ओहो  ! मधेसका नदी नै निर्जल

ओहो  ! मधेसका नदी नै निर्जल

अधिकांश नदीखोला जलवायु परिवर्तन र चुरे दोहनको सिकार भइरहेका छन्। चुरेबाट बग्ने नदीखोलामा पानी नदेखिनु मधेसमात्र होइन, मुलुककै लागि बहसको विषय बन्नुपर्छ।

मधेस अन्नको भकारी हो । चुरे पानीको भण्डार हो । चुरेको पानीबिना मधेसका फाँटमा लहलह धान, गहुँ, मकैलगायतका बाली फल्न सक्दैनन् । त्यसैले मधेसका फाँट र चुरेका जंगलबीच नङ र मासुको जस्तै सम्बन्ध छ । तर पछिल्ला वर्षमा नङ एकातिर मासु अर्कैतिर भएको छ । यसले मधेसमा अहिले खानेपानीको हाहाकार छ । त्यतिमात्र होइन, चुरेबाट बग्ने नदीहरू साउन महिनामा पनि निर्जल बनेका छन् ।

मधेसको खानेपानीको स्रोत नदी, खोला, बोरिङ, चापाकल, कुवामा पानी सुकेको छ । तर टिठलाग्दो दृश्य त यो देखिएको छ कि यी पानीका मुहानका स्रोत नदी नै निर्जल हुन पुग्नु मधेसका लागि संकटको संकेत हो । मधेसमा २० ठूलासाना नदी र खोला छन् । अधिकांश नदीखोला जलवायु परिवर्तन र चुरे दोहनको शिकार भइरहेका छन् । चुरेबाट बग्ने नदीखोलामा पानी नदेखिनु मधेसमात्र होइन, मुलुककै लागि बहसको विषय बन्नुपर्छ । अन्नको भण्डार मधेसलाई पानी नपाउनु एकातिर खाद्य संकटलाई निम्तो हो भने अर्कोतिर मधेस मरुभूमि हुने संकेत हो ।

यतिखेर खडेरीले मधेसमा पानीको हाहाकार भएको छ । यही दृश्यले उब्जाएको बहसले देश तातेको छ । तर, पानीको मूल स्रोत नदी नै सुकेको अवस्था छ र पनि यसको चर्चा खासै भएको पाइँदैन । नदी नै पानीको मुख्य स्रोत हो । यसको संरक्षण भएमात्र इनार, कुवा, बोरिङ आदिमा पानी आउने हो । त्यही पानी नआएर अहिले मधेसमा पानीको हाहाकार छ । त्यसैले नदी कसरी सुक्दैछ र कसरी संरक्षण गर्न सकिन्छ भन्ने बहस यहाँ आवश्यक ठानेको छु ।

यतिखेर खडेरीले मधेसमा पानीको हाहाकार भएको छ । पानीको मूल स्रोत नदी नै सुकेको अवस्था छ ।

नेपाल बनोटको हिसाबले मुख्य रूपमा चारवटा भौगोलिक क्षेत्रहरूबाट तयार भएको पाइन्छ— हिमाल, पहाड, चुरिया र तराई भू–भाग । पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको चुरे सबैभन्दा दक्षिणी भूभाग रहेको पहाड हो । जसमा नदीले बनाएका केही खोचहरू, दुनै उपत्यका (भित्री मधेस) समेत पर्छन् । चुरे पहाड मुख्यत:  बलौटे ढुंगा, माटेढुंगा, रसंटिकाले बनेको छ । यी चट्टानहरू पूरै खँदिलो भइनसकेको हुनाले थोरै छुँदा पनि छिट्टै क्षयीकरण हुने अवस्था छ ।

हिउँ पग्लिएर अर्थात् पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ । नदीको अन्तिम गन्तव्य विभिन्न अरू नदीनालासँग मिसिँदै समुद्रसम्म हुन्छ । नेपालमा सानाठूला गरेर झन्डै ६ हजारभन्दा बढी नदीनाला छन् । चुरे गुरुयोजनाअनुसार नेपालमा नदीको उद्गमको हिसाबले उच्च हिमाल र हिमालबाट २७ वटा नदीमध्ये पहाडबाट ७६ वटा चुरेबाट ४८ वटा र तराई मधेसबाट १३ वटा नदी निस्केका छन् । यसबाहेक कतिपय तराई मधेसबाट सानो खोल्सी वा धाराहरू निस्केका छन् र पानी पनि वर्षैभरि रहन्छ ।

नेपालका नदीहरूबाट विद्युत् उत्पादन गर्न सकिन्छ भने जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नदीहरूलाई उपयोग गर्न सकिन्छ । तर अहिले चुरेबाट निस्कने नदीहरू सुकेका छन् । अहिलेसम्मको तथ्यांकअनुसार तराई–मधेसमा पानीको तह टाढिँदै (तल) गएको देखिन्छ भने नदीको सतह माथि उठिरहेको छ । चुरे, तराई–मधेसमा संरक्षण तथा बाढीपहिरो तथा डुबान र कटानको समस्या बढ्दै गएको छ भने तराई–मधेसमा जलको सतह घटदै (तल) गइरहेको छ ।

२० वर्षअगाडि ५० देखि ८० फिटमा पाउन पानी अहिले ठाउँअनुसार २ सयदेखि ५ सय फिट तलसम्म खन्नुपर्छ । गर्मीयाममा अधिकांश ट्युबवेल, इनार, पोखरी र ताल आदि सुक्ने गरेका छन् । यो समस्या पहिले चुरेमुनि भावरको क्षेत्रमा मात्र थियो तर अहिले दक्षिणतर्फ क्यान्सर झैं सर्दै मधेसमा पनि देखिन थालेको छ । भविष्यमा नेपालको सिमाना पारी भारतमा पनि भू–जल अभावको समस्या देखिनेछ । यसको समाधान भएन भने अन्यत्र पनि पानीको अभाव बढ्दै जानेछ ।

