ओहो ! मधेसका नदी नै निर्जल
अधिकांश नदीखोला जलवायु परिवर्तन र चुरे दोहनको सिकार भइरहेका छन्। चुरेबाट बग्ने नदीखोलामा पानी नदेखिनु मधेसमात्र होइन, मुलुककै लागि बहसको विषय बन्नुपर्छ।
मधेस अन्नको भकारी हो । चुरे पानीको भण्डार हो । चुरेको पानीबिना मधेसका फाँटमा लहलह धान, गहुँ, मकैलगायतका बाली फल्न सक्दैनन् । त्यसैले मधेसका फाँट र चुरेका जंगलबीच नङ र मासुको जस्तै सम्बन्ध छ । तर पछिल्ला वर्षमा नङ एकातिर मासु अर्कैतिर भएको छ । यसले मधेसमा अहिले खानेपानीको हाहाकार छ । त्यतिमात्र होइन, चुरेबाट बग्ने नदीहरू साउन महिनामा पनि निर्जल बनेका छन् ।
मधेसको खानेपानीको स्रोत नदी, खोला, बोरिङ, चापाकल, कुवामा पानी सुकेको छ । तर टिठलाग्दो दृश्य त यो देखिएको छ कि यी पानीका मुहानका स्रोत नदी नै निर्जल हुन पुग्नु मधेसका लागि संकटको संकेत हो । मधेसमा २० ठूलासाना नदी र खोला छन् । अधिकांश नदीखोला जलवायु परिवर्तन र चुरे दोहनको शिकार भइरहेका छन् । चुरेबाट बग्ने नदीखोलामा पानी नदेखिनु मधेसमात्र होइन, मुलुककै लागि बहसको विषय बन्नुपर्छ । अन्नको भण्डार मधेसलाई पानी नपाउनु एकातिर खाद्य संकटलाई निम्तो हो भने अर्कोतिर मधेस मरुभूमि हुने संकेत हो ।
यतिखेर खडेरीले मधेसमा पानीको हाहाकार भएको छ । यही दृश्यले उब्जाएको बहसले देश तातेको छ । तर, पानीको मूल स्रोत नदी नै सुकेको अवस्था छ र पनि यसको चर्चा खासै भएको पाइँदैन । नदी नै पानीको मुख्य स्रोत हो । यसको संरक्षण भएमात्र इनार, कुवा, बोरिङ आदिमा पानी आउने हो । त्यही पानी नआएर अहिले मधेसमा पानीको हाहाकार छ । त्यसैले नदी कसरी सुक्दैछ र कसरी संरक्षण गर्न सकिन्छ भन्ने बहस यहाँ आवश्यक ठानेको छु ।
यतिखेर खडेरीले मधेसमा पानीको हाहाकार भएको छ । पानीको मूल स्रोत नदी नै सुकेको अवस्था छ ।
नेपाल बनोटको हिसाबले मुख्य रूपमा चारवटा भौगोलिक क्षेत्रहरूबाट तयार भएको पाइन्छ— हिमाल, पहाड, चुरिया र तराई भू–भाग । पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको चुरे सबैभन्दा दक्षिणी भूभाग रहेको पहाड हो । जसमा नदीले बनाएका केही खोचहरू, दुनै उपत्यका (भित्री मधेस) समेत पर्छन् । चुरे पहाड मुख्यत: बलौटे ढुंगा, माटेढुंगा, रसंटिकाले बनेको छ । यी चट्टानहरू पूरै खँदिलो भइनसकेको हुनाले थोरै छुँदा पनि छिट्टै क्षयीकरण हुने अवस्था छ ।
हिउँ पग्लिएर अर्थात् पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ । नदीको अन्तिम गन्तव्य विभिन्न अरू नदीनालासँग मिसिँदै समुद्रसम्म हुन्छ । नेपालमा सानाठूला गरेर झन्डै ६ हजारभन्दा बढी नदीनाला छन् । चुरे गुरुयोजनाअनुसार नेपालमा नदीको उद्गमको हिसाबले उच्च हिमाल र हिमालबाट २७ वटा नदीमध्ये पहाडबाट ७६ वटा चुरेबाट ४८ वटा र तराई मधेसबाट १३ वटा नदी निस्केका छन् । यसबाहेक कतिपय तराई मधेसबाट सानो खोल्सी वा धाराहरू निस्केका छन् र पानी पनि वर्षैभरि रहन्छ ।
नेपालका नदीहरूबाट विद्युत् उत्पादन गर्न सकिन्छ भने जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नदीहरूलाई उपयोग गर्न सकिन्छ । तर अहिले चुरेबाट निस्कने नदीहरू सुकेका छन् । अहिलेसम्मको तथ्यांकअनुसार तराई–मधेसमा पानीको तह टाढिँदै (तल) गएको देखिन्छ भने नदीको सतह माथि उठिरहेको छ । चुरे, तराई–मधेसमा संरक्षण तथा बाढीपहिरो तथा डुबान र कटानको समस्या बढ्दै गएको छ भने तराई–मधेसमा जलको सतह घटदै (तल) गइरहेको छ ।
२० वर्षअगाडि ५० देखि ८० फिटमा पाउन पानी अहिले ठाउँअनुसार २ सयदेखि ५ सय फिट तलसम्म खन्नुपर्छ । गर्मीयाममा अधिकांश ट्युबवेल, इनार, पोखरी र ताल आदि सुक्ने गरेका छन् । यो समस्या पहिले चुरेमुनि भावरको क्षेत्रमा मात्र थियो तर अहिले दक्षिणतर्फ क्यान्सर झैं सर्दै मधेसमा पनि देखिन थालेको छ । भविष्यमा नेपालको सिमाना पारी भारतमा पनि भू–जल अभावको समस्या देखिनेछ । यसको समाधान भएन भने अन्यत्र पनि पानीको अभाव बढ्दै जानेछ ।
