७८ लाख विगो माग
लिची बगान घुस प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पूर्वमन्त्री राजकुमार गुप्ता,रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजायको माग गरिएको छ।
यसैगरी घरगग्गा व्यवसायी तथा बिचौलिया सुजन कुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,याम कुमारी गुरूङ र तुलसी बुढा मगरलाई मुद्दामा प्रतिवादी बनाइएको छ।
घुस रिसवत प्रतिवादीहरूबीच लिनेदिने कार्य विभिन्न प्राप्त विवरणबाट खुलेको,जग्गा हेर्न गुप्ता, श्रेष्ठ र तामाङ गएको र जग्गा सम्बन्धी करार सम्झौतापछि सुजन कुमारको नाममा रहेको गरिमा विकास बैंकको खातामा प्रतिवादी तुल्सीराम बुढा मगरले ७५ लाख रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।
यसैगरी सोही मुद्दामा मुछिएका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि लागेको आरोपमा छुट्टै मिसिल खडा गरी अनुसन्धान गर्न आयोगले भनेको छ। अधिकारीमाथि ३२ लाख घुस लिएको आरोप छ।
पोखराको बाटुलेचौरमा रहेको लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा हडप्न पूर्वमन्त्री गुप्ता, नाउपा अध्यक्ष श्रेष्ठ र बिचौलिया सुजन लामाबीचको घुस डिल अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस !