गैरसरकारी संस्थाको बेथिति रोक

गैरसरकारी संस्थाको बेथिति रोक

गैरसरकारी संस्था नेपालको शासकीय संरचनाको एउटा महत्वपूर्ण साझेदार हो । नाफारहित, स्वयंसेवी भावना, विपन्न र पछाडि परेका वर्गको समुत्थान गर्ने उद्देश्यले गैरसरकारी संस्थाहरूको स्थापना हुन्छन् । सरकारी तवरबाट हुन नसकेका कैयौं सामाजिक कार्य यस्तै संस्थाहरूबाट भइरहेका उदाहरण छन् । समाजसेवाको नाममा गैरसरकारी संस्थाहरू सञ्चालन भइरहेका भए पनि कतिपय संस्थामा पारदर्शिता, सुशासन र समावेशिताको अभाव देखिन्छ । सुर्खेतको कोपिला भ्याली सेवा समाजमा देखिएको नातावादको प्रकरणले यसैको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । कोपिला भ्याली बालगृहमा कार्यरत ललिताकुमारी रानाको निष्कासन र पवनकुमारी विकलाई जागिर नदिई प्रबन्ध निर्देशक टोपबहादुर मल्लकी भतिजी चन्द्रिका सिंहलाई प्राथमिकता दिइएको घटनाले संस्थामा व्याप्त नातावाद र पक्षपात उजागर भएको छ । जब कुनै संस्थाले योग्यताभन्दा साइनो सम्बन्धलाई प्रमुखता दिन्छ, तब त्यसले संस्थाको नैतिक धरातल खस्काउँदै लैजान्छ ।

समाजसेवाको नाममा सञ्चालित कोपिला भ्याली सेवा समाजले गरिब, असहाय र विपन्न वर्गका लागि काम गर्ने दाबी गर्छ । तर, संस्थाका महत्वपूर्ण पदमा मल्ल परिवारका ४४ सदस्य कार्यरत हुनु आफैंमा नातावादको ज्वलन्त उदाहरण हो । यस्तो संस्थामा बाहिरी योग्य उम्मेदवारलाई अवसर नदिई आफ्ना परिवारजनलाई मात्र रोजगारी प्रदान गरिनु समाजसेवा होइन, निजी जागिर केन्द्र बनाउनु हो । यस घटनाले नेपालको गैरसरकारी क्षेत्रको सुशासनप्रति पनि गम्भीर प्रश्न उठाएको छ । विदेशी सहयोग प्राप्त संस्थाहरूमा यस्तो बेथिति हुनु दुःखद् पक्ष हो । यो केवल एउटा संस्थामा सीमित विषय होइन, नेपालका धेरै गैरसरकारी संस्थामा यस्तै समस्या व्याप्त छ । यी संस्थाहरूले पारदर्शिता कायम नगर्ने हो भने समाजमा उनीहरूप्रति विश्वास घट्दै जानेछ । गैरसरकारी संस्थाहरूको क्रियाकलापलाई मर्यादित, व्यवस्थित, सुशासनयुक्त बनाउन सामाजिक संघसंस्थाको आचारसंहिता २०६२ जारी भए पनि उलंघनको अनुमगन प्रभावकारी हुन सकेको छैन । युएसएआईडीको क्रियाकलाप अपारदर्शी भएको भन्दै अमेरिकाले बजेट कटौती गरेको सन्दर्भ सेलाएको छैन । यस्तै गतिविधिबाट नै सिंगो गैरसरकारी संस्थाप्रतिको विश्वास टुटेको छ ।

नातावाद, कृपावाद र अपारदर्र्शी व्यवस्थापनले कुनै पनि संस्थाको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न सक्दैन । समावेशिता, प्रतिस्पर्धात्मकता र पारदर्शिता कायम नगर्ने हो भने संस्थाहरू आफ्नै बोझले ध्वस्त हुनेछन् । सरकार, नियमनकारी निकाय र दातृसंस्थाहरूले यस्ता संस्थाहरूको कडाइका साथ अनुगमन गर्नुपर्छ । यस घटनाले संस्थागत सुधार र गैरसरकारी क्षेत्रको निगरानी बढाउनु आवश्यक रहेको देखाएको छ । योग्य र सक्षम व्यक्तिलाई अवसर दिने प्रणाली विकास नगरेसम्म यस्ता संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्दैनन् । कोपिला भ्याली सेवा समाज जस्ता संस्थाले आत्मसमीक्षा गर्दै सुशासनको मापदण्ड स्थापित गर्नुपर्छ । अन्यथा, समाजसेवाको खोल ओढेर गरिने यस्ता कृयाकलापले दाताहरूको विश्वास गुम्नेमात्र होइन, वास्तविक लाभार्थीहरू अन्यायमा पर्ने क्रम जारी रहने छ । सरकारले पनि गैरसरकारी संस्थाहरूको कडाइका साथ नियमन गर्नुपर्छ । आर्थिक पारदर्शिता कायम गर्नेगरी नीति तर्जुमा गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.