अब के गर्ने जेन–जीले ?

अब के गर्ने जेन–जीले ?

नेपालको वर्तमान राजनीतिक परिस्थिति एकदमै जटिल मोडमा आइपुगेको छ । पुराना दलहरूको असफलता, बढ्दो भ्रष्टाचार, विदेशी हस्तक्षेप, शासन प्रणालीमा देखिएको अविश्वसनीयता, सुरक्षामा भएको कमजोरी र जनतामा झनै बढ्दो आक्रोशले गर्दा जेन–जी विद्रोह केवल असन्तुष्टि अभिव्यक्त गर्ने आन्दोलन मात्र नभई एक ऐतिहासिक मोडको रूप लिएको छ । अहिलेको अवस्थामा जेन–जीहरूले कुन बाटो लिन्छन् भन्ने प्रश्न मात्र उनीहरूको भविष्य होइन, देशको भविष्यसँग प्रत्यक्ष सम्बन्धित छ । जनताले दशकौंसम्म धैर्य गरेर पर्खेको परिवर्तन र स्थायित्व अझै सम्भव भएको छैन । शासनमा न त जवाफदेहिताको संस्कार छ, न त पारदर्शिता । बरु भ्रष्टाचार र असमानता गहिरिँदै गएको छ । यस्तो स्थितिमा जेन–जी पुस्ताले विद्रोहमार्फत देशलाई नयाँ बाटोतर्फ धकेल्ने अवसर पाएको छ । तर प्रश्न यहीँ खडा हुन्छ— अब जेन–जीले के गर्ने ?

नयाँ सरकारसँग सम्भावना मात्रै पर्याप्त छैन, चुनौती पनि उत्तिकै छन्– पुराना दलको चलखेल र विदेशी हस्तक्षेप आदि ।

देशले पछिल्ला केही वर्षमा ठूलो आर्थिक क्षति बेहोरेको छ । राजनीतिक अस्थिरता, निरन्तरको सत्ता–खेल र अविश्वासपूर्ण वातावरणले गर्दा विकास कार्य अवरुद्ध भएको छ । नयाँ निर्चाचन गर्ने प्रक्रिया सुरु भए पनि त्यसले झन् ठूलो खर्च थप्नेछ । कम्तीमा ६ महिना चुनावी तयारीमै बित्ने देखिन्छ । त्यो अवधिमा विदेशी शक्ति, दूतावास र रणनीतिक स्वार्थ राख्ने शक्ति बढी सक्रिय हुनेछन् । यसले नेपालको राजनीतिक स्वाधीनतालाई अझ खतरामा पार्न सक्छ । त्यसैले तत्काल समाधानका लागि व्यावहारिक, यथार्थपरक र दीर्घकालीन दृष्टिकोणसहितको बाटो खोज्नु जरुरी छ ।

जेन–जी विद्रोहले अहिले संसद्लाई विघटन गरेको छ । विगतमा राजा महेन्द्रदेखि पूर्वप्रधानमन्त्री केपी ओलीसम्मले संसद्लाई असंवैधानिक ढंगले विघटन गरेका थिए भने यसपटक जनविद्रोहकै आधारमा संसद् विघटन भएको छ । यसले यो विघटनलाई प्रतिगामी नभई जनआन्दोलनको स्वाभाविक परिणाम बनाएको छ । तर, संसद्लाई जोगाएर पनि जेन–जीले आफ्नो जनादेशअनुरूप काम गर्न सकिन्छ भन्ने धारणा राख्नेहरू छन् । यद्यपि, त्यसमा ठूलो जोखिम छ । त्यसो भएको भए पुराना दलहरूले फेरि आफ्नो स्वार्थका लागि संसद् प्रयोग गर्ने सम्भावना प्रबल हुन्थ्यो । उनीहरूले बहुमतको दाबी गर्ने, गठबन्धन बनाउने र सत्ताको खेलमा लाग्ने अवसर पाउनेथिए । आन्दोलनको मूल उद्देश्य नष्प्रभावी बन्ने खतरा हुन्थ्यो । त्यसैले संसद् विघटन गरेर अन्तरिम सरकार गठन गरेकाले अब यो समस्या हुनेछैन । अब पुनर्निर्माण र निर्चाचनको तयारी गर्नु अपरिहार्य छ ।

