निराशाका बिस्कुनमाथि प्रतिगामी रमिता
अनुहारभरि दाग र वरिपरि अराजक झुन्ड बोकेर खरानी भइसकेको राजतन्त्र फर्काउने कल्पना गर्नु नै बेकार हो।
विपक्षी दल सत्तापक्षविरुद्ध सडकमा ओर्लने चेतावनी दिइरहेका थिए। सत्तापक्ष विपक्षीको ‘खेदो’ खनिरहेको थियो। कोही सरकारलाई ‘ठेगान’ लगाइदिने भन्दै थिए। कोही ‘०८४ मा पत्तासाफ पारिदिने’ धम्कीपूर्ण भाषण गरिरहेका थिए। सत्तापक्ष–प्रतिपक्ष जुहारीमा एकाएक पूर्वराजा ज्ञानेन्द्रको ‘इन्ट्री’ भयो। राजनीतिक मैदानमा नयाँ समीकरण बने। सत्तापक्ष–प्रतिपक्ष एक ठाउँ उभिन थाले, पूर्वराजा ज्ञानेन्द्र विपक्षी जस्ता बने।
०६५ मा संविधानसभाले राजतन्त्रको समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र घोषणा गर्यो। पूर्वराजा ज्ञानेन्द्रलाई नागरिकको दर्जा दियो। आमनागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक अधिकारको प्रयोग गर्न पाउने अधिकार दियो। तर, गणतान्त्रिक व्यवस्थाविरुद्ध पूर्वराजा ज्ञानेन्द्र सुरुदेखि नै षड्यन्त्रमा सक्रिय बने। जनताको बलमा स्थापित व्यवस्था र संविधानविरुद्ध निरन्तर प्रहार गरिरहे। जनताले ठेगान लगाइसकेको राजतन्त्र ब्युँताउन शक्ति केन्द्रदेखि शक्तिपीठ धाइरहे। तर, जनभावना र जनताको तागतसामु उनको केही चलेन। हालै पोखराबाट फर्किने क्रममा राजधानी काठमाडौंमा उनको समर्थनमा केही हजार मान्छे सडकमा ओर्लिए। यसबाट पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरू हौसिएका छन्। अर्कोतिर, पूर्वराजाको समर्थनमा अनपेक्षित प्रदर्शनले परिवर्तनकारी एवं गणतान्त्रिक शक्तिहरू भने झस्केका छन्। चुनौती महसुस गरेका छन्। त्यसैकारण पूर्वराजा ज्ञानेन्द्रविरुद्ध परिवर्तनकारी दल, तिनका नेता र समर्थकहरू विरोधमा उत्रन थालेका छन्।
हुन त, पूर्वराजा ज्ञानेन्द्र लोकप्रिय भएर वा भविष्य द्रष्टा भएका कारण उनका पछि मान्छेहरू दौडिएको कदापी होइन। किनभने, राजतन्त्रको विगत जनताले यतिछिट्टै बिर्सेका छैनन्। न त ज्ञानेन्द्रको छवि राम्रो छ, न त राजतन्त्र पुनस्र्थापना हुँदैमा देशमा कायापलट भइहाल्छ भन्ने जनतामा विश्वास छ। यो त, गणतन्त्रका शासकहरूप्रति सडकमा पोखिएको असन्तुष्टि मात्रै हो। किनभने, जोसँग जनताको अपेक्षा छ, त्यो पूरा नभए उसैसँग बढ्ता रिसाउने मानवीय स्वभावै हो। जनआन्दोलन–२ को प्रार्दुभावदेखि संविधान निर्माणसम्म जनतामा जे–जे बाचा गरेका थिए, दलहरू बिर्सँदै गए।