नदी निर्जलको मुख्य कारण :  प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाह नदीमा नहुनु नदी सुक्खा हुनु वा निर्जल हुनु हो । नदीको स्रोत हिमाल, पहाड र चुरे स्रोत भएको पानीको तह जमिनमुनि फरकफरक गहिराइमा फरक मात्रामा पानी रहने गरी अवस्थित हुन्छन् । जमिनमुनि यी पानीको लेयरको लम्बाइ र गहिराइ फरक हुन्छ । कम सतह भएको एउटै लेयरबाट धेरै पानी तान्यो र रिचार्ज भएन भने यो लेयर सुक्छ । नदी र जमिन निर्जल हुने कारणहरू यस प्रकार छन् : 

१. जलवायु परिवर्तन र वर्षा अभाव
नदीहरूको प्रमुख जलस्रोत वर्षा नै हो । यदि कुनै क्षेत्रमा लामो समयसम्म वर्षा नहुने हो वा वर्षा असामान्य रूपमा घट्ने हो भने नदीमा पनि पानी घट्न थाल्छ । यसैगरी,
—    विश्व तापमान बढ्नाले प्राकृतिक जलचक्रमा परिवर्तन हुन्छ ।
—    जसले गर्दा वर्षाको ढाँचामा परिवर्तन हुन्छ ।
—    उच्च तापमानले वाष्पीकरण बढ्छ र खडेरी पनि बढ्छ ।
—    जलवायु परिवर्तनका कारण मनसुन प्रणाली कमजोर हुने वर्षा पनि कम हुने हुन्छ । साथै वर्षामा अनियमितता भएर समयमा जल पुनर्भरण नहुने हुन्छ ।
२. हिमालको हिउँ पग्लनमा कमी
—    हिमनदी र हिउँबाट पग्लिएको पानीले पनि नदीमा बहाव ल्याउँछ, तर अहिले हिमालमा हिउँ नै अत्यन्त न्यून हुन्छ ।
—    लवायु परिवर्तनले गर्दा हिउँ पग्लने चक्र असन्तुलित हुँदा पानीको आपूर्ति घट्छ ।
—    लामो समय हिउँ नपग्लँदा नदी सुक्खा देखिन्छ ।
३. वन विनाश 
जंगलहरूले पानी भिजाउने, माटो सम्हाल्ने र पानी भूमिगत भण्डारणमा सहयोग गर्छन् : 
—    वन विनाश हुँदा भू–जल पुनर्भरण घट्छ ।
—    जमिन सुक्खा हुँदा नदी सुक्खा देखिन्छ ।
—    बाढी आउँछ तर पछि सुक्खा हुने प्रवृत्ति बढ्छ ।
४. जलस्रोतको अत्यधिक दोहन
नदीको मुहानबाट वा जलस्रोतबाट अत्यधिक पानी प्रयोग गर्दा नदी निर्जल हुन्छ : 
—    सिँचाइका लागि पानी तान्दा पनि नदी निर्जल हुन्छ ।
—    उद्योग र खानेपानीका लागि अत्यधिक प्रयोग हुँदा पनि निर्जल हुन्छ ।
—    ताल, पोखरी, खोला, मुहानबाट पानी दोहन हुन्छ ।
५. बालुवा, गिट्टी उत्खनन 
—    नदीबाट अत्यधिक बालुवा, गिट्टी निकाल्दा नदीको बहाव कमजोर हुन्छ ।
—    पानी सोसिने क्षेत्र कम हुन्छ ।
—    नदी नालीकरण भई पानीको स्रोत कमजोर हुन्छ ।
—    नदीको सतह बढेर पानी नअडिनु र शोषण कार्य कम हुन्छ ।
६. भूमिगत जलस्तरको गिरावट 
—    भू–जलस्तर घट्दा नदीसँग सम्बन्धित भूमिगत जलस्रोत सुक्छ ।
—    इनार, बोरिङ, पम्पसेटबाट अत्यधिक भू–जल तान्दा भू—जल नजिक रहेका नदीहरू पनि निर्जल हुन्छन् ।

नदी निर्जल कुनै एकमात्र कारणले हँुदैन । माथिका धेरै कारणहरू सँगसँगै क्रियाशील पनि हुन्छ । यदि यी समस्यालाई समयमा समाधान नगर्ने हो भने भूमिगत जलस्रोत सुक्ने, खानेपानीको अभाव हुने, कृषि क्षेत्र प्रभावित हुने, जैविक विविधतामा ह्रास आउने र सामाजिक तथा आर्थिक संकट बढ्दै जाने हुन्छ ।
नदीलाई निर्जल हुनबाट जोगाउने उपायहरू
—    चुरेको भू–आवरण कायम राख्न बाँस, अम्रिसो र अन्य उपयुक्त रोपण गर्ने साथै अन्य पानी शोषण गर्ने उपाय खोज्नुपर्छ ।
—    चुरेमा बाटो र सडक संरचना बनाउँदै नबनाउने, बनाइहाले वातावरणमैत्री नदी प्रणाली बनाउनु पर्छ ।
—    चुरेमा डढेलो र चरिचरन नियन्त्रण गर्नुपर्छ ।
—    जमिनको एउटै लेयरबाट धेरै पानी तान्नु हुँदैन । भू–सतहमा रिचार्ज गरेको भन्दा कम पानी खर्च गर्नुपर्छ ।
—    चुरे र भावरमा पानी पुनर्भरण हुने उपाय अपनाउनु पर्छ ।
यादव, वन तथा वातावरणविज्ञ हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.