सुर्खेत चिनाउने सम्पदा
सुर्खेतका समाजसेवी सुशीलराज शर्माले जिल्लाको इतिहास लेखे । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम, हाल कर्णाली प्रदेशको राजधानीसमेत रहेको जिल्ला हो, सुर्खेत । पुरानो इतिहासमा दैलेख जिल्लासँग थियो सुर्खेत । २०१८ वैशाख १ गते दैलेखबाट टुक्रिएर छुट्टै जिल्ला भयो यो । प्राचीनकालमा काठमाडौं लिच्छवि राज्यको साम्राज्य थियो ।
लिच्छवि शासनको पतनपछि पश्चिम क्षेत्रमा खस मल्ल राज्य अस्तित्वमा थियो । जितारी मल्लका भतिजा रिपु मल्लको शासनकालमा सुर्खेत उनकै अधीनमा थियो । सख मल्ल राज्य सिञ्जा टुक्रियो । फलत: बाइसे राज्यहरू स्थापना भए । दुल्लु राज्य र बेलास्पुर दुई राज्यमा दैलेख शासित भयो । सुर्खेत बेलास्पुर राज्यबाट शासित भएको थियो । त्यतिबेला दैलेखका राजा संसार बर्मा थिए ।
कर्णालीका १० जिल्लालाई छुट्ट्याएर छुट्टै प्रदेश बनाउन बाध्य भयो। निष्कर्षमा भन्दा शर्माले ‘सुर्खेतको इतिवृत्ता’ पुस्तकमा जिल्लाको यस्ता अनेक तथ्य समेटेका छन्। इतिहास झल्किने साथै लोप हुने अवस्थाका धेरै तथ्य छन्। उनको पुस्तक सुर्खेतको चिनारी हो।
सुर्खेतको इतिहास धेरै लामो छैन । दैलेख राज्यले सेल्टरका रूपमा मात्र प्रयोग गरेको पाइन्छ । १७९० मा नेपाल एकीकरणको क्रममा गोर्खाली फौज दैलेख कब्जा गर्न जाँदा सुर्खेतमा तत्कालीन बर्मा फौज र गोर्खाली फौजबीच युद्ध भएको पाइन्छ । यसका आधारमा यो सेल्टर थियो भन्ने स्पष्ट हुन्छ । बहादुर शाहको पालामा दैलेख राज्य नेपाल राज्यमा एकीकरण भएको थियो । यसअघि सुर्खेत आवादी थियो या जलभण्डार थियो या झाडी थियो । कतै उल्लेख छैन ।
सुर्खेत कसरी भयो नामकरण : सुर्खेत जिल्ला नामकरण हुनुपूर्व सुर्खेतलाई विभिन्न नामले चिन्ने गरिन्थ्यो । जसको पुराना एउटा नाम दोभान चौर हो । यस क्षेत्र बाह्र बण्डाल, अठार खण्डालको रूपमा परिचित थियो । तर भेरी र कर्णाली दुईवटा नदीहरूबाट सुरक्षित भएकाले सुर्खेत नामकरण भएको अनुमान गरिन्छ । अर्को कुरा खेतमा सिरु रहेको खेतैखेत भएको जमिन भएकाले सिरुखेतबाट शब्दको अपभ्रंश भएर सुर्खेत भएको भन्ने तर्क पनि उत्तिकै दरिलो छ । तर पुराना अभिलेखहरूको आधारमा सुर्खेत सुरक्षेत्र अर्थात् देवताहरूको बास भएकाले सुरक्षेत्रबाट सुर्खेत नामकरण भएको भन्ने तर्क पनि छ ।
