गुरुको हौसलाले मोडिएको बाटो
काठमाडौं : सन् २०१४ मा चीनको नानजिङमा युथ ओलम्पिक गेम्सको तयारी जोडतोडले चल्दै थियो । त्यही प्रतियोगिताका लागि नेपालमा पनि खेलाडी छनोटदेखि प्रशिक्षणको काम तीव्र रुपमा भइरहेको थियो । नानजिङ युथ ओलम्पिक गेम्सका लागि नेपाल तेक्वान्दो संघले काठमाडौंमा खेलाडी छनोट गरेको थियो । त्यो प्रतियोगितामा अस्मिता खड्का पनि सहभागी भएकी थिइन् ।
राष्ट्रिय प्रतियोगितामा राम्रो सफलता हासिल गरेकी उनी छनोट भएर नानजिङ युथ ओलम्पिक खेल्नेमा आशावादी थिइन् । तर, छनोट प्रतियोगितामा उनले नसोचेको नतिजा आयो । एक महिना अघि आफैँले हराएको खेलाडीसँग उनी फाइनलमा पराजित भइन् ।
त्यो हारले अस्मिता निरास मात्रै भइनन्, अब सबै सक्कियो भन्ने अवस्थामा पुगिन् । उनको मनमा विभिन्न कुरा खेले । ‘अब तेक्वान्दो नै खेल्दिनँ’ भनेरसम्म सोचिन । त्यो पराजयलाई स्वीकार्न उनलाई निकै गाह्रो भयो । ‘एक महिना अगाडि हराएको खेलाडीसँग किन हारें’ भनेर सोचिरहन्थिन् । प्रशिक्षणमा पनि उनले मन लगाउन छाडिन । आफ्नो होनहार खेलाडीको यो अवस्था देखेपछि प्रशिक्षक नोर्बु लामाले उनलाई सम्झाए ।
‘एउटा हारले केही फरक पर्दैन । हारबाट शिक्षा लिएर जित्नुपर्छ’ भनेर हौसला दिए । गुरुको त्यही हौसला र प्रेरणालाई शिरोधार्य गरेर अस्मिता अगाडि बढिन् र सफलता पनि हात पार्न सफल भइन । ‘त्यतिबेला म विक्षिप्त बनेको थिएँ । अब सबै सकियो भन्ने परेको थियो । त्यो हारलाई स्वीकार्न धेरै समय लाग्यो’, अस्मिता भन्छिन्, ‘गुरुले हौसला नदिनु भएको भए सायद खेलकुदबाट टाढा भइसकेको हुन्थें ।’
संयोगले खेलाडी
अस्मिताको परिवार काठमाडौंको कलंकीमा बस्थ्यो । उनी बस्ने घर वरपर हरेक दिन सेता पोसाक लगाएका व्यक्तिहरू ओहोरदोहोर गरिरहन्थे । घर बाहिर मात्रै होइन, उनी बसेकै घरका धेरै जना सेतो पोसाक लगाएर आउजाउ गरिरहन्थे । उनको बालसुलभ दिमागमा त्यो के गरेको होला भन्ने पर्यो । उनले त्यसबारे सोधखोज पनि गरिन् । उनीहरू तेक्वान्दो खेलाडी भएको थाहा पाइन् ।
अझ रोचक त के भने तेक्वान्दो प्रशिक्षक नोर्बु लामा पनि त्यही घरमा बस्ने रहेछन् । नोर्बु कलंकीकै स्टेयान्डर्ड को–एड स्कुलमा पनि तेक्वान्दो सिकाउँथे । त्यसैले अस्मिताले स्कुलमै तेक्वान्दो खेल्ने निर्णय गरिन् । स्कुलमा दुई दिन मात्रै ट्रेनिङ हुन्थ्यो । अस्मिता निकै मेहनती थिइन् । उनको मेहनतलाई नजिकबाट नियालेका नोर्बुले उनलाई स्युचाटार डोजाङमा बोलाए । त्यपछि उनको प्रशिक्षण नियमित हुन थाल्यो । अस्मिताले छोटो समयमै प्रगति गरिन् । त्यही क्रममा उनले २०६९ मा कोरियन एम्बेस्डर तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गरिन् ।
यस प्रतियोगितामा स्वर्ण पदक जितेपछि अस्मिता चर्चामा आइन् । १५ वर्षको उमेरमै राष्ट्रिय टोलीमा आबद्ध हुने मौका पनि पाइन् । राष्ट्रिय टोलीमा स्थान बनाएलगत्तै उनी विभागीय टोली एपीएफमा आबद्ध भइन् ।
थुप्रै राष्ट्रिय प्रतियोगितामा सफलता
अस्मिताले बृहत राष्ट्रिय खेलकुदका पछिल्ला तीन वटै संस्करणमा प्रतिस्पर्धा गरेकी छन् । पूर्वाञ्चलमा सन् २०१२ मा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा उनले कांस्य पदक जितिन् । त्यसपछि आठौं र नवौं राष्ट्रिय खेलकुदमा भने रजत पदक जित्न सफल भइन् । यस्तै डोर टु डोर च्याम्पियनसिप, पहिलो लुम्बिनी च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भइन् ।
पहिले उनी ग्योरोगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा गर्थिन । सन् २०१४ देखि ग्योरोगी वा पुम्सेमध्ये एउटा मात्रै रोज्नुपर्ने भएपछि उनले ग्योरोगी विधालाई रोजिन । अस्मिताले पहिलो महिला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, आठौं कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा रजत, संकटा रनिङ सिल्ड च्याम्पियनसिपमा रजत र ११औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन
