर नेपालमा २०६२–६३ पछि जनताको सर्वाेच्च भनिएको व्यवस्थामा पनि चेतनाको जग कतिसम्म कमजोर छन् हामी भोगिरहेका छौं। हामीले राज्य, शासन, संविधानमा सुधार ल्यायौं। तर मानसिकताको जगमा परिवर्तन ल्याउन सकेको छैन। पुरानैपन झल्किरहेको छ। मोबाइल, इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता आधुनिक साधनहरू भएका समाजमा पनि चेतनाको स्तर मानिसलाई नांगै बनाउनेभन्दा माथि उठ्न सकेको छैन। यतिसम्म फोहोर भइसकेका छन् कि सिधै अश्लीलता नै प्रदर्शन गरिरहेका छन्। यो मानसिकता, असल शिक्षा र चेतनाको होइन, विकृतिको उपज हो। जहाँ शिक्षाको रूपमा कागजको खोस्टा एउटा प्रमाणपत्र छ तर चेत छैन। त्यो समाज र देशको दुर्दशा के हुन्छ ?

समाजले चेतनाको अन्धकार हटाउन सकेन भने हामी प्रविधिबाट अघि बढे पनि कलियुगमै रहन्छौं। एलिना, मीना, ईशा वा साङबुङहरू पीडित होइनन्, हाम्रो चेतना र समाज चाहिँ पीडित हो। उनीहरू त समाजका ऐना हुन्। जसले देखाइरहेछन्, चेतना कहाँ पुग्दैछ भनेर।

पछिल्लो समय राजावादी र हिन्दुवादी आन्दोलन चलाइरहेका र बैंक वित्तीय संस्थाको विरुद्ध लागेका दुर्गा प्रसाईंले समेत माडवारी, व्यापारीलगायतका विरुद्धमा छाडा विषवमन गर्न रोकेको छैन। यतिसम्म कि अहिलेका अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई समेत अपशब्द प्रयोग गर्न बाँकी राखेनन्। जुन शब्द सार्वजनिक रूपमा बोल्नु कुनै हालतमा पाच्य होइन। यो एक व्यक्तिको व्यक्तिगत विचार होला तर यस्तो सोच हाम्रो समाजमा व्यापक रूपमा रहेको प्रवृत्तिगत समस्या नै हो।

जब देशका चर्चित मानिसहरू सार्वजनिक रूपमा यस्ता शब्द बोल्छन् र त्यसलाई ताली बजाएर स्वागत गर्ने जनसमूह उभिन्छ, तब त्यो समाजले आफ्नो नैतिक स्तर गुमाउँछ र क्रमशः छाडापनतिर उन्मुख हुन्छ। यस्ता व्यक्तिहरूले महिलाप्रति घृणा र अपमानको भाषा प्रयोग गर्दा त्यो केवल एक व्यक्तिको कुरा रहन्न, त्यो सामाजिक चेतनाको ऐना बन्न पुग्छ। प्रधानमन्त्रीदेखि डाक्टरसम्म नारीको अपमान हुने समाजमा साधारण महिलाले कस्तो व्यवहार पाउलान् ? अनुमान सजिलै गर्न सकिन्छ। सोसल मिडियाले अभिव्यक्तिको स्वतन्त्रता दिएको छ।

तर त्यसैसँगै अभिव्यक्तिको विकृति पनि जन्माएको छ।

अब हरेक मानिसलाई न्यायालय चाहिँदैन। उसले फेसबुक वा टिकटकको कमेन्ट सेक्सनमै फैसला गरिदिन्छ। कसैको सम्बन्ध बिग्रियो भने अपशब्दको बाढी नै चल्छ। जो हिजोको अशिक्षित समाजमा समेत थिएन। ती अपशब्दहरू अब केवल गाली होइन, डिजिटल हिंसाका हतियार बन्न पुगेको छ। आजको समाजमा हतियार त बन्दुकमात्रै होइन, कमेन्ट पनि हो। जसले आत्महत्या गर्नसमेत बाध्य पार्छन्। नेपालमा हरेक वर्ष सयौं युवा मानसिक उत्पीडनका कारण डिप्रेसन र आत्महत्यातिर धकेलिन्छन्। तर अपराधीहरूका लागि भने मनोरञ्जनको साधन बनिरहेको छ। यही हो, कलियुगको मनोविज्ञान अनि त्यसबाट उत्पन्न दुर्दशाको दिशा।

