सर्पदंशको उच्च जोखिम
सर्पले मानिसलाई आफ्नो सिकार ठान्दैन र होइन पनि। न मान्छे सर्पको शत्रु हो, न सर्प मान्छेको। तर हरेक वर्ष सर्पको डसाइले नेपालमा सयौं मानिसको ज्यान जान्छ। सर्पको आक्रमणमा मानिस परिरहन्छ। बर्खा लाग्नु भनेको मानिस सर्पदंशको सिकार हुने मौसम पनि हो। यस्तो किन हुन्छ भने सर्प गर्मी मौसममै हो पृथ्वीको सतहमा निस्कने अनि मानिससँग जम्काभेट हुने।
पृथ्वीमा भएका प्राणीहरूमध्ये सर्प यस्तो दुर्लभ विशेषतासहितको सरिसृप हो, जो ६ महिना सुत्छ र ६ महिना उठ्छ। ६ महिना यो जीव सुषुप्तावस्था (हाइबरनेसन)मा जान्छ। न खाना चाहिन्छ न पानी। सर्प खासमा वनजंगलकै प्राणी हो तर खेतबारी पनि चहार्छ किनभने त्यहाँ पनि उसले आफ्नो आहारा मुसा, भ्यागुतालगायत जीव भेट्छ। कहिलेकाहीँ त मानिसकै घरआँगनतिर पनि आउँछ आहारा खोज्दै। त्यहीबेला मानिस पनि उसको दंशमा पर्छ।
आफूलाई डर अनुभूति गर्दामात्रै सर्पले मानिसलाई डस्छ भन्छन् विज्ञहरू। जसै मानिस खेतबारीको काममा वा वनजंगलमा हुन्छ, सर्पले भयभीत महसुस गरेर डस्छ। यो जीवले डसेको व्यक्तिलाई एक घण्टाभित्रै अस्पताल पुर्याएर उपचार गराउनुपर्छ, एन्टिस्नेक भेनम दिनुपर्छ। नेपालमा पाइने सर्पका ८० प्रजातिमध्ये १९ थरीमात्रै विषालु छन्। तराई मधेसका २६ जिल्लालाई सर्पदंशको उच्च जोखिममा सरकारले राखेको छ। त्यसबाहेक पहाडका कतिपय गर्मी ठाउँ पनि त्यस्तै कोटीमा पर्छ। मुख्यगरी तराईकै बासिन्दा जोखिममा छन्। तर सबै जिल्लामा सर्पदंश उपचार केन्द्र छैन। त्यसमाथि नेपालमा अझैसम्म पनि सर्पदंश उपचारका लागि एन्टिस्नेक भेनम उत्पादन गरिएको छैन। भारतबाटै आयात गर्नुपर्छ। त्यसको प्रभावकारिता पूर्ण छैन। भेनम उत्पादनका लागि सिरहा र सुनसरीमा भएका प्रयत्न साकार बनाउन सरकार छिटो लाग्नुपर्ने हो, त्यो भएको छैन।
सरकारले सर्पदंश उपचारको पहुँच ठाउँठाउँमा र खासगरी जोखिमयुक्त जिल्लामा गर्नु नै पर्छ। एन्टिस्नेक भेनम नेपालमै उत्पादन पनि गर्नुपर्छ नै। त्यसबाहेक नागरिक सचेतना पनि जरुरी छ। सर्प हुने ठाउँतिर हिँडडुल नगर्ने, राति झन् बढी सतर्क हुने र उसलाई खतराको संकेत नदिने काम गर्नुपर्छ। अनि सर्पदंश भइहाले धामीझाँक्रीकहाँ जाने होइन, अस्पताल जाने गर्नुपर्छ। डसाइ भएको ठाउँमा पट्टी वा अरू कुनै रसायन नलगाउने, नचुस्ने गर्नुपर्छ। तत्काल पानी पनि खानु हुन्न।
सबैभन्दा महत्वपूर्ण त बिरामको शरीर थप हलचल नगराई अस्पताल लैजाने काम नै गर्नुपर्छ। नागरिक सचेतना हुँदा नै रोकथाम हुन्छ। त्यसपछिको कर्तव्य भनेको राज्यको हो, जसले सचेतना फैलाउने र उपचारको भरपर्दाे व्यवस्था गर्ने हो। कुनै पनि नागरिकको ज्यान सर्पदंशले जानु हुँदैन। बर्खाको यो मौसम सरकार र नागरिक दुवैले कर्तव्यबोध गर्नुपर्ने बेला हो।
प्रतिक्रिया दिनुहोस !