वीरगन्जको मुख्य सडक विस्तारको काममा अवरोध गर्न फेरि चलखेल सुरु, सर्वोच्चमा नयाँ रिट दर्ता
वीरगन्ज : त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन सुरु भइसकेको अवस्थामा केही घरधनीहरूले फेरि सर्वोच्चमा नयाँ रिट दर्ता गराएका छन्।
सर्वोच्चले पनि यसअघि आफैंले गरेको फैसलाका विपरीत दायर रिटमा छलफल गर्न बुधबारका लागि पेसी समेत तोकेको छ। वीरगन्जको मुख्य सडक सडक विस्तार हुन नहुने भन्दै घरधनीहरूले हालेको रिट गत फागुन २८ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले खारेज गर्ने निर्णय गरेको थियो।
पटक पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले विपक्षीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि झण्डै १२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारका लागि बाटो खुलेको थियो। त्यसपछि सर्वोच्चको उक्त फैसला कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडकको दायाँ र बाँयाको २५/२५ मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचनाहरू हटाउने कामपनि सुरु गरिसकेको थियो।
तर, अहिले फेरि मुख्य सडक विस्तारको काम रोक्नका लागि २४ जनाले वीरगन्ज महानगरपालिका, प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहितकालाई विपक्षी बनाएर असार ३२ गते सर्वोच्चमा पुनः उत्प्रेषण मुद्दा दर्ता गराएका हुन्।
वीरगन्ज– १२ का शीवजी क्लबार, वीरगन्ज– ८ की सुशीला देवी रौनियार, वीरगन्ज– १२ की मनोती देवी रौनियार, वीरगन्ज– १६ का चन्द्रनारायण सिंह, वीरगन्ज– १० का राजकिशोर गुप्ता, वीरगन्ज– ८ का गोविन्द प्रसाद अग्रवाल, वीरगन्ज– ८ का राजेशकुमार रौनियार लगायतले असार ३२ गते सर्वोच्चमा फेरि उत्प्रेषण मुद्दा दर्ता गराएका हुन्।
उक्त मुद्दा अर्थात रिटमा छलफलका लागि सर्वोच्च अदालतले बुधबारका लागि पेसी तोकेको पत्र महानगरपालिकाको कार्यालयलाई मंगलबार बिहान मात्रै प्राप्त भएको मेयर राजेशमान सिंहले बताए। एउटै विषयमा अदालतले आदेश दिइसकेपछि पुनः त्यही प्रकृतिको मुद्दा अदालतमा दर्ता हुनु न्यायिक प्रक्रिया विपरीत रहेको कानुन व्यवसायीहरूको तर्क छ। वीरगन्जका एक कानुन व्यवसायीले भने, ‘फैसला भइसकेको मुद्दामा त्यही अदालतमा फेरि रिट दर्ता नहुनुपर्ने हो। सायद सर्वोच्चले यसअघि गरेको फैसलाबारे त्यहाँका कर्मचारीलाई जानकारी नभएर पुनः त्यही विषयमा रिट दर्ता भएको हुनुपर्छ।’
वीरगन्जको अदालतबाट टुंगो लागेर मुख्य सडक विस्तारको काम सुरु भइसकेको अवस्थामा न्यायिक बहानामा फेरि सडक विस्तारको काम अवरुद्ध पार्न खोज्नु विकास विरोधी काम भएको वीरगन्जका स्थानीय बताउँछन्। वीरगन्ज–११ रानीघाटका रमेश स्वर्णकारले भने, ‘खारेज भइसकेको मुद्दा फेरि हालेर वीरगन्जको विकासलाई ओझेलमा पार्न खोजिएको देखिन्छ।’
वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसियाले वीरगन्जको विकास नरुचाउने केही सीमित व्यक्तिहरूको दबाब र प्रभावमा सडक विस्तारलाई अवरुद्ध पार्न अदालतमा फेरि नयाँ रिट दर्ता भएको हुनसक्ने बताए। उनले भने,‘ १२ वर्षसम्म अल्झाएर राखिएको मेनरोड विस्तारको मुद्दा सर्वोच्चले छिनोफनो लगाइदिएपछि वीरगन्जवासी खुशी भएका थिए। तर अहिले फेरि त्यही विषयमा नयाँ रिट दर्ता हुँदा हामी अचम्ममा परेका छौं।’
२०६९ सालमा तत्कालीन नेपाल सरकारको निर्णय अनुसार सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बाँया दुवै तर्फ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकालेपछि त्यस क्षेत्रमा पर्ने करिब एक हजार २०० सय घरधनीले सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।
लक्ष्मण साह रौनियार समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, सडक डिभिजन कार्यालय हेटौंडा, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगन्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा लगायतलाई विपक्षी बनाएर ७ कात्तिक २०७६ मा रिट दर्ता गराएका थिए। त्यसअघि ११ मंसिर २०७५ मा विक्रम गुरुङले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित १० वटा सरकारी कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
त्यसपछि पनि मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने सडक विभागको निर्णय खारेजीको माग गर्दै त्यस घरधनीहरूले सर्वोच्च अदालतमा २०७६ कात्तिक ७ गते रिट हालेका थिए। उक्त रिटमा सरकारको निर्णय खारेज हुनु पर्ने, यदि सडक विस्तार गरिएको खण्डमा त्यसको मुआब्जा पाउनुपर्ने, वीरगन्जमा अन्य वैकल्पिक सडक निर्माण भएकाले मेनरोड विस्तारको आवश्यकता नै नरहेको र सरकारले त्रिभुवन राजपथको एलाइमेन्ट परिवर्तन गरेर परवानीपुरदेखि आइसिपीसम्मको ६ लेनको व्यापारिक राजमार्गलाई त्रिभुवन राजपथ कायम गर्ने निर्णय गरेको माग दाबी गरिएको थियो।
तर सर्वोच्चले उक्त मुद्दाको पटक पटक पेसी सारेर टुंगो नलगाइ दिएका कारण १२ वर्षदेखि वीरगन्जको सडक विस्तारको काम सुरु नहुँदै रोकिएको थियो। उक्त मुद्दाको २७ औं पटकको पेसी गत फागुन २७ गते परेको थियो। तर उक्त दिन दुवै तर्फको बहस नसकिएका कारण उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा गत फागुन २८ गते भने सरकारको पक्षमा अर्थात सडक विस्तारको पक्षमा फैसला नै आएको थियो।
सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते, २०७१ फागुन २ गते तथा २०७३ पुस १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो।
प्रतिक्रिया दिनुहोस !