काठमाडौं : यतिबेला पानीका स्रोतहरू दूषित मात्र होइन, हैजा निम्त्याउने जीवाणुको कारक बनेका छन्। शुद्धीकरण गरेको वा उमालेको पानी नपिउने हो भने जो कोहीलाई हैजा संक्रमण हुन सक्छ। विज्ञहरू भन्छन्, ‘हैजा संक्रमणलाई हेलचेक्र्याइँ नगरौं। ज्यानैसमेत जान सक्छ।’
हैजा अति संक्रामक र शीघ्र फैलिने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। हाल ललितपुर, काठमाडौं र कैलालीमा हैजा संक्रमितहरू पुष्टि भएको सरकारी स्वास्थ्य संस्थाहरूले जनाएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले ललितपुर, गोदावरी र धनगढी, पशुपति टोलमा गरी १३ जना व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको जनाएको छ। पशुपति टोलमा भण्डारण गरिएको पानी दूषित भएको पाइएको छ। ललितपुर र काठमाडौंमा हैजा कसरी संक्रमण भयो अध्ययन भइरहेको इडिसिडीले जनाएको छ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाका अनुसार, काठमाडौं, कालीमाटी क्षेत्रका एक जनामा कल्चर गर्दा हैजा संक्रमण पुष्टि भएको छ। अन्य दुई जनामा द्रुत परीक्षण (¥यापिड डायग्नोस्टिक टेस्ट) गर्दा हैजाको संक्रमण पाइएको छ। ‘हैजा संक्रमण कसरी हुन पुग्यो ? अध्ययन गर्दै छौं,’ डा. सापकोटाले भने।
अहिले एक दर्जन बढी हैजा संक्रमितहरू अस्पतालमा उपचाररत छन्। समयमै उपचार गरेकाले स्वास्थ्य अवस्था सामान्य छ। ‘कडा जलवियोजन भएमा ज्यान जान सक्छ। विगतका वर्षहरूमा हैजा संक्रमणले ज्यान गएका धेरै केसहरू छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘हैजालाई कम नआकौं।’
हैजा संक्रमण भएको केही घण्टा पछि पाँच दिनसम्ममा लक्षणहरू देखिन सक्छन्। हैजाका सुुरुवाती लक्षणहरू पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। त्यस्तै संक्रमणले गम्भीर अवस्थामा पु¥याउँदा संक्रमितको आँखा गडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने हुन सक्छ।
लक्षण नदेखिन सक्छ !
हैजा संक्रमित सबैलाई लक्षण नदेखिन पनि सक्छ। संक्रमितमध्ये १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखिन सक्ने इडिसिडीले जनाएको छ। तीमध्ये ८० प्रतिशतमा मात्र सामान्य खालका लक्षणहरू देखा पर्छन्। करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखा पर्छन्। कडा लक्षण देखिएका संक्रमितको समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जाने विज्ञहरू बताउँछन्।
सन् २००९ मा जाजरकोट जिल्लामा फैलिएको हैजाको संक्रमणबाट १ सयभन्दा बढीको ज्यान गएको थियो। त्यो बेला हैजाका जाजरकोटमा ३० हजारभन्दा बढी संक्रमित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। काठमाडौं उपत्यकामा ७ वर्षअघि हैजाको संक्रमण व्यापकरुपमा फैलिएको थियो।
सन् २०१६/०१७ मा फैलिएको हैजा संक्रमणबाट काठमाडौं उपत्यकामा २ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए। इडिसिडीका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनी काठमाडौं उपत्यकामा पानीका स्रोतहरू दूषित भएको र बिक्री गरिने तरकारी पनि प्रदूषित मनहरालगायतका खोलामा पखालिने हुँदा उपभोगकर्ताहरू सजग हुनुपर्ने बताउँछन्।
कसरी जोगिने ?
भिब्रिओ कलेरा प्रजातिको जीवाणुबाट लाग्ने अति संक्रामक रोग हो हैजा। संक्रमित व्यक्तिको दिसाको माध्यमबाट बाहिरी वातावरणमा जीवाणु बाहिर पुग्छ। दूषित पानी र खानाको माध्यमबाट हैजा संक्रमण हुन्छ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार, इनार, धाराबाट आउने पानी दूषित भएका कारण शुद्धीकरण गरेर मात्र पानी पिउन सुझाव दिन्छन्। ‘फलफूल वा सागसब्जी, तरकारी धुदा पनि सफा पानीको प्रयोग गर्नुपर्छ,’ डा. पौडेलले सुझाए। जनस्वास्थ्य विज्ञ डा. मरासिनी पानी उमालेर पिउन सुझाव दिन्छन्। पानीको आपूर्ति एवं वितरणका लागि संकलित पानी ट्यांकीमा मात्रा मिलाएर क्लोरिन राखेर शुद्धीकरण गर्नुपर्ने डा. मरासिनीको सुझाव छ।