रोनाल्डोले साउदीको बसाइँ लम्ब्याए
रियाद : पछिल्लो पुस्ताका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरसँग दुई वर्षको सम्झौता गरेका छन्। अल–नासर छाडेर रोनाल्डो अन्य क्लबमा जाने चर्चा चलिरहेका बेला पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डो अल–नासरसँगको सम्झौता बढाउन सहमत भएका हुन्।
४० वर्षीय रोनाल्डोको सम्झौता जुन अन्तिममा सकिँदैछ। रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एक नयाँ अध्यायको सुरुवात भएको बताएका छन्। ‘एक नयाँ अध्यायको सुरुवात भयो। उही जोश, उही सपना। आयौं मिलेर इतिहास बनाऔं’, उनले स्टाटसमा लेखेका छन्।
रोनाल्डोले थप दुई वर्ष अल–नासरमै रहन सहमति जनाइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार संस्थाले जनाएका थिए। बीबीसीले केही दिनभित्रै अल–नासरले रोनाल्डोसँग थप दुई वर्षका लागि नयाँ सम्झौता गर्ने भएको जनाएको थियो। साउदी अरेबियाको बसाइँ लम्ब्याउन अल–नासर र रोनाल्डोबीच सहमति भइसकेको दाबी पनि समाचारमा गरिएको थियो। यस्तै युरो विक्लि न्युज, जीबीएन, एबीपी, स्काई स्पोर्ट्स, गोलडटकमलगायत विभिन्न सञ्चार माध्यमले पनि रोनाल्डो अल–नासरमै रहन सहमत भएको समाचार प्रकाशित गरेका थिए।
केही समयअघि रोनाल्डो सामाजिक सञ्जालमा ‘अर्को अध्याय समाप्त भयो’ स्टाटस लेखेका थिए। सोही स्टाटसलाई लिएर उनले अल–नासर छाड्न लागेको अनुमान गरिएको थियो। रोनाल्डो फिफा क्लब विश्वकप खेलिरहेका टोलीमा आबद्ध हुने आशंका पनि गरिएको थियो। रोनाल्डो आवद्ध अल–नासर विश्वकपमा छनोट नभएपछि रोनाल्डोले क्लब विश्वकपमा सहभागी क्लबमध्ये केहीबाट आफूलाई प्रस्ताव आएको स्वीकारेका थिए।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस महारथि रियल म्याड्रिड र इटालियन सिरिए क्लब युभेन्ट्सबाट समेत व्यावसायिक फुटबल खेलिसकेका रोनाल्डोले केही समयअघि पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए। अल–नासरको बसाइँ लम्ब्याउन सहमति जनाएसँगै अर्को वर्ष हुने विश्वकपमा पनि रोनाल्डोलाई देख्न सकिने बताइएको छ।
रोनाल्डो सन् २०२३ मा अल–नासरमा आवद्ध भएका थिए। उनले अल–नासरबाट एक सय ११ खेल खेल्दै ९९ गोल गरिसकेका छन्। यस सिजन मात्रै उनले अल–नासरबाट ३० खेल खेल्दै २५ गोल गरेका छन्। ४० वर्षीय रोनाल्डो एक हजार अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्ने अभियानमा छन्। उनले अहिलेसम्म नौ सय ३८ गोल गरिसकेका छन्। पछिल्लो २२ वर्षको अवधिमा उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड (दुई कार्यकाल), रियल म्याड्रिड, युभेन्ट्स, अल–नासर र पोर्चुगलको जर्सीबाट सो उपलब्धि हासिल गरेका हुन्। सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा उनलाई अर्जेन्टिनाका लियोनल मेसीले पछ्याइरहेका छन्।
पछिल्लो समय अमेरिकाको मेजर लिग सकर क्लब इन्टार मायमीमा आवद्ध मेसीले आठ सय ६६ गोल गरेका छन्। उनले सन् २००४ देखि अहिलेसम्म यो उपलब्धि हासिल गरेका हुन्। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सात सय ६२ गोलका साथ पेले तेस्रो स्थानमा छन्। यस्तै सात सय ५६ गोलका साथ रोमारिया चौथो स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस !