रौतहटमा ग्रिल उद्योग र घरमा आगलागी
रौतहट : रौतहटको दुई फरक स्थानमा भएको आगलागीमा १० लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको छ। गर्मी बढेसँगै जिल्लामा आगलागीका घटनाहरू पनि बढ्न थालेका छन्।
गरुडा नगरपालिका–५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार राति करिब ९ बजे आगलागी भएको हो। सुरक्षाकर्मी, स्थानीयबासी र दमकलको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
उद्योगमा रहेको टायर, वेल्डिङ मेसिन, मर्मतका लागि राखिएको ट्याक्टर लगायतका सामान जलेर नष्ट भएका छन्। यद्यपि, आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
यस्तै, इशनाथ नगरपालिका–६ जयनगरमा शेख वसिर अख्तरको पक्की घरको एक कोठामा समेत आगलागी भएको छ। उक्त घटनामा टिभी, पलङ, साइकल लगायतका सामान जलेर नष्ट भएका छन्। घरको कोठामा मात्र आगलागी भएकाले करिब ३८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
यसअघि गत शुक्रबार गरुडा नगरपालिका–४ मा भएको आगलागीमा ७ वटा घर जलेर नष्ट भएको थियो।
प्रतिक्रिया दिनुहोस !