रोजगार मेलाको सान्दर्भिकता

रोजगार मेलाको सान्दर्भिकता

मुलुकमा बेरोजगारीको स्थिति भयावह छ। कहीँ कतै थोरै संख्यामा रोजगारीको अवसर खुल्दा पनि रोजगारीका आकांक्षी हजारौं युवाले दरखास्त दिने र दरखास्त दिनकै लागि रातिदेखि नै लामबद्ध भएर बसेको दृश्यले मुलुकमा विद्यमान कहालीलाग्दो बेरोजगारीको स्थितिलाई झल्काउँछ। अझ रोजगारीकै खोजीमा दिनहुँ दुई हजारभन्दा बढीको संख्यामा नेपाली युवा बिदेसिने गरेको तथ्यांक छ। विदेश जान झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष पुग्दा तिनका अनुहारमा केही डर, चिन्ता र भय अनि केही नयाँ आशा र सपना बोकेको प्रस्ट हुन्छ। निकै उद्वीग्नतापूर्वक उभिएका ती युवाको भिडले त झन् स्वदेशमा रोजगारीको कुनै अवसर नै छैन कि भनेर सोच्न बाध्य बनाउँछ। यसो त मुलुकमा बेरोजगारी दर ११.४ प्रतिशत छ भन्ने सरकारी तथ्यांकले नै बेरोजगारीको अवस्था भयावह भएको देखाइरहेकै छ।

विविध कारणले मुलुकभित्र थप नयाँ उद्योगधन्दा स्थापना हुन नसक्दा थप रोजगारी सिर्जना हुन सकेको छैन। समय–समयमा उत्पन्न हुने आर्थिक, सामाजिक र राजनीतिक समस्याका कारण भएका उद्योगधन्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अथवा बन्दै हुने स्थितिले गर्दा भएको रोजगारीको अवसर पनि खोसिएको अवस्था छ। अर्कोतिर रोजगारीका आकांक्षी युवामा आवश्यक ज्ञान, सीप र दक्षताको कमीले रोजगारी पाउनबाट बञ्चित हुनुपर्ने अवस्था छ। साथै स्वपुँजी लगानीको अभावले स्वरोजगार हुने अवसरबाट समेत वञ्चित छन् धेरै युवा। यसले गर्दा वैदेशिक रोजगारी नै एउटा सहजै उपलब्ध विकल्पको रूपमा रहेको छ। तर वैदेशिक रोजगारी नै बेरोजगारी समस्याको दिगो समाधान भने होइन।

स्वदेशमा रोजगारीको अवसर पाउन नसकेका र स्वरोजगार बन्न नसकेका युवा घरखेत बन्धकी राखेर पनि वैदेशिक रोजगारीमा गइरहेका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या २०८० फागुन मसान्तसम्ममा ५९ लाख ६९ हजार २ सय ३६ पुगेको ‘आर्थिक सर्वेक्षण २०८०÷०८१’ मा उल्लेख गरिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवाले विदेशमा दर्दनाक समस्या पनि भोगिरहेका छन्। तिनै युवाले पठाएको विप्रेषणले देशको अर्थतन्त्र धानेको अवस्था छ। वैदेशिक रोजगारीका लागि नेपाली युवा बिदेसिने क्रम बढेसँगै विप्रेषण आप्रवाह पनि क्रमिक रूपमा बढिरहेको छ। विगतमा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान सर्वाधिक रहँदै आएकोमा त्यसलाई विप्रेषणले उछिन्ने सम्भावना बढेको छ। त्यसैले अब देशलाई कृषि प्रधानको सट्टा विप्रेषण प्रधान पनि भन्न थालिएको छ।

एकातिर युवा जनशक्ति देशभित्र रोजगारीको अवसर पाइएन भनेर दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन् भने अर्कोतिर रोजगारदाताहरूले चाहिँ आवश्यक जनशक्ति उपलब्ध हुन सकेन भन्ने गुनासो पनि गरिरहेका छन्। यस्तो विरोधाभासपूर्ण परिस्थितिले गर्दा रोजगारदाताले बेहोर्नु परेको जनशक्ति अभाव र युवाले भोग्नुपरेको बेरोजगारीको समस्या समाधान हुन सकिरहेको छैन। रोजगारदाताले बेहोर्नु परेको जनशक्ति अभाव र युवाले भोग्नु परेको बेरोजगारीको समस्या समाधानका लागि यी दुई समस्याबीचको खाडल पुर्नुपर्ने आवश्यकता छ। रोजगारदाताले आफूलाई आवश्यक र उपयुक्त जनशक्ति पाउने र बेरोजगार युवाले पनि आफूसँग भएको ज्ञान, सीप र दक्षताअनुसारको रोजगारी पाउने अवस्था सिर्जना गर्नुपर्ने अवस्था छ। रोजगारदाता र रोजगारीका आकांक्षी युवाबीच सेतुको काम गर्ने कुनै निकाय, योजना र कार्यक्रमको खाँचो पहिला थियो र अहिले पनि त्यो खाँचोको महसुस भइरहेको छ।

