मौद्रिक नीतिले पनि बढाउन सकेन लगानीकर्ताको मनोबल
काठमाडौं : मौद्रिक नीतिको पर्खाइमा रहेका सेयर लगानीकर्ता निराश भएका छन्। नेपाल राष्ट्र बैंकले बजेटलाई सहयोग पुग्ने खालको मौद्रिक नीति भनेर ल्याए पनि लगानीकर्ताको मनोबल भने बढाउन सकेन। उनीहरू झनै हत्तोसाही भएको सेयर बजारको कारोबारले देखाएको छ।
बजेट घोषणादेखि घट्न थालेको सेयर बजार असारको चौथो साताको मौद्रिक नीतिपछि झनै ओेरालो लागेको छ। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दिन बढ्यो भने ४ दिन घट्यो। अघिल्लो साता भने सेयर बजार २ दिन बढेर ३ दिन घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६५३.४० अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से २६.२९ अंकले घटेर २६२३.११ विन्दुमा झ¥यो। त्यसको भोलिपल्ट मंगलबार मौद्रिक नीति आउने दिन नेप्से उच्च अंकले बढ्यो। त्यसदिन २४.५७ अंकले बढेको थियो। त्यसपछिका तीनै दिन नेप्से घट्यो। बुधबार नेप्से ३०.०९ अंक र बिहीबार १९.६७ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार पनि १.१३ अंकले घटेर नेप्से २६००.७८ विन्दुमा आइपुगेको छ।
सातामा चार दिनको कारोबारमा ७७.१८ अंकले घट्दा र एक दिनको कारोबारमा २४.५७ अंकले बढ्दा नेप्से ५२.६१ अंकले घट्न पुग्यो। अघिल्लो साता भने नेप्से ३.९० अंकले बढेको थियो। यस सातामा शुक्रबार न्यून विन्दु २५९२.६७ मा र सोमबार उच्च विन्दु २६६१.४६ अंकसम्म मात्रै नेप्से बढेर सेयर कारोबार भयो।
- सातामा सेयर कारोबार ५ दिनै भएकोमा नेप्से १ दिन बढ्यो भने ४ दिन घट्यो। साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से २६००.७८ अंकमा झरेको छ।
- साताभरमा नेप्से ५२.६१ अंकले घट्दा कुल सेयर बजार पुँजीकरणमा ९० अर्ब ४१ करोडले घट्न पुग्यो।
- अघिल्लो साता औसतमा दैनिक ३ अर्ब ८३ लाख बराबरको सेयर किनबेच भएकोमा यस साता ४ अर्ब ८५ लाखको सेयर खरिदबिक्रीमा हुन पुग्यो।
साताकै सबैभन्दा कम मंगलबार ३ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा शुक्रबार साताकै सबैभन्दा बढी ३ सय ६७ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ६५ स्क्रिप्टहरूको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सोमबार ३ अर्ब ५५ करोड ७९ लाख र सबैभन्दा बढी शुक्रबार ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरिमा ५ दिनको कारोबारमा २४ अर्ब २५ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ४ अर्ब ८५ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ३ अर्ब ८३ लाख रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार २६ प्रतिशतभन्दा बढिले बढेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब १० प्रतिशल बढेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४४ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ५२.६१ अंकले घट््दा कुल बजार पुँजीकरण ९० अर्ब ४१ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण २४ अर्ब ४० करोड रुपैयाँले बढेको थियो।
यस साता एक–एक दिन स्नो रिभर, सानिगढ हाइड्रोपावर र कालिंगा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। अघिल्लो साता भने पाँचै दिन स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। बिहीबार उपकार लघुवित्र वित्तीय संस्थाको १२.६८ प्रतिशत र शुक्रबार आत्मनिर्भर लघुवित्तको १०.६६ प्रतिशले सेयर बढेको थियो भने बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१ प्रतिशतले घटेको थियो। सेयर बजारमा सूचीकृत १३ उपसमूह, यस साता सबै घटे। अघिल्लो साता भने ६ बढेर ७ उपसमूह घटेका थिए। त्यस साता बैंकिङ, फाइनान्स, ट्रेडिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स र हाइड्रोपावरको उपसमूह बढेका थिए।
यस साता सेन्सेटिभ इन्डेक्स ६.२१ अंक, फ्लोट इन्डेक्स ३.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३० अंकले घटे। अघिल्लो साता भने सेन्सेटिभ इन्डेक्स २.१३ अंक, फ्लोट इन्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले बढेका थिए।
मातृभूमि लघुवित्तले हकप्रद सेयर निष्काशन गर्ने
मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनपश्चात् शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। उक्त प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले एफपीओ निष्काशन गर्ने, सोपश्चात् कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्नेलगायत कार्य अगाडि बढाउन साधारणसभाले निर्णय गर्ने जनाइएको छ। साधारणसभाका लागि लघुवित्तले असार २३ गते एक दिन बुकक्लोज गरिसकेको छ।
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन ३० गतेसम्म
प्राइम कमर्सियल बैंकले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ। बैंकको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा असार ३० गतेसम्म आवेदन दिन सकिने भएको हो।
नेप्सेका सीईओेको राजीनामा स्वीकृत
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सोमबार राजीनामा बुझाएका थिए। उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन्। उनको राजीनामा स्वीकृत भएको छ।
पुँजी बजार सुधार गर्न बोर्डले थाल्यो पहल
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको मनोबल बढाउन पहल सुरु गरेको छ। सेबोनले छिझै ‘पुँजी बजार विकास मार्गचित्र’ ल्याउने भएको हो।
बोर्डले बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीलगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन कार्य सुरु गरेको हो। धितोपत्र व्यवसायीलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन गर्नसमेत बोर्डले निर्देशन दिएको छ।
बोर्डले बजारको नियमन व्यवस्थालाई अझ व्यवस्थित र पारदर्शी बनाउँदै लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिएको जनाएको छ। सेबोनले ‘मार्गचित्र’ मार्फत सेयर बजारमाा सुधार ल्याउने अपेक्षा गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !