लगानी सम्मेलन

सरकारले गैरजिम्मेवार र संसदीय अभ्यास विपरीत अध्यादेश जारी गर्‍यो : कांग्रेस

सरकारले गैरजिम्मेवार र संसदीय अभ्यास विपरीत अध्यादेश जारी गर्‍यो : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले लगानी सम्मेलनलाई लक्षित गरी सरकारले जारी गरेको अध्यादेशको विरोध गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेपछि शनिबार दिउँसो कांग्रेसको संसदीय दलको बैठकले विरोध जनाएको हो।

नेपाली कांग्रेस सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार,लोकतन्त्र र संसदीय अभ्यास विपरीत कार्य गरेको भन्दै विरोध गरेको छ। कांग्रेसले सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्नसमेत सचेत गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शनिबार एक विज्ञप्ति जारी गर्दै संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएका छन्। 

‘नेपाल सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषय तर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ। संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गयो।’ जारी विज्ञप्तिमा भनिएको छ,‘प्रमुख विपक्षी दल नेपाली कांग्रेस समेत सबै विपक्षी दलहरुले सहकारी संस्थाहरुमा लाखौं नागरिकले जम्मा गरेको अरबौं रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानविन गर्न र सहकारी पिडितका समस्या सम्बोधन गर्न संसदीय छानविन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसदबाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको हामीले ठहर गरेका थियौं।’

सरकारले ल्याएको अध्यादेशले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित रहेको गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कुनै पनि कानून सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता भएको उनको भनाई छ। सरकारले संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ।’कांग्रेस विज्ञप्तिमा भनिएको छ,‘सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित छ।’ 

सरकारका यस्ता कार्यले जनताको प्रतिनिधि संस्था संसदको महत्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुने कांग्रेसको दाबी छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.