युवा रोक्ने चुनौती

युवा रोक्ने चुनौती

युवा वर्ग कुनै पनि देशको खम्बा हुन । भोलिको देश हाँक्ने हात आजका युवाले हो । तर, विडम्बना, स्वदेशमै रोजगारीको अवसर दिने शिक्षा प्रणाली नै छ न त अन्य कुनै रोजगारीको विकल्प नै छ । 

अहिले युवा पिँढी जन्मथलोमा बस्नै रुचाउँदैनन् । गाउँहरू रित्तिँदै छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका गतिविधि अघि बढे पनि बसाँइसराइ रोकिएको छैन । कसैलाई गाह्रो परिहाल्यो भने पनि नजिकको अस्पतालसम्म लैजाने युवा पनि पाइँदैन ।  गाउँको शिक्षा र स्वास्थ सेवा गुणस्तरीय हुँदैनन् भनेर गाउँलेहरू सहर र सहरदेखि विस्तारै विदेशतिर लम्कँदैछन् । 

युवालाई स्वरोजगार बनाउने, निर्यात बढाउने र आयात घटाउने नीति तथा कार्यक्रमको साटो हाम्रो नेतृत्व सीधै युवा मस्तिष्क निर्यात गरेर बसेको अवस्था छ । युवाको पसिनाको मूल्यमा भित्रिने रेमिट्यान्स गनेर बसिरहेको छ  । युवालाई बाहिर धपाएर रेमिट्यान्सको भरमा देश चलाउँदा आफ्नो सत्तामाथि प्रश्न नउठ्ने या उठिहाले पनि दबाउन सजिलो हुने महसुस राजनीतिक शीर्ष नेतृत्वले गरिरहेका छन् । यो नै आजको सबैभन्दा लाजमर्दो र दुःखद यथार्थ हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार विभागको अनुसार गएको फागुन महिनामा मात्र श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ४ सय ४६ पुगेको छ । यसरी नियाल्दा एकै महिनामा ४० हजारभन्दा बढी युवा देश छोडिरहेका छन् । जुन प्रतिवेदन सरकारकै हो ।  तर पनि सरकार मौन बसिरहेको छ । दैनिक हजारौं युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको माटो छोडेर विदेशको मरुभूमि टेक्न बाध्य भइरहँदा सरकार मूकदर्शक बनिरहेको छ । वैदेशिक रोजगारका लागि बिदेसिने युवाले आफ्नो ज्यान नै दाउमा लगाइरहेका छन्  । रोजगारीका लागि बिदेसिने युवा पाइलैपिच्छे शोषणमा भइरहेका छन्  । दलालदेखि सरकारी हाकिमसम्मले तिनलाई निचोर्नुसम्म निचोरिसकेका हुन्छन्  । 

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारे पनि गति लिन सकेको छैन । यो वर्ष ६० हजार बेरोजगारलाई समेट्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा कार्यक्रममार्फत काम पाउनेको संख्या २६ सय पनि पुग्न सकेको छैन । कार्यक्रम सुरु भएकै वर्षदेखि आलोचित बन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम असफलताको बाटोमा छ । उद्यमशील बन्ने चाहना राखेका युवाहरूलाई सरकारले जमिन उपलब्ध गराउनुका साथै सहुलियतपूर्ण ब्याजदरमा कर्जासमेत उपलब्ध गराउनु पर्छ  । त्यतिमात्र होइन, करमा पनि विशेष छुट दिनुपर्छ । तर विडम्बना, संघीय कृषि ऐन पारितसमेत हुन सकेको छैन । 

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्न, लगानीमैत्री वातावरण बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारी बढाउँदै राजस्व संकलन गर्न सरकार चुकेको छ । नेपालको संविधान, २०७२ को धारा ३३ मा रोजगारसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ भने धारा ३४ मा श्रमसम्बन्धी हक उल्लेख गरिएको छ । नेपाली युवाले छाड्नुको मुख्य कारण भनेको राम्रो रोजगारी र आर्थिक स्थायित्वको खोजी नै हो  । स्वदेशभित्र काम नहुनु, भए पनि नातावाद, कृपावादले गर्दा आफ्नो क्षमता र योग्यताको कदर नहुनु, वृत्ति विकासका अवसर निकै कम हुनुजस्ता कारणले गर्दा पनि नेपाली युवा विदेश पलायन भइरहेका छन्  । 

