रौतहटमा गाँजा र हतियारसहित युवक पक्राउ
रौतहट : रौतहट प्रहरीले ठूलो मात्रामा गाँजा र हातहतियारसहित युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुल पश्चिमको केरा बगैँचाबाट प्रहरीले गौर नगरपालिका–४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गिरीको साथबाट करिब १ क्विन्टल ९ किलोग्राम गाँजा, ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, तीन राउण्ड गोली र रियल मी कम्पनीको स्क्रिनटच मोबाइल फोन बरामद गरिएको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले भने, ‘पक्राउ परेका व्यक्तिविरुद्ध लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत रौतहटमा अभियोग दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।’
प्रहरीका अनुसार पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति भने घटनास्थलबाट फरार भएका छन्। उनीहरूलाई पहिचान गरी पक्राउ गर्न व्यापक खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ।
नेपाल–भारत सीमा नजिकको रौतहटजस्तो संवेदनशील क्षेत्र हुँदै लागुऔषध तथा हातहतियार तस्करीको जोखिम उच्च रहँदै आएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने खाँचो देखिएको छ।
प्रतिक्रिया दिनुहोस !