पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले  उनलाई ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

सोही मुद्दामा केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको बयान लिएको थियो।

सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि  सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धानका क्रममा  ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक  समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

के हो घटना ? 

२०७९ पुस १० गतेकै दिन चिनियाँ नागरिक ली हानसोङ फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट काठमाडौं आइपुगेका थिए। उनले ल्याएको भेपको ७३ बट्टा (७३० थान) मा करिब ९ किलो सुन लुकाइएको थियो। जाँचपासका क्रममा शंकास्पद देखिएपछि भेप भन्सार गोदाममा राखेर अनुसन्धान गरिएको थियो। डेढ महिना गोदाममै राखिएको त्यो सामान त्यतिबेला भन्सार प्रशासक अरुण पोखरेलको जिम्मामा थियो।

अनुसन्धानमा महरा पिता–पुत्रले भेप छुटाउन भन्सार कर्मचारी र बिचौलियासँग पटक–पटक सम्पर्क गरेको तथ्य फेला परेको छ। सुन गायब गराउने प्रयाससमेत भएको देखिएपछि सीआईबीले अनुसन्धान जिम्मा लिएर फाइल खोलेको थियो। त्यस क्रममा महराले २२ पटक र उनका छोरा राहुलले २३४ पटक फोन सम्पर्क गरेको विवरण प्रहरी अनुसन्धानमै समावेश छ।

२०८० असोज २४ गते सीआईबीले अनुसन्धान सकाएर राहुल महरासहित चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गर्‍यो। प्रतिवादीमा लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई काठमाडौं बस्ने दावा छिरिङ र निमा गुरुङ परे।

पछि, २०८१ पुस १९ गते भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरियो। सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले राहुल महरासहित तत्कालीन नासु रेवन्त खड्का, दिनेश खड्का, रोजन राउत, अमृत कार्की, रामकेशव थापा क्षेत्री, ललित थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगर, बेल्जियम नागरिक दावा छिरिङ र प्रेरणा राउतलाई प्रतिवादी बनाइएको थियो।

तर, त्यो चरणसम्म पुग्दा नेता महरामाथि भने मुद्दा चलाइएको थिएन। अहिले महराविरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.