नदी निर्जलको मुख्य कारण : प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाह नदीमा नहुनु नदी सुक्खा हुनु वा निर्जल हुनु हो । नदीको स्रोत हिमाल, पहाड र चुरे स्रोत भएको पानीको तह जमिनमुनि फरकफरक गहिराइमा फरक मात्रामा पानी रहने गरी अवस्थित हुन्छन् । जमिनमुनि यी पानीको लेयरको लम्बाइ र गहिराइ फरक हुन्छ । कम सतह भएको एउटै लेयरबाट धेरै पानी तान्यो र रिचार्ज भएन भने यो लेयर सुक्छ । नदी र जमिन निर्जल हुने कारणहरू यस प्रकार छन् :
१. जलवायु परिवर्तन र वर्षा अभाव
नदीहरूको प्रमुख जलस्रोत वर्षा नै हो । यदि कुनै क्षेत्रमा लामो समयसम्म वर्षा नहुने हो वा वर्षा असामान्य रूपमा घट्ने हो भने नदीमा पनि पानी घट्न थाल्छ । यसैगरी,
— विश्व तापमान बढ्नाले प्राकृतिक जलचक्रमा परिवर्तन हुन्छ ।
— जसले गर्दा वर्षाको ढाँचामा परिवर्तन हुन्छ ।
— उच्च तापमानले वाष्पीकरण बढ्छ र खडेरी पनि बढ्छ ।
— जलवायु परिवर्तनका कारण मनसुन प्रणाली कमजोर हुने वर्षा पनि कम हुने हुन्छ । साथै वर्षामा अनियमितता भएर समयमा जल पुनर्भरण नहुने हुन्छ ।
२. हिमालको हिउँ पग्लनमा कमी
— हिमनदी र हिउँबाट पग्लिएको पानीले पनि नदीमा बहाव ल्याउँछ, तर अहिले हिमालमा हिउँ नै अत्यन्त न्यून हुन्छ ।
— लवायु परिवर्तनले गर्दा हिउँ पग्लने चक्र असन्तुलित हुँदा पानीको आपूर्ति घट्छ ।
— लामो समय हिउँ नपग्लँदा नदी सुक्खा देखिन्छ ।
३. वन विनाश
जंगलहरूले पानी भिजाउने, माटो सम्हाल्ने र पानी भूमिगत भण्डारणमा सहयोग गर्छन् :
— वन विनाश हुँदा भू–जल पुनर्भरण घट्छ ।
— जमिन सुक्खा हुँदा नदी सुक्खा देखिन्छ ।
— बाढी आउँछ तर पछि सुक्खा हुने प्रवृत्ति बढ्छ ।
४. जलस्रोतको अत्यधिक दोहन
नदीको मुहानबाट वा जलस्रोतबाट अत्यधिक पानी प्रयोग गर्दा नदी निर्जल हुन्छ :
— सिँचाइका लागि पानी तान्दा पनि नदी निर्जल हुन्छ ।
— उद्योग र खानेपानीका लागि अत्यधिक प्रयोग हुँदा पनि निर्जल हुन्छ ।
— ताल, पोखरी, खोला, मुहानबाट पानी दोहन हुन्छ ।
५. बालुवा, गिट्टी उत्खनन
— नदीबाट अत्यधिक बालुवा, गिट्टी निकाल्दा नदीको बहाव कमजोर हुन्छ ।
— पानी सोसिने क्षेत्र कम हुन्छ ।
— नदी नालीकरण भई पानीको स्रोत कमजोर हुन्छ ।
— नदीको सतह बढेर पानी नअडिनु र शोषण कार्य कम हुन्छ ।
६. भूमिगत जलस्तरको गिरावट
— भू–जलस्तर घट्दा नदीसँग सम्बन्धित भूमिगत जलस्रोत सुक्छ ।
— इनार, बोरिङ, पम्पसेटबाट अत्यधिक भू–जल तान्दा भू—जल नजिक रहेका नदीहरू पनि निर्जल हुन्छन् ।
नदी निर्जल कुनै एकमात्र कारणले हँुदैन । माथिका धेरै कारणहरू सँगसँगै क्रियाशील पनि हुन्छ । यदि यी समस्यालाई समयमा समाधान नगर्ने हो भने भूमिगत जलस्रोत सुक्ने, खानेपानीको अभाव हुने, कृषि क्षेत्र प्रभावित हुने, जैविक विविधतामा ह्रास आउने र सामाजिक तथा आर्थिक संकट बढ्दै जाने हुन्छ ।
नदीलाई निर्जल हुनबाट जोगाउने उपायहरू
— चुरेको भू–आवरण कायम राख्न बाँस, अम्रिसो र अन्य उपयुक्त रोपण गर्ने साथै अन्य पानी शोषण गर्ने उपाय खोज्नुपर्छ ।
— चुरेमा बाटो र सडक संरचना बनाउँदै नबनाउने, बनाइहाले वातावरणमैत्री नदी प्रणाली बनाउनु पर्छ ।
— चुरेमा डढेलो र चरिचरन नियन्त्रण गर्नुपर्छ ।
— जमिनको एउटै लेयरबाट धेरै पानी तान्नु हुँदैन । भू–सतहमा रिचार्ज गरेको भन्दा कम पानी खर्च गर्नुपर्छ ।
— चुरे र भावरमा पानी पुनर्भरण हुने उपाय अपनाउनु पर्छ ।
यादव, वन तथा वातावरणविज्ञ हुन् ।
प्रतिक्रिया दिनुहोस !