अन्तरिम सरकार ठूलो नभई सानो तर प्रभावकारी हुनु आवश्यक छ । कम्तीमा नौदेखि एघार जनासम्मको टोली बनाई त्यसलाई तीनवटा स्पष्ट जिम्मेवारी दिनुपर्छ— पहिलो, सुरक्षाको व्यवस्थापन र सामान्यीकरण, दोस्रो, भ्रष्टाचार र अवैध सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोगको गठन र तेस्रो, नयाँ निर्चाचनको तयारी र सत्ता हस्तान्तरण । यी सबै काम छ महिनाभित्र सम्पन्न गर्न सम्भव देखिन्न तर बनाउने जिम्मेवारी अन्तरिम सरकारलाई छ । कम्तीमा दुई वर्षको समय लाग्ने देखिन्छ । किनकि, विगतको तुलनामा यसपटकको विध्वंस बढी भएको छ । त्यसैले छोटो अवधिमा हतार गर्ने हो भने पुनः अराजकता जन्मिन सक्छ ।

कम्तीमा ६ महिना चुनावी तयारीमै बित्ने देखिन्छ। त्यो अवधिमा विदेशी शक्ति, दूतावास र रणनीतिक स्वार्थ राख्ने शक्ति बढी सक्रिय हुनेछन्। यसले नेपालको राजनीतिक स्वाधीनतालाई अझ खतरामा पार्न सक्छ।

जेन–जी आन्दोलनले सही तरिकाले नेतृत्व गर्न सके नेपालको राजनीति नयाँ मोडमा प्रवेश गर्नेछ । पुराना दलहरूले नष्ट पारेको विश्वासलाई पुनःस्थापित गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, नागरिकलाई शासनप्रति भरोसा जगाउने र नयाँ पुस्ताको नेतृत्व क्षमता देखाउने ठूलो अवसर अहिले उपलब्ध छ । यस्ता अवसर प्रत्येक पुस्तामा आउँदैनन्, यसलाई उपयोग गर्न नसक्ने हो भने भावी पुस्ताको समेत भविष्य डुब्नेछ । सम्भावनाका ढोका लुकेका छन्— देशमा नयाँ राजनीतिक संस्कार र संस्कृतिको स्थापना, भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन र अवैध सम्पत्ति जफत, राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तालाई आधार मानेर पुनर्संरचना एवं संविधान संशोधनमार्फत स्थानीय तहलाई दलविहीन बनाउने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्चाचन प्रणाली ल्याउने सम्भावना छ । यी सम्भावनालाई उपयोग गरियो भने नेपालमा दीर्घकालीन स्थिरता र समृद्धिको बाटो खुल्नेछ ।

तर, सम्भावना मात्रै पर्याप्त छैन । चुनौतीहरू पनि उतिकै छन् । पुराना दलहरूको गहिरो संगठनात्मक जाल तोड्न कठिन छ । गाउँ–गाउँसम्म उनीहरूको संरचना अझै बलियो छ । जसले नयाँ चुनावमा पुनः उनीहरूलाई सत्ता कब्जा गर्न सहज बनाउँछ । विदेशी हस्तक्षेप अर्काे ठूलो चुनौती हो । नेपालको भौगोलिक अवस्था, भारत–चीनबीचको संवेदनशील स्थिति र अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक स्वार्थले गर्दा नेपालमा विदेशी शक्ति सधैं सक्रिय रहन्छन् । यदि हामी असंगठित भयौं भने शान्ति सेनाको नाममा विदेशी सेना भित्रिने जोखिम बढ्छ । जेन–जी आन्दोलनभित्रको विभाजनले अर्को ठूलो समस्या निम्त्याउँछ । आन्तरिक फुट आयो भने पुराना दलहरूले सजिलै अवसर पाउनेछन्, र आन्दोलन कमजोर बन्नेछ । त्यस्तै, नयाँ आन्दोलनमा पुराना नेताहरूले प्रवेश पाए भने मूल एजेन्डा नै बिग्रने सम्भावना छ । सुरक्षाकर्मी र प्रशासनलाई विश्वासमा लिन नसक्ने अवस्था आयो भने अन्तरिम सरकार सुरुमा नै असफल बन्नेछ ।