मानव सभ्यताको विकासक्रमले मानिसलाई दुई कुरामा महान् बनायो— संवेदना र विवेक। तर आज ती दुवै हराउँदैछन्। विज्ञानले शरीरलाई सहज बनाएको छ। तर आत्मालाई कठोर बनाएको छ। प्रगतिको दौडमा मानिसले माया, करुणा, लाज, श्रद्धा र शान्ति सबै हरायो। कतिपयले आमा, दिदीबहिनी र श्रीमती भन्ने शब्दलाई पवित्र भावनाले होइन, वस्तुको रूपमा हेर्न थालेका छन्। टिकटकका लाइभहरूमा युवाले महिलालाई वस्तु ठानेर अश्लील टिप्पणी गर्नु, सडकमा हिँड्ने केटीलाई हेरिरहनु, सम्बन्धमा विश्वास नगरी केवल शारीरिक दृष्टिले मूल्यांकन गर्नु आदि सबै कलियुगी संकेत हुन्। कलीयुग आउँछ भनेर धर्मशास्त्रले भनेको थिएन। यो मानसिकता आउँछ भनेर चेतावनी दिएका थिए। यो समस्या महिलामा सीमित छैन। जब कुनै समूह, लिंग, धर्म वा जातलाई अपमान गरेर आनन्द लिने बानी बस्छ, त्यो समाजले मानवीयता गुमाउँछ। कसैको पीडालाई हाँसोको विषय बनाउने, कसैको विफलतालाई मनोरञ्जन ठान्ने र अरूको सफलता सहन नसक्ने मानसिकता नै आजको कलियुगी सोच हो।

यो सोचले केवल महिलालाई होइन, पुरुषलाई पनि अन्धकारमा धकेल्दैछ। किनभने जहाँ सम्मान हराउँछ, त्यहाँ प्रेम पनि हराउँछ। अहिलेका युवा पुस्ताले प्रेमलाई ‘ट्रायल’ र सम्बन्धलाई ‘कन्ट्र्याक्ट’ ठान्न थालेका छन्। यो भावनाको मोल होइन, व्यापार हो— जहाँ सम्बन्धहरू पनि ‘क्लिक र ब्लक’मा सीमित छन्। धर्ममा विश्वास नगर्ने कुरा ठीक हो, किनभने अन्धविश्वास झनै खतरनाक हुन्छ। तर समस्या तब हुन्छ, जब धर्मसँगै नैतिकता पनि हराउँछ। धर्मले सिकाएको छ– स्त्रीको सम्मान गर, अहिंसा अपनाऊ, सत्य बोल, असत्य नगर, आत्मसंयम राख। यी सबै कुरा अब हास्य बन्दै गएको छ। मान्छेले धर्मलाई त्याग्दा उसले आत्मसंयम पनि त्यागेको हुन्छ। अब मान्छे केवल ‘इच्छा’मा बाँच्छ, ‘विवेक’मा होइन। यही कारण— यौन, पैसा र शक्तिको लोभमा उसले आफूलाई हराइरहेको छ। प्रेमलाई यौनसँग र सम्मानलाई धनसँग साट्छ। यही साटासाटको खेलले समाजलाई यन्त्रजस्तो रमान्छेलाई निष्प्राण बनाइरहेका छन्।

कलियुगी सोचको उपचार केवल कानुनले होइन, चेतनाले हुन्छ। सरकारले अश्लील टिप्पणी रोक्न कानुनी व्यवस्था गर्न सक्छ। तर त्यो केवल डरले काम गर्छ, चेतनाले मात्र सुधार ल्याउँछ। यसका लागि हाम्रो घर विद्यालय, मिडिया र परिवारमै चेतनाको पाठ पढाउनुपर्छ— कि मानव हुनु भनेको शिक्षित हुनुमात्र होइन, संवेदनशील हुनु पनि हो। बच्चालाई मोबाइल दिनुअघि नैतिकता सिकाउनुपर्छ। छोरालाई नारीको शरीर होइन, उसको मस्तिष्क बुझ भनेर सिकाउनुपर्छ। छोरीलाई भय होइन, आत्मसम्मानमा अडिन हिम्मत दिनुपर्छ। यसरी मात्रै हामी कलियुगबाट बाहिर निस्कने बाटो खोज्न सक्छौं।

सभ्यता बाहिर होइन, आजको युगको मानवताभित्रको चेतनामा हुनुपर्छ। कसैले टिकटकमा अश्लील गाली गर्छ भने त्यो उसको अनुशासनको होइन, आत्माको विफलता हो। कसैले महिलालाई अपमान गर्छ, दलित, गरिब, विपन्न र श्रमिकलाई हेलाँ गर्छन् भने त्यो उसको बौद्धिक दरिद्रता हो। समाजले चेतनाको अन्धकार हटाउन सकेन भने हामी कुनै पनि प्रविधिबाट अघि बढे पनि भित्रभित्रै कलियुगमै रहन्छौं। एलिना, मिना, ईशा वा साङबुङहरू पीडित होइनन्, हाम्रो चेतना र समाज पीडित हो। उनीहरू त समाजका ऐना हुन्। उनीहरूले हामीलाई देखाइरहेका छन् कि चेतना कहाँ पुग्दैछ भनेर।

अब प्रश्न यो हो— हामी उनीहरूको प्रतिविम्ब देखेर आत्मसुधार गर्छौं कि त्यो ऐना फुटाइदिन्छौं ? कलियुग कुनै धार्मिक कथा होइन, यो हाम्रो सोचको अवस्था हो। त्यसैले जतिसम्म हामी अरूको पीडा हेरेर हास्छौं, अरूको गल्तीमा आनन्द लिन्छौं र पाउँछौं अनि अरूको अस्मितालाई सस्तो मनोरञ्जनको विषय बनाउँछौं, यतिन्जेल कलियुग हाम्रो वरिपरि होइन— हाम्रो भित्रै हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.