जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
रौतहट : रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलले जित हासिल गरेको छ।
बुधबार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो। सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत पाए भने अखिल (क्रान्तिकारी)का अजय पटेलले १७० मत प्राप्त गरे।
सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी नेकपा समाजवादी पार्टी (एस) का शुभ श्रेष्ठले २३१ मत ल्याए, जसले अनेरास्ववियुसँग गठबन्धन गरी चुनाव लडेका थिए। अखिल (क्रान्तिकारी) की सुस्मिता घलानले १८७ मत पाइन्।
कोषाध्यक्ष पदमा नेविसंघकै सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत प्राप्त गर्दै जित दर्ता गराइन्। निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २११ मत, भने अखिल (क्रान्तिकारी) की अनिषा चौधरीले १८१ मत पाइन्।
सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राख्दै विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, र सुशील कुमार प्रहरी विजयी भएका छन्।
यस्तै समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ११२९, अनेरास्ववियुले २४१,समाजवादी विद्यार्थी युनियनले ९९ र अखिलले २०२ मत पाएको छ। निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेकोमा १ हजार ६८७ मत खसेको थियो।
यस पटकको निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
प्रतिक्रिया दिनुहोस !