खासमा आनन्द मल्लको शक्ति १२१४ को मंगलगढिक अभिलेख र १३७० को आनन्द मल्लको पालामा नै भूमिमा लेखिएको अभि समयालंकरको पुस्तिकामा सुरक्षेत्रले राज राजेश्वर, लोकेश्वरश्री रिपु मल्लदेव राज्य लेखिएको चौथो शताब्दी पूर्वमा नै यो नाम प्रचलित भएको अनमान छ । वीरेन्द्रनगरमा घरेलु निर्देशनालयको भवन निर्माण गर्न जमिन खन्दा भेटिएको शिलालेखको अंशमा इतिहासकार योगी नरहरिनाथले अनुवाद गरेर सुरक्षेत्र लेखिएको भेटाएका थिए । अत: विभिन्न तर्कअनुसार सामारिक दृष्टिकोणले सुरक्षित भएकाले सुर्खेत जिल्लाको नाम सुर्खेत नै रहेको अनुमान गर्न सकिन्छ ।
सुर्खेतको परिचय : २०२४ सालमा जिल्लाको कुल क्षेत्रफल ९ सय ५४ वर्गकिलोमिटर थियो । डाँडादरा खास सुर्खेत, सिम्तादरा र गुर्भाकोटदरा विभाजन थियो । डाँडादरामा छाप्रे, साल्कोट, पाख्रीकाँडा, रेक्चा, हाँसे गाउँ, बास्पानी, हालका चौकुने नगरपालिका र पञ्चपुरी नगरपालिका पर्छन् । खास सुर्खेत दरामा लेकगाउँ, कयालकाँडा, गोठीकाँडा, लाटीकोइली, तेलपानीदेखि पूर्व घुमखहरेसम्म १७ वटा गाउँहरू हालको वीरेन्द्रनगर नगरपालिका, लेखबेसी नगरपालिका र बराहताल गाउँपालिकामा पर्छन् । सिम्तादरामा चोल्पा, तामागाकाँडा, राक्म, बजेडा, बजेटचौर, काफलकोट, गन्दा आदि हालको गुर्भाकोट नगरपालिकाका केही भाग र सिम्ता गाउँपालिकामा पर्छन् ।
गुर्भाकोटदरामा लेखपराजुल, मालारानी, कालीमाटी काल्चे, रामपुर, कोटमाझर्ख हादी गाउँहरू हालको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकामा पर्छन् । माथि उल्लेखित गाउँदरा २०१८ सालमा सुर्खेतमा गाभिएका थिए । २०३२ सालसम्म यस जिल्लामा ३३ वटा पञ्चायत थिए । २०३२ सालपछि पूर्वमा वादे पीपल र रामपुर पश्चिममा बाँसपानी, कुइने, उत्तरमा सिद्धपाइला भरमपोखरा दक्षिणमा देउरालीसम्म बिस्तार भयो । २०३८ सालमा सल्यान, दैलेख जिल्लाका केही पञ्चायत गाभिएर ५० गाविस र एक नगरपालिकामा परिणत भयो । उक्त समयमा सुर्खेत ११ इलाका, ५० गाविस, १ नगरपालिका र ४ सय ६२ वडा थिए । संघीय गणतन्त्रपछि पालिका बनेका छन् । जसमा ५ नगरपालिका र ४ गाउँपालिका छन् ।
सुर्खेतको अछाम, डोटी, सल्यान, दैलेख, जाजरकोट, बर्दिया र कैलाली गरी सात वटा जिल्लासँग सिमाना जोडिएको छ । हालको कुल क्षेत्रफल २ हजार ४ सय ५१ वर्गकिलोमिटर छ । यहाँ २०७८ सालको जनगणनाअनुसार सुर्खेतमा कुल जनसंख्या ४ लाख १५ हजार १ सय २६ छ । जसमा १ लाख ५५ हजार ७ सय ४० पुरुष, २ लाख १५ हजार ३ सय ८६ महिलाको संख्या छ । राजनीतिक परिवर्तनपछि २०७३ फागुन ३ गतेको निर्णयअनुसार सुर्खेतमा २ वटा निर्वाचन क्षेत्र र ९ वटा स्थानीय तह कायम गरेको छ ।
भाषा, धर्म र संस्कृति : सुर्खेत बहुभाषी, बहुजाति र विभिन्न धर्मावलम्बीको बसोबास भएको जिल्ला हो । कर्णालीको केन्द्रका रूपमा रहेको सुर्खेतको पूर्वीदारमा आफ्नै भाषा छ । जसको ऐतिहासिक महŒव छुट्टै छ । सिम्ताको सिम्ताली भाषा सुर्खेतको सम्पदा हो । सिम्ताली भाषाा र संस्कृति एक सुर्खेतको पहिचान हो । कर्णाली र सुदूरपश्चिमको प्रभाव छ भने वीरेन्द्रनगरमा दैलेखको प्रभाव बढी छ ।
२०७८ सालको जनगणनाअनुसार सुर्खेतमा दोस्रो भाषा नभएका नेपालीहरूको संख्या धेरै छ । जसमा ५१.७५ प्रतिशत अर्थात् ३ लाख ८१ हजार ४३ जना सुर्खेतीको दोस्रो भाषा छैन । जिल्लामा बोलिने खास १० वटा भाषामा नेपाली ७०.४ प्रतिशत छ । अरू भाषाहरू मगर ढुट, मगर खाम, हिन्दी, भोटे, अछामी, थारू, मैथली, डोटेली भाषा बोलिन्छ । खासगरी सुर्खेतमा पुर्खाको भाषा बोल्ने प्रचलन धेरै छ । खस, अछामी, जुम्ली, नेवारी, गुरुङ, दैलेखी, राजी भाषा बोल्ने गरिन्छ । धर्मका हिसाबले सुर्खेतमा हिन्दु धर्म मान्नेहरूको संख्या सबैभन्दा बढी छ । ५१.६० प्रतिशत अर्थात् ३ लाख ८० हजार २ सय ७४ जना हिन्दु धर्म मान्छन् । दोस्रोमा बौद्ध धर्मालम्बीहरू ४.७ प्रतिशत अर्थात् १ लाख ६८ हजार ५४ जना छन् ।
बाँकी जनसंख्याले इस्लाम, किराँत, क्रिश्चियन, प्रकृति, बोन, जनै, बहाई, शिख धर्म मान्ने गरेका छन् । जातजातिका हिसाबले सुर्खेतमा क्षेत्रीको जनसंख्या धेरै छ । सुर्खेतमा क्षेत्री ३१.७५ प्रतिशत, विश्वकर्मा १८.१२ प्रतिशत, मगर १७.२७ प्रतिशत, ब्राह्मण १२.२२ प्रतिशत, ठकुरी ६.४५ प्रतिशत, परियारको जनसंख्या ४.३० प्रतिशत, थारू १.९० प्रतिशत र सन्न्यासी १.१६ प्रतिशत छ ।
पर्यटकीय सम्भावनाका हिसाबले सुर्खेत : सुर्खेत पर्यटकीय सम्भावनाका हिसाबले निकै धनी छ । सुर्खेत बुलबुल ताल, काँक्रीबिहार, देउतीबजै मन्दिर, सिद्धपाइलाको त्यो अग्लो पहाड, देशकै एक सुन्दर उपत्यका वीरेन्द्रनगर पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्यहरू हुन् । यतिमात्र नभई शिबव मन्दिर, घण्टाघर, सहिदपार्क, मंगलगढी माई, भैरवस्थान, गढी, डाँडादरा, पञ्चपुरी, गुप्तीताल, चमेरु गुफा, जाजुरा दह, भेरीकर्णाली दोभान, पञ्चपुरी माई, मादले गुफा, गाइने काँडा, भेरी छाल, गुम्बा, कालिका थान, चौकुने, बेनीघाट, धनराश चर्चामा रहेका पर्यटकीय गन्तव्य हुन् ।
यस्तै, कोटको दरबार, बासुधारा, कुण्डक गुफा, शिवालय, विशाल बजार, बेतान कर्णाली, ओटपोखरी, सिम्तादरा, राजकाँडा दरबार, कोटको थुम्को, मालिका धुरी, बादे पीपल, घुमाउरो, ठिक्नी गाउँ, घोरेरी गाउँ, देउती जन्मेको ठाउँ, पाती हाल्ने, सति कलशा, दिउली र सात बहिनी विलय भएको ठाउँ, मस्तरा गुफा, लेकबेसीलगायतका ठाउँ धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य हुन् ।