पछिल्लो समय १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू देशमा उच्च शिक्षा हासिल गर्नेभन्दा विदेश पलयान हुने सपना बुन्न थालेका छन् । पालैपालो देश छोड्ने दौडमा देखिन्छन् । विदेशमा पढ्दै कमाउने वातावरणप्रति लोभिएका छन् । नलोभिऊन् पनि कसरी ?     यहाँ बसेर पढाइ नै सकेर बस्दा पनि जागिर मिल्ने हो कि हैन भनेर टुंगो हुँदैन । मिलिहाले पनि आफूले पढाइमा लगानी गरेको आर्थिक नै उठाउन धौ धौ पर्छ । 

बलियो अर्थतन्त्र र थप रोजगारीका अवसर भएका मुलुकमा जाँदा स्थिर रोजगारी खोज्ने र उच्च आयआर्जन गर्ने सम्भावना हुन्छ  । राम्रो भविष्यको आकांक्षाले उनीहरूलाई विदेशी भूमिमा अवसर खोज्न प्रेरित गरिरहेको छ । 

युवालाई देशको माटोमा अड्याउन, रोजगारीका अवसरहरू सिर्जना गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ । यसमा प्रविधि, नवीकरणीय ऊर्जा र पर्यटनजस्ता क्षेत्रहरूलाई प्रवद्र्धन गर्नुपर्छ । आन्तरिक रूपमा आकर्षक रोजगारीका अवसरहरू सिर्जना गरेर आफ्नो आप्रवासन समस्यालाई सम्बोधन गर्नुपर्छ । दिगो राष्ट्रिय विकासका लागि युवाहरूलाई स्वदेशमा बसेर काम गर्ने वातावरण बनाउनु पर्छ । युवाहरूका लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्न सरकारी र निजी क्षेत्रहरूले प्रविधि, नवीकरणीय ऊर्जा, पर्यटन र स्वास्थ्य सेवाजस्ता उदीयमान क्षेत्रहरूमा रोजगारी सिर्जनामा ​​ध्यान केन्द्रित गर्नुपर्छ । सार्वजनिक–निजी साझेदारीको सहजीकरण र पूर्वाधार विकासले लाखौं रोजगारी सिर्जना गर्न सक्छ । नीतिगत स्तरमा सरकारले बेरोजगारीलाई सम्बोधन गर्न महŒवपूर्ण भूमिका खेल्नुपर्छ । रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्ने, साना तथा मझौला उद्यमहरूलाई समर्थन गर्ने र शिक्षित व्यक्तिहरूलाई काममा लगाउन उद्योगहरूलाई प्रोत्साहन गर्ने नीतिहरू कार्यान्वयन गर्दा बेरोजगारीको बोझ कम गर्न मद्दत पुग्छ । 

सानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरूमध्ये घरेलु तथा साना उद्योग सम्भावना रहेको क्षेत्र हुन सक्छ । यस्ता कतिपय क्षेत्रमा लगानीपश्चात् बजारीकरण समस्याको रूपमा रहेको पनि पाइन्छ । यस्तै अवस्थामा बजारीकरणको ग्यारेन्टी गर्न सक्ने संस्था वा कम्पनी स्थापना हुनुपर्ने आवश्यकता समेत देखिएको छ । 

नेपालमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने खाँचो छ । पढेलेखेका युवाले गाउँमै कृषि गर्छुभन्दा ‘तिमीजस्तो पढेलेखेको मान्छेले नि खेती गरेर हुन्छ ? बरु विदेश जाऊ न भनेर अर्तीबुद्धि दिने धेरै भेटिन्छन्   । गाउँमै केही गर्छु भन्नेलाई न उल्टो हतोत्साहित गरिन्छ । भाँडा नै माझे पनि विदेश जानेलाई सम्मानको नजरले हेर्ने हाम्रो समाजले स्वदेशमै कृषि गर्छु या कुनै उद्यम गर्छु भनेर लागिपर्ने युवालाई हेयको नजरले हेर्छ  । 

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएन भनेर गुनासो गर्नु भन्दा शैक्षिक स्तरको गुणस्तर बढाउन आवश्यक देखिन्छ । सीपमा आधारित शैक्षिक प्रणालीको व्यवस्था गर्नुपर्छ । उद्यमशीलताको संस्कृतिलाई बढावा दिएर, शिक्षालाई उद्योगको आवश्यकतासँग मिलाएर, सहयोगी नीतिहरू लागू गरेर, शिक्षित बेरोजगारीको समस्यालाई समाधान गर्न सकिन्छ । स्वदेशमै बस्ने मार्गप्रशस्त गर्न सकिन्छ । अन्त्यमा सरकारी नीति, नियम र कानुन निर्माणमा अधिकतम युवा प्रतिनिधित्वको आवश्यकता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.