स्वदेशभित्र बेरोजगारी समस्या समाधान गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन भनेर सरकारले विभिन्न नीति, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ। तर ती नीति, योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा देखिएका कमी, कमजोरीले गर्दा समस्या ज्यूका त्यूँ छन्। यसै सन्दर्भमा पछिल्लोपटक सरकारले श्रमसम्बन्धी समस्या समाधानमा एउटा नयाँ अवधारणा अघि सारेको छ। जसलाई श्रमाधान रोजगार मेला भनिएको छ। यो बिलकुलै नयाँ अवधारणा हो र नयाँ शब्द पनि। सम्भवतः नेपाली शब्दकोशमा नसमेटिएको शब्द हो श्रमाधान। मूलभूत रूपमा श्रमसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको नयाँ अवधारणा भएकाले श्रम र श्रमसम्बन्धी समस्या समाधानलाई समास गरेर श्रमाधान शब्द चयन गरिएको हुनुपर्छ।

नेपालमा विद्यमान श्रम समस्यालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले पहिलोपटक श्रमाधान रोजगार मेलाको आयोजना गरेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक समस्यालाई समाधान गर्न एकद्वार प्रणालीमार्फत सहयोग पुर्‍याउने उद्देश्यअनुरूप श्रमाधान रोजगार मेला मुलुकका सातै प्रदेशमा सञ्चालन गरिएको छ। नेपालको संविधान २०७२ को धारा ३४ मा ‘श्रमको हक’ शीर्षकमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने संवैधानिक व्यवस्था गरिएको छ। विद्यमान श्रमशक्तिको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुका साथै मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला–२०८१’ गरिएको छ। बेरोजगारीको समस्या कहालीलाग्दो बन्दै गएको र स्वदेशमा 

रोजगारी नपाएर लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा गइहरहेको अवस्थामा आयोजना भएको यो मेला निकै सान्दर्भिक र समयसापेक्ष पनि देखिएको छ। रोजगारदाताले आफ्नो आवश्यकताअनुसारको जनशक्ति रोज्न पाउने र रोजगारीका आकांक्षी युवाले पनि आफ्नो ज्ञान, सीप र दक्षताअनुसारको रोजगारीको अवसर खोज्न पाउने हुँदा यो मेलालाई अर्थ–सामाजिक दृष्टिकोणले निकै महŒवपूर्ण र सान्दर्भिक मान्न सकिन्छ। 

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गतेबाट सुरु भएको यो मेला जेठ २९ र ३० गते बागमती प्रदेशको ललितपुरमा सञ्चालन भई समापन भएको थियो। यो मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवालाई रोजगारदातासँग जोड्न, उद्यमशीलता तथा स्वरोजगारका कैयन् अवसरका बारेमा ज्ञान आर्जन गर्न, रोजगारी खोज्नेहरूबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवद्र्धन गर्न सघाउने अपेक्षा गरिएको छ। मेलामा संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न निजी रोजगारदाताहरूको समन्वय र सहकार्यमा कार्यशाला, मनोपरामर्शलगायतका विविध विषय एवं सरकारी, निजी र गैरसरकारी क्षेत्रका विभिन्न निकायहरूको श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा समन्वय र सहकार्य भएको थियो।

यस्तो मेलाले रोजगारी खोज्ने तथा रोजगारदाताको यथार्थ तथ्यांक संकलन हुने र यही तथ्यांकको आधारमा आगामी दिनहरूमा श्रमबजारको माग र श्रमिकको चाहनाअनुसारको तालिम सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने सरकारको दीर्घकालीन योजनामा सघाउ पुग्नेछ। रोजगारका आकांक्षी र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्कबाट रोजगारीको अवसर प्रदान गर्ने हुँदा यस्तो मेलाले देशको बेरोजगारी न्यून गर्न र वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा समेत कमी ल्याउने अपेक्षा गर्न सकिन्छ। साथै हालको ११.४ प्रतिशतको बेरोजगारी दरलाई घटाएर पाँच प्रतिशतमा सीमित गर्ने आगामी १६औं पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्तिमा पनि यस्तो मेलाले सघाउने अपेक्षा गर्न सकिन्छ। १६औं योजनाले आगामी १५ वर्षमा बाध्यात्मक रूपमा विदेश जानुपर्ने स्थितिको अन्त्य गर्ने दीर्घकालीन लक्ष्य पनि निर्धारण गरेको छ। यो लक्ष्य प्राप्तिमा पनि यस्तो मेलाले कुनै न कुनै रूपमा सघाउ पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.