लेकबेंसी नेटामा रहेको सिद्ध ढुंगा, सिसा झरना, भोटे दरबार, सात्ले गुफा, दमार गाउँ, रातटाडी, चिङगाड, मालिका, बुरुसे झरना, दह भोटेचुली, घनघने, साँघुरे, खटाङ, मालारानी गुफा, धागेचरी झरना, बेतनी झरनालगायतका पर्यटकीय गन्तव्यहरू पनि निकै आकर्षक छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्र पर्यटकहरूको आगमन बढिरहेको छ । तर ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरूले भने खासै चर्चा पाउन सकिरहेका छैनन् । पर्यटकको आगमन पनि निकै कम हुने गरेको छ ।
राजनीतिक परिवर्तनमा सुर्खेत : सुर्खेत राजनीतिक परिवर्तनका हिसाबले पनि ज्यादै महŒवपूर्ण जिल्ला हो । यहाँ २०३६ सालको पञ्चायत विरोधी आन्दोलन भयो । दशरथपुरबाट वीरेन्द्रनगर आउन लागेको र्यालीमाथि दमन भयो । पञ्चायती सरकारको दमनबाट सात जनासहित बने । जुन व्यक्तिहरूको नाम अहिले पनि सहिदचोकमा रहेको स्मारकमा पढ्न पाइन्छ । २०६२/०६३ सालको जनआन्दोलनपछि माओवादीको क्यान्टोनमेन्ट लेखबेंसी नगरपालिकाको त्यसै दशरथपुरमै थियो । यहाँका विभिन्न वडामा चार माओवादी लडाकुहरूका चारवटा ब्रिगेड क्याम्प स्थापना गरिएका थिए । दशरथपुर, लेखफर्सा, कल्यान, खोल्टेपानी र गुमीमा ती क्याम्पहरू स्थापना गरिएका थिए । उक्त ठाउँहरू सशस्त्र द्वन्द्वको अध्ययन गर्न राम्रो केन्द्र बन्न सक्छन् ।
संघीय संरचनामा कर्णाली प्रदेश स्थापनाका लागि सुर्खेतले ठूलो लडाइँ नै लड्नु परेको थियो । जसका क्रममा सुर्खेतका तीन जना सपूतले ज्यान गुमाएका थिए । अर्को जुम्लाले पनि लडाइँ लड्यो । जुम्लामा पनि एक जना गरी जम्मा चार सपूतले ज्यान गुमाए । पाँच प्रदेश बनाउने तर कर्णालीलाई सुदूरपश्चिमसँग गाभेर अन्याय गरेको भन्दै कर्णालीका जिल्लाजिल्लामा आन्दोलन भए । त्यसको नेतृत्व सुर्खेतले गरेको थियो । अन्त त कर्णालीको आन्दोलनसँग सरकार झुक्यो । कर्णालीका १० जिल्लालाई छुट्ट्याएर छुट्टै प्रदेश बनाउन बाध्य भयो । निष्कर्षमा भन्दा शर्माले ‘सुर्खेतको इतिवृत्त’ पुस्तकमा जिल्लाको यस्ता अनेक तथ्य समेटेका छन् । इतिहास झल्किने साथै लोप हुने अवस्थाका धेरै तथ्य छन् । उनको पुस्तक सुर्खेतको चिनारी हो । उनले सुर्खेतको पश्चिम बेनीघाटदेखि पूर्वको राजकाँडासम्मका विभिन्न अभिलेख छन् ।
प्रतिक्रिया दिनुहोस !