काठमाडौं महानगरले गर्यो सडकआश्रित मानवमुक्त महानगर घोषणा
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै जो बेसहारा महानगरको अभिभारा भन्ने नाराका साथ महानगरले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेल तथा मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रुपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका निर्माण घोषणापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक नगरप्रमुख डङ्गोलले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर बनाउन सवैको सहकार्य आवश्यक रहेको बताइन् । उनले समाजलाई जिम्मेवार बनाउन र आफू पनि जिम्मेवार बन्नका लागी महानगरले गरेको घोषणा निकै महत्वपूर्ण भएको धारणा राखिन् ।
सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणासंगै व्यवस्थापन, पूर्वाधार निर्माण र संस्थागत तयारी पनि भइरहेको उनले बताइन् । महानगरपालिकाले २०७४ साल मंसिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो । २०८३ साल जेठ २१ गते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !