बाढीले घर लग्यो, जाडोले ज्यानै लेला जस्तो भयो

बाढीले घर लग्यो, जाडोले ज्यानै लेला जस्तो भयो

काठमाडौं : असोज १२ को नाम सुन्नेबित्तिकै ददिरामको मनमा पहिरो जान्छ। दुःख सुख गरेर बनाएको तीन तले घर चरंगे खोलाले एकैपटक लगिदिएपछि उनी घरवारविहीन छन्। खेती गर्ने जमिन पनि खोलाले लगिदियो। चिसो मौसम सुरु भयो। के गरी बाँच्ने होला भन्ने चिन्तामा रहेका ददिरामसँगको कुराकानी : 

तपाईंको नाम ? 

ददिराम न्यौपाने।

घर ? 

घर त खोलाले बगाइ सक्यो। बरु, ठेगाना सोध्नुस्, नमोबुद्ध नगरपालिका वडा नम्बर—६ चरंगे फेदी, काभ्रेपलाञ्चोक। मेरो घर यहीँ थियो। हामी त्यहीँ घरमा बस्थ्यौं। 

कति उमेर भयो हजुरको ? 

८४ वर्ष। बुढेसकाल लाग्यो।

यो घर कसको ? 

(खोलामा पल्टेको घर देखाउँदै) अँ, मेरो घर त्यही हो। ९ जनाको परिवार छ। दुई छोरा, नातिनी, श्रीमती छन्। 

यो कुन खोला हो ? 

चरंगे खोला।

यत्रो ठूलो घर बाढीले कसरी बगायो ? 

असोज १२ गते बिहान साढे ६ बजे खोलामा बाढी आयो। बगाएर लग्यो। जीवनमा मैले यत्रो ठूलो बाढी देखेकै थिइन्। त्यस्तो रिसाएर आएको थियो, चरंगे खोला। एकै छिनमा सबै ध्वस्त पारिहाल्यो नि ! 

रोशी खोेला कता पर्छ ? 

उ, तल पर्छ (दक्षिणतिर)। चौकीडाँडामा पुगेपछि चरंगे खोला रोशीमा मिसिन्छ।

कति तले घर थियो तपाईंको ? 

तीन तल्ले।

nullज्यान कसरी बचाउनुभयो ? 

बाढीले घर नबगाउँदै निस्किएर पाखा लाग्यौं। गाईवस्तु लग्यौं। तर, घर खोलाले लग्यो। 

कतिको क्षति भयो ? 

अँ, कति पैसा, कति पैसा ? १ करोड बढीको घर, खेत सबै बगायो। सबै खत्तम भयो नि !

जग्गा जमिन पनि थियो ? 

थियो नि, दुई रोपनी खेत थियो। जम्मै खत्तम भयो। बाढीले घर खेत सबै खायो नि ! 

खेत कता थियो ? 

घरको यता पनि थियो, उता पनि थियो। (खोलामा पल्टेको घर वरिपरि नजर डुलाउँदै)

खेतमा के लगाउनु हुन्थ्यो ? 

जे लगायो, त्यही फल्थ्यो। धान लगायो धानै फल्ने। मकै छरे मकै फल्ने। गहुँ छरे गहुँ नै फल्ने।

कति धान फल्थ्यो ? 

छोडिदिनुस्, कति फल्थ्यो, फल्थ्यो नि, (दुःखित हुँदै)

अहिले तपाईंको बसोबास कहाँ छ ? 

बाटो(बीपी राजमार्ग) को माथि डाँडामा बसेका छौं, अर्काको घरमा। दुई कोठा भाडामा लिएर। सबै सन्तान त्यहीँ छन्।

घरमा केही व्यापार पनि थियो कि ? 

थिएन, थिएन। पसलससल त केही थिएन, हाम्रो। 

कसरी परिवार चल्थ्यो ? 

दुईटा छोरा छन्। एउटा छोरा दूध डेरीको काम गर्ने। अर्को खेती गर्ने । दुःखसुखम परिवार चल्थ्यो।

यत्रो बाढी के कारणले आयो होला ? 

आयो नि ! असोज १२ गते। यही दिन बाढीको भेल गएको होइन् ? (हो)। त्यही भेलमा हामी परेका छौं। बहुलाएको बाढी आउनु पछाडि थुप्रै कारण छन्।

अहिलेको जत्रै ठाउँमा खोला थियो ? 

थिएन, खोला परैबाट बग्थ्यो। खोल्सो जत्रै थियो। क्रसरले खोलो थुन्दाको नतिजा हो यो सबै।

वरिपरिका पहाडमा चिरैचिरा छन त ? 

जम्मै पहिरो गएर यस्तो भयो। मास्तिर क्रसर छ, तलतिर पनि क्रसर सञ्चालनमा छन्। सबै खोस्रेर माटो लग्यो। पानी पर्दा पहाडै बगेर खोलोमा झर्‍यो, फेरि पनि झर्दै छ।

क्रसरले खोलामा क्षति पुर्‍याएको हो र ? 

त्यही पापी क्रसर र क्रसरवालाहरूले गर्दा त हाम्रो यस्तो अवस्था आयो। सर्वस्व गुम्यो।

के गर्‍यो त्यसले ? 

गर्नु गर्‍यो नि ! के के गरेन भन्नु न बरु। क्रसरले जम्मै खोलामा ओइर्‍याएको होइन् र बालुवाको धुलो। त्यही धुलोले खोलो थुन्यो। उताबाट बाढी आयो। उल्का भइगो नि ! 

कति घर बगायो खोलाले ? 

यी, यतापट्टी पनि घर थियो (छिमेकीको घरबारी देखाउँदै)। त्यो पनि बगायो। तल तिर रोशीले कति बगायो, बगायो, छोडदिन्स्। त्यो सरकारले हिसाब राख्छ। हामीसंग मेरो हिसाब मात्रै छ। सरकारमा बस्नेलाई त्यो सोध्नु।

क्रसरवालाहरूले बदमासी गर्दासरकार, प्रहरी प्रशासनले कारबाही गरेन र ? 

खै ? के गर्नु। सरकारले हेर्‍या, नहेर्‍या हामीलाई के थाहा। म जान्दिन, बुढो मान्छे।

क्रसरवालाले गिट्टी, बालुवा खनेर कहाँ लान्छन् ? 

खै ? कहाँ लान्छन्, लान्छन्। हामीलाई बिचल्लीमा पारि हाले। खाने, बस्ने, सुत्ने सबै बाढीले लगिहाल्यो। मागेर बसेको छु, कसैले १०, २०, २००, ४०० सय रुपैयाँ दिन्छन, त्यसैबाट पेट चल्छ। पहिला खेत थियो। छोराहरू व्यापार गर्थे। त्यहीबाट आम्दानी हुन्थ्यो। बस्थ्यौं, खान्थ्यौं। आनन्द थियो। शान्ति थियो। नारायण, नारायण ! अब त केही छैन, सप्पै बाढीले लगिहाल्यो।

तपाईँ पहिले के काम गर्नुहुन्थ्यो ? 

भैंसीको व्यापार गर्थें। अहिले छोडिदिए। के कुरा गरौं। १५ वर्ष पहिले नै भैंसीको व्यापार गर्न छोडिदिए।

किन ? 

भैंसी बिक्न छोडे। जर्सी गाई पाल्ने बढे। गाईको दूध धेरै आउने, भैंसीको थोरै, त्यही भएर भैंसी बिक्न छोडे। 

गाईको दूधले बजार पाउँछ ? 

पाउँछ। त्यस्तै एक फ्याटको २० रुपैयाँ दिन्छ। एक लिटरमा चार फ्याट, पाँच फ्याट आइहाल्छ। अब आफै हिसाब गर्नु लिटरको कति पर्छ ? 

गाईभन्दा भैंसीको दूध राम्रो होइन र ? 

भैंसीले चार माना बिहान, चार माना बेलुका दूध दिन्छ। अनि के भैंसी बिक्री हुनु ? अहिलेका कोही, कोही गाई त थाक्दै, थाक्दैनन्। पहिला वस्तुभाउ धेरै पाल्थे। मल आफ्नै बारीमा हुन्थ्यो। खेतीमा लहलह बाली हुर्केन्थे। अब त पशुपालन गर्ने क्रम नै घट्यो। 

पशुपालन छोडदा के के असर परे त ? 

खेतमा पनि के, के जाती मल हाले, माटै बिग्रियो नि, भन्या। केटा (युवापुस्ता)सब विदेश भाग्छन्। त्यहाँ पनि उस्तै काम गछर्न। खै किन, आफ्नै बारीमा मन नलागेको उनीहरूको ? 

कहाँबाट भैंसी किनेर ल्याउनुहुन्थ्यो ? 

अ, पूर्वतिरबाट। मधेसको गाउँ, गाउँ चहारेर। पहाड चढाएर भैंसी बिक्री गर्थे।

भैंसीको दाम कति पथ्र्यो त्यो बेला ? 

छोडदनुस्, पहिला त हामीले ४० रुपैयाँमा भैंसी किनेर ल्याउँथ्यौं। भाउ बढ्दा बढ्दै भैंसीको मोल १ लाख भयो। बिक्न छोडे। अनि व्यापारै छोडिदिए।

घरबारी कसरी जोड्नु भयो ? 

त्यही भैंसी व्यापारबाट। छोराहरूले डेरी चलाएर सहयोग गरे। त्यहीँबाट पहिला टायल घर बनाए। पछि पक्की घरको बिम्ब हाल्दै नयाँ घर बनाए। साढे तीन तलाको। घर त ठूलै थियो। खोलामा पल्टेको घर हेर्दा आँसु खस्छ। अब रोएर के गर्नु ? फर्केर आउनेवाला छैन। उठाएर पनि सार्न मिल्दैन। अब छोराहरू के गर्छन् उनीहरू नै जानुन्।

घरनजिकै बाटो छ। गाडी कति गुडेका है ? 

यो बाटो उहिले ०४५ सालमा खुल्यो।

अनि के भो ? 

बाटो खुलेपछि विकास आयो। के हुनु, ओहोरदोहर गर्न सजिलो भयो। दिनमै पहाडबाट मधेस, मधेसबाट पहाड गर्न भ्याउने भइयो। उहीले त हप्तै लाग्थ्यो नि ! कम्ता दुःख थियो भन्या।

बाटोले जिन्दगीमा परिवर्तन ल्यायो ? 

नयाँ परिवर्तन केही ल्याएन। आफुसित छ भने खान पाइन्छ। आफूसित खान छैन भने बाटोले खान्न दिन्न क्यारे।

यो ठाउँमा कहिलेदेखि बस्न थाल्नुभयो ? 

हामी ०१२ सालदेखि बसिरहेका छौं। मास्तिर (माथितिर) एउटा गोठ बनाएर बसेका थियौ। जहान भयो। अनि टायल घर बनाइयो। अनि, परिवार बढ्दै जाँदा पक्की घर बनायौं। घर बनाएको एकै वर्षमा त बाढीले लिएर गयो। अहिले फेरि गोठमै बस्ने अवस्था आयो।

घरको बीमा गर्नुभएको थियो ? 

अहँ, छैन।

घर बगाएपछि राहत पाउनुभयो ? 

अँ, के राहत दिन्थे। एक बोरा ३० किलोको चामल दिए। अरू थोक छैन। त्यस्तो राहत त नपाएकै जाति। नाम मात्रैको, राहत के काम ? 

अहिले कसरी परिवार चलाइरहनुभएको छ त ? छोराहरूले गरिरहेका छन्। यता उताबाट (काम गरेर)।

बाढीले घर बगाउनुभन्दा पहिले सरसमान निकाल्न भ्याउनुभएको थियो ? 

अलिअली ओढ्ने, ओछ्याउने निकाल्यौ। अरू केही निकाल्न पाइएन। जग्गा, घर, अन्न, धान जम्मै बगायो, उही असोज १२ को बाढीले।

घरमा धान—मकै थियो होला नि ? 

घरको भकारीमा थियो नि, हेर्नुस् १०—१२ मुरी धान–मकै थियो। बारीमा धान झुलेको थियो। भिœयाउने बेला भइसकेको थियो। सबै बगायो। जम्मै चरंगे खोलाले खायो। 

जीवनमा कहिले यत्रो बाढी देख्नुभएको थियो ? 

थिएन, यस्तो बाढी यहाँ कहिले आएको थिएन। ८४ वर्षको भए। यस्तो बाढी मेरो आँखाले कहिले देखेको थिएन। यसपालि त रातिदेखि नै पानी ओइरियो। मसिनो पानी परेर पहाड भिजेको थियो। ठूलो पानी पर्दा जम्मैतिर पहिरो चल्यो। अनि खोला थुनियो। बस्ती, सडक, खेत सबै बगायो। क्षति त कति हो कति।

०७२ को भूकम्पले दुःख दिएको थियो ? 

अँ, त्यस बेला त केही भएको थिएन ।

बाढीबाट यत्रो नोक्सानी भयो, दोषी को ? 

दैव। अरू कसले गर्न सक्नु।

सरकारसँग केही आशा ? 

सरकारले, खै कसरी गर्छ ? मलाई थाहा छैन। मलाई कुनै कुराको थाहा छैन। मलाई दिए खाने, नदिए चुप बस्ने हो। उमेर गएका मान्छेले के गर्न सक्नु ? 

पीडितका लागि के गरिदिए हुन्थ्यो भन्ने लाग्छ होला नि ? 

सरकारसँग यति भन्नु छ, हाम्रो नौ जनाको परिवार कसरी बाँच्छ, चल्छ होला ? हेरिदिनुपर्‍यो। बाढीले खेतबारी र बास बगायो। घर छैन। के गर्ने ? अब त जाडोले ज्यानै जालाजस्तो भयो। जे हुनुथियो, त्यो त भइगयो। अब सरकारले छिट्टै जग्गा दिनु पर्‍यो। घर बनाइदिनु पर्‍यो। खेति गर्न खेत दिनुपर्‍यो। 

अन्तमा ? 

मलाई मात्रै होइन् सरकारले सबै पीडितहरूलाई हेर्नुपर्छ, प्राण बचाउनुपर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.