अस्मिताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफूलाई अब्बल सावित गरेकी छन् । सन् २०१५ मा मलेसियाको सराबकमा आयोजना भएको सराबक चिफ मिनिस्टर बोर्नियो कपमा स्वर्ण पदक जित्न सफल भइन् । यही प्रतियोगितामा उनले पेयर पुम्सेमा भने रजत पदक जितिन् । यही वर्ष हङकङमा भएको १९औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी उनले सन् २०१७ मा भुटानमा आयोजना भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण, यही वर्ष नेपालमा आयोजना भएको पहिलो महिला च्याम्पियनसिपमा स्वर्ण, भारतमा आयोजना भएको दोस्रो इन्डिया इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, सन् २०१८ मा मलेसियामा भएको मलेसिया ओपन जी–वान च्याम्पियनसिपमा कांस्य, सन् २०१८ मा नेपालमा भएको आईओएफटीसीमा स्वर्ण, सन् २०१८ मै दक्षिण कोरियामा भएको पोहाङ वल्र्ड युर्निभसिटी तेक्वान्दो च्याम्पियनसिपमा दुई रजत पदक जित्न सफल भइन् ।
यसैगरी सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भने उनले कांस्य पदक जितिन् । यस्तै सन् २०१७ मा ताइपेईमा आयोजना भएको २९औं समर युनिभर्सियाड, सन् २०१९ मा इटालीमा भएको ३० औं युनिभर्सियाड, सन् २०१९ मै चीनमा आयोजना भएको रोड एन्ड बेल्ट तेक्वान्दो च्याम्पियनसिप, दक्षिण कोरियामा आयोजना भएको जेजु कोरिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिन् ।
दोस्रो पटक एसियाली खेलकुद खेल्न नपाएपछि प्रशिक्षक र निर्णायक
अस्मिताले लामो समय सक्रिय खेलाडीका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा आफूलाई उभ्याइन् । थुप्रै पदक पनि जितिन् । सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी उनी सन् २०२२ मा चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागी हुने तयारीमा थिइन् । यसका लागि उनले लगातार मेहनत पनि गरेकी थिइन् । तर, उनले एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगिता नै खेल्न पाइनन् ।
हातको शल्यक्रिया गरेका कारण उनी छनोट प्रतियोगिता खेल्नबाट बञ्चित भइन् । त्यसपछि उनले प्रशिक्षकसँगै निर्णायकको भूमिका सुरु गरिन् । उनले सन् २०२४ मा लेभल वान कोचिङ कोर्स गरिन् । त्यसपछि प्रशिक्षणमा व्यस्त भइन् । विभागीय टोली नेपाल एपीएफ क्लबमा आबद्ध अस्मिताले त्यहीको तेक्वान्दो टिम हेर्छिन् । उनले विभिन्न प्रतियोगितामा एपीएफलाई सफलता दिलाउन भूमिका निर्वाह गर्दै आएकी छन् ।
ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक
तेक्वान्दोको पाँचौं डान ब्ल्याकबेल्ट अस्मिता ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनले २०२४ जुनमा मलेसियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेकी थिइन् । यस्तै गत जनवरी १७ देखि २० तारिखमा भारतको पुनेमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गरेकी छन् ।
पहिलो सहभागितामै उत्कृष्ट निर्णायक
अस्मिता चीनमा भएको एसियन आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएकी थिइन् । गत डिसेम्बर २८ देखि ३० तारिखसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालबाट अस्मिता मात्रै निर्णायकमा सहभागी भएकी थिइन् ।
विभिन्न सम्मानबाट पुरस्कृत
अस्मिताले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडीबाट पनि पुरस्कृत भएकी छन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पहिलो लुम्बिनी कपमा उत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै राखेप च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी बनेकी थिइन् । सन् २०१८ मा उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षको उत्कृष्ट खेलाडीबाट पनि सम्मानित गरेको थियो । यस्तै यूयूएनटीएफबाट पनि वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाइन् ।
खेलाडी हराउने प्रवृत्ति बढेकोमा चिन्ता
अस्मिता पछिल्लो समय खेलाडी २/४ वर्षमै हराउने गरेकोमा भने चिन्ता व्यक्त गर्छिन् । ‘हामीले खेल्दा यति वर्षसम्म खेल्छु भन्ने केही थिएन । जति वर्ष भए पनि खेलमै केन्द्रित हुन्थ्यौं । तर, अहिले २/४ वर्षमै खेलाडी हराउने समस्या बढेको छ’, अस्मिता भन्छिन्, ‘यसले गर्दा न खेलकुदको विकास हुन्छ न त खेलाडीकै । ती खेलाडीमा राज्यले गरेको लगानी त्यसै खेर गइरहेको छ ।’
उनी अहिलेका खेलाडीमा अनुशासनको पनि कमी देख्छिन् । ‘अनुशासन खेलाडीको गहना हो । अनुशासनबिना राम्रो खेलाडी बन्न सकिँदैन । तर, दुःखको कुरा अहिलेका खेलाडीमा अनुशासनको कमी छ । अहिलेका खेलाडीहरू कुनै बन्धनमा बाँधिनै चाहदैनन्’, उनी भन्छिन् ।
प्रतिक्रिया दिनुहोस !