अब के गर्ने जेन–जीले ?
नेपालको वर्तमान राजनीतिक परिस्थिति एकदमै जटिल मोडमा आइपुगेको छ । पुराना दलहरूको असफलता, बढ्दो भ्रष्टाचार, विदेशी हस्तक्षेप, शासन प्रणालीमा देखिएको अविश्वसनीयता, सुरक्षामा भएको कमजोरी र जनतामा झनै बढ्दो आक्रोशले गर्दा जेन–जी विद्रोह केवल असन्तुष्टि अभिव्यक्त गर्ने आन्दोलन मात्र नभई एक ऐतिहासिक मोडको रूप लिएको छ । अहिलेको अवस्थामा जेन–जीहरूले कुन बाटो लिन्छन् भन्ने प्रश्न मात्र उनीहरूको भविष्य होइन, देशको भविष्यसँग प्रत्यक्ष सम्बन्धित छ । जनताले दशकौंसम्म धैर्य गरेर पर्खेको परिवर्तन र स्थायित्व अझै सम्भव भएको छैन । शासनमा न त जवाफदेहिताको संस्कार छ, न त पारदर्शिता । बरु भ्रष्टाचार र असमानता गहिरिँदै गएको छ । यस्तो स्थितिमा जेन–जी पुस्ताले विद्रोहमार्फत देशलाई नयाँ बाटोतर्फ धकेल्ने अवसर पाएको छ । तर प्रश्न यहीँ खडा हुन्छ— अब जेन–जीले के गर्ने ?
नयाँ सरकारसँग सम्भावना मात्रै पर्याप्त छैन, चुनौती पनि उत्तिकै छन्– पुराना दलको चलखेल र विदेशी हस्तक्षेप आदि ।
देशले पछिल्ला केही वर्षमा ठूलो आर्थिक क्षति बेहोरेको छ । राजनीतिक अस्थिरता, निरन्तरको सत्ता–खेल र अविश्वासपूर्ण वातावरणले गर्दा विकास कार्य अवरुद्ध भएको छ । नयाँ निर्चाचन गर्ने प्रक्रिया सुरु भए पनि त्यसले झन् ठूलो खर्च थप्नेछ । कम्तीमा ६ महिना चुनावी तयारीमै बित्ने देखिन्छ । त्यो अवधिमा विदेशी शक्ति, दूतावास र रणनीतिक स्वार्थ राख्ने शक्ति बढी सक्रिय हुनेछन् । यसले नेपालको राजनीतिक स्वाधीनतालाई अझ खतरामा पार्न सक्छ । त्यसैले तत्काल समाधानका लागि व्यावहारिक, यथार्थपरक र दीर्घकालीन दृष्टिकोणसहितको बाटो खोज्नु जरुरी छ ।
जेन–जी विद्रोहले अहिले संसद्लाई विघटन गरेको छ । विगतमा राजा महेन्द्रदेखि पूर्वप्रधानमन्त्री केपी ओलीसम्मले संसद्लाई असंवैधानिक ढंगले विघटन गरेका थिए भने यसपटक जनविद्रोहकै आधारमा संसद् विघटन भएको छ । यसले यो विघटनलाई प्रतिगामी नभई जनआन्दोलनको स्वाभाविक परिणाम बनाएको छ । तर, संसद्लाई जोगाएर पनि जेन–जीले आफ्नो जनादेशअनुरूप काम गर्न सकिन्छ भन्ने धारणा राख्नेहरू छन् । यद्यपि, त्यसमा ठूलो जोखिम छ । त्यसो भएको भए पुराना दलहरूले फेरि आफ्नो स्वार्थका लागि संसद् प्रयोग गर्ने सम्भावना प्रबल हुन्थ्यो । उनीहरूले बहुमतको दाबी गर्ने, गठबन्धन बनाउने र सत्ताको खेलमा लाग्ने अवसर पाउनेथिए । आन्दोलनको मूल उद्देश्य नष्प्रभावी बन्ने खतरा हुन्थ्यो । त्यसैले संसद् विघटन गरेर अन्तरिम सरकार गठन गरेकाले अब यो समस्या हुनेछैन । अब पुनर्निर्माण र निर्चाचनको तयारी गर्नु अपरिहार्य छ ।
अन्तरिम सरकार ठूलो नभई सानो तर प्रभावकारी हुनु आवश्यक छ । कम्तीमा नौदेखि एघार जनासम्मको टोली बनाई त्यसलाई तीनवटा स्पष्ट जिम्मेवारी दिनुपर्छ— पहिलो, सुरक्षाको व्यवस्थापन र सामान्यीकरण, दोस्रो, भ्रष्टाचार र अवैध सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोगको गठन र तेस्रो, नयाँ निर्चाचनको तयारी र सत्ता हस्तान्तरण । यी सबै काम छ महिनाभित्र सम्पन्न गर्न सम्भव देखिन्न तर बनाउने जिम्मेवारी अन्तरिम सरकारलाई छ । कम्तीमा दुई वर्षको समय लाग्ने देखिन्छ । किनकि, विगतको तुलनामा यसपटकको विध्वंस बढी भएको छ । त्यसैले छोटो अवधिमा हतार गर्ने हो भने पुनः अराजकता जन्मिन सक्छ ।
कम्तीमा ६ महिना चुनावी तयारीमै बित्ने देखिन्छ। त्यो अवधिमा विदेशी शक्ति, दूतावास र रणनीतिक स्वार्थ राख्ने शक्ति बढी सक्रिय हुनेछन्। यसले नेपालको राजनीतिक स्वाधीनतालाई अझ खतरामा पार्न सक्छ।
जेन–जी आन्दोलनले सही तरिकाले नेतृत्व गर्न सके नेपालको राजनीति नयाँ मोडमा प्रवेश गर्नेछ । पुराना दलहरूले नष्ट पारेको विश्वासलाई पुनःस्थापित गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, नागरिकलाई शासनप्रति भरोसा जगाउने र नयाँ पुस्ताको नेतृत्व क्षमता देखाउने ठूलो अवसर अहिले उपलब्ध छ । यस्ता अवसर प्रत्येक पुस्तामा आउँदैनन्, यसलाई उपयोग गर्न नसक्ने हो भने भावी पुस्ताको समेत भविष्य डुब्नेछ । सम्भावनाका ढोका लुकेका छन्— देशमा नयाँ राजनीतिक संस्कार र संस्कृतिको स्थापना, भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन र अवैध सम्पत्ति जफत, राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्तालाई आधार मानेर पुनर्संरचना एवं संविधान संशोधनमार्फत स्थानीय तहलाई दलविहीन बनाउने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्चाचन प्रणाली ल्याउने सम्भावना छ । यी सम्भावनालाई उपयोग गरियो भने नेपालमा दीर्घकालीन स्थिरता र समृद्धिको बाटो खुल्नेछ ।
तर, सम्भावना मात्रै पर्याप्त छैन । चुनौतीहरू पनि उतिकै छन् । पुराना दलहरूको गहिरो संगठनात्मक जाल तोड्न कठिन छ । गाउँ–गाउँसम्म उनीहरूको संरचना अझै बलियो छ । जसले नयाँ चुनावमा पुनः उनीहरूलाई सत्ता कब्जा गर्न सहज बनाउँछ । विदेशी हस्तक्षेप अर्काे ठूलो चुनौती हो । नेपालको भौगोलिक अवस्था, भारत–चीनबीचको संवेदनशील स्थिति र अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक स्वार्थले गर्दा नेपालमा विदेशी शक्ति सधैं सक्रिय रहन्छन् । यदि हामी असंगठित भयौं भने शान्ति सेनाको नाममा विदेशी सेना भित्रिने जोखिम बढ्छ । जेन–जी आन्दोलनभित्रको विभाजनले अर्को ठूलो समस्या निम्त्याउँछ । आन्तरिक फुट आयो भने पुराना दलहरूले सजिलै अवसर पाउनेछन्, र आन्दोलन कमजोर बन्नेछ । त्यस्तै, नयाँ आन्दोलनमा पुराना नेताहरूले प्रवेश पाए भने मूल एजेन्डा नै बिग्रने सम्भावना छ । सुरक्षाकर्मी र प्रशासनलाई विश्वासमा लिन नसक्ने अवस्था आयो भने अन्तरिम सरकार सुरुमा नै असफल बन्नेछ ।
यी चुनौतीसँगै केही समस्या निरन्तर देखा पर्नेछन् । देशको आर्थिक स्थिति अत्यन्त कमजोर छ । विद्रोह र अस्थिरताले लगानी रोकेको छ । नयाँ सरकार बने पनि तत्कालै आर्थिक सुधार सम्भव छैन । त्यसैले विदेशी ऋण बढ्ने निश्चित छ । जेन–जी आन्दोलन सडक र सामाजिक सञ्जालमा बलियो भए पनि गाउँ तहसम्मको संगठन अझै व्यवस्थित छैन । पुराना दलसँग भने त्यस्तो बलियो संरचना छ । जसलाई जेन–जीले प्रतिस्पर्धा गर्न सक्नुपर्छ । आन्दोलनभित्र वैचारिक विविधता छ । जसलाई एकरूपता दिन सकिएन भने नेतृत्व अस्पष्ट बन्नेछ । नीति र कार्ययोजना विखण्डित हुनेछ । अन्तरिम सरकारलाई छोटो समय दिइयो भने सुधार सम्भव हुँदैन । लामो समय दिइयो भने विदेशी दबाब बढ्छ । योबीचमा सन्तुलन कायम गर्न कठिन हुनेछ । जनतालाई केवल नारा र आन्दोलनले विश्वास दिलाउन सकिँदैन, देखिने, छामिने काम गरेर मात्र विश्वास कायम हुन्छ ।
यसै सन्दर्भमा बुझ्नुपर्ने कुरा के हो भने विद्रोहको उद्देश्य केवल पुरानो सत्ता ढाल्नु मात्र होइन, नयाँ सत्ता र प्रणालीलाई संस्थागत गर्नु हो । तर इतिहासले देखाएको छ— प्रत्येक आन्दोलनपछि पुराना दलहरू पुनः फर्केका छन् । २०४६, २०६२–६३, २०७२—हरेक आन्दोलनले अन्ततः पुरानै अनुहारलाई पुनः सत्ता दिएको छ । यसपटक जेन–जीले त्यो चक्र तोड्नै पर्छ । पुराना दलहरूले आफूलाई सुधार्छन् भन्ने आशा गर्नु मूर्खता मात्रै हुन्छ । उनीहरूले सदैव जनादेशलाई बेवास्ता गरी गठबन्धन र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएका छन् । त्यसैले जेन–जीको स्पष्ट एजेन्डा हुनुपर्छ— कम्तीमा १० वर्ष पुराना दललाई चुनाव लड्न नदिने कानुनी व्यवस्था गर्नुपर्नेछ । यसो नगरे फेरि अर्को आन्दोलन, अर्काे रक्तपात र फेरि जनतामा झैं निराशा जन्मिन्छ ।
जेन–जी आन्दोलनले नेपाली समाजमा नयाँ आशा जगाएको छ । तर आशा मात्र पर्याप्त छैन । स्पष्ट कार्ययोजना, सुदृढ संगठन, भ्रष्टाचार नियन्त्रणको प्रत्यक्ष पहल र अन्तरिम नागरिक सरकारमार्फत प्रभावकारी कदम चाल्न जरुरी छ । सम्भावना ठूलो छ तर चुनौती र समस्या अझ ठूलो छन् । जेन–जीले विभाजन होइन, ऐक्यबद्धता रोज्नुपर्छ । गाउँ–गाउँसम्म संगठन विस्तार गर्नुपर्छ । अन्तरिम सरकारले सानो तर शक्तिशाली टोलीमार्फत भ्रष्टाचार नियन्त्रण, सुरक्षा सामान्यीकरण र नयाँ निर्चाचनको तयारी गर्नुपर्छ । पुराना दललाई सत्ता खेलबाट अलग राख्नुपर्छ । विदेशी हस्तक्षेप रोक्न राष्ट्रिय सहमति र जनसहभागिता बढाउनुपर्छ ।
यदि जेन–जीले यी चुनौतीहरू पार गर्दै सम्भावनालाई उपयोग गर्न सके भने नेपालको राजनीतिक इतिहासमा पहिलो पटक नयाँ पुस्ताले स्थिरता, विकास र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ । अन्यथा यो आन्दोलन पनि विगतका आन्दोलन झैं निराशा र विफलताको कथा बन्नेछ ।
प्रतिक्रिया दिनुहोस !