यी चुनौतीसँगै केही समस्या निरन्तर देखा पर्नेछन् । देशको आर्थिक स्थिति अत्यन्त कमजोर छ । विद्रोह र अस्थिरताले लगानी रोकेको छ । नयाँ सरकार बने पनि तत्कालै आर्थिक सुधार सम्भव छैन । त्यसैले विदेशी ऋण बढ्ने निश्चित छ । जेन–जी आन्दोलन सडक र सामाजिक सञ्जालमा बलियो भए पनि गाउँ तहसम्मको संगठन अझै व्यवस्थित छैन । पुराना दलसँग भने त्यस्तो बलियो संरचना छ । जसलाई जेन–जीले प्रतिस्पर्धा गर्न सक्नुपर्छ । आन्दोलनभित्र वैचारिक विविधता छ । जसलाई एकरूपता दिन सकिएन भने नेतृत्व अस्पष्ट बन्नेछ । नीति र कार्ययोजना विखण्डित हुनेछ । अन्तरिम सरकारलाई छोटो समय दिइयो भने सुधार सम्भव हुँदैन । लामो समय दिइयो भने विदेशी दबाब बढ्छ । योबीचमा सन्तुलन कायम गर्न कठिन हुनेछ । जनतालाई केवल नारा र आन्दोलनले विश्वास दिलाउन सकिँदैन, देखिने, छामिने काम गरेर मात्र विश्वास कायम हुन्छ ।

यसै सन्दर्भमा बुझ्नुपर्ने कुरा के हो भने विद्रोहको उद्देश्य केवल पुरानो सत्ता ढाल्नु मात्र होइन, नयाँ सत्ता र प्रणालीलाई संस्थागत गर्नु हो । तर इतिहासले देखाएको छ— प्रत्येक आन्दोलनपछि पुराना दलहरू पुनः फर्केका छन् । २०४६, २०६२–६३, २०७२—हरेक आन्दोलनले अन्ततः पुरानै अनुहारलाई पुनः सत्ता दिएको छ । यसपटक जेन–जीले त्यो चक्र तोड्नै पर्छ । पुराना दलहरूले आफूलाई सुधार्छन् भन्ने आशा गर्नु मूर्खता मात्रै हुन्छ । उनीहरूले सदैव जनादेशलाई बेवास्ता गरी गठबन्धन र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएका छन् । त्यसैले जेन–जीको स्पष्ट एजेन्डा हुनुपर्छ— कम्तीमा १० वर्ष पुराना दललाई चुनाव लड्न नदिने कानुनी व्यवस्था गर्नुपर्नेछ । यसो नगरे फेरि अर्को आन्दोलन, अर्काे रक्तपात र फेरि जनतामा झैं निराशा जन्मिन्छ ।

जेन–जी आन्दोलनले नेपाली समाजमा नयाँ आशा जगाएको छ । तर आशा मात्र पर्याप्त छैन । स्पष्ट कार्ययोजना, सुदृढ संगठन, भ्रष्टाचार नियन्त्रणको प्रत्यक्ष पहल र अन्तरिम नागरिक सरकारमार्फत प्रभावकारी कदम चाल्न जरुरी छ । सम्भावना ठूलो छ तर चुनौती र समस्या अझ ठूलो छन् । जेन–जीले विभाजन होइन, ऐक्यबद्धता रोज्नुपर्छ । गाउँ–गाउँसम्म संगठन विस्तार गर्नुपर्छ । अन्तरिम सरकारले सानो तर शक्तिशाली टोलीमार्फत भ्रष्टाचार नियन्त्रण, सुरक्षा सामान्यीकरण र नयाँ निर्चाचनको तयारी गर्नुपर्छ । पुराना दललाई सत्ता खेलबाट अलग राख्नुपर्छ । विदेशी हस्तक्षेप रोक्न राष्ट्रिय सहमति र जनसहभागिता बढाउनुपर्छ ।

यदि जेन–जीले यी चुनौतीहरू पार गर्दै सम्भावनालाई उपयोग गर्न सके भने नेपालको राजनीतिक इतिहासमा पहिलो पटक नयाँ पुस्ताले स्थिरता, विकास र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ । अन्यथा यो आन्दोलन पनि विगतका आन्दोलन झैं निराशा र विफलताको कथा बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.