देशमा सुशासन, विकास र समृद्धि भएन। त्यसैकारण एउटा कुरा सत्य हो– मुलुकमा मास फ्रस्टेसन छ। जनतामा उकुसमुकुस छ। दल र नेताप्रति आकर्षण घट्दै गएको छ। युवामा चरम असन्तुष्टि छ। त्यसैकारण चरम निराशा र आक्रोशले सधैं सही निर्णय लिन्छ भन्ने हुँदैन। गणतन्त्र पक्षधरले पूर्वराजातिर मात्रै औंला ठड्याउनु भनेको ‘कार्पेटमुनि फोहोर’ लुकाउनु जस्तै हो। अर्थात्, पूर्वराजा ज्ञानेन्द्रलाई ‘होचो देखाएर आफू अग्लो’ भएको दाबी गर्दैमा जनताले पत्याउने अवस्था छैन। त्यसैले पूर्वराजा ज्ञानेन्द्रको पछि मान्छे किन लागे ? भनेर गालीले गरेर मात्रै समाधान निस्कँदैन। मुख्य विषय हो–यति छिट्टै मान्छे किन उनको पछि दौडिए त ? यो प्रश्नको उत्तर खोज्ने बेला आइसकेको छ।
जनताका असन्तुष्टि र आक्रोशको बेलैमा सम्बोधन गर्नुपर्ने जरुरी छ। देश र हालका यी नेताबाट केही हुँदैन भन्ने चरम निरासा चिर्नुपर्ने खाँचो छ। आशाका नयाँ किरण जगाउन नसके परिस्थिति भड्काउवादी र प्रतिगामीको पोल्टामा नजाला पनि भन्न सकिन्न।
मिसन ०८४ भन्नेले मिसन ८१ किन भन्न नसकेको ? सत्तााको डाडु र पुन्यु त अहिले पनि कांग्रेस–एमालेकै हातमा छ नि ! विकास र समृद्घिको फल चाख्नका लागि जनतालाई अरू दुई वर्ष किन कुराउनुपर्यो। आजैबाट सुरुवात गरे हुन्न ? कि, ०८४ मा जादुको छडी हातमा हुने हो र ? जादुगरले जस्तै ‘फू’ गर्दैमा ०८४ मा रातारात देशमा विकास र समृद्घिको चमत्कार हुने हो ?
मुलुकमा गणतन्त्र स्थापनाको १६ वर्ष र संविधान निर्माणको झन्डै १० वर्ष पुग्न थाल्यो। राजनीति र अभिव्यक्ति स्वतन्त्रतासहित आफ्ना अधिकारबारे जनतामा सचेतना बढ्यो। तर, सार्वजनिक सेवा सर्वसुलभ र सहज भएन। शक्ति र सत्ताको जाँतोमा सर्वसाधारण पेलिनुपर्यो। तिथि र विधि बसेन। संघीयताले घर दैलोमै सरकार पुर्यायो। तर, एउटा राजाको ठाउँमा च्याउसरी छोटे राजाहरूको ‘पुनर्जन्म’ भयो। उनीहरूले जनताको सेवाभन्दा राजतन्त्रकालीन संस्कार, शैली र दम्भ राखे। देश र जनताका माग–आवश्यक्ताभन्दा आफ्ना सेवा सुविधामा जोड दिए। संविधानले समानुपातिक समावेशी सिद्धान्तको व्यवस्था गर्यो, तर नेताहरूले अवसरमा आफ्नैलाई मात्रै महत्व दिए। विकास निर्माणका योजनामा आफ्नै हात जगन्नाथ गरे। त्यसैकारण विकासले जनतालाई छोएन।
जनताका अपेक्षा एकातिर, दलका प्राथमिकता अर्कै
जनताका अपेक्षा एकातिर, दलहरूका एजेन्डा अर्कै भए। जनता विकास र समृद्धि चाहन्छन, दलहरू भन्छन्– ‘मिसन ०८४।’ देशलाई सुशासन चाहिएको छ– आर्थिक लेनदेनबिना नागरिकताको खोस्टो पनि पाउन कठिन हुँदै छ। युवालाई स्वदेशमै रोजगारी चाहिएको छ– सरकार वैदेशिक रोजगारका गन्तव्यको खोजीमा हिँड्छ। उद्यमी–व्यवसायी लगानीको वातावरण चाहियो भन्छन्– सरकार व्यवसायीलाई आतंकित पार्नेलाई टुलुटुल हेरिबस्छ।
संविधानले निःशुल्क स्वास्थ्य भन्छ, सरकार स्वास्थ्य बिमा बन्द गर्छ। अनि, सरकारी दस्तावेज र नेताको भाषणमा मात्रै विकास र समृद्धि भएर हुन्छ ? विकास र समृद्धिले त जनताको अवस्थामा परिवर्तन ल्याउन सक्नुपर्यो। जनताले प्रत्यक्ष महसुस गर्न सक्नुपर्यो। भ्रष्टाचार वा गडबडी गर्ने जो कोही कानुनी कठघरामा उभ्याउनुपर्यो। जनताको समर्थन, विश्वास र भरोसाले मात्रै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बलियो बन्ने निश्चित छ।
अर्कोतिर, मिसन ०८४ भन्नेले मिसन ०८१ किन भन्न नसकेको ? सत्ताको डाडु र पुन्यु त अहिले पनि कांग्रेस– एमालेकै हातमा छ नि ! विकास र समृद्धिको फल चाख्नका लागि जनतालाई अरू दुई वर्ष किन कुराउनुपर्यो। आजैबाट सुरुवात गरे हुन्न ? कि, ०८४ मा जादुको छडी हातमा हुने हो ? जादुगरले जस्तै ‘फू’ गर्दैमा ०८४ मा रातारात देशमा विकास र समृद्धिको चमत्कार हुने हो ? होइन भने, जनताको अपेक्षा विपरितको सुगा रटाइको अर्थ छैन। बरु, मिसन ०८१ भन्दै सत्तापक्ष, प्रतिपक्ष अर्थात् परिवर्तन पक्षधर शक्तिहरू एक ठाउँ बसेर एक दिन भए पनि ठण्डा दिमागले देश र जनताका पक्षमा गम्भीर बहस गर्नुपर्यो।
देशको अर्थतन्त्रमा देखिएको ज्वरोको औषधि खोज्ने, विकास र समृद्धिको रेखा कोर्ने, युवालाई स्वदेशमै रोक्ने र देशलाई गति दिनेमा गम्भीर विमर्श गर्नुपर्ने आवश्यक्ता छ। देशले गति लिने र आर्थिक समृद्धि हँुंदै जाने हो भने दलहरूले भन्नै पर्दैन, जनता आफैंले मिसन ०८४ भन्ने छन्। त्यसो भयो भने प्रतिगामीहरू टाउको उठाउनै पाउँदैनन्।
पूर्वराजाको मनशान्ति
२४० वर्षीय वंश शासन अन्त्य हुँदाको पीडा पूर्वराजा ज्ञानेन्द्रलाई हुने नै भयो। त्यसैकारण, उनी गणतन्त्र घोषणादेखि नै ‘गंगा उल्टो बग्ने’ सपना पालेर बसेका छन्। तर, यो उनको दिवास्वपना मात्रै हो। आजको विज्ञान र प्रविधिको युग र जिएनजी पुस्ताले जन्मजात कसैलाई शासक स्वीकार्छ भन्ने कल्पना गर्नु नै मुर्खता हो। किनभने, न पूर्वराजा ज्ञानेन्द्रको विगत राम्रो छ, न त उनको छवि नै राम्रो छ।
अनुहारभरि दाग र वरिपरि अराजक झुन्ड बोकेर खरानी भइसकेको राजतन्त्र फर्काउने कल्पना गर्नु नै बेकार हो। देशमा अराजकता र अशान्ति फैलाउन खोज्ने भीडले केवल पूर्वराजा ज्ञानेन्द्रलाई विवादमा मात्रै पार्ने छ। जनताका मुख थुनेर, प्रेसका कलमका निभ भाँचेर, प्रश्न गर्नेलाई जेल हालेर शासन गर्ने ज्ञानेन्द्रको शैलीलाई जनताले उहिल्यै थाङनामा सुताइसकेका छन्।
मनको लड्डु घिउसँग खान खोजेर फल प्राप्ति हुन सक्दैन। किनभने, गणतन्त्रको विकल्प अझ परिस्कृत र समुन्नत गणतन्त्र मात्रै हो, वंश शासन हुनै सक्दैन। तर, जनताको निराशामा प्रतिगामीहरूको नाच रोक्न परिवर्तनकारी दलहरू सच्चिनैपर्छ। नत्र, प्रतिगामीहरूलाई थप खेल्न मैदान तयार हुन्छ। सरकार र दलले छोड्दै गएका एजेन्डामा टेकेर प्रतिगामीले जनतामा भ्रम फिजाउने छन्। र, भ्रमले जनआन्दोलन र संविधानका उपलब्धिलाई चुनौती दिइरहने छन्।
प्रतिक्रिया